नुवाकोटकी १४ वर्षीया सीमा (नाम परिवर्तन) सात वर्षकै उमेरदेखि घरेलु श्रमिक थिइन्। उनी काठमाडौं जडीबुटीस्थित एक घरमा काम गर्थिन्। घर सफासुग्घर तुल्याउने, खाना बनाउनेदेखि पाँच जनाको लुगा धुने काम उनकै भागमा थियो।
तैपनि उक्त घरका सदस्यले उनलाई कहिले मानवोचित व्यवहार गरेनन्।
जहिले उनका स-साना कुरामा खोट देखाउने, वचनरूपी बाण तेर्स्याउने, कुटपिट गर्ने र घरबाट निकाल्ने धम्कीसमेत दिन्थे।
उनलाई त्यहाँ गाउँका आफन्तले केही दिनका लागि भनेर छोडेर गएका थिए। उनलाई त्यहाँ छोडेर गएको ६ वर्षसम्म पनि आफन्त लिन आएनन्। उनी बेसहारा हुँदै त्यही घरमा ओत लागिरहिन्।
उनको लामो कथा छ –
गाउँमा कोही थिएनन्। पाँच वर्षको उमेरमा आमा गुमाएकी उनी बुबाले दोस्रो विवाह गरेपछि काका पर्नेको घरमा आश्रय लिइरहेकी थिइन्। गाउँका आफन्तले काठमाडौंको जडीबुटीसम्म ल्याएर छोडिदिए।
त्यसपछि उनी कहाँ जानू! निरूपाय हुँदै उनी त्यहीँ बसिरहिन्।
जीवनमा बाटोको टुंगो थिएन। कुन बाटो हिँडे कता पुगिन्छ भन्ने कुनै भेउ पाएकी थिइनन्।
जहाँ ओत लागेकी थिइन्, त्यही घरमा जे दिन्थे, रूखोपीठो त्यही खान्थिन्।
उमेर बढ्दैजाँदा उनले घरको सबै काम गर्न थालिन्। तर पनि उनले दिनहुँ गाली, बेइज्जती र अपमान सहनुपर्यो। हुर्किइसकेको उनको चेतनाले त्यो 'विष' पचाउन सकेन। उनलाई असह्य हुन थाल्यो।
उनीमाथि हुने व्यवहार छरछिमेकीलाई पनि थाहा भयो। त्यहीबेला एक महिलाले उनलाई खाना बस्ने सुविधासहित मासिक ५ हजार रूपैयाँ पाउने ठाउँमा काम लगाइदिने बाचा गरिन्।
'जसरी हुन्थ्यो त्यो घर छाड्नु थियो। झन् काम गरेवापत पैसा पाउने भएपछि एक वर्षअघि त्यहाँबाट भागेँ,' उनले भनिन्, 'त्यहाँ काम गर्दा एक पैसा पनि दिएनन्।'
उनले त्यहाँ काम गरेवापत बस्न र खान मात्रै दिइएको थियो। त्यसैले छिमेकी महिलाले भनेअनुसार गौशाला नजिकै खोला किनारको एक खाजा घरमा बस्ने खाने र मासिक ५ हजार रूपैयाँ पाउने भनेपछि त्यहाँबाट भागेको सीमा बताउँछिन्।
उनलाई खाजाघरका साहु-साहुनीले आफन्तकी छोरी भनेर चिनाउँथे।
सुरूआती दिनमा राम्रो व्यवहार गरे। उनले पनि त्यहाँ सकेजति काम गरिन्। राम्रो ठाउँमा आइपुगेको ठानिन्। कमाएको पैसाले मोबाइल किन्ने, काठमाडौं घुम्ने सपना बुन्दै एक महिना बिताइन्। तर उनका सपनाहरू पूरा भएनन्।
दोस्रो महिना एकमुष्ट १० हजार रूपैयाँ दिने भनेर उनलाई सम्झाए, सहमति जनाइन्। उनले भाँडा माझ्ने, ग्राहकको टेबलटेबलमा चिया-खाजा पुर्याउनेदेखि अलिअलि पकाउने काम पनि सिकिसकेकी थिइन्।
उनले आफूले राहत पाएको महसुस गर्न थालेकी थिइन्। तर त्यो खुसी डेढ महिना पनि टिक्न पाएन।
'त्यहाँ काम गरेको डेढ महिना भएको थियो। साहुले रातको समयमा सुतिरहेको ठाउँमा आएर फकाइ-फकाइ शरीरका गोप्य अंग छोए र कसैलाई नभन् भने,' उनले भनिन्, 'त्यसपछि दिनहुँ खाजा खान दिने, नयाँ लुगा किनेर ल्याइदिने गरे। त्यसैले कसैलाई भन्ने हिम्मत गरिनँ।'
