बिहे गरेको १४ वर्षपछि श्रीमानले विवाह दर्ता गर्न नमानेपछि ललितपुरकी ४१ वर्षीया दुर्गा चुनार नाता कायम गराउन विभिन्न निकाय धाइरहेकी छन्।
१४ वर्षसम्म सँगै बसेको र सामाजिक रूपमा श्रीमती मानेका व्यक्ति श्रीमान् नै हुन् भन्ने कानुनी प्रमाण नभएपछि अन्तत: उनी ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन्।
'१४वर्ष श्रीमती भन्दै सँगै बसेपछि अहिले विभिन्न बाहनामा अलपत्र पारेर छोड्न पाइँदैन,' उनले भनिन्, 'दलितलाई श्रीमती बनाउँदा समाजले स्वीकार्दैन भनेर विवाह दर्ता गर्न मानेका छैनन्।'
दुर्गाकाअनुसार विवाह दर्ताको कुरा नगरूञ्जेलसम्म सम्बन्धमा कुनै पनि समस्या आएको थिएन। विवाह दर्ता गर्न खोजेपछि भने जातीय विभेद समेत खेप्नुपरेको दुर्गाको भनाइ छ।
उनले बताएअनुसार, २०६७ सालमा रूपन्देही घर भई हाल ललितपुर गोदावरी नगरपालिका-६ बस्ने मानदेव भण्डारीसँग सिनामंगल शिव गणेश मन्दिरमा सामाजिक रूपमा विवाह गरेकी थिइन्। विवाह हुँदाका केही प्रत्यक्षदर्शी पनि थिए।
‘तर उनले सामाजिक विवाह पनि आफूलाई बचाउनका लागि गरेका रहेछन्। अहिले आएर कुरा बुझेँ,’ दुर्गाले भनिन्।
२०६६ साल अन्तिमतिरको कुरा हो।
दुर्गा नयाँ बानेश्वरमा रहेको आफ्नै घरमा एक्लै बस्थिन्। उनले दुई/तीन वर्ष कुवेतमा कमाएको पैसा र माइतीको सहयोगमा तीन आनामा बनेको चारकोठाको दुई तले घर किनेकी थिइन्।
भुइँ तलाको दुईवटा कोठा भाडामा दिएकी थिइन्। माथिका दुई कोठामा आफै बस्थिन्। दुई छाक टार्न कुनै समस्या थिएन। तर उनी काम नगरी बस्नै सक्दैन थिइन्।
'जहाँ कामका लागि गए पनि यति भरिपूर्ण गहना लगाउनु भएको छ, तपाईंलाई किन काम गर्नुपर्यो भनेर फर्काइदिन्थेँ,' उनले भनिन्, 'गहनाको सौखिन थिएँ, दुई/चार तोला लगाएरै हिँड्थे।'
पढेलेखेकी थिइनन्। त्यसैले अफिसको काम पाइन्नथ्यो। घरको काममा बोलाए पनि घरबेटीले फर्काइदिने गरेका थिए। एकदिन छिमेकी दाजुको सहयोगमा सिनामंगलमा रहेको मन्टेश्वरी स्कूल भ्यानमा सहचालको काम पाइन्।
उनले बिहान ९ बजे शान्तिनगरदेखि नयाँबानेश्वरका बालबालिकालाई मन्टेश्वरीमा पुर्याउने र दिउँसो तीन बजे फेरि घर-घरमा पुर्याइदिनुपर्थ्यो।
उनले यो काम सुरू गरेको एकडेढ हप्ता भएको थियो।
एक दिन, बिहान ९ बजे बच्चाहरूलाई मन्टेश्वरी पुर्याएर नयाँबानेश्वरको नेपाल कमर्स क्याम्पसको अगाडि हुँदै आफ्नो घरतर्फ हिँडिरहेकी थिइन्।
मानदेवले म्याम-म्याम भन्दै बोलाएर पछ्याइरहेका रहेछन्।
आफूले नचिनेको मान्छे भएपछि उनी खुरूखुरू आफ्नो घरतिर अगाडि बढिन्।
'शौचालय जान हत्तार भएको थियो। कोठाको ढोका खोलेर फुत्त शौचालय छिरेको थिएँ,' उनले भनिन्, 'शौचालयबाट निस्किँदा मानदेव कोठामा प्रवेश गरेर पानी पिइरहेका थिए।'
