दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङ भित्र एक पुरुष मृत फेला परेका छन्।
घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी शुक्रबार बंगलाचुली गाउँपालिका– ४ स्थित गदारी फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
एसपी केसीले अनुसार मृतकको छाती लगायत शरीरका अन्य भागमा घाउ खतहरु देखिएकाले उनको हत्या गरी सुरुङ भित्र शव लुकाइएको हुनसक्ने बताए।
अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
केसी सम्पर्कविहीन भएपछि परिवार र आफन्तले उजुरी दिएपछि उनको खोजी सुरु भएको थियो ।
केसीको मोवाइलको लोकेसनका आधारमा बंगलाचुली क्षेत्र पुगेको प्रहरीले सुरूङभित्र उनको शव भेटेको हो।
कोइला खानीको करिव ५० मिटर सुरुङ भित्र शव फेला परेको एसपी केसीले जानकारी दिए। उनले घटनाबारे अनुसन्धान सुरू भएको बताए।
प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन्।
शव पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।