रोपाइँ तय भएको दिन साँझसम्मै राजन खड्काले ट्रयाक्टरको बाटो हेरिरहे। छिमेकी ट्र्याक्टरवालाले 'राति १० बजेसम्म भए पनि आएर जोतिदिन्छु' भनेका थिए।
यो असार १० गते सोमबारको कुरा हो।
अबेरसम्म पनि ट्र्याक्टर उनको खेतमा आएन। राजनले फोन गरे।
'अब बिहान सबेरै आएर जोतिदिन्छु,' ट्रयाक्टरधनीको यस्तो आश्वासन पाएपछि उनी साँझ सात बजेतिर घर फर्किए।
भोलिपल्ट बिहान पाँच मात्रै बज्दै थियो। हलोजडित ट्रयाक्टर लिएर उनका छिमेकी राजनकै आँगनमा आइपुगे। रोपाइँका दिन भएकाले राजन अघि नै उठेर खेततिर लाग्ने तयारी गर्दै थिए। पैदलै जाँदा पाँच मिनेटमा खेत पुगिन्थ्यो। तर जोत्ने मेलो देखाइदिन राजन सँगै जानैपर्थ्यो।
केहीबेरमै झापा कमल गाउँपालिका-२ को समाइगढमा रहेको उनको खेतमा ट्रयाक्टर हिलो निकाल्दै दौडिन थाल्यो। आलीमा उभिएर राजन त्यो दृश्य हेरिरहेका थिए।
असार ११ गते मंगलबारको त्यो बिहान ४८ वर्षीय राजनका लागि जीवनकै अन्तिम उज्यालो सावित भयो।
गड्याङगुडुङ गर्जिरहेको आकाशतिरबाट एउटा उष्ण झिल्कोले उनलाई ठाउँको ठाउँ लडाइदियो। ठूलो आवाजमा गर्जेको आकाशले चट्याङ झारेछ। राजन खेतमै ढले। ट्रयाक्टर चालक तत्कालै जोत्न छाडेर उनीतिर दौडिए। राजनको शरीर चिसो भइसकेको थियो।
'त्यो दिन त्यस्तै बिहान पौने सात जति बजेको थियो होला। आलीमा बसिरहेको मेरो दादालाई चट्याङले आइय्या पनि भन्न दिएन,' राजनकी बहिनी शान्ता खड्काले भनिन्, 'खालतिरको भाग जोतिसकेर ट्रयाक्टर डाँडाखेतमा उक्लिँदै थियो रे, त्यही बेला परेको चट्याङले उहाँको ज्यान गयो।'
एकैछिनमा भेला भएका गाउँलेले राजनलाई दौडाएर दमकको अस्पताल पुर्याए। आकाशबाट जमिनमा खसेको त्यो शक्तिशाली विद्युतीय करेन्टको प्रहारले राजनको प्राण चुँडिसकेको थियो।
'अस्पताल पुर्याउँदा दादाको प्राण गइसकेको रहेछ,' सोमबार राजनको अन्तिम दिनको कामको व्यस्तताबीच शान्ताले भनिन्, 'आज उहाँको आशौचको अन्तिम दिन हो। छोराछोरी नभएकाले भाउजू एक्लै काममा हुनुहुन्थ्यो। भाउजू बोल्न सक्ने अवस्थामा हुनुहुन्न।'जसरी केही मिलिसेकेन्डमै राजनले ठाउँको ठाउँ ज्यान गुमाए, चट्याङले हानेर यसरी नै जीवन खोसिनेहरूको संख्या देशैभरि धेरै छ।
नेपालमा हरेक वर्ष सरदर एक सय जनाको मृत्यु चट्याङबाट हुन्छ। प्राधिकरणको तथ्यांक अनुसार २०७१ देखि आजसम्मको अवधिमा देशभर ३१४५ वटा चट्याङका घटनामा १२१६ जनाले ज्यान गुमाएका छन्। ती घटनाहरुमा ३१४५ जना घाइते बनेका छन्। पछिल्लो एक दशकमा चट्याङबाट सबैभन्दा धेरै मकवानपुरमा १७ जनाले ज्यान गुमाउँदा झापामा १६ जनाको मृत्यु भएको छ।