उनी झसंग भइन्।
को हो भनेर सोधिन्। उनले पानी पिउनमात्र छिरेको भनेर टारिदिए।
पानी पिइसकेपछि जान्छन् भनेर दुर्गा खाटमा बसेकी थिइन्। मानदेव पानी पिएर निस्किन खोजेको जस्तो गरेर कोठाको चुक्कुल लगाएर जबरजस्ती गरेको उनले बताइन्।
'तिमि एक्लै रहेछौं भनेर लगाएको लुगा धारधुरू च्यातेर मुख धुन्दै जबरजस्ती गरे,' उनले भनिन, 'आधा खुट्टा बेडबाट तल झरेको थियो। त्यसैले चटपटाउनै सकिनँ।'
त्यतिबेला उनी बेहोस झैँ भएकी थिइन्। मानदेव निस्किएपछि पनि आफू केहीबेरसम्म अचेत भएको उनी बताउँछिन्।
त्यतिबेला उनको मनमा आफू कसरी बाहिर निस्किने र वरपरकालाई कसरी मुख देखाउने भन्नेमात्र सोच आएको थियो। आफूमाथि के भएको भन्नेसमेत सोच्न नसकेको उनको भनाइ छ।
निकै बेरपछि कोठाबाहिर निस्किएर कसैले हेरिरहेको छन् कि भनेर हेरेँ। दायाँ-बायाँ कोही नदेखेपछि कोठा बन्द गरेर आफूलाई थुनेर राखेको उनी बताउँछिन्।
त्यो दिन उनी तीन बजे बच्चा पुर्याउन पनि गइनन्, कोठाभित्र बसिरहिन्।
उनलाई त्यो दिन आफूले के-के गरे भन्नेसमेत याद छैन। उनी रातभर अनिँदो थिइन्। बिहानपख मात्र निदाइन्। भोलिपल्ट बिहान ८ नबज्दै मानदेव आएर आफूले गलत काम गरेको र माफी माग्दै आफूले माया गर्ने गरेको बताए।
'धेरैदिनदेखि नियाली रहेको थिएँ, तिमिलाई मन पराउँछु त्यसैले यस्तो भयो भने,' उनले भनिन्-'मैले केही दिन केही भन्न सकिनँ।'
उनी तेस्रो दिन पनि आए।
उनी निरन्तर आउँदा दुर्गाको श्रीमान भन्दै प्रवेश गरे। ढोका नखोली बस्दा 'सानु' ढोका खोल न भन्दै हल्ला गरे।
वरपर देख्नेलाई पनि श्रीमान-श्रीमतीझैँ बनाएपछि बिस्तारै आफूले पनि स्वीकार गर्न थालेको उनले जानकारी दिइन्।
त्यसपश्चात दुई/चार हप्ता आउँदै शारीरिक सम्पर्क गर्दै फर्किने गर्न थालेका थिए। बिस्तारै उनीसँगै बस्न थालेको उनी बताउँछिन्।
'एकदमै धेरै माया, केयर देखाउन थालेपछि श्रीमानकै रूपमा स्वीकार गरेँ,' उनले भनिन्।
एक डेढ महिना अर्थात् २०६७ को सुरूआतीमा मन्दिरमा सिन्दुर हालिदिएका हुन्। विवाहपश्चात मानदेव दुर्गासँगै बस्न थालेका थिए। उनी श्रीमतीको क्यान्सरका कारण मृत्यु भएकाले एक्लै बस्दै आएको बताउँदै आएका थिए। दुर्गाले पनि त्यही कुरालाई विश्वास गरिन्।
मानदेवले दुर्गाको एकदमै ख्याल गर्थे। सामान्य बिरामी हुँदा पनि खानपिन, स्याहारसुसारमा कुनै कमी राखेनन्। दुर्गाले उनलाई विश्वास गर्न थालेपछि एक दिन उनले घर बेच्न प्रस्ताव राखे। त्यसमा उनी सहमत भइन्।
सँगै बसेको एक डेढ वर्षमा उनले बानेश्वरको घर बेचिदिइन्।
मानदेवले नै दुर्गालाई ललितपुरको लेले र भक्तपुरमा जग्गा किन्न सल्लाह दिए। त्यहाँ किनेका जग्गा मानदेवले आफ्नै नाममा पास गरेका रहेछन्। उनले यो कुरा १४ वर्षपछि थाहा पाएकी हुन्।
