आइतबार कालिकोटमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। कालिकोटको पलाँता गाउँपालिका–३ राडुनेटामा क १ ज ५६ नम्बरको यात्रु बोकेको बोलेरो जिप दुर्घटनामा परेको थियो।
दुर्घटनामा एक बालकसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिप चालकलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
पलाँता गाउँपालिका–६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र वडा नम्बर ३ का दमन रोकायाको घटनास्थलमै मृत्यु भएको हो। चालक धनीराम रावतलाई अस्पतालले मृत घोषणा गरेको हो।
पलाँता गाउँपालिका–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, वडा नम्बर ३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, वडा नम्बर ५ का दोली विक, आयुसा विक घाइते छन्।
घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको हेलिक्पटरमार्फत् घाइतेहरूलाई आइतबार नै सुर्खेत ल्याइएको थियो।
उक्त जिप दुर्घटनाको कारण भने ‘ओभरलोड’ भएको निष्कर्ष प्रहरीले निकालेको छ।
‘गाउँमा कच्ची सडक, त्यसैमाथि साँघुरो छ, गाडीले धान्नेभन्दा बढी लोड गरिएको थियो,’ कालीकोटका प्रहरी प्रमुख डिएसपी रावतले भने, ‘यात्रु पनि धेरै, गाउँका मानिसको सामान पनि धेरै लोड गरेकाले साँघुरो सडकमा जिपले नियन्त्रण गुमाएको देखिन्छ।’
दुर्घटनामा परेको बोलेरो जिपभित्र चालकसहित पाँचजना यात्रु बस्न मिल्छ। आइतबार उक्त जिपले १९ जना यात्रु बोकेको थियो।आइतबार उक्त जिप पलाँता गाउँपालिका– ५ खिनदेखि वडा नम्बर ९ को थिर्पुतर्फ गइरहेको थियो।
पलाँता गाउँपालिका कालीकोट सदरमुकामदेखि सवारी साधनमा पाँच घण्टाको दूरीमा छ। फुकोट कर्णाली पारी पर्ने उक्त गाउँमा नदीमा पुल नहुँदा सीधा यातायात चल्दैनन्।
गाउँमा यातायात सहजताका लागि तुइनबाट तारेर दुई वटा बोलेरो जिप लगिएको थियो। दुई वटामध्ये एउटा तिहारअघि सामान्य दुर्घटनामा परेर थन्किएको छ। अर्को आइतबार दुर्घटनामा परेको छ।