प्राधिकरणको अभिलेख अनुसार यो अवधिमा सबैभन्दा कम चट्याङ डोल्पा जिल्लामा परेको छ। डोल्पामा यसबीचमा चट्याङका दुइटा मात्रै घटना भएको छ भने मानवीय क्षति छैन। कालिकोटमा पनि यो अवधिमा मानवीय क्षति छैन। विपद विज्ञ रामकुमार दाहालका अनुसार कर्णाली नेपालको सबैभन्दा कम चट्याङ पर्ने प्रदेश हो।सबभन्दा धेरै संख्या कोशी प्रदेशमा छ।
राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशमा विपदहरूमध्ये सबभन्दा धेरै मानवीय क्षति चट्याङबाटै हुने गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि असार २० गतेसम्म कोशीका नौ जिल्लामा १४ जनाको चट्याङका कारण मृत्यु भइसकेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो वर्ष दिनमा झापामा मात्रै ३ जनाले चट्याङका कारण ज्यान गुमाइसकेका छन्। त्यस्तै इलाम, उदयपुर र ओखलढुंगामा २-२ जनाको मृत्यु भएको छ। पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी र संखुवासभामा १-१ जनाको मृत्यु भइसकेको छ। यी घटनामा २४ जना घाइते छन्।
'अघिल्ला वर्षहरूका तुलनामा यस वर्ष क्षति केही थोरै देखिएको छ,' कोशी प्रदेश सरकारका विपद विज्ञ रामकुमार दाहालले भने, 'कोशीमा बाढी-पहिरोले भन्दा हरेक वर्ष चट्याङले धेरैको ज्यान लिइरहेको देखिन्छ।'
यति धेरै मानवीय क्षति भइरहे पनि मनसुनजन्य विपदका बाढी, पहिरो, डुबान र कटानको जे-जति चर्चा हुन्छ, त्यसको थोरै अंश पनि चट्याङबारे हुँदैन। तत्कालै ज्यान लिइहाल्ने चट्याङबारे समाजले धेरै गम्भीरता नदेखाएको उनको भनाइ छ।
'मनसुनजन्य विपदबाट नागरिक जोगाउन सरकारी तहबाट हरेक वर्ष ठूलो तयारी र लगानी हुन्छ,' दाहालको पछिल्लो ६ वर्षको अनुभव छ, 'तर सबै बाढी र पहिरोतिर केन्द्रित हुँदो रहेछ। तर हाम्रो प्रदेशमा त सबभन्दा धेरै मानिसको मृत्यु चट्याङबाट भइरहेको रहेछ।'
प्रदेश सरकार स्थापनायता लगातार आन्तरिक मामिला मन्त्रालयमा विपद विज्ञका रूपमा कार्यरत दाहालका भनाइमा कोशी नेपालकै सबभन्दा धेरै चट्याङ पीडित क्षेत्र हो। यहाँ हरेक वर्ष दर्जनौं मानिस र बेहिसाब चौपायाको ज्यान गइरहेको हुन्छ।
कोशीको पछिल्लो दस वर्षको तथ्यांकले पनि यही देखाउँछ।
राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अभिलेख अनुसार २०७१ देखि २०८० चैतसम्ममा कोशीमा चट्याङका ८३० वटा घटनामा परेर ३३९ जना व्यक्तिको मृत्यु भइसकेको छ। त्यही अवधिमा पहिरोका ७१० घटनामा परेर २२६ जनाको मृत्यु हुँदा ४४ जना बेपत्ता छन्। बाढीले १५८ को ज्यान लिँदा १०४ जना बेपत्ता पारेको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार नेपाल विश्वकै धेरै चट्याङ पर्ने ठाउँमध्ये प्रमुख पाँच क्षेत्रमा पर्छ।