उनीहरू आफ्नो घर बेचेर सिनामंगलमा कोठा भाडामा बस्न थालेका थिए। ललितपुरमा आफ्नै ठूलो घर बनाउने सपना पनि बुनिरहेका थिए।
वैवाहिक जीवन राम्रै चलिरहेको थियो। दुर्गाले पनि आफ्नो विगत भुलिदिएकी थिइन्।
पाँच/सात वर्षअघि मानदेवको बुबा बिरामी भएर सिनामंगलको अस्पतालमा भर्ना भएका थिए। मानदेवले त्यतिबेला बुबालाई काका भनेर चिनाएको उनको भनाइ छ।
तर मानदेवको त्यो झुट धेरै दिन टिकेन।
दुई/चार हप्ता खाना बिहान-बेलुका पुर्याउन जादाँ मानदेवको बुबासँग दुर्गाको कुराकानी भयो।
'अहिले छोराले राम्री केटी विवाह गरेछ भनेर तारिफ गर्नुभयो,' उनले भनिन्, 'कुराकानी गर्दै जाँदा जेठी श्रीमती जिउँदै रहिछन्।'
उनलाई यो कुराले धेरै पिरोल्यो।
उनले मानदेवलाई झुट बोलेको भनेर गाली गरिन्। तर उनले जेठी श्रीमती आफ्ना लागि मरेकोसरह भएको भन्दै दुर्गाको प्रश्नलाई टारिदिएको उनी बताउँछिन्।
मानदेवका बुबाले पनि यस कुरामा सहमति जनाए।
झन्डै एक महिनाको बसाइपछि घर फर्किने बेला उनी पनि ससुरासँगै श्रीमानको घरमा गइन्। उनको पहिलो श्रीमतीले कुनै गाली गरिनन्। त्यसपश्चात आवतजावत भयो।
मानदेवको जेठी श्रीमती बिरामी हुँदा जाने खाना बनाउने- खुवाउने काम पनि दुर्गाले गर्थिन्।
उनका दुई सन्तानलाई पनि हेरचाह गरिन्। मानदेवले बन्ध्याकरण गरिसकेकाले दुर्गाको सन्तान हुँदैन थिए। त्यसैले उनले मानदेवको जेठी श्रीमतीको सन्तानलाई नै आफ्नो मानेको बताउँछिन्।
मानदेव धेरैजसो दुर्गाकै साथमा बस्थे। कहिलेकाहीँ घर जाँदा उनलाई पनि साथमा लिएर जान्थे। उनले मानदेवको सन्तानलाई पढ्न र घर निर्माणमा आर्थिक सहयोग गरिन्।
१४ वर्षसम्म ठीकठाकै चल्यो जिन्दगी।
डेढ वर्षअघि पत्थरी भएर उनको पेटको शल्यक्रिया गर्नुपर्यो। उनले त्यतिबेला दुई/तीन हप्तासम्म राम्ररी स्याहारसुसार पनि गरे। तेस्रो हप्ता हुँदै गर्दा उनले शारीरिक सम्बन्ध राख्न दवाव दिए।
'जबरजस्ती गरे,' उनले भनिन।
जबरजस्ती यौन सम्बन्ध गर्दा पेटको टाका फुस्कियो र पेटको केही भाग बाहिर निस्कयो।
'त्यसपश्चात सम्बन्ध राख्न दिइनँ विस्तारै सम्बन्ध बिग्रिँदै गयो,' उनले भनिन्, 'उनले भनेजस्तो नगर्दा उनी विस्तारै कोठामा आउने छोडे।'
पेटका आन्द्रा बाहिर निस्किएकाले उपचारमा धेरै समस्या भोग्नुपर्यो। त्यतिबेला पनि उनले श्रीमानले जबरजस्ती गर्दा बाहिर निस्किएको भनेर भन्न सकिनन्। लडेर समस्या भयो भनेर उपचार गराइन्।
'श्रीमानले जबरजस्ती गर्यो भन्न लाज भयो,' उनले भनिन, 'श्रीमानलाई पनि कारवाही हुन्छ भन्ने सुनेकी पनि थिइनँ।'
