जाजरकोटकी १८ वर्षीया लक्ष्मी पुन सुत्केरी भएको २५ दिन भयो। यही बेला दाँत दुखेर उनले हैरानी खेपेकी थिइन्।
उनका छोराको श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनकी आमा ६५ वर्षीया सुशीला पुनलाई पनि सन्चो थिएन।
तीनै जना बिरामी परेपछि उपचारका लागि सोमबार अस्पताल गएका थिए। जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ करूवाका बासिन्दा उनीहरू उपचारका लागि डल्लीबजार झरेका हुन्।
करूवाबाट डल्लीबजार आउजाउका लागि मानिसहरू जिप चढ्ने गर्छन्। हिँडेर दुई-तीन घन्टाको दुरीमा पर्छ डल्लीबजार। बिरामी भएकोले लक्ष्मीसहित उनीहरू पनि जिपमै गएका थिए।
लक्ष्मीको घर र माइती भने नजिकैजस्तो छ, आधा घन्टाको दुरीमा। वडा एउटै हो। आफू, आमा र छोरासहित सोमबार उपचार गर्न गएका उनीहरू घर फर्कन पाएनन्।
चिकित्सकको सल्लाहअनुसार लक्ष्मीको दाँत उखेलियो। तर दुखाइ कम भएन। उनीहरू सोमबार डल्लीबजारमै बास बसे। लक्ष्मीका दाजु सहदेव पुनले दिएको जानकारीअनुसार दुखाइ सहन नसकेपछि लक्ष्मीसहित उनीहरू डल्लीबजारमै बसेका हुन्।
लक्ष्मी, उनका छोरा र आमा आफन्तको घरमा बास बसेका थिए। लक्ष्मीकी दिदी डल्लीबजारमै बस्छिन्। उनीहरू त्यहीँ बसे। बुधबार दिउँसै घर फर्कने तयारी गरे पनि उनीहरूले गाउँसम्म आउने गाडी पाएनन्। अबेर गरी जिप पाए र त्यसैमा चढेर उनीहरू घर फर्कंदै थिए।
‘घर फर्किरहेका तीनैजना दुर्घटनामा परे। कसैलाई बचाउन सकिएन,’ लक्ष्मीका दाजु सहदेवले सेतोपाटीसँग भने।
लक्ष्मीले श्रीमान् टेकबहादुर रोकालाई भने बाटोबाटै फोन गरेकी थिइन्। उनले आधा घन्टामा आफूहरू घर आइपुग्ने खबर उनले दिएकी थिइन्।
‘त्यो बेला फोनमा उनले घर आइपुग्ने बेला भयो, खाना बनाएर राख्नु भनेकी थिइन्। त्यसपछि भने उनको फोन उठेन,’ टेकबहादुरले सेतोपाटीसँग भने।
बुधबार बेलुकी करिब ७ बजेतिर उनीहरू जिप चढेका थिए। लक्ष्मीले बेलाबेला फोन गर्दै आफू आइपुगेको ठाउँबारे जानकारी गराइरहेकी थिइन्।
आधा घन्टामा घर आइपुग्छु भनेकी लक्ष्मी त्यो समयमा नआएपछि टेकबहादुरलाई छटपटी हुन थाल्यो। उनले तारन्तर फोन हानिरहे तर उठेन। ‘बेलुकी ११ बजेसम्म पनि फोन नउठाएपछि खोजी गर्न थाल्यौं, उनीहरू दुर्घटनामा परेका रहेछन्,’ उनले भने।
‘जे नहोस् भनेको थिएँ त्यही भयो, उनीहरू दुर्घटनामा परे,’ उनले भने। उनीहरू गए राति करिब १२ बजे घटनास्थलमा पुगेका थिए। घटनास्थलमा प्रहरी र केही स्थानीय भेला भइसकेका थिए। घाइतेहरूलाई निकाल्ने काम चलिरहेको थियो।
लक्ष्मीलाई उद्धार गरेर उपचारका लागि नगर अस्पताल पुर्याइएको थियो तर अस्पतालले मृत घोषणा गरिदियो। ‘बच्चा र आमालाई पनि अस्पताल पुर्याइयो तर जीवित थिएनन्,’ उनले भने, ‘तीनै जना एकै ठाउँमा बिते।’
ग ३ च ९८४५ नम्बरको जिप नलगाड नगरपालिका-७ कालीबाटीबाट करूवा जाँदै गर्दा कैना-कड्के सडकअन्तर्गत वीरखोला नजिकै वडा-५ मा दुर्घटनामा परेको थियो।
दुर्घटनामा लक्ष्मीको परिवारका तीनसहित पाँच जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार जिप चालक ३१ वर्षीय इन्द्रजित थापा, ३३ वर्षीय शारदा थापाको पनि मृत्यु भएको हो। मृतकहरू एकै गाउँका हुन्।
सात जना सवार जिप दुर्घटनामा परेको थियो। एक जनाको उपचार भइरहेको छ भने अर्का एक जना सामान्य घाइते छन्।
मृतकहरूको नलगाड नगर अस्पतालमा पोस्टमर्टम गरिएको छ।
दुर्घटनाका घाइतेहरूले प्रहरीलाई बताएअनुसार जिप मोड्न खोज्दा ब्रेक नलागेर सडकबाट तल खसेको थियो।