'दक्षिण अमेरिकाको माथिल्लो भेगमा संसारमै सबभन्दा धेरै चट्याङ पर्छ,' पोखरेलले भने, 'दोस्रो धेरै अफ्रिकामा र तेस्रो हिमालयको फेदीमा धेरै पर्छ। हामी तेस्रो प्रकारको ठाउँमा छौं।'
नेपालका प्रदेशमध्ये सबभन्दा धेरै चट्याङको प्रभाव कोशीमा छ भने जिल्लाहरूमध्ये मकवानपुरमा छ। मकवानपुरको पनि चुरियामाई आसपासका क्षेत्रमा सबभन्दा धेरै चट्याङ पर्छ। कोशीको झापामा सबभन्दा धेरै क्षति र यसपछि मोरङ र उदयपुरको चुरे बेल्टमा धेरै क्षति देखिएको पोखरलले बताए।
प्राधिकरण, मौसम विज्ञान विभाग तथा सरकारका विज्ञहरूका अनुसार मनसुन सुरू हुनुभन्दा अघिको समय (प्रि-मनसुन) मा चट्याङको जोखिम अधिक हुन्छ।
'चैत, वैशाख र जेठमा चट्याङ धेरै पर्छ। अलिअलि त असोजसम्म पनि परिरहेकै हुन्छ,' पोखरेलले भने।
चट्याङ के हो, कसरी पर्छ?
चट्याङबारे नेपाली समाजमा धेरै भ्रम भएको विज्ञहरू बताउँछन्। अझ 'लेखेको छ भने जहाँ भए पनि मरिन्छ' भन्ने जबर्जस्ती र बेवास्ताका कारण धेरैले आधारभूत सतर्कता नै अपनाउँदैनन्। चट्याङबारे धेरै कुरा थाहा नभएकाहरू मात्रै होइन, जानकारहरूले समेत बेवास्ता गरेकै कारण क्षति बढिरहेको विज्ञहरूको भनाइ छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल नेपालमा सबैखाले प्राकृतिक विपदमा गरिबहरू या खेतबारीमा काम गर्ने किसान नै बढी पीडित हुने बताउँछन्।
'एउटा ठूलो समुदायसम्म चट्याङ के हो र कसरी जोगिन सकिन्छ भन्ने जानकारी पुर्याउनै सकिएको छैन,' पोखरेलले भने, 'जानकारी भएकाले पनि धेरै हदसम्म बेवास्ता गरेको देखिएको छ।'
धेरैको ज्यान लिने चट्याङबारे नेपालमा पर्याप्त अध्ययन पनि नभएको उनी बताउँछन्। नेपालको पूर्वी भेगमा सबभन्दा धेरै चट्याङ पर्ने तथ्य प्रमाणित भइसकेको छ। तर त्यही भेगमा यतिधेरै चट्याङ किन पर्छ भन्नेबारे यथेष्ट अनुसन्धान नभएको उनले बताए।
'चट्याङ पार्ने प्रणाली स्थानीय रूपमै विकास भएर परेको हो भन्ने आधारभूत कारण मात्रै हो कि अरू पनि छ, यसबारे गहिरो अध्ययन र अनुसन्धान जरूरी छ,' उनले भने।
प्राध्यापक पोखरेलका अनुसार प्रि-मनसुनमा चट्याङको सम्भावना धेरै भए पनि चैतदेखि असोजसम्मै चट्याङ पार्ने स्थानीय प्रणाली जुनसुकै बेला विकसित हुन सक्छ। मनसुनमा मज्जाले झरी पर्दा भने यसको जोखिम कम हुन्छ।
