माघे संक्रान्तिबाट काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरू गरिने भएको छ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको पानी सुन्दरीजल आइपुगिसकेको छ। आइतबार अनामनगरको ट्यांकीमा जम्मा गर्न सुरू गरिने र सोमबारबाट वितरण सुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।
‘अम्बाथानबाट मेलम्चीको पानी सुन्दरीजल आइपुगिसकेको छ। आजबाट अनामनगरको ट्यांकी भर्न सुरू गर्छौं। वितरणको जिम्मा काठमाडौं उपत्यका खानेपानी खानेपानी लिमिटेडले लिएकाले वितरणको कार्ययोजना उसले तयार पारेको छ,’ उनले भने, ‘मलाई जानकारी भएसम्म सुन्दरीजलबाट अनामनगर पानी पठाउन सुरू भइसकेको छ। सुन्दरीजलबाट अनामनगर पानी आइपुग्न ६ घन्टा लाग्छ। त्यसपछि क्रमशः मीनभवनलगायतका ठाउँहरूमा पानी पठाइनेछ।’
उनका अनुसार मेलम्चीबाट अहिले करिब साढे आठ करोड लिटर हाराहारी मात्रै पानी आएको छ। सुरूङ सफा गर्ने प्रयोजनका लागि बुधबारबारबाटै पानी पथान्तरण सुरू गरिएको थियो।
हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको सहायक सुरूङमार्गमार्फत् हालिएको पानी सोही गाउँपालिका–५ को ग्याल्थुम, मेलम्ची नगरपालिकाको ३ र ४ को सिमानामा रहेको सिन्धुखोला (सिन्धु अडिट) र गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल प्रशोधन केन्द्रमार्फत् बगाएर धमिलो पानी निकालिएको थियो।
प्रतिघन्टा ६०० लिटर पानी पठाएर धमिलो निकालिएको सुरूङमा सफा पानी बग्न थालेपछि दैनिक साढे आठ करोड लिटर छाड्न थालिएको हो।
‘प्रेसर मेन्टेन गर्दै पानी पठाउनुपर्ने हुन्छ। अब भोलिबाटै १७ करोड लिटर पानी आउन सुरू हुन्छ,’ अन्सारीले सेतोपाटीसँग भने।
प्रधानमन्त्रीले पुनः वितरण सुरू गर्ने
खानेपानी मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी तरिकाले काठमाडौं ल्याइएको पानी पुनः वितरणको सुभारम्भ गर्ने बताइन्।
‘सिंहदरबारभित्रको प्रणालीबाट प्रधानमन्त्रीले पुनः वितरण सुरू गर्ने तयारी गरेका छौं,’ सेतोपाटीसँग उनले भनिन्।
२०७८ असार १, साउन १६ र १७ गते पश्चिमी हेलम्बुको भ्रेमथाङबाट आएको भेलबाढीले तल्लो तटीय क्षेत्रमा रहेका मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र तहसनहस बनाएको थियो। मेलम्ची पुलबजारबाट अम्बाथान जोड्ने २२ किलोमिटर पहुँचमार्ग अहिले पनि भग्न अवस्थामै छ। अम्बाथानमा रहेको हेडवर्क्स बाढीले तहसनहस बनाएको थियो। बाढीले पुरिएको भग्नावशेष अहिले पनि त्यस्तै छ। हेलम्बु गाउँपालिकाको चनौटे क्षेत्रमा बेलिब्रिज हाल्नेबाहेक पुनःनिर्माणको काम हुन सकेको छैन।भ्रेमाथाङ र त्यसभन्दा मुनिको दोरिङसम्मको पहिरो रोकथामका लागि पनि केही काम भएको छैन। हिउँदयाममा खोलैबाट पहुँचमार्ग बनाएर बाँध क्षेत्रसम्म पुग्ने गरिएको छ।
मेलम्ची खानेपानी आयोजनाले तीन हिउँद अस्थायी तरिकाले नै पानी ल्याएको छ। अस्थायी तरिकाले ल्याएको पानीको पनि पटकपटक उद्घाटन हुँदै आएको छ। यसअघि २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर उद्घाटन गरेका थिए। आयोजना सुरू भएको २२ वर्षपछि मेलम्चीको पानी पहिलोपटक काठमाडौं आइपुगेको थियो।
