'बच्चा भएको घर नै उज्यालो हुन्छ' धेरै विवाहित जोडीले सन्तान नजन्माउन्जेल यही सुन्नुपर्छ। विवाहपछि नेपाली समाजमा बच्चा अनिवार्य ठान्छन्, बच्चा नचाहने नगन्य हुन्छन्।
कतिपयले चाहेर पनि जन्माउन सक्दैनन्। आफैले बच्चा जन्माउन नसक्नेहरूका लागि सन्तान हुर्काउने रहर सपना बनिदिन्छ।
सम्पूर्ण अधिकारी र हिमा गुरूङको त्यस्तै एउटा सपना छ- बुवाआमा बन्ने।
दम्पती नै शारीरिक रूपले महिला भएपछि उनीहरूका लागि सन्तान हुर्काउने रहर सपना बनेको हो। उनीहरूले आफैले सन्तान जन्माउन नसक्ने भएकाले धर्मसन्तान ग्रहण गर्ने योजना बनाएका छन्।
उनीहरू धर्मपुत्र-धमपुत्री ग्रहण गर्न चाहन्छन्। तर झन्झटिलो कानुनी प्रक्रियासँगै दुवै जनासँग महिलाकै नामको नागरिकता हुँदा समस्यामा परेको सम्पूर्ण बताउँछन्।
'बच्चालाई बा-आमाको नाम दिन नसक्दा सन्तान ग्रहण गर्न सकिएको छैन,' उनले भने, 'श्रीमान-श्रीमती भनेर सामाजिक रूपमा चिनाएपछि सन्तान भइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ।'
उनले थपे- 'कानुनी प्रक्रिया पनि झन्झटिलो छ। साथै आर्थिक अवस्था न्यून भएकाहरूका लागि गाह्रो छ।'
मुलुकी (देवानी) संहिता ऐन २०७४ को परिच्छेद ८ मा कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिने व्यवस्था छ।
धर्म सन्तान राख्दा बालबालिकाको सर्वोत्तम हक र हित हुने गरी राख्नुपर्छ। यसका लागि विवाह भएको १० वर्षसम्म सन्तान नभएको रिपोर्ट, अपराध नगरेको, बच्चा हुर्काउने हैसियत भएको लगायत निश्चित मापदण्ड पूरा गर्नुपर्ने कानुनी प्रावधान छ।
सम्पूर्ण र हिमाको हकमा मापदण्ड पुर्याउनै मुस्किल छ।
सम्पूर्णले भने- 'त्यही मापदण्ड पुर्याउन पनि धेरै मेहनत गरिरहेका छौं।'
सम्पूर्णले आफूलाई पुरूष भनेर चिनाउन थालेको आधा दशक भयो। तर उनले आफू पुरूष भएको महसुस गरेको भने एक दशकअघि देखि हो।
नवलपुर देवचुली नगरपालिका वडा-३ मा जन्मेका सम्पूर्णको बाल्यकाल गाउँमै बित्यो। उनकी आमाले दुई सन्तान जन्माएकी थिइन्।
उनी कान्छा सन्तान हुन्।
उनले १५/१६ वर्षसम्म आफूलाई छोरीकै भूमिकामा राखेका थिए। उनलाई त्यतिबेलासम्म आफूमा उब्जेका इच्छाहरूलाई पहिचान गर्न सकेका थिएनन्। छोरी भनिरहँदा आफूभित्र भएको छोराको जस्तो स्वभावलाई देखाउन नसकेको उनी बताउँछन्।
'आमाले छोरी भनिरहनुहुन्थ्यो। ममा छोराको स्वभाव थियो,' उनले भने, 'आफ्ना इच्छाहरू परिवारमा सुनाउन सकिनँ।'
सम्पूर्णकाअनुसार ८/९ वर्षको उमेरदेखि कपाल लामो मन नपर्ने, कुर्था सुरूवाल लगाउन मन नपर्ने, मेकअप गर्न मन नपर्ने थियो। कपडा जे सुकै लगाए पनि घरमा केही भन्दैनथे। तर उनलाई कपाल काट्न भने दिइएन।