साहुले छोरीजस्तो हो भन्दै दिउँसो हेरचाह गर्ने गरेको उनले बताइन्। रातमा भने उनको दुर्व्यवहारको सामना गर्नुपर्थ्यो।
रातमा एक-दुई घन्टा आफूसँगै बसेर शरीरका गोप्य अंग छुने र सबै लुगा खोलेर देखाउन भन्दै दुर्व्यवहार गर्ने गरेको उनले बताइन्। दुई/तीन दिन त्यस्तै गरेपछि आफूलाई जबरजस्ती गरेको उनको भनाइ छ।
'जबरजस्ती गरेर नयाँ लुगा किनिदिने र घुम्न लगिदिने भने। त्यसैले चुप बसेँ, कसैलाई भनिनँ,' उनले भनिन्, 'कहिलेकाहीँ मिठाइ किनेर खानू भन्दै पैसा पनि दिए।'
काम गर्न बसेकै ठाउँका साहुले पटक/पटक बलात्कार गरेको उनले बताइन्। बिस्तारै साहुले आफ्ना साथीहरूलाई पनि बोलाएर शारीरिक सम्बन्ध राख्न लगाएको उनले बताइन्।
उनीहरूले पनि सीमालाई ५ सय, एक हजार रूपैयाँ दिने गरेका थिए। साहुले उनलाई यसरी धेरै पैसा कमाउन सक्ने भन्दै बिस्तारै नयाँ-नयाँ पुरूषहरूसँग सम्बन्ध राख्न लगाएको उनको भनाइ छ।
दिनभर खाजा पसलमा काम गरेर सीमा थाकेकी हुन्थिन्। रातमा तीन/चार जना पुरूषसँग सम्बन्ध राख्न लगाइन्थ्यो। यो कुरा साहुनीलाई भने कहिले थाहा भएन।
उनका अनुसार उनीहरूको पसल र कोठा १०/१५ मिनेटको दुरीमा थियो। साहुका तीन वर्षको छोरा भएकाले पाँच, छ बजेतिर साहुनी कोठामा जान्थिन्। त्यसैले उनलाई कहिले केही भनिनन्। तर चार महिनाअघि भने उनले सीमालाई १५ हजार रूपैयाँ दिएर अर्कै ठाउँमा काम गर्न जान भनिन्।
साहु थिएनन्। त्यसैले उनी पैसा लिएर चार महिनाअघि त्यहाँबाट निस्किइन्। उनीसँग साथमा १५ हजार रूपैयाँ त थियो। तर कहाँ जाने, के गर्ने? केही थाहा थिएन।
उनी फेरि अन्योलको भुँवरीमा पुगिन्।
दुई/तीन हजारले नयाँ लुगा र चप्पल किनिन्।
काठमाडौं उनका लागि अपरिचितहरूको सहर थियो। उनी टोलाउँदै गौशाला चोकमा बसिरहेकी थिइन्। त्यहाँ बसका टिकट काट्ने युवकले उनको बारेमा सोधपुछ गर्न थाले।
उनले आफन्त कोही नभएको र साहुनीले कामबाट निकालिदिएको बताइन्। उनका कुरा सुनेपछि त्यही रात नै ती युवकले खान-बस्न दिने गरी होटलमा काम लगाइदिने भनेर नयाँबसपार्क पुर्याए।
त्यहाँ पनि उनले सुखको सास फेर्न पाइनन्।
'युवादेखि बुढासम्मले उस्तै हर्कत दोहोर्याए,' उनले भनिन्, 'सबैले त्यस्तै गर्ने होला भनेर अन्त जान मन लागेन। त्यही बसिरहेँ।'
दिनभर होटलमा भाँडा माझ्ने काम गरे पनि रातमा दुई/तीन जनाले यौन सम्बन्ध राखेको उनी बताउँछिन्।
'जाने ठाउँ कतै नभएकाले त्यहीँ चुपचाप बसेँ। त्यहाँ काम गर्न थालेको दुई महिना जति हुँदा प्रहरीले उद्धार गर्यो,' उनले सुनाइन्।
उनलाई आफूमाथि के भएको थियो भन्नेसमेत थाहा पाएकी थिइनन्। उनका कोही आफन्तहरू पनि थिएनन्। त्यही कारण उनलाई अहिले एक गैरसरकारी संस्थाले संरक्षण दिइरहेको छ।
