नेपालमा विदेशी पर्यटकहरूले सामना गर्ने दुई मुख्य स्वास्थ्य समस्या ग्यास्ट्रोएन्टेराइटिस र पेटको संक्रमण हुन्। यी दूषित खाद्यपदार्थ वा पानीको प्रयोगबाट हुन सक्छन्।
नेपालमा विदेशीहरूलाई हुने स्वास्थ्य समस्यामध्ये करिब ६० प्रतिशतलाई पेट वा जी.आइ.टी. (ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्ट) को संक्रमण हुन्छ।
कहिलेकाहीँ ७० प्रतिशत वा सोभन्दा बढी व्यक्तिले दाल-भात (परम्परागत नेपाली खाना) वा पिज्जा जस्ता जंकफुड खाएपछि सोमध्ये १ वा २ जनामात्र बिरामी हुन सक्छन्। निजको प्रतिरोधात्मक क्षमताबारे प्रश्न गर्दा सान्दर्भिक होला। विशेषगरी विगत कैंयन् वर्षौंदेखि कैंयन् नेपालीहरूको दूषित खाद्यपदार्थ र पानी प्रयोग गर्न बानी बसेको देखिन्छ र हैजाविरूद्ध समेत प्रतिरोधात्मक क्षमता विकास भएको देखिन्छ।
सामान्यतया:पेटको संक्रमण ब्याक्टेरियल वा डिसेन्ट्रिक हुन्छ। कतिपय अवस्थामा समस्या भइहाले विदेशीहरूले गल्तीवश चिकित्सकको परामर्शबिना फार्मेसीबाट औषधि लिने गर्छन्। औषधि लिने क्रममा ब्याक्टेरियल संक्रमणको लागि डिसेन्ट्री सम्बन्धी औषधि लिन्छन्।
ब्याक्टेरियल संक्रमणले पखाला निम्त्याउँछ। सो हुने क्रममा वान्ता हुन पनि सक्छ, नहुन पनि। यदि अवस्था नाजुक छ भने ज्वरो पनि आउन सक्छ। नरम दिसाका साथ म्युकस आउन सक्छ। साथै बिरामीलाई दिसामा रगत पनि देखिन सक्छ। पेटको तल्लो भाग दुख्छ।
उपचारका उपाय:
· एन्टी-डायरीया (पखाला विरूद्ध) क्याप्सुल प्रयोग गर्नू।
· उचित एन्टिबायोटिक्स प्रयोग गर्न।
· एन्टी-न्वसिया (वान्ताविरूद्ध) माउथ डिसल्भिङ ट्याब्लेट प्रयोग गर्नु।
· ओरल रिहाइड्रेसन प्याकेटहरू (ओआरपी) प्रयोग गर्नु ।
· अनार, केरा खाँदा राम्रो
· अण्डा, दूध, माछा र पिरो खाद्यपदार्थ नखाँदा बेस ।
नेपालको सन्दर्भमा विदेशीहरूलाई असर गर्ने अन्य सामान्य स्वास्थ्य समस्यामा श्वासप्रश्वास नलीसम्बन्धी संक्रमण हुन्। यिनमा फ्यारिङ्गजाइटिस, साइनसाइटिस, टन्सिलाइटिस वा ब्रोन्काइटिस समेत पर्दछन्। यी हुनुको कारण विशेषत: काठमाडौं उपत्यकाको वायु प्रदूषण हो।
उपचार र रोकथाम
· मास्क प्रयोग गर्नु।
· उचित एन्टिबायोटिक्स प्रयोग गर्नु।
· कुल्ला (गार्गल) गर्नु।
· एन्टी-हिस्टामिन प्रयोग गर्नु।
· डिकन्जेस्टेन्ट प्रयोग गर्नु।
· बरफ र चिसो खानेकुरा खानु हुँदैन।
अन्य कुन रोगबाट प्रभावित हुन्छन् विदेशी? तिनीहरूको रोकथाम र उपचारका लागि के गर्न सकिन्छ?