मौसम विज्ञानको भाषामा 'वातावरण स्टेबल (स्थिर) र अनस्टेबल (अस्थिर)' भइराख्छ। सामान्यतयाः हावा पूर्व-पश्चिम, उत्तर-दक्षिण दिशातिर बहने प्रक्रिया हुन्छ। वातावरण अस्थिर बनेको अवस्थामा भने हावा पृथ्वीबाट आकाशतिर बहन थाल्छ। तलबाट माथितिर जाने हावा बलियो हुन्छ र त्यसले आकाशमा चट्याङ पार्ने बादल बनाउँछ।
चट्याङ भनेको आकाशबाट जमिनमा खस्ने एक शक्तिशाली विद्युतीय करेन्ट हो। हुरी-बतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहितको विद्युतीय लहर उत्पन्न हुन्छ र खास बाटो बनाउँदै त्यो पृथ्वीमा आइपुग्छ। त्यही करेन्टलाई नै हामी चट्याङ भन्छौं।
'सूर्यको तापले जमिनको सतहको तापक्रम बढिरहेको हुन्छ। त्यस बेला वाष्पीकरण विधिबाट जलाशयका स्रोतबाट पानीका कण माथितिर उड्दै जान्छन्,' सहप्राध्यापक पोखरेलले भने, 'यसरी माथि गएका पानीका कणले बादलको रूप लिन्छन्। हावाका कारण गतिशील हुने बादलबीच अनेकौं घर्षण हुन्छ र त्यसले त्यहाँ चार्ज उत्पन्न हुन्छ। यो प्रक्रिया जारी रहँदा जति बेला बादलमा पानीको मात्रा पर्याप्त हुन्छ, बादलको तह एकदमै बाक्लो बन्छ। क्युमलोनिम्बस भनिने त्यही बाक्लो बादलले चट्याङ पार्छ। कालो बादल डम्म भरिएका बेला चट्याङ पर्ने सम्भावना धेरै हुन्छ।'
उनले अगाडि भने, 'तलबाट माथितिर बहेको हावामा मोइस्चर पनि छ भने त्यसले सतहबाट एकदमै लामो बादल बनाउँछ। त्यो १५ किलोमिटरसम्म लामो हुन सक्छ। बादलमा बरफ बनाउने र असिना झार्ने त्यसैले हो। बाक्ला र लामा बादलबीच घर्षण हुँदा निस्किने शक्ति नै चट्याङ बनेर पृथ्वीमा आइपुग्ने हो।'
चट्याङबाट जोगिने सबभन्दा राम्रो उपाय भनेको सुरक्षित ठाउँमा बस्नु हो।
विपद न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल पनि बादल गर्जिनेबित्तिकै घरभित्र बस्न सुझाउँछन्। प्राधिकरणले प्रसारण गर्ने सूचनाहरूमा पनि चट्याङबाट जोगिन घरभित्रै बस्नुपर्ने उल्लेख छ। तर यही वर्ष मनसुनअघि, झापा र उदयपुरमा एक-एक जनाको मृत्यु घरभित्रै भयो। त्यसअघि पनि सुतेकै ठाउँमा धेरै जनाको चट्याङका कारण मृत्यु भएको छ।
विपद विज्ञ रामकुमार दाहालका अनुसार माटोले बनेका होचा घरमा बस्नेहरू चट्याङको जोखिममा धेरै परेका देखिएको छ।
'विद्युतीय सुचालकको सम्पर्कमा रहँदा त जहाँ पनि जोखिम हुन सक्छ। सामान्यतया पक्की घर सबभन्दा सुरक्षित हो तर सबैको त्यस्तो घर छैन। त्यसैले चट्याङको जोखिम र त्यसबाट जोगिने उपायबारे समुदायस्तरमै पर्याप्त जानकारी दिन जरूरी छ,' उनले भने।
