काठमाडौं महानगरपालिका क्षेत्र भित्रका ९० स्कुलले नाम फेर्नका लागि प्रस्ताव पेश गरेका छन्।
सार्वजनिक सूचना जारी भएयता अहिलेसम्म ९० वटा स्कुलहरूले नाम प्रस्ताव पेश गरेको महानगरका सहप्रवक्ता दीपक अधिकारीले जानकारी दिए। महानगरले गत चैत २१ गते अंग्रेजी नाम भएका स्कुलहरूले नाम फेर्नुपर्ने भन्दै सूचना निकालेको थियो।
महानगरले सार्वजनिक सूचना जारी गरेपछि नाम फेर्नुपर्ने ३३५ वटै निजी विद्यालयहरूलाई नाम परिवर्तन गर्न ताकेता समेत गरेको थियो।
'हामीले सूचना जारी गरेपछि ३३५ विद्यालयलाई पत्राचार गरेका थियौं,' सहायक प्रवक्ता अधिकारीले भने, 'त्यसपछि ९० वटा स्कुलले नाम प्रस्ताव परिवर्तन गरेका छन् भने ९४ वटा स्कुलले पछि परिवर्तन गर्छौं भनेर निवेदन दर्ता गरेका छन्।'
यस्तै, अहिलेको नामै कायम हुनुपर्छ भनी २३ वटा विद्यालयले निवेदन दिएको उनले बताए।
नाम फेर्नुपर्ने १२८ विद्यालय अहिलेसम्म सम्पर्कमा नआएको अधिकारीले बताए।
'जो सम्पर्कमा आउनुभएको छैन उहाँहरू महानगरको कारबाहीमा पर्न सक्नुहुनेछ,' उनले भने, 'त्यसैले समयसीमाभित्रै नाम प्रस्ताव गरी निवेदन दर्ता गर्नुहोस्।'
अधिकारीका अनुसार अटेर गर्ने विद्यालयहरूलाई खारेजी सम्मको कारबाही हुन सक्छ। त्यसको लागि महानगरको शिक्षा विभाग हुँदै शिक्षा समिति र कार्यपालिकाले कुन विद्यालयलाई कस्तो कारबाही गर्ने भनेर निर्क्यौल गर्ने उनले बताए।
यस्तै, परिवर्तित नाम राष्ट्रिय विभूति, सम्पदा वा नेपालीपन झल्कने खालको हुनुपर्ने पनि उनी बताउँछन्।
चैत २१ गते सार्वजनिक सूचना जारी गर्दै नेपालीपन झल्कने नाम नभएका विद्यालयलाई नाम परिवर्तन गर्न ३५ दिने अल्टिमेटम दिएको थियो। उक्त अल्टिमेटम वैशाख २८ गते सकिँदै छ। सम्पर्कमै नआएका विद्यालयलाई सम्पर्कमा आउन उनले आग्रह समेत गरेका छन्।
अहिले अधिकांश संस्थागत विद्यालयको नाम विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० अनुसार नभएको भन्दै चैत २१ गते नेपालीपन झल्कने नाम राख्न सार्वजनिक सूचना जारी गरेको थियो।
हेर्नुहोस् भिडिओः