अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक पनडुब्बीहरू तैनाथ राख्न आफूले निर्देशन दिएको बताएका छन्।
रूसी पूर्वराष्ट्रपति तथा हाल रूसी सुरक्षा परिषद प्रमुख रहेका दिमित्री मेदवेदेवको धम्कीपछि आफूले उपयुक्त स्थानमा आणविक पनडुब्बी तैनाथ गर्न निर्देशन दिएको ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत जानकारी दिएका छन्।
'मेदवेदेवको उत्तेजक बयानका आधारमा मैले दुइटा आणविक पनडुब्बीहरूलाई उपयुक्त क्षेत्रहरूमा तैनाथ रहन आदेश दिएको छु,' ट्रम्पले लेखेका छन्।
ट्रम्पले रूस र रूसबाट तेल खरिद गर्नेहरूमाथि पनि दण्डस्वरूप भन्सार दर बढाउने भनेर दिएको अभिव्यक्तिको जबाफ दिँदै मेदवेदेवले बिहीबार शब्दमा ध्यान दिन चेतावनी दिएका थिए।
उनले ट्रम्पको बोली र व्यवहारले रूस-अमेरिका युद्धलाई एक कदम नजिक लगेको समेत भनेका थिए।
ट्रम्पले रूसलाई १० दिनभित्र युक्रेनसँग युद्धविरामका लागि सहमत हुन अल्टिमेटम दिएका थिए। त्यसो नभए रूसमाथी भन्सार बढाउने र त्यहाँबाट तेल किन्नेहरूलाई पनि दण्डस्वरूप भन्सार बढाउने चेतावनी दिएका थिए।
'रूस र रुसबाट तेल खरिद गर्नेहरूलाई दण्डस्वरूप भन्सार लगाउने ट्रम्पको धम्की केवल अल्टिमेटमको खेलमात्रै हो। यस्तो धम्कीले रूस र संयुक्त राज्य अमेरिकालाई युद्धतर्फ एक कदम नजिक लैजान्छ,' ट्रम्पलाई जबाफ दिँदै मेदवेदेवले भनेका थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
त्यसयता ट्रम्प र मेदवेदेवबीच सामाजिक सञ्जाल प्लेटफर्ममा 'वाकयुद्ध' हुँदै आएको रोयटर्सले जनाएको छ।
जबाफमा ट्रम्पले मेदवेदेवलाई रूसका असफल राष्ट्रपति भनेका छन्।
'असफल पूर्वराष्ट्रपति मेदवेदेव अहिले पनि आफूलाई राष्ट्रपति नै ठान्छन्। उसलाई भनिदिनुस्— शब्दमा ध्यान देऊ। ऊ अहिले निकै खतरनाक क्षेत्रमा पाइला टेक्दैछ,' ट्रम्पले जबाफमा लेखेका थिए।
त्यसपछि मेदवेदेवले रूससँग सोभियतकालीन हतियार रहेको बताएका थिए।
'ट्रम्पले 'डेड ह्यान्ड' कति खतरनाक हुन सक्छ भन्ने कुरा बुझ्नुपर्छ। ‘डेड ह्यान्ड’ रुसको गोप्य अर्ध-स्वचालित प्रणाली हो, जुन कुनै शत्रुले रुसी नेतृत्वलाई एकैचोटि नष्ट गरिदिए पनि परमाणु मिसाइलहरू आफैले प्रहार गर्न सक्ने हिसाबले डिजाइन गरिएको छ,' मेदवेदेवले भनेका थिए।
त्यसपछि ट्रम्पले पनडुब्बी तैनाथ राख्न निर्देशन दिएको बताएका हुन्।
यस विषयमा ट्रम्पलाई पत्रकारहरूले पनि प्रश्न गरेका थिए।
जबाफमा रुसका पूर्वराष्ट्रपतिबाट धम्की आएकाले तैनाथ राख्न निर्देशन दिएको बताएका थिए। 'हामी आफ्ना जनताको सुरक्षाका लागि तयार भइरहेका छौं,' उनले भनेका छन्।
ट्रम्पको अभिव्यक्तिबारे अमेरिकी रक्षा मन्त्रालय र नौसेनाले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले लेखेको छ।
तर विश्लेषकहरूले भने त्यस्ता पनडुब्बीहरू राष्ट्रपति ट्रम्पले नभनेपनि तैनाथ रहने बताएका छन्।
अमेरिकी पनडुब्बीहरू प्रायः गोप्य रूपमा राखिने र तिनीहरू कहाँ छन् भनेर सार्वजनिक जानकारी नदिइने पनि ती विश्लेषकहरूले बताएका छन्।
'अमेरिकी आणविक पनडुब्बीहरू सधैंजसो तयारी अवस्थामा हुन्छन्, त्यसैले ट्रम्पको यस्तो आदेश बढी बयानबाजी मात्रै हो,' एक विश्लेषकले रोयटर्ससँग भनेका छन्।
उनले पनडुब्बीहरू पहिले नै आफ्नो ठाउँमा तैनाथ रहेकाले काहीँ पठाउन नपर्ने बताए।
तर परमाणु मामिलामा राष्ट्रपतिको उक्त अभिव्यक्ति गैरजिम्मेवार रहेको हतियार क्षेत्रमा काम गर्ने अधिकारीहरूले बताएका छन्।
'परमाणु मामिलामा कुनै पनि राष्ट्रपतिको टिप्पणी निकै संवेदनशील मानिन्छ। सामाजिक सञ्जालबाट यस्तो चेतावनी दिनु गैरजिम्मेवार हो,' ती अधिकारीले भनेका छन्।
फेरि ट्रम्पले कस्तो किसिमको पनडुब्बि भनेका हुन् पनि प्रष्ट नभएको रोयटर्सले जनाएको छ। अमेरिकाका धेरै पनडुब्बी आणविक इन्धनबाट चल्ने भए पनि सबैमा परमाणु हतियार राखिएको हुँदैन।
ट्रम्पले चेतावनी दिए पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई गम्भीर रूपमा लिएका छैनन्।
'हामी वार्ताका पक्षमै छौं तर अहिले युद्धको गति हाम्रो पक्षमा छ,' पुटिनले भनेका थिए।
रूसी पूर्वराष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच भनाभन भए पनि दुई देशबीच परमाणु युद्ध हुने खतरा नभएको पेन्टागनका अधिकारीहरूले बताएका छन्।
'यो सामान्य शक्ति प्रदर्शन मात्रै हो। वास्तवमै परमाणु युद्ध सुरू हुने खतरा छैन। रूसले पनि यसलाई राम्ररी बुझेको छ,' पेन्टागनका ती अधिकारीले रोयटर्ससँग भनेका छन्।