प्राधिकरणले जारी गरेको सूचना अनुसार चट्याङबाट जोगिन घरभित्रै र विद्युतीय कुचालक (करेन्ट नलाग्ने वस्तु) माथि बस्नुपर्छ।
कम्प्युटर, टिभी, आइरन, मोटर, ल्यान्डलाइन फोन वा मोबाइल जस्ता विद्युतीय उपकरण चलाउन हुँदैन। यी उपकरण प्लगबाट झिकेर राख्नुपर्छ। सोझै धाराको पानी चलाउने, कपडा धुने, भाँडा माझ्ने कामले पनि जोखिम बढाउँछ। धातुका स्ट्यान्ड भएका सामान चलाउन र फलामे ग्रिल छुन हुँदैन। बादल गड्याङगुडुङ गर्जेका बेला यस्ता कामबाट बचे चट्याङको जोखिमबाट बच्न सकिन्छ। त्यस्तै घरभित्र बस्दा झ्याल-ढोका राम्रोसँग बन्द गर्नु पनि जोखिम कम गर्ने उपाय हो।
घर बाहिर हुँदा भने चट्याङको जोखिम धेरै हुन्छ। बादल गर्जिँदा वा चट्याङ परिरहँदा रूख वा ठूलो टावर मुनि बस्नु हुँदैन। बरू खुला ठाउँ हातले दुवै कान थुनेर टाउको माथि हात पारेर, कुर्कुच्चा जोडेर जमिनमा टुक्रुक्क बस्न सकिन्छ। त्यस्तै यो बेला पौडी खेल्ने, जलाशयको छेउमा जाने, खेतबारीमा जाने जस्ता काम गर्नु हुँदैन।
'संसारकै सबभन्दा धेरै चट्याङ पर्ने दक्षिण अमेरिकाको अनुभवले पनि मेघ गर्जिन थालेपछि घरबाट बाहिर ननिस्कने वा घरभित्र पसिहाल्ने गरेमा जोखिम धेरै कम हुने भन्छ,' प्राधिकरण प्रमुख पोखरेलले भने, 'नेपालमा पनि यही अभ्यास जरूरी देखिएको छ।'
गृह मन्त्रालय मातहतको प्राधिकरणका प्रमुखले यसो भनिरहँदा सरकारी तहबाट चट्याङबारे सर्वसाधारणलाई प्रभावकारी रूपमा सूचित गर्ने दायित्व भने पूरा भएको देखिँदैन। सरकारी अधिकारीहरू नै विपदमध्ये बाढी र पहिरोको धेरै कुरा भएको तर चट्याङको नभएको बताइरहेका छन्।
सरकारले २०७५ सालमा विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति बनाइसकेको छ। सोही नीतिले विपद न्यूनीकरणका ध्येय र लक्ष्यदेखि तत्कालीन र दीर्घकालीन योजना तय गरेको छ। सो नीतिको 'नीति' भन्ने शीर्षकको ७.१ नम्बर बुँदामा विपदबारे पाठ्यक्रम नै तयार पार्ने उल्लेख छ। त्यसमा 'विपद जोखिम सम्बन्धि विषयलाई विद्यालयस्तरदेखि उच्चस्तरसम्मको शैक्षिक पाठ्यक्रम समावेश गरिनेछ' भनेर उल्लेख छ।
नीतिले यसो भने पनि अहिले पाठ्यक्रममा समावेश सामग्री झारा टराइमा सीमित रहेको विपद जानकारहरू बताउँछन्।
'अहिले जे गरियो भनिएको छ, सबै झारो टार्ने काम भएको छ,' कोशी प्रदेश सरकारका एक अधिकारीले भने, 'प्रदेशका हरेक स्थानीय तहले विपदबारे, अझ चट्याङबारे समुदायलाई सजग बनाउनुपर्ने खाँचो टड्कारो देखिएको छ। तर धेरै योजना बाढी र पहिरोमा मात्रै केन्द्रित छन्। चट्याङबारे सजगता र चासो नाम मात्रैको भयो।'