विगतमा कहिले पनि यस्तो संक्रामक रोगका शिकार हुन नपरेका विदेशीहरू सहजैसँग ग्यास्ट्रो इन्टेस्टिनल संक्रमणका बिरामी हुन सक्छन्। सो रोग क्लासिकल ग्यास्ट्रोएन्टेराइटिस हुन सक्छ। यसलाई ट्राभलर्स डायरिया वा दिल्ली बेल्ली पनि भनिन्छ।
कम संख्यामा हुने सामान्य संक्रमण डिसेन्ट्री वा वर्मको संक्रमणबाट हुन्छ। यस्ता वर्महरू विभिन्न प्रकारका हुन्छन् जस्तै- टेपवर्म, हुक्वर्म, पिन वर्म, राउन्ड वर्म आदि। मोमोको मिन्स्ड मिट जस्तो पूरै नपाकेको मासु वा सलाद जस्ता काँचो सब्जीबाट पनि संक्रमण हुन सक्छ।
नेपालमा विशेषत: विदेशीलाई प्रभावित गर्ने अन्य स्वास्थ्य समस्याबारे कुरा गर्दा उनीहरू नेपालको कुन ठाउँमा बस्छन् भन्ने कुरामा भर पर्छ। नेपालका उत्तरी भेगमा अल्टिच्युड रोगको समस्या हुन सक्छ। हाम्रो वरिपरि रहने हावाको चापलाई ब्यारोमेट्रिक वा एट्मस्फ्येरिक प्रेसर भनिन्छ। जब उच्च उचाइमा गइन्छ, यो प्रेसर कम हुँदै जान्छ र त्यहाँ कम अक्सिजन उपलब्ध हुन्छ।
८ हजार फिटभन्दा माथि जाने क्रममा अल्टिच्युड रोगको जोखिम हुन सक्छ।
अल्टिच्युड सिकनेस तब हुन सक्छ जब निज धेरै छिटो गतिमा अग्लो उचाइमा जान्छ। अल्टिच्युड सिकनेस तब हुन्छ जब निजको शरीरलाई आवश्यक पर्ने अक्सिजन मात्राको सन्तुलन नमिलेर सो असन्तुलन पचाउन मुस्किल हुन्छ। अल्टिच्युड रोगका लक्षणमा टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने आदि हुन सक्छन्।
अल्टिच्युड रोगले गम्भीर अवस्थामा दुई रूप लिन सक्छ: एच.ए.पी.ई. (हाई अल्टिच्युड पल्मनरी इडीमा) र एच.ए.सी.ई. (हाई अल्टिच्युड सेरिब्रल इडीमा)।
एच.ए.पी.ई. फोक्सोमा पानी जमेको अवस्था हो भने एच.ए.सी.ई. दिमागमा पानी जमेको अवस्था हो।
यी पर्वतारोहण वा हाइकिङ-ट्रेकिङका क्रममा विदेशीहरूमाझ कुनै समय निकै भएको देखिन्थ्यो। यद्यपि स्पाइरोमेट्री (औंलाको टुप्पोमा प्रयोग गरी शरीरको अक्सिजन मात्रा जाँच्ने) को सामान्य प्रयोग र ओटीसी (ओभर द काउन्टर) प्रोफिल्याक्टिक औषधिमध्ये एसिटाजोलामाइड (डाइम्याक्स) जस्ता औषधिका प्रयोगले यिनको न्यूनीकरण भएको देखिन्छ।
खासमा जापानीहरू यस्ता समस्याबाट अन्य देशका मानिसभन्दा बढी प्रभावित भएको देखिन्छ।
सामान्यतया उपचारको रूपमा बिरामीलाई कम उचाइमा ल्याई पूरक (सप्लिमेन्ट) अक्सिजन दिन सकिन्छ। साथै, एच.ए.सी.ई. का बिरामीको उपचारका लागि सम्बन्धित स्वास्थ्यकर्मीले नेफिडिपाइन दिन सक्छ। त्यस्तै, एच.ए.पी.ई. का बिरामीको उपचारका लागि सम्बन्धित स्वास्थ्यकर्मीले डायम्याक्स र डेक्सामेथासोन दिन सक्छ।
अन्य औषधिहरूमा एन्टिबायोटिक्स, ब्रङ्कोडायलेटर्स, रिहाइड्रेसन, नेब्युलाइजर आदि औषधि सम्बन्धित स्वास्थ्यकर्मीले बिरामीको अवस्थानुसार दिन सक्छ।
तराई-क्षेत्र वा नेपालको दक्षिणी-भेग वा काठमाडौंतिर समेत रहेको अवस्थामा डेंगी र मलेरियाबाट जोगिन सावधानी अपनाउनुपर्छ। धेरै पर्यटकहरूले मलेरियाको उपचारका लागि प्रोफिल्याक्टिक औषधि प्रयोग गर्दै आएका छन्। विदेशीहरू पाँच तारे होटलमा बस्दासमेत टिक्स, माइट्स जस्ता बेडबगबाट प्रताडित भएको देखिन्छ। यसकारण अवस्थानुसार लामखुट्टेनाशक र कीटनाशक औषधि प्रयोग गर्न सकिन्छ। तर यी अल्पसंख्यक घटना हुन्।
(वरिष्ठ जनरल फिजिसियन एवम् मुटुरोग विशेषज्ञ डा. रन्जित बराल बल्खुस्थित वयोधा अस्पताल र बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सेवारत छन्। उनी विगत २७ वर्षदेखि नेपालका विभिन्न पाँच तारे होटलमा चिकित्सकका रूपमा सेवारत छन्।)
(डा.बरालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)