अमेरिकामा चार नेपाली मृत भेटिएको घटनामा प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद गरेको छ।
बिहीबार राति भर्जिनिया राज्यको मनसास पार्क सहरस्थित एउटा घरमा दुई बालबालिका, एक महिला र एक पुरूष मृत भेटिएका थिए।
चारै जनामाथि गोली प्रहार गरिएको अवस्थामा मृत भेटिएका थिए।
भर्जिनियाबाट प्रकाशन हुने अनलाइन सञ्चारमाध्यम एनबिसी वाशिङ्टन डटकमका अनुसार प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको छ।
चारै जना मृत भेटिएको कोठाबाटै प्रहरीले पेस्तोल बरामद गरेको हो।
मृत भेटिएका चारै जनाको शव प्रहरीले मेडिकल परीक्षणका लागि स्थानीय अस्पतालमा पठाएको छ।
घटनास्थलमै पेस्तोल भेटिएका कारण प्रहरीले उक्त घटना हत्यापछि आत्महत्या हुन सक्ने आकलन गरेको छ।
यद्यपि हत्यापश्चात आत्महत्या गर्ने को हुन सक्छ भनेर प्रहरीले खुलाएको छैन। त्यो अझै अनुसन्धानकै क्रममा रहेको बताएको छ।
प्रहरीले मृत्यु हुने महिला र पुरूष अन्जु श्रेष्ठ र सन्तोष परियार रहेको पनि खुलाएको छ। दुई बालबालिकाहरुमा; २ वर्षका बालक र ८ वर्षीया बालिका छिन्।
सोही घरको माथिल्लो तलामा अर्का नेपालीको परिवार पनि बस्दै आएको एनबिसी वाशिङ्टनले लेखेको छ।
मृतकका एक नेपाली छिमेकीले उक्त घटनाले मर्माहत बनाएको बताएकी छन्। उनले आफ्नी ८ वर्षीया छोरी पनि मृतक ८ वर्षीया बालिकासँग सँधै सँगै खेल्ने गरेको पनि प्रहरीलाई बताएकी छन्।
मृत भेटिएका उनीहरू मनसास पार्कको त्यो घरको भुइँतलामा बस्दै आएका थिए।
घरबेटीले शंकास्पद लागेर प्रहरीलाई खबर गरेपछि बिहीबार राति १०:४० बजे उक्त घरमा प्रहरी पुगेर ढोका खोलेको थियो।
प्रहरीले गोली प्रहार गरेको अवस्थामा चारजनाको शव फेला पारेपछि घटनास्थल सुरक्षित गरेर प्रारम्भिक अनुसन्धान थालेको थियो।
घटना भएको क्षेत्रमा अरू नेपालीहरू पनि बसोबास गरेको र उनीहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको एनबिसीवाशिङ्टनले जनाएको छ।