हिउँद याम लागेसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढ्छ।
सामान्यतया असोजदेखि माघको उत्तरार्द्धसम्म वायु प्रदूषण सघन बन्छ। यो सिजनमा कम पानी पर्ने मात्र होइन, हावाको गति कम हुने र तापक्रमसमेत घट्ने गर्छ।
यही याम पहाडी, उच्च पहाडी भेगमा खेतीपाती गरिने हुनाले खेतबारीमा घाँसपात, मकैका ढोड जलाउने गरिन्छ। कतिपय ठाउँमा फोहोरसमेत जलाउने गरिन्छ। यसले वायु प्रदूषण बढाउने गरेको छ।
काठमाडौं उपत्यकामा भने उद्योगधन्दा, कलकारखाना, सवारी साधनबाट निस्कने हानिकारक धुवाँले वायु प्रदूषण निम्त्याउने गरेको छ। त्यसका अतिरिक्त सहरी क्षेत्रमा बढ्दो विकास–निर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढावा दिएको छ।
काठमाडौंको रत्नपार्क, शंखपार्क, ललितपुरको खुलटार, भैँसेपाटीको वायु अस्वस्थकर हुने वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले बताए।
मंगलबार मध्याह्न पनि यी ठाउँको वायुको गुणस्तर कमजोर देखिएको छ।
वायुको शुद्धता ‘पार्टिकुलेट म्याटर’ (पिएम) २.५, पिएम १० मा नापिन्छ। त्यसका अतिरित्त, ग्राउन्ड लेभल ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअस्काइडले पनि वायुलाई अस्वस्थकर बनाउँछन्।
काठमाडौंको रत्नपार्कमा मध्याह्न १२ बजेको पिएम१० १५६.१ छ। पछिल्लो एक घन्टाको पिएम१० १४०.७४ रहेको वातावरण विभागले जानकारी दिएको छ।
त्यस्तै रत्नपार्ककै पिएम २.५ ८५.६९ छ। पछिल्लो एक घन्टाको पिएम २.५ ८०.५५१ छ।
कति छ काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई)?
विश्वका सहरहरूको वायुको शुद्धता मापन गर्ने आइक्यु एयरका अनुसार मंगलबार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर बनेको छ।
त्यहाँको एक्युआई २९८ छ। केही समयअघि लाहोरको एक्युआइ २४ घन्टामा १४ सय आसपाससमेत पुगेको थियो। वायु प्रदूषणका कारण सास फेर्नसमेत मुस्किल भएपछि विद्यालय एक साताका लागि बन्द गरिएको थियो।
दिल्ली प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा छ। दिल्लीको एक्युआइ २४७ छ। नेपाल भने सातौं स्थानमा छ।
नेपालको एक्युआइ १६६ पुगेको आइक्यु एयरले जनाएको छ।
एयर क्वालिटी इन्डेक्सअनुसार ० देखि ५० सम्मको सूचकांकलाई राम्रो मानिन्छ। ५१ देखि १०० सम्मको अंकलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ मानिन्छ।
वातावरण विभागका अनुसार मंगलबार मध्याह्न काठमाडौंको रत्नपार्कको एक्युआई १६१, भक्तपुरको १५७, ललितपुरको खुमलटारको १५४ र बाँकेको नेपालगञ्जको १३० छ।
काठमाडौंको शंखपार्कको वायुको गुणस्तर त्यति हानिकारक देखिएको छैन। त्यहाँको एक्युआइ ६३ छ। यी सबै ठाउँको एक्युआइ पछिल्लो एक घन्टाको अवधिको हो।
काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषित हुनुको कारण सवारी साधनले उत्सर्जन गर्ने धुवाँ नै भएको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले बताए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बागमती प्रदेशमा १९ लाख सवारी साधन दर्ता भएका छन्। दैनिक १५–२० हजार सवारी साधान काठमाडौं भित्रने र बाहिरिने गर्छन्। काठमाडौ उपत्यकाभित्र मात्रै ११ देखि १४ लाख सवारी साधन रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए।
