जाजरकोटको चन्द्रज्योति आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी ठीक समयमा विद्यालय आउँछन्। कक्षामा प्रवेश गर्नुअघि विद्यालय परिसरमा गर्नुपर्ने केही अभ्यासमा सहभागी हुन्छन्।
शिक्षक र विद्यार्थी दुबै निर्धारित पोसाक लगाएर विद्यालय आउनुपर्छ। शिक्षकले तोकिएअनुसार पूरा समय पढाउनुपर्छ। विद्यार्थीले घरमै गृहकार्य गर्न नपाएको भए खाली समयमा कक्षामै पूरा गर्नुपर्छ।
जाजरकोटको छेडागाड नगरपालिका–१२, मनघाटमा छ चन्द्रज्योति आधारभूत विद्यालय। एक वर्षदेखि यस विद्यालयमा केही नयाँ र फरक अभ्यासहरू हुँदै छन्। विद्यालयलाई नमूना बनाउने प्रयासअन्तर्गत यस्तो अभ्यास भएको हो।
विद्यार्थी र शिक्षकहरू बिहान पौने १० बजेसम्ममा विद्यालय हातामा र १० बजेभित्र कक्षामा प्रवेश गरिसक्नुपर्छ। शिक्षक ठीक समयमा कक्षामा जानुपर्छ र ४५ मिनेटको पाठ्यघण्टी पूरा गरेर मात्र कक्षा छाड्नुपर्छ।
विद्यालयका शैक्षिक र अतिरिक्त गतिविधिको मूल्यांकन विद्यार्थीहरूले नै गर्छन्। यसनिमित्ति विद्यार्थीहरू प्रशिक्षित गरिएका छन्।
शिक्षकको मूल्यांकन गर्न प्रारम्भिक बालविकासबाहेक प्रत्येक कक्षाकोठामा रजिस्ट्रर (हाँजिरी पुस्तिका) राखिएको छ। त्यसमा विद्यार्थीले शिक्षक कक्षाकोठामा आएको समय टिपोट गर्छन्। कक्षा छाड्नुअघि शिक्षकले उक्त पुस्तिकामा हस्ताक्षर गर्नुपर्छ।
विद्यार्थीका लागि उजुरीपेटिका पनि राखिएको छ। विद्यार्थीहरूले आफ्नो उजुरी लेखेर पेटिकामा खसाउँछन्।
‘कक्षाकोठामा हाम्रो मूल्यांकन विद्यार्थीहरूले नै गर्छन्। हामी पढाउन गएको समय लेख्छन्, निस्कँदा त्यसमा हस्ताक्षर गर्नुपर्छ,’ शिक्षक वीरुलाल जैसी भन्छन्, ‘अर्को घण्टी नलागी निस्कन पाइँदैन। शिक्षकसँग कुनै गुनासो भए विद्यार्थीले उजुरी गर्न पाउँछन्।’
विद्यार्थीले गरेको उजुरीमा प्रधानाध्यापक, शिक्षक र विद्यार्थीबीच छलफल हुन्छ। शिक्षक आफ्नोविरुद्ध उजुरी नपरोस् भनेर सचेत रहन्छन्। विद्यालय पोसाक, शिक्षकको बिदा, शिक्षक–विद्यार्थी अनुशासन, हरित विद्यालय अभ्यास लगायतको मूल्यांकनका लागि विद्यार्थीहरूको छुट्टै सदन बनाइएको छ।
अतिरिक्त क्रियाकलापका लागि पाँच वटा सदन छन्।
शिक्षक बिदामा बस्दा अघिल्लो दिन नै कारणसहित विद्यार्थीहरूलाई जानकारी गराउनुपर्छ।
‘हामी परीक्षाको नतिजाको बारेमा पनि छलफल र मूल्यांकन गर्छौं। शिक्षकले कसरी पढाउनुहुन्छ, समयको पालना गर्नुभएको छ कि छैन, कति उत्तरदायी हुनुहुन्छ भन्ने ख्याल गर्ने गरेका छौँ,’ कक्षा ८ की छात्रा हँसिला खत्री भन्छिन्, ‘उहाँहरू बिदामा बस्दा अघिल्लो दिन नै हामीलाई कारण खुलाएर जानकारी गराउनुपर्छ उजुरी गर्छौं।’
कक्षा ८ का छात्र तुलसी अधिकारीका अनुसार विद्यालयमा शिक्षक–विद्यार्थीको आचरण, अनुशासन र समयको पालना, कक्षामा हुने सिकाइ र विद्यार्थीसँग शिक्षकको व्यवहारका विषयमा साप्ताहिक रूपमा छलफल हुन्छ। आवश्यकताअनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदन प्रमुखबीच समीक्षा बैठक हुन्छ।
शिक्षक जैसीका अनुसार प्रत्येक शिक्षकले आफ्नो डायरीमा पाठयोजना र दैनिक तालिका बनाउनुपर्छ। पाठ्यक्रमअनुसारको शैक्षिक सामग्रीको निर्माण र प्रयोग गर्नुपर्छ।
‘विद्यार्थीको संलग्नतामा शिक्षक र विद्यालयको समग्र मूल्यांकन गर्न थालेपछि धेरै सुधार भएको छ,’ शिक्षक र विद्यार्थी दुबैतर्फ पढाइप्रति अभिरुचि बढेको छ। अनुशासन राम्रो भएको छ।’