'कपाल काट्न नदिएकाले पोको पारेर क्याप टोपी लगाएर स्कुल जान्थेँ, बाहिर हिँडडुल गर्दा पनि त्यस्तै गर्थेँ,' उनले भने, 'उमेर बढ्दै जाँदा केटीहरूप्रति नै रूचि बढ्दै गयो।'
उनले कक्षा-१० सम्म गाउँकै स्कुलमा पढेका हुन्।
सात/आठ कक्षामा पढ्दादेखि नै उनी केटीहरूसँग नजिक हुन चाहन्थेँ। उनीहरूसँग घुलमिल हुँदा खुसी मिल्थ्यो। त्यहीकारण आफूलाई के भएको होला भन्ने उनको मनमा प्रश्न उब्जिरहेको हुन्थ्यो।
कसैलाई सोध्न पनि सक्दैन थिए। आफू के हो भन्ने दोधारमै उनको बाल्यकाल बित्यो।
एसएलसीपछि भने प्लस टु पढ्नका लागि चितवनको बालकुमारी कलेज पुगे। कलेज घरबाट डेढ दुई घन्टा टाढा जानुपर्ने भयो। त्यही कारण घरबाट फोन बोक्ने अनुमति पाए।
सन् २००९/१० तिरको कुरा हो।
मोबाइल चलाउन दिए पनि इन्टरनेटको सुविधा नभएकाले अल्पसंख्यक समुदायको बारेमा खासै थाहा भएन। त्यतिबेला नेपालमा भर्खर फेसबुक चलाउन सुरू भएको थियो। त्यसमा पनि धेरैजसो केटीहरूलाई मात्र साथी बनाएको उनी बताउँछन्।
'सधैं केटीहरूसँग मात्र नजिक हुन मन लागेको देख्दा मनमा कौतुहलता भइरहन्थ्यो, तर कसैलाई भन्ने, सुनाउने हिम्मत थिएन,' उनले भने, 'प्लस टु पढ्दासम्म आफूजस्तो कोही भेटेको पनि थिइनँ।'
सम्पूर्ण प्लस टु पढ्दै गर्दा उनको दिदीको विवाह भयो।
उनका अनुसार दिदीको विवाह लगत्तै उनको पनि विवाहको कुरा चल्यो। तर उनले पढ्नु छ भन्दै विवाह पन्छाइरहे। आफूलाई चिन्न नसक्दै प्लस टु सकियो।
स्नातक पनि त्यही गरे।
स्नातक दोस्रो वर्षमा अध्ययन गर्दैगर्दा जापान जाने सोच आयो। सन् २०१३ मा जापानिज भाषा पढ्न र प्रक्रिया अगाडि बढाउन काठमाडौं आए। त्यहीबेला उनको एक युवतीसँग भेट भयो। उनीसँगै बस्न थाले।
'ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड मानेर एउटै कोठामा बस्यौं। अरूलाई भने कहिले भनेनौं,' उनले भने, 'उनले आफू के भनेर कहिल्यै खुलाइन।'
उनले थपे- 'दुवै जना महिला भएकाले काठमाडौं बस्नका लागि समस्या भएन तर हामीले एकअर्कोलाई बुढा-बुढीको जस्तै व्यवहार गर्यौं। एकअर्काको भावना साट्यौं।'
सन् २०१४ मा सम्पूर्ण जापान उडे।
उनले त्यहाँ गएपछि आफूजस्तै व्यक्तिहरू भेटे। त्यहाँ पुगेपछि सन् २०१५ तिर मात्रै आफू यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा परेको उनलाई थाहा भयो।
'शारीरिक बनावट र स्वभाव फरक भएको व्यक्तिलाई अल्पसंख्यक मानिने रहेछ,' उनले भने, 'त्यहीबेला वर्षौंदेखिको कौतुहलता मेटियो।'
उनलाई अब नेपालमा आफूजस्ता व्यक्ति छन् कि छैनन भनेर पीर पर्यो।
परिवारलाई कसरी आफ्ना चाहना भन्ने लागिरह्यो। त्यतिबेला सामाजिक सञ्जालमा फाट्टफुट्ट अल्पसंख्यक समुदायको बारेमा आउँथ्यो। उनले जापान पुगेर गुगल गरेर पनि हेर। त्यसबारे बुझे।