श्रीमान कोठामा आउन छोडेपछि उनले आफूमाथि भएका कुराहरू छिमेकीलाई सुनाउन थालिन्। उनको कुरा सुनेर छिमेकी छक्क पर्थे। उनलाई छिमेकीहरूले नै श्रीमानले पनि महिलाको इच्छाविपरित यौन सम्बन्ध राख्न नपाउने कुरा सुनाएका थिए।
उनलाई कानुनी प्रक्रियाअगाडि बढाउन सल्लाह दिए। त्यसका लागि विवाह दर्ता आवश्यक पर्थ्यो तर उनीसँग थिएन। उनले मानदेवलाई एक दुईपटक विवाह दर्ता गर्न आग्रह पनि गरेकी थिइन्।
'तर मानदेवले 'तिम्रो लागि मर्न तयार छु विवाह दर्ता के हो र?,’ भनेर टारिदिन्थे।
उनले विवाहदर्ता गर्न आवश्यक कागजात भएको बुझेपछि बनाइदिन आग्रह गरिन्। तर उनले मानेनन्। उनी विस्तारै दुर्गाको कोठामा आउनै छाडे। कहिलेकाहीँ आउँदा कुटपिट गर्ने र विवाह दर्ता बनाउनका लागि दवाब दिँदा मार्ने धम्की दिएको उनी बताउँछिन्।
'तँ दलितको छोरीलाई कसले श्रीमती बनाउँछ भनेर थर्काउन थाले,' उनले भनिन्, 'विवाह दर्ता मागे पछि मात्र जातको कुरा आयो।'
उनले जातीय विभेद गर्न थालेपछि आफ्नो जग्गाको कागजात मागिन्। मानदेवले नै सबैजग्गा आफ्नो नाममा भएको बताएका थिए। उनले जग्गा सबै आफ्नो नाममा बनाए पनि विवाह दर्ता बनाइदिए सँगैबस्ने प्रस्ताव राखेको थिइन्। त्यसमा मानदेवले स्वीकार नगरेको उनको भनाइ छ।
उनले विवाह दर्ता गर्न नमानेपछि २०८० जेठ दोस्रो साता राष्ट्रिय महिला आयोग पुगेकी थिइन्। त्यतिबेला मानदेवले श्रीमती अस्वीकार गरेका थिए।
दुईपक्षीय छलफल तथा देखी सुन्ने व्यक्तिहरू र पीडितको भनाइ कायम गरी कोठाधनीले समेत श्रीमान-श्रीमती भनेर समाजमा बस्दै आएको बयान दिएका थिए। त्यसपश्चात मानदेवले पनि ‘श्रीमती भनि इज्जत अनुसार खान, लगाउन, बस्न दिई स्वास्थ्य उपचारसमेत गरी निजलाई सुरक्षित तरिकाले राख्ने’ भनेर राष्ट्रिय महिला आयोगमा जेठ १९ गते मानदेव हस्ताक्षर गरेका थिए।
कागजात गरे पनि मानदेवले कार्यान्वयन गरेनन्।
कार्यान्वयन गर्ने कुरा गर्दा झन आफूमाथि कुटपिट गर्ने, जातीय विभेदका गाली गर्ने, इच्छाविपरित जबरजस्ती यौन सम्बन्ध राख्ने गरेको उनको भनाइ छ।
उनी पुन: महिला आयोग पुगिन्। पीडा पोखिन्। आयोगले जेठ १९ गते गरेको सम्झौता कार्यान्वय गरी श्रीमान करार गरिदिनका लागि जिल्ला अदालत ललितपुरलाई पत्र पठाएको छ।
उनले २०८० वैशाख ९ गते शान्ति सुरक्षा गरिपाउँ भनेर काठमाडौं प्रशासन कार्यालय काठमाडौं पनि निवेदन दिएकी थिइन्।
कतै सुनुवाइ नभएपछि गएको वैशाख १८ गते घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ को दफा २ (क,ग,घ,च) बमोजिम अन्याय गरी ऐनको दफा ३ विपरीत कार्यसमेत गरेकाले कानुनी कारबाही गरी पाउँ भनि फिराद पत्र लिई दुर्गा अदालत पुगेकी छन्।
विवाह दर्ता गराई श्रीमान-श्रीमती कायम गरिदिन अदालतसमक्ष उनको माग छ।