त्यसपछि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा बनाएको धारा खोलेर मेलम्चीको पानी वितरण सुरू गरेकी थिइन्।
त्यसपछि २०७९ मंसिर २३ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले महाँकाल वितरण केन्द्रबाट पुनः वितरण सुरू गरेका थिए।
त्यसअघिका खानेपानी मन्त्री बिना मगर, मणि थापा लगायतले पनि अम्बाथान नै पुगेर पानी पथान्तरणको उद्घाटन गरेका थिए।
सुरूङभित्रका उपकरणको जाँच नै नगरी पानी पथान्तरणा सुरू गर्दा २०७७ असार ३० गते ‘अडिट टनेल’ भत्किएर २७ वर्षीय इन्जिनीयर सतीश गोइत र ५६ वर्षका चालक राधाकृष्ण थापाले ज्यान गुमाए। इन्जिनीयर शेखर खनाल र पेमादोर्जे तामाङ घाइते भएका थिए।
२७ दिनमै आइपुग्यो पानी
गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबीच २८ दिनभित्र काठमाडौंमा पानी पथान्तरण गर्ने गरी सम्झौता भएको थियो।
दुई सिफ्टमा काम गरेर भए पनि पुस मसान्तभित्र पानी पथान्तरण गरिसक्ने आयोजनाको लक्ष्य थियो।
‘लक्ष्यभित्रै सुरूङमा पानी पठाउन सुरू गरेका छौं,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले भने।
उनले बाँध क्षेत्र सफा गर्न लागेको खर्च यकिन भइनसकेको बताए। सुरूङ र बाँध क्षेत्र निर्माणको जिम्मा पाएको सिनो हाइड्रोको म्याद डिसेम्बरसम्म मात्र थियो।
आयोजनाले ठेक्काको म्यादभित्रै बाँध क्षेत्र सफा गर्न आग्रह गरेको हो।
‘ठेकेदार कम्पनीले गरेको खर्च परामर्शदाताले स्वीकृत गरेपछि मात्रै भुक्तानीको प्रक्रियामा जान्छ। त्यसकारण पनि कति खर्च लाग्यो भनेर भन्न नसकिएको हो,’ उनले भने।
असोजबाट नै सुख्खायाम सुरू भए पनि आयोजनाले तीन महिना ढिलो गरेर अस्थायी तरिकाले पानी पथान्तरणको काम सुरू गरेको हो।
यसअघि भुक्तानी बाँकी रहेको भन्दै परामर्श दाता कम्पनी र ठेकेदारले काम गर्न मानेका थिएनन्। भेन्डरहरूले पनि बक्यौता नपाउँदासम्म बाँध क्षेत्र सफाइको काम हुन नदिने बताएपछि काम अघि बढ्न नसकेको आयोजनाले बताएको छ।
अहिले काठमाडौंमा अस्थायी तवरले पानी ल्याउन लागिएको छ। स्थायी तरिकाले पानी ल्याउन सुरूङको मुखमा बाँध बनाउनुपर्ने हुन्छ। अहिले बाढीले तहसनहस बनाएको बाँध क्षेत्र, झन्डै एक दर्जनजति गेटहरू नखोतली सधी सुरूमा खोला हालेर पानी ल्याइएको छ। सहायक सुरूङमार्फत हालिएको पानी मुख्य सुरूङसम्म पुगोस् भनेर बीचमा ठूलो पाइप प्रयोग गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ।
दिगो रूपमा पानी ल्याउन अहिले पुरिएकै स्थानमा पुनः बाँध क्षेत्र बनाउन नहुने दातृ निकाय एशियाली विकास बैंकले जानकारी दिएको छ।
उसले अम्बाथान (अहिले हेडवर्क्स भइरहेको स्थान) बाट झन्डै एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्न सुझाव दिएको छ।
एसियाली विकास बैंकल गत सेप्टेम्बरमा बुझाएको विस्तृत प्रतिवेदन अध्ययन भइरहेको पन्तले जानकारी दिए।
वारिपारि दुवैतिर पहिराको जोखिम रहेकाले अम्बाथानमा बाँध क्षेत्र कायम गर्न नहुने उसको सुझाव छ।
अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २६.९ किलोमिटर लामो सुरूङ निर्माण गरिएको छ। त्यसका लागि झन्डै ३२ अर्ब रूपैयाँ खर्च भएको छ। त्यसमा एसियाली विकास बैंकको २० अर्बभन्दा बढी लागत रहेको छ भने नेपाल सरकारको १२ अर्ब रूपैयाँ खर्च भइसकेको छ।
यता काठमाडौं उपत्यकामा पानी वितरणका लागि पाइप सञ्जाल विस्तार गर्नका लागि ३२ अर्बभन्दा बढी रूपैयाँ खर्च भइसकेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनलायले यो काम गरिरहेको छ।
सर्कथली क्षेत्रमा बाँध सार्दा ४ अर्बभन्दा बढी लागत थपिने आयोजनाको आकलन छ।
अम्बाथान क्षेत्रमा हेडवर्क्स बनाउन मात्रै १ अर्बभन्दा बढी खर्च भएको पन्तले बताए।
‘हेडवर्क्ससम्म पुग्ने पहुँच मार्ग, सर्कथलीदेखि अम्बाथानसम्म सुरूङ, हेडवर्क्सको सर्भे, डिजाइन, निर्माण, सुपरिवेक्षण आदिका हिसाबले बाँध सार्न ३ देखि ४ अर्ब लागत थपिने अनुमान गर्न सकिन्छ,’ उनले भने।
२० करोडभन्दा बढी लागत खर्चिएर दुई हिउँद काठमाडौंमा अस्थायी तवरले पानी ल्याइएको थियो। यस वर्ष गेग्रान नछिरोस् भनेर १ नम्बर र ९ नम्बर गेटमा हाइड्रोलिक उपकरणसमेत राखिएको थियो।
साउन २८ र २९ गते आएको बाढीले ती संरचना पुरेको थियो।
बाँध क्षेत्र सार्दा थप तीन वर्ष अस्थायी तवरले नै पानी काठमाडौं पथान्तरण गर्नुपर्ने पन्तले बताए।
‘पर्याप्त भौगर्भिक, वातावरणीय अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन नै ६–७ महिना लाग्छ। त्यसपछि ठेक्का लाग्न ६ देखि ९ महिनासम्म लाग्छ,’ उनले भने, ‘यसअघि हेडवर्क्स तयार गर्न लागेको समयलाई आधार मान्दा पनि कम्तीमा तीन वर्ष लाग्ने देखिन्छ,’ पन्तले भने।
पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने, दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७–१७ करोड लिटर पानी थपेर दैनिक ५१ करोड लिटर पानी पुर्याउने आयोजनाको लक्ष्य थियो।
त्यसका लागि लार्केसम्म पुग्ने पहुँच मार्गका लागि मुआब्जा वितरण भएर ट्र्याकसम्म खोलिसकेको अवस्थामा बाढी, पहिरोले त्यहाँ पनि क्षति पुर्याएको आयोजनाले बताएको छ।
मेलम्चीको हेडवर्क्स सार्दा याङ्ग्री र लार्के परियोजनाकोसमेत डिजाइन बदल्नुपर्ने अवस्था आउने पन्तले बताए।
‘लार्केको पानी याङ्ग्रीमा मिसाउने गरी आयोजना अघि बढेको थियो। हामीले अहिले अपनाउन खोजेको प्रविधिअनुसार खोलाको पानी थिग्य्राएरमात्रै खोलामा सुरूङमा हाल्नुपर्छ। थिग्य्राएको पानी पुनः खोलामा मिसाउन मिल्दैन। त्यसकारण मेलम्चीको हेडवर्कस सार्दा यी सबैमा विचार पुर्याउनुपर्ने हुन्छ,’ उनले भने।
अम्बाथानको हेडवर्क्स सार्दा लार्के र याङ्ग्रीको पानी प्राविधिक हिसाबले खसाल्न मिल्ने/नमिल्ने अध्ययन हुन बाँकी रहेको पनि पन्तले बताए।
यसैबीच खानेपानी मन्त्रालयले एसियाली विकास बैंकले दिएको अल्प, मध्य र दीर्घकालीन विकल्पहरूमा इन्जिनियरिङ अध्ययन संस्थानबाट एक महिनाभित्र पुनरवलोकन गर्ने निर्णय गरेको थियो।
संस्थानबाट राय आउन बाँकी रहेको र त्यसपछि दीर्घकालिन समाधानका लागि काम गरिने कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।