कैलालीकी २८ वर्षीया हसिना चौधरी ६ दिनदेखि अस्पतालमा छिन्।
धनगढी नगरपालिका वडा नम्बर ४ मा रहेको नवजीवन अस्पतालमा उनको उपचार भइरहेको छ।
उनलाई पुस ४ गते राति अस्पताल भर्ना गरिएको थियो। चौधरीलाई बोक्सीको आरोपमा स्थानीयले कुटपिट गरेपछि आफन्तले अस्पताल पुर्याएका हुन्।
६ दिनको उपचारपछि चौधरीको स्वास्थ्यमा सुधार आइरहेको नवजीवन अस्पतालका सिइओ चक्र खडायतले बताए।
'चार दिन आइसीयूमा राखेर वार्डमा सारेका छौं। उहाँलाई अझै चार/पाँच दिन अस्पतालमा राख्नुपर्छ,' उनले भने।
उनको शरीरमा धेरै चोट लागेकाले निको हुन समय लाग्छ। उनीमाथि निर्घात कुटपिट भएको छ। शरीरको पछाडि भागमा धेरै घाउ लागेको अस्पतालको सिइओ खडायतले बताए।
हामीले हसिनामाथिको घटनाबारे उनका परिवार र प्रहरीसँग कुराकानी गरेका छौं।
गत पुस १ गतेको कुरा हो।
भजनी नगरपालिका वडा नम्बर १ को गौनैया गाउँमा आफ्नै संस्कृति छ। उनीहरूको गाउँमा गुरूवा (थारू समुदायको देउता आउने व्यक्ति) आएको व्यक्तिलाई पुजापाठ गर्न निश्चित रकम संकलन हुने गरेको छ। सोहीअनुसार पुस १ गते बिहान हसिनाको घरमा पनि उनका आफन्तहरू पैसा उठाउन आइपुगेका थिए।
उनले पनि १ हजार रूपैयाँ दिएकी थिइन्।
'श्रीमतीसँग पैसा नभएकाले आफन्तसँग सापटी मागेर पैसा दिएकी थिइन्,' हसिनाका श्रीमान् चुन्नीलाला चौधरीलाई भने, 'गाउँको मान्छेलाई देउता आउँदा दाजुभाइ र आफन्तको घरमा दियो बत्ती बाल्नुपर्छ। गाउँको नियमअनुसार हसिनाले पनि घरमा बत्ती बालेकी थिइन्।'
हसिनाले चुन्नीलालालाई बताएअनुसार मनोज, जयराम, करण र बाबुराम चौधरी बत्ती बालेको हेर्न आएका थिए। गाउँको मान्छेलाई गरूवा चढेको दिन आफ्ना दाजुभाइ र नजिकको आफन्तको घरमा रातैभर दियो बाल्ने चलन छ।
उनीहरूको आफ्नै दाजुभाइ खलक २१/२२ घर छन्।
'बत्ती बालेको भनेर हेर्न आएका थिए, एक्कासी बोक्सी भन्दै कुटपिट गरेको हसिनाले बताएकी छिन्,' चुन्नीलालले भने, 'त्यो दिन पनि बाबुरामले कुट्दै आफ्नो घरसम्म घिसारेछन्। हाम्रो घर र बाबुरामको घर सयमिटर टाढा छ।'
त्यो दिन भने हसिना र दुई सन्तानमात्र घरमा थिए। सात वर्षको छोरी र दुई वर्षको छोरा छ। चुन्नीलाल भने रोजगारी लागि चार दिनअघि मात्र भारत पुगेका थिए।
हसिनामाथि बोक्सीको आरोप लगाउँदै कुटेको कुरा रातिमात्र थाहा भयो।
हसिनाले पुस १ गतेकै राति चुन्नीलाई फोन गरेर आफूमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट भएको सुनाइन्। भोलिपल्ट उनी घरतर्फ फर्किए।
'त्यहाँबाट घर फर्किन बसमा ४८ घन्टा लाग्यो। चार गतेमात्र घर आइपुगेँ,' उनले भने, 'घर आइपुगेर बजार गएको थिएँ। त्यहीबेला घरमा हसिनालाई कुटपिट हुन लागेको खबर आयो र घर फर्किहालेँ।'
