जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार बुधबार दिउँसो हात्ती स्विप गस्ती टोलीले स्विपिङ गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात मकुनासँग भेट भएको थियो।
उसले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड 'वार्निङ' (चेतावनी) हवाइ फायर गरेको थियो।
'त्यसो गर्दा पनि मकुना भागेन। ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो। खगेन्द्रप्रसादमा सवार रेजर श्याम तामाङ भुइँमा खसे। उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो,' निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले भने, 'गोली हानेपछि मकुना केही पर भाग्यो। अनि फेरि फर्किएर आक्रमण गर्न आयो। त्यसपछि टोलीले अर्को एक राउन्ड गोली प्रहार गरेको थियो।'
गोली लागेपछि भागेको उक्त जंगली हात्तीको खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थापाले बताए।
तत्कालै उठाउन प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सक सहितको प्राविधिक टोलीले मकुनालाई मृत घोषणा गरेको उनले बताए। घटनास्थलमा मृत हात्तीको पोस्टमर्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको भेटिएको थियो।
मकुना गत असोजदेखि सौराहा क्षेत्रमा देखिन थालेको थियो। जंगलमा भन्दा बस्तीतर्फ बढी देखिन थालेपछि उसलाई कोर क्षेत्रमा पठाउन निकुञ्जले प्रयास गरिरहेको थियो।
प्रमुख संरक्षण अधिकृत पन्तले सौराहाको बजार क्षेत्र र अन्य बस्तीमा पसेर स्थानीय बासिन्दालाई त्रसित बनाउन थालेपछि केही दिनदेखि ५–६ वटा हात्ती प्रयोग गरेर निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले जंगलतर्फ धपाउने काम गर्दै आएको बताए।
'मकुनालाई बचाउन नसकेकोमा हामी असाध्यै दुःखी छौं। हाम्रो निरन्तर प्रयासका बाबजुद उसलाई बचाउन सकिएन,' पन्तले भने।