सीमा जस्तै एक महिनाअघि १७ वर्षीया किशोरीलाई एक स्पाबाट प्रहरीले उद्धार गरेको थियो। उनी त्यहाँ डेढ वर्षदेखि त्यहाँ काम गरिरहेकी थिइन्।
उनको पनि पीडा सीमाको भन्दा कम छैन।
दाङ तुलसीपुरमा जन्मिएको अन्नपूर्ण (नाम परिवर्तन) दुई वर्षअघि आफन्तले गाउँबाट साथमा लिएर आएका थिए। बुबा बितेपछि घर व्यवहार चलाउने जिम्मा उनको आमाको काँधमा थियो।
चार सन्तानमध्ये अन्नपूर्ण तेस्री थिइन्।
आमाकै सहमतीमा आफन्तले खाजा घरमा काम गर्ने र मासिक ७ हजार रूपैयाँ दिने भनेर काठमाडौं ल्याइएको उनी बताउँछिन्। उनलाई पनि सुरूआती दिनमा खाजा पसलमा राम्रै व्यवहार गरे। बेला-बेलामा फोनमा आमासँग पनि बोल्न दिन्थे, गाउँमा पैसा पठाइदिइरहेका थिए।
'एक वर्षअघि साहुनीले मासिक दोब्बर पैसा पठाइदिन्छु, तिमीसँग बस्न आउने पुरूषले जे जे भन्छ त्यही मान भनेर फकाइन्,' अन्नपूर्णले भनिन्, 'पुरूष आउने दिन उहाँले खाजापसलकै पछाडि ओछ्यान लगाएर राखिदिइन्।'
उनले थपिन्, 'अरू दिन भने किचनको साघुँरो कोठामा सुत्न दिइन्थ्यो।'
उनका अनुसार ३०/३५ वर्षीय युवकले उनलाई दुई-घन्टा जति गोप्य अंग चलाउँदै फकाइफकाइ यौन सम्बन्ध राखे।
त्यसको भोलिपल्ट बिहान उनी उठ्नै सकिनन्।
साहुनीले नै उनलाई दुखाइ कम हुने भन्दै औषधि खुवाइन्। उनी दुई/तीन दिनपछि बिस्तारै सामान्य हुँदै थिइन्। तर साहुनीले फेरि त्यस्तै गर्न भनिन्।
'म यस्तो काम गर्न सक्दिनँ भनेँ। तर उहाँले के गर्न आएकी होस्, भनेको नमाने आमालाई पैसा पठाइदिन्नँ भनेर धम्की दिइन्। गाउँमा आमाहरूलाई पैसा होस् भनेर जे भन्यो त्यही मानेँ,' उनले भनिन्।
साहुनीले सुरूमा दुई/तीन दिनको फरकमा फरक फरक पुरूषहरू पठाइदिन्थिन्। बिस्तारै दैनिक दुई/तीन जनासमेत पठाउन थालेको उनी बताउँछिन्।
उनलाई जति धेरै जनासँग यौनसम्बन्ध राख्यो, त्यतिधेरै पैसा दिने भनेर साहुनीले प्रलोभनमा पारिन्। साहुनीले जसो जसो भन्थिन्, अन्नपूर्ण त्यही गर्थिन्।
'एउटा पुरूषको ५ सयदेखि एक हजार रूपैयाँसम्म दिन्थिन्,' उनले भनिन्।
उनले त्यसैगरी डेढ वर्षसम्म त्यहाँ काम गरिन्। उनीसँग सम्बन्ध राख्न आएकै पुरूषले ६/७ महिनाअघि ठमेलको स्पा सेन्टरमा पुर्याए। ती पुरूषले यस्तो नर्कबाट मुक्ति दिने भन्दै आफूलाई स्पा सेन्टरमा लगेको उनी बताउँछिन्।
त्यहाँ पनि सुरूआतमा महिला-पुरूषलाई मसाज गरिदिने र सरसफाइको काम लगाइएको थियो। बिस्तारै त्यहाँ पनि 'एक्स्ट्रा सर्भिस' भन्दै दबाबमा पुरूषहरूसँग यौनसम्बन्ध राख्न लगाएको उनको भनाइ छ।
काठमाडौं गल्ली-गल्लीमा भेटिने कतिपय खाजाघर, होटेल, बार र स्पामा बालिका, किशोर र महिलालाई विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाइन्छ भन्दा धेरैले पत्याउँदैनन्। त्यसो त, सबै खाजाघर, होटेल, बार र स्पामा यस्ता गतिविधि हुन्छन् भन्ने होइन। तर अहिले प्रहरीले धरै ठाउँबाट बालिका, युवतीहरूलाई उद्धार गरिरहेको छ।