उनकाअनुसार काठमाडौं उपत्यकामा अहिले नियमित सवारीको प्रदूषण जाँच हुँदैन। ललितपुरको एकान्तकुनामा जाँच गरिने भए पनि काठमाडौं उपत्यकाभित्र अन्यत्र परीक्षणको प्रबन्ध नै छैन। काठमाडौं महानगरपालिकाले प्रदूषण जाँच गर्ने भनेको थियो। उसले पनि काम सुरू गर्न सकेको छैन।
बागमती प्रदेश सरकारले गत जेठमा सूचना निकालेर २० वर्ष सञ्चालनमा आएका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नहुने परिपत्र गरे पनि कार्यान्वयनमा आएको छैन। यस्ता सवारी साधनले हानिकारक धुवाँ फ्याल्ने हुँदा वायुप्रदूषण बढ्ने विज्ञहरू बताउँछन्।
‘सवारी साधनले फाल्ने धुवाँ पनि यहीँको वायुमण्डलमा थुप्रिएर बसेको छ। त्यसका साथै हिउँद लागेपछि बाटाघाट बन्न थाल्छन्। यसले पनि प्रदूषण बढाएको छ,’ वातावरण विभागका सूचना अधिकारी ज्ञवालीले बताए।
खुमलटार, भैँसेपाटी, शंखपार्क क्षेत्रमा चक्रपथ विस्तारले वायु प्रदूषण बढाएको ज्ञवालीले जानकारी दिए।
२०६९ पुस ३ गते नेपाल र चीन सरकारकाबीच कोटेश्वर–कलंकी खण्ड विस्तार गर्ने सहमति भएको थियो। त्यसअनुसार २०७५ मा पहिलो खण्ड पूरा भयो।
२०७४ माघ ४ गते चीन सरकारसँग दोस्रो खण्ड बनाउने सहमति भएको थियो। उक्त खण्ड पूरै अलपत्र छ।
ठाउँ-ठाउँमा संरचना भत्काइएका छन्। संरचना भत्किएका ठाउँबाट उड्ने धुलोका कारण त्यहाँको हावा प्रदूषित बनेको छ।
‘हिउँदयाममा हावा पनि कम चल्छ। घाम पनि नलाग्ने हुँदा धुलो उडेर अन्यत्र जान सक्दैन। प्रत्येक दिनको धुवाँधुलो वायुमण्डलमा थुप्रँदा कम्बल ओढेर बसेजस्तो भएको छ,’ ज्ञवालीले बताए।
चक्रपथ क्षेत्रमै निर्माण भइरहेको ग्वार्को फ्लाइओभरको पनि काम सकिएको छैन। २०७८ फागुन १२ गते ठेक्का लागेर निर्माण सुरू भएको ग्वार्को फ्लाइओभर २०८० फागुन ११ भित्र निर्माण पूरा भइसक्नुपर्ने थियो। काम नसकिएपछि थपेको म्याद यही पुस ८ गते सकिँदैछ। तर माटो फिलिङ लगायतका काम नै नसकिएकाले त्यसले पनि वायु प्रदूषण बढाएको छ। यसका साथै काठमाडौं उपत्यकामा सकडपेटी बनाउने, ढल हाल्ने, तार भूमिगत गर्ने काम भइरहन्छन्। त्यसले पनि वायु प्रदूषित हुन सघाउँछन्।
यसपालि हिउँदयाममा तुलनात्मक रूपमा कम पानी परेको छ। सामान्यतयाः पोस्ट मनसुन (असोज १५ देखि मंसिर १५ सम्मको अवधि) याममा ७५.३ मिलिमिटर पानी पर्ने गर्छ। यस वर्ष असोज १५ देखि मंसिर १० गतेसम्मको अवधिमा ६३.२ मिलिमिटर अर्थात् ८४.८ प्रतिशत मात्रै पानी परेको छ।
जसले पनि वायु प्रदूषण बढाएको ज्ञवालीले बताए।
पछिल्लो समय न्यूनतम र अधिकतम तापक्रम निरन्तर घटिरहेकाले वायुमण्डमा रहेको धुवाँ, धुलो उडेर अन्यत्र जान नसकेको उनले बताए। यसका अतिरिक्त वन डढेलोका घटना पनि बढ्न थालेका छन्।
अहिले नेपालको वायुमण्डलमा दिल्लीको प्रदूषणको असर पनि देखिएको छ।
‘धेरै त यहाँकै धुवाँधुलो देखिएको छ। केही मात्रामा दिल्लीको प्रदूषण यहाँसम्म आइपुगेको छ। त्यकारण हामीले वायु प्रदूषण हुने गरी गतिविधि गर्नुभएन। सडक निर्माण कार्य बेलैमा सक्नुपर्यो।