विद्यालयले हरित विद्यालय अवधारणाअन्तर्गत शिक्षक र विद्यार्थीले आफ्नो जन्मदिनका अवसरमा विद्यालय परिसरमा बिरुवा रोप्ने अभियान चलाएको छ। बिरुवा हुर्काउने जिम्मेवारी जसले रोपेको हो उसैको हुन्छ।
‘नयाँ भौतिक संरचना बनाउने क्रममा उजाड बनेको विद्यालयमा हरियाली आवश्यक थियो,’ जैसीले भने, ‘हामीले आआफ्नो जन्मदिनमा बिरुवा रोपेर आफैँले हुर्काउने नियम बनायौँ। कतिपय बिरुवा हुर्र्किएका छन्। थप संरचना बनाउँदा मासिएका ठाउँमा पनि बिरुवा लगाउँदै छौँ।’
नमुना विद्यालय विकास गर्ने नगरपालिकाको अवधारण अनुसार चन्द्रज्योति आधारभूत विद्यालय छनोटमा परेको हो। अन्य केही विद्यालय पनि छनोटमा परेका छन्।
उपमेयर चन्द्रबहादुर थापाका अनुसार नमूना बनाउन छनोट भएका विद्यालयको शिक्षण–सिकाइमा प्रोत्साहनका निमित्त नगरपालिकाले अनुदान पनि दिने गरेको छ।
‘विद्यालयमा भएको नयाँ अभ्यासको प्रभाव निकै राम्रो छ। शिक्षण–सिकाइ र अतिरिक्त गतिविधिहरू प्रभावकारी बनाउन नमूना विद्यालय अवधारण अघि सारेका हौँ,’ थापा भन्छन्, ‘विद्यालयमा पूर्वाधारको अभाव हुन नदिन स्थानीय सरकार सकेसम्म बढी सहयोगका लागि तयार छ।’
चन्द्रज्योति आधारभूत विद्यालयमा अभिभावकको सक्रियता पनि बढेको छ। अभिभावकले विद्यालयको अनुगमन गर्छन्। शैक्षिक क्रियाकलापमा सहयोग पनि पुर्याउँछन्। अभिभावकहरूले शैक्षिक सामग्री उपलब्ध गराउन पनि मद्दत गरेका छन्।
अभिभावकले समाजमा प्रयोगमा भएका तर अस्तित्व हराउँदै गएका पुराना सामग्रीका नमुना बनाएर विद्यालयलाई दिने गरेका छन्।
‘अभिभावकले गरेको सहयोगले शिक्षणमा सजिलो भएको छ। विद्यार्थीहरूलाई स्थानीय प्रविधि बुझ्न सहज भएको छ,’ जैसी भन्छन्, ‘अभिभावकबाट प्राप्त सामग्रीलाई हामीले नासोका रूपमा ग्रहण गरेका छौँ। अभिभावकले आफ्नो सिपअनुसार सामान बनाएर विद्यालयललाई दिने गर्नुभएको छ।’
विद्यालयले योगदानका आधारमा अभिभावकलाई सम्मान पनि गर्ने गरेको छ।
छेडागाडसहित जाजरकोटका कुशे गाउँपालिका, कालीकोटका तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका, दैलेखको गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनको ‘सहयात्रा–२’ नामको परियोजनाले ९० वटा विद्यालयलाई नमूना बनाउने लक्ष्यअनुसार सहयोग गरेको हो।
जैसीका अनुसार परियोजनाले विद्यालयमा सिकाइ गुणस्तर अभिवृद्धिका लागि नयाँ अभ्याससँगै शैक्षिक सामग्री निर्माण र भौतिक संरचना सुधारमा सहयोग गरेको छ।
सेभ द चिल्ड्रेन फिल्ड कार्यालय, सुर्खेतका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईका अनुसार स्थानीय तहहरूले बनाएको नमूना विद्यालय कार्यविधि बमोजिम छनोट गरिएका विद्यालयहरूमा सहजीकरणका लागि सहयोग गरिएकोको हो।
उनले भने, ‘स्थानीय तहले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयलाई नमुना बनाउन छनोट गरेअनुसार हामीले सरकारको उद्देश्य प्राप्तिमा सहयोग मिलोस् भनेर काम गरेका हौँ।’
प्रारम्भिक बालविकासदेखि ८ कक्षासम्म पढाइ हुने चन्द्रज्योति आधारभूत विद्यालयमा भवन, खानेपानी र शौचालय बालअनुकूल बनाइएका छन्। विपदबाट जोगिन सुरक्षित स्थान समेत तोकिएको छ।
विद्यालयमा प्रारम्भिक बालविकास कक्षाका १९ जनासहित १७२ जना विद्यार्थी छन्।