उद्धारपछि केरकार गर्दा नै उनीहरूले भोगेका पीडाहरू बाहिर आएका हुन्। नत्र अरूका नजरमा उनीहरू एक खाजा पसलमा भाँडा माझ्ने र सरसफाइ गर्ने बालिका भनेर चिनिएका थिए।
दिनभर काम गरेर थाकेका शरीरलाई रातमा लागूपदार्थ सेवन गरेर तथा मात्तिएर आएका पुरूषहरूले उनीहरूलाई शारीरिक चोट दिन कतै बाँकी नराख्ने उनीहरू बताउँछन्।
अन्नपूर्णमाथि मात्तिएको पुरूषले गोप्य अंगमा घाउसमेत बनाइदिएको उनले सेतोपाटीलाई बताएकी छन्। यति हुँदा पनि उनले कहिले आमालाई भन्न सकिनन्। प्रहरीले उद्धार गरेपछि पनि उनको बारेमा परिवारलाई जानकारी गराइएको छैन।
उनीहरूको जस्तै पीडा रामेछापकी १९ वर्षीया टीका (नाम परिवर्तन) को पनि छ। उनी गोंगबुको एक खाजा घरमा काम गर्थिन्।
आर्थिक अवस्था न्यून भएकाले पैसा कमाउने सपना बोकेर उनी एक वर्षअघि आफन्तसँग काठमाडौं आएकी थिइन्। आफन्तको सहयोगमा उनले गोंगबुको एक होटलमा काम पाइन्। काम गरेको तेस्रो दिन साहुनीले ग्राहकको कोठामा बियर र स्न्याक्स पुर्याउन लगाइन्। त्यही ग्राहकसँग दुई पटक स्न्याक्स पुर्याउन गइन्।
त्यति बेलासम्म सामान्य व्यवहार गरिरहेका थिए। तेस्रो पटक बियर पुर्याएर फर्किन लाग्दा ग्राहकले तानेर जबरजस्ती गरेको उनी बताउँछिन्।
'साहुनीलाई बोलाउँदा पनि आएनन्,' उनले भनिन्, 'साहुनीले अनुमति दिएको छ भन्दै जबरजस्ती गरे।'
उनीले आफूले त्यस्तो काम नगर्ने भन्दै रोइकराइ गरिन्। तर साहुनीले पैसा दिने भनेर आफूलाई चुप गराएको उनी बताउँछिन्।
साहुनीको प्रलोभनमा परेर उनी त्यही काम गर्न तयार भइन्। साहुनीले घुम्न लैजाने, नयाँ-नयाँ लुगा किनिदिने भएपछि उनले जे भन्थिन्, त्यही मान्न थालिन्।
'ग्राहकबाट कति लिन्थिन् थाहा छैन, मलाई प्रतिव्यक्ति ५ सय रूपैयाँ दिन्थिन्,' उनले भनिन्, 'मासिक ३० हजार रूपैयाँसम्म कमाएँ।'
ती साहुनीले पैसाको प्रलोभनमा पारेर टीकालाई एक वर्षसम्म यौन व्यवसायमा लगाइन्। तीन महिनाअघि उनलाई प्रहरीले उद्धार गर्यो तर उनलाई त्यसै छोडिदिएको छ।
आफ्नो इच्छाले त्यस्तो काम गरेको र उमेर पुगेको भनिसकेपछि प्रहरीले छोडिदिएको उनी बताउँछिन्।
उनीहरू प्रतिनिधि मात्र हुन्।
सीमा र अन्नपूर्ण र टीकाजस्तो करकापमा पारेर वा प्रलोभनमा पारेर बालिका तथा युवतीलाई यौन व्यवसायमा लगाउने व्यवसायीहरूको संख्या बढ्दो छ। त्यसैले विगत एकवर्षयता खाजा, होटल, बार र स्पामाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले निगरानी बढाएको छ।