त्यहीबीचमा उनले सामाजिक सञ्जालमार्फत अल्पसंख्यक समुदायका सुशील दनुवारलाई भेटे। आफूजस्तै व्यक्ति भेटेपछि उनले खुलेर आफ्ना कुरा राखे।
नेपालमा पनि अल्पसंख्यक समुदायका लागि कानुन भएको र आफ्नो इच्छा अनुसार स्वतन्त्र भएर बाँच्न पाउने अधिकार रहेको थाहा भयो। त्यसपछि आफ्नो इच्छाअनुसार बाँच्ने निधो गरेको उनी बताउँछन्।
सुशीलले नै उनलाई आफ्नो इच्छाअनुसार बाँच्ने हिम्मत दिलाए। तर पनि परिवारलाई भन्न सकेका थिएनन्। जापानमा तीन/चार वर्ष बस्दैगर्दा घरबाट विवाह गर्न ढिला भएको भन्दै उनको फोन बजिरह्यो।
उनले त्यहाँ आफूलाई केटाकै स्वरूपमा ल्याइसकेका थिए। तर घरमा भने कसैलाई भन्न सकेका थिएनन्। त्यही कारणले उनी नेपाल फर्किनै चाहेका थिएनन्।
'नेपाल फर्किए केटासँग विवाह गरिदिने डरले पनि फर्किने हिम्मत आएन, त्यहाँ अध्ययन सक्किँदै गर्दा हिम्मत जुटाएर आफ्नो कुरा राखेँ,' उनले सेतोपाटीसँग भने, 'म ज्वाइँ होइन, बुहारी भित्र्याउने हो।'
उनले थपे- 'बुहारी ल्याउँछु भन्दा आमा रूनुभयो'
दुई चार दिनसम्म उनका परिवारले गाली गरे। मनलाग्दी नगर्न आग्रह गरे। समाजले के भन्छन् भनेर धेरै कुराहरू सम्झाए। तर सम्पूर्णले आफूलाई छोरा बनेको हेर्न चाहने भएमात्र घर फर्किने अडान लिइरहे।
उनको जिद्दीको अगाडि परिवारले हार्नुपर्यो।
छोराको रूपमा स्वीकार गर्ने भएपछि उनी घर आउन तयार भए। आफू घर आउनुभन्दा अघि सुशीलले परिवारलाई सम्झाएर सहजीकरण गरिदिएको उनी बताउँछन्।
सन् २०१९ मा सम्पूर्ण नेपाल फर्किए।
त्यतिबेला उनी पुन: जापान जाने सोचेर आएका थिए। उनी फर्किएलगात्तै कोभिड-१९ मा दोस्रो चरणको लकडाउन सुरू भयो।
लकडाउन खुलेपछि पनि कोरोनाको प्रभाव भइरहेपछि फर्किने कि नफर्किने दोधारमा परे। त्यही बीचमा टिकटक चल्यो। उनी पनि त्यसमा जोडिए। सुशीलकै माध्यमबाट अल्पसंख्यक समुदायको ग्रुपमा जोडिने मौका मिल्यो।
उनी नेपालमा पनि त्यतिकै बस्न चाहँदैनथे। रोजगारीका लागि विभिन्न ठाउँहरू पुगे। कतै जागिर पाएनन्। सबैले शारीरिक बनावट अनुसारको नागरिकतामा नाम नमिलेको र पहिरन नभएको भन्दै पन्छाएको उनको भनाइ छ।
'कतै महिला त कतै पुरूष चाहिएको भन्दै छनोट नै गरेनन्,' उनले भने, 'दक्षता र सीप नहेरी सिधै अस्वीकार गरियो।'
उनले थपे- 'त्यहीकारण टिकटक चलाउनेबाहेक अरू कुनै काम नै भएन। त्यहीबेला नेपालका धेरै अल्पसंख्यक समुदायको व्यक्तिसँग जोडिने मौका मिल्यो।'
उनले आफूजस्तै व्यक्तिहरू भेटेपछि एकआपसमा कुराकानी गरिरहन्थे। त्यही क्रममा उनको कुरा हिमा गुरूङसँग भयो। टिकटकमा एकअर्काको हालखबर सोध्दासोध्दै उनीहरू नजिकिए।