घर आइपुग्दा साँझ परिसकेको उनले बताए। हसिनामाथि सामूहिक रूपमै घिसार्ने, पालैपालो पिट्ने र कपाल लछारपछार पारिरहेका थिए। कुटपिट नगर्न भने पनि कसैले मानेनन्। प्रहरीलाई खबर गर्छु भनेपछि मात्र छोडेको चुन्नीलालले बताए।
त्यतिबेलासम्म हसिना बोल्न नसक्ने भइसकेकी थिइन्। दुई सन्तानलाई पनि खाल्डोमा हाल्न खोजिएको उनले बताए।
'पुस ४ गते आफूलाई बोक्सी स्वीकार गर भन्दै कुटपिट सुरू भएको हो। त्यही दिन दिउँसोपनि उनीमाथि कुटपिट भएछ,' उनले भने।
एकैदिन हसिनामाथि दुई पटक कुटपिट भयो। तर त्यहाँ स्थानीय प्रहरीहरू पुगेनन्। हसिनाका बुबा सीताराम चौधरीले छोरीमाथि कुटपिट भएको भन्दै पुस २ गते इलाका प्रहरी कार्यालय भजनीमा निवेदन दिएका थिए।
तर त्यो दिन घटनाबारे बुझ्नका लागि हसिनाको घरमा प्रहरी आएनन्। पुस ३ गते भने सोधपुछका लागि प्रहरी आएर निवेदन दिनुपर्ने भन्दै फर्किएको चुन्नीलालले बताए।
'निवेदन दिनु भएको छ कि छैन, नदिएको भए दिनु हामी अनुसन्धान गर्छौं भनेर प्रहरी फर्किएको थिए,' उनले भने, '४ गते पनि घटना भइसकेपछि प्रहरी आइपुगेको हो।'
१ गते हसिनामाथि कुटपिट हुँदा उनको माइतीपक्षबाहेक अरू कसैले साथ दिएनन्। उनको माइती र घर आधा घन्टाको दुरीमा छ।
त्यतिबेला सुसुराबुबा (सीताराम चौधरी) ले दिएको उजुरीमा प्रहरीले ध्यान दिएको भए उनीमाथि थप कुटपिट नहुने चुन्नीलालले बताए।
'४ गते भने सिकिस्तै हुने गरी कुटपिट भयो। पहिला नजिककै स्थानीय स्वास्थ्य चौकीमा पुर्याए। त्यहाँबाट नवजीवन अस्पताल पठाएको हो,' उनले भने, ‘आफू नआएको भए श्रीमतीलाई मार्ने रहेछन्, प्रहरीको डर देखाएपछि मात्र कुट्न छोडे।'
उनले अरू कुनै पनि विषयमा झगडा नभएको र एक्कासी बोक्सी भन्दै कुटपिट गरेको उनी बताउँछन्।
उनले त्यही दिन हसिनालाई उपचार गराउन स्वास्थ्य चोकी लैजानुभन्दा प्रहरी आइपुगेको थिए र प्रहरीकोमा चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ।
उनकाअनुसार लालोन डगैरा, रूपा चौधरी, बाबुराम डगैरा, मनोज चौधरीलाई पक्राउ गरिएको छ। उनीहरूलाई पुस ४ गते साँझ नै पक्राउ गरेको हो।
'हसिनाको जाहेरी पाँच गते दिएकी हुन्,' उनले भने, 'यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।'
यसअघि उनीमाथि भएको कुटपिटमा प्रहरीसमक्ष कुनै खबर नभएको उनको भनाइ छ।
नेपालको संविधान, २०७२ को धारा ३८ (३) मा महिलाविरूद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा र प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने व्यवस्था छ।