विगतका दिनमा पनि स्थानीय प्रहरी तथा गैरसरकारी संस्थाहरूले यस्ता कामहरू गर्दै आएका थिए। पछिल्लो समय बाह्य मात्र नभइ आन्तरिक मानव बेचबिखनमा पनि प्रहरीले सक्रियता बढाउनुपर्ने सल्लाह-सुझाव आएपछि अपरेसन सुरू गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी भावेष रिमालले जानकारी दिए।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ को उपदफा २ (ख) मा कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, जालसाज गरी, प्रपञ्च मिलाइ, जबरजस्ती गरी, करकापमा पारी, अपहरणमा गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई आफूसँग राख्ने वा नियन्त्रणमा लिनु पनि मानव बेचबिखन मानिन्छ।
त्यसैले सीमा, अन्नपूर्ण र टीकामाथि भएको आन्तरिक बेचबिखन हो।
उनीहरूलाई सञ्चालक वा आफन्तले डर, धम्की र प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएका छन्। त्यसैले यस्ता घटनालाई जघन्य अपराध मानेर कानुनी कारबाही अगाडि बढाएको एसपी रिमालले जानकारी दिए।
उनका अनुसार प्रहरीले चालु आर्थिक वर्षमा अहिलेसम्म २४ वटा अपरेिन चलाएको छ। जसमा खाजा घर, होटल, बार र होटेलबाट ६१ महिला, २२ बालिका, तीन पुरूषको उद्धार भएको छ। यो विगत पाँच वर्षयताको सबैभन्दा धेरै हो।
'यसअघि पनि यस्ता अपरेसनहरू भएका थिए, तर प्रहरी अहिलेको जति सक्रिय थिएन,' उनले भने, 'यति धेरै संख्यामा उद्धार गरिएको पनि थिएन।'
एक वर्ष अगाडिदेखि भने मानव बेचबिखन अनुसन्धान ब्युरोले आन्तरिक बेचबिखनलाई पनि प्राथामिकताको दिएर अनुसन्धान अगाडि बढाएको हो।
ब्युरोको तथ्यांकअनुसार २०८०/८१ मा १९ वटा अपरेसन चलाएको थियो। त्यसबाट ४१ महिला,२५ जना बालिकालाई उद्धार गरिएको थियो। २०७९/८० मा तीन वटा अपरेसन चलाइएको थियो। जसमा १ महिला,२ बालिकालाई उद्धार गरिएको तथ्यांक छ।
त्यस्तै २०७८/७९ मा दुई वटा अपरेसन चलाइएको थियो। त्यतिबेला एक महिला र तीन जना बालिकालाई उद्धार गरिएको तथ्यांक छ। २०७७/७८ मा दुई अपरेसन चलाउँदा तीन महिलाको मात्र उद्धार गरिएको थियो।
त्यति बेला प्रहरीले उद्धार गर्नेसँग पक्राउ पर्ने व्यवसायीको संख्या पनि एकदमै न्यून छ।
२०७७/७८ मा एक महिला, दुई पुरूष, २०७८/ ७९ मा तीन महिला, दुई पुरूष, २०७९/८० मा दुई महिला, चार पुरूष व्यवसायी पक्राउ परेका छन्।
२०८०/८१ मा यसको संख्या दोब्बर देखिन्छ।
यस वर्ष ९ जना महिला, आठ जना पुरूष, २०८१/८२ मा तीन जना पुरूष, तीन जान महिला व्यवसायी पक्राउ परेको ब्युरोको तथ्यांक छ।
दुई साताअघि मात्र (कात्तिक १३) काठमाडौं महानगरपालिका वडा–१६ ठमेल सात घुम्तीमा आयुर्वेदिक स्पा सञ्चालन गर्दै ३८ वर्षीय सपना खवास पक्राउ परिन्। उनले सहयोगी रूपमा काम गर्न राखेकी बालिकालाई यौन व्यवसायमा लगाएको आरोप छ। उनले बालिकालाई ललाई फकाइ मसाज गराइसकेपछि 'एक्स्ट्रा सर्भिस' भन्दै गाह्रकहरूसँग यौन सम्बन्ध राख्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रति ग्राहकबाट एक एक पटकमा १५ सय लिएर बालिकालाई ५ सय रूपैयाँ दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको एसपी रिमालले जानकारी दिए। उनका अनुसार ती महिलाले भनेको नमानेमा पुरूषहरूसँग यौन सम्बन्ध राखेको कुरा परिवारलाई भनिदिने भनेर धम्की दिई बालिकालाई राखेको पनि अनुसन्धानमा खुलेको छ।