त्यही क्रममा हिमा र सम्पूर्णबीच प्रेम भयो।
हिमाको जन्मथलो मोरङ भए पनि उनी १७/१८ वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन्। उनी अमेरिकी नागरिक हुन्। अहिले उनी ३१ वर्षकी भइन्।
सन् २०१९/२० तिर उनीहरूको कुराकानी चलेको थियो। चार वर्षसम्म उनीहरूबीच कुराकानी चलिरह्यो। सात महिनाअघि मात्र हिमा नेपाल आएकी थिइन्।
उनका अनुसार सम्पूर्णले हिमालाई पहिलादेखि नै बा-आमासँग कुराकानी गराइरहेका थिए। त्यसैले घरमा लगेर गए। परिवारले पनि बुहारी स्वीकार गरे। गत असार २९ गते उनीहरूको विवाह भयो।
'मन्दिरमा गएर विवाह गरेका हौं, त्यहाँ दुवै पक्षको परिवार र नजिकका आफन्त उपस्थित भएका थियौं,' उनले भने, 'पहिरन केटाको भए पनि केटीको स्वर सुन्दा मान्छेहरू अलि-अलि झस्किए तर हामीले त्यतातिर ध्यान दिएनौं।'
उनका परिवारले अहिले सम्पूर्णलाई छोरा र हिमालाई बुहारी मान्छन्। परिवारमा छोरा नभएकाले पनि आफूलाई सहजै स्वीकार गरेको उनको भनाइ छ।
नत्र धेरैजसो परिवारले आफ्ना सन्तानलाई नै नकार्ने गरेको प्रशस्त उदाहरण छन्।
उनीहरूले सामाजिक आलोचनालाई कहिल्यै वास्ता गरेनन्। परिवारबाहेक अरूसँग घुलमिल भएनन्। त्यहीकारण आफूहरू केही हदसम्म खुलेर बाँच्न सकेको सम्पूर्ण बताउँछन्।
'परिवारले मानेका छन्। त्यो भएपछि अरूले जे भने पनि फरक पर्दैन,' उनले भने, 'मुख अगाडि नभनेपछि पछाडि जे भने पनि फरक पर्दैन।'
सामाजिक विवाह गरेको तीन महिना नबित्दै कानुनी मान्यता पाएपछि सामाजको आलोचना ठप्प भयो। आसपासका मानिसहरूले केही भन्ने हिम्मत नै गरेनन्।
'असोज १३ गते विवाह दर्ता गर्यौं। कानुनी रूपमै श्रीमान-श्रीमती भयौं,' उनले भने,' त्यसपछि हामीमाथि कुनै प्रश्न गरेनन्।'
यसो त अल्पसंख्यक समुदायका व्यक्तिलाई विवाह दर्ताका लागि सहज थिएन। गत वर्ष मंसिरमा माया र सुरेन्द्रको विवाहले कानुनी मान्यता पाएपछि बाटो खुलेको हो।
विवाह दर्ताका लागि माया र सुरेन्द्रमात्र नभई सिंगो समुदाय नै लागिपरेका थिए। लामो समयको लडाइँपछि कानुनी मान्यता दिन सर्वोच्चले आदेश दिएको थियो। त्यही आदेश अनुसार गत मंसिरमा पहिलोपटक अल्पसंख्यक समुदायको विवाह दर्ता भयो।
माया र सुरेन्द्र, सम्पूर्ण र हिमा जस्तै एक वर्षमा ११ जोडीले विवाह दर्ता गरेका छन्।
सम्पूर्ण र हिमाको विवाहले कानुनी मान्यता पाएसँगै सँगै हुन पाउने सपना बुनेका छन्। सम्पूर्ण अमेरिका जाने प्रक्रिया बुझ्दैछन्। अहिलेसम्म प्रक्रिया अगाडि बढाएका भने छैनन्।
'नेपालमा भन्दा अमेरिकामा अल्पसंख्यक समुदायलाई सहज हुने भएकाले त्यही जाने सोच बनाएको हुँ,' उनले हाँस्दै भने, 'श्रीमान-श्रीमती भएपछि टाढा बस्न गाह्रो हुनेरहेछ।'