'मसाज सेन्टरमा आएको ग्राहकहरूलाई छान्न लगाउने र उनीहरूको छानेको बालिकालाई जबरजस्ती यौन सम्बन्ध राख्न पठाउने गरेको देखियो,' एसपी रिमालले भने।
बालिकाले प्रहरीलाई जाहेरी दिए अनुसार डरत्रास देखाएर महिनावारी भएको बेलामा समेत ग्राहकसँग यौन सम्बन्ध राख्न लगाएको बताएकी छन्।
खवास जस्तै आफ्नै घरमा सहयोगी भनेर राखेर यौन व्यवसायमा लगाएको आरोपमा कात्तिक ७ गते ४३ वर्षीया सीता गोतामे पक्राउ परेकी छन्।
नुवाकोट तादी घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४, मूलपानीबाट उनलाई पक्राउ गरिएको हो। उनले आफ्नै घरमा बालिकालाई भाँडा माझ्ने र सरसफाइमा राखेको चार जनालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोप छ।
उनले मासिक २० हजार रूपैयाँ दिने भनेर घरमा दुई बालिका र दुई युवतीलाई राखेकी थिइन्। त्यहाँ उनले सुरूआती चरणमा घरको काम भनेर उनीहरूलाई त्यहाँ राखेकी हुन्।
आर्थिक अवस्था कमजोर भएका बालिका र युवतीहरूलाई ललाइफकाइ ग्राहकबाट तीन हजार रूपैयाँ लिएर उनीहरूलाई प्रतिव्यक्ति एक हजार रूपैयाँ दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
तत्कालीन यस घटनामा अनुसन्धान गरेका एसपी गौतम मिश्रका अनुसार उनले आफ्नै घरमा ग्राहकहरूलाई बोलाएर बालिकालाई जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने गरेकी थिइन्। उनको घरमा दैनिक नयाँ-नयाँ पुरूषहरू आवतजावत बढेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले २० दिनसम्म निगरानी गरेर उनलाई पक्राउ सीतालाई पक्राउ गरेको थियो। उनले विगत दुई-तीन वर्षअघिदेखि यस्तो व्यवसाय गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।
घरमै यौन व्यवसायमा चलाएको यो पहिलो घटना भएको ब्युरोले बताएको छ।
यसअघि भने खाजा घर र होटलमा राखेका घटनाहरू मात्र सार्वजनिक भएका थिए। घरमै यौन व्यवसाय सञ्चालएको कुराले प्रहरीलाई गम्भीर बनाएको एसपी रिमालले जानकारी दिए।
विगतमा यस्ता घटनालाई प्रहरीले प्राथमिकता नदिइएका कारण यस्ता व्यवसायीहरू ज्यादती बढेको हो। अब निगरानी बढाएसँगै बिस्तारै घट्दै जाने ब्युरोको भनाइ छ।
'अब बालबालिका तथा महिला कामदार राखेका हरेक होटल, बार, खाजाघरमाथि निगरानी बढाउनुपर्ने देखिन्छ,' उनले भने, 'यस्तो भनिरहँदा सबैले यौन व्यवसाय गरिरहेका छन् भन्ने होइन।'
धरैजसो व्यवसायीले ग्राहक तान्ने र बालिका तथा युवतीहरूलाई प्रलोभनमा परेर यौन व्यवसाय लगाउने गरेको प्रहरी अनुसन्धानमा देखिएको उनले बताए।
'आर्थिक प्रलोभन नै यसको मुख्य कारण देखिन्छ,' उनले भने।