शिक्षक र विद्यार्थी गरी ४० जना हातमा हँसिया लिएर कोदो बारीमा पसे।
टिपिसक्न चार दिन लाग्ने अनुमान गरेको कोदो तीन जना शिक्षक र ३७ जना विद्यार्थीले साढे एक घण्टामै सके।
टिप्ने बेला हुन लागेको बारीको कोदो बाँदरले क्षति पुर्याएर पिरोलिएकी ८५ वर्षीया तुलसी सुनार प्रशन्न भइन्। कोदो काट्न आएका सबैलाई धन्यवादसँगै आशिर्वाद दिइन्।
विद्यार्थी लिएर कोदोबारीमा पुगेकी शिक्षक रविना विकले भनिन्, ‘हजुरआमा (तुलसी) ले खुसीका आँसु पुछ्नुभयो र हामीलाई आशीर्वाद दिनुभयो।’
स्कुलका शिक्षक–विद्यार्थी गत साताको बिहीबार खाजा खाने समयपछिको कक्षा रोकेर कोदो टिप्न गएका थिए। उनीहरू प्यूठानको झिमरूक गाउँपालिका–३, कुटेडाँडास्थित बालज्योति आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी हुन्।
आखिर उनीहरू किन यसरी कोदो टिप्न गए?
तुलसीका छोरा शशीधर कामका लागि भारतमा छन्। बुहारी सुकुमारी गत कात्तिकमा घाँस काट्न वन गएका बेला लडेर गम्भीर घाइते भइन्। शशीधरले उपचारका लागि सुकुमारीलाई उतै लगेका छन्।
घरमा वृद्धा तुलसी, ११ वर्षकी नातिनी आशा र तीन वर्षका नातिमात्र छन्। आशा बालज्योति आधारभूत विद्यालयमा चार कक्षामा पढ्छिन्।
बुधबारको दिन थियो, आशाले प्रधानाध्यापक शंकरबहादुर बस्नेतलाई भेटेर चार दिन छुट्टी मागिन्। उनी छुट्टी लिन चाहन्नथिइन् तर हजुरआमाले चार दिनको छुट्टी लिएर आउनू भनेकी थिइन्। प्रधानाध्यापकसामु आशाको अनुहार मलीन थियो।
प्रधानाध्यापकले आशालाई छुट्टी चाहिनुको कारण सोधे। उनले कारण बताइन्। कुरा के रहेछ भने पाकेर टिप्ने बेला भएको कोदोबारीमा बाँदर पसेर हैरान पारेको रहेछ। कोदो काटिसक्न चार दिन लाग्ने तुलसीको अनुमान रहेछ। यसैअनुसार उनले नातिनीलाई छुट्टी लिनू भनेकी रहिछन्।
चार कक्षाकी विद्यार्थीले कोदो टिप्ने कामका लागि चार दिन छुट्टी मागेपछि प्रधानाध्यापक बस्नेतको मथिंगल हल्लियो। एक छिन मौन रहे अनि आशालाई भने, ‘तिमीले बिदा लिनु पर्दैन, खुरुखुरु स्कुल आउनू।’
प्रधानाध्यापकको कुराले आशा निराश भएर कक्षा कोठामा फर्किन्। यता प्रधानाध्यापकलाई उपाय फुर्यो– पर्सि शुक्रबार खाजा खाने समयपछि पढाइ हुँदैन, भोलि सबै विद्यार्थीलाई शुक्रबार स्कुल आउँदा एक-एकवटा हँसिया बोकेर आउनू भन्छु तर कारण बताउँदिनँ, विद्यार्थी र शिक्षक लिएर जान्छु र छिनभरमा कोदो टिपाइदिन्छु।
भोलिपल्ट बिहीबार आशा स्कुल आइन्। हजुरआमाले आज चाहिँ बिदा मागेर आउनू भनेकी थिइन्। आशा प्रधानाध्यापक सामु जान सकिनन्। आफ्ना साथीलाई भनिन्। साथीहरूले प्रधानाध्यापकलाई भनिदिए।
उनको दिमाग चल्यो– भोलि पर्खेर भएन, कोदो आजै नकटाई भएन।
प्रधानाध्यापकले सबै शिक्षकलाई बोलाए। आशाले बिदा मागेको कुरा र आफूले सोचेको जुक्ति सुनाए।
शिक्षकहरू खुसीसाथ सहमत भए। तीन जना शिक्षक र केही विद्यार्थी जाने टुंगो लाग्यो। प्रधानाध्यापक र अरू शिक्षकले कक्षा चलाउने भए।
तीन जना शिक्षक हीरा जिसी, लक्ष्मी भण्डारी र रविना विक ४, ५ र ६ कक्षाका ३७ जना विद्यार्थी लिएर कोदो टिप्न गए।
‘तपाईंहरू (शिक्षक) केही विद्यार्थी लिएर जानुहोस् र आशाको कोदो काटिदिनुहोस् भन्ने प्रस्ताव गरेँ,’ प्रधानाध्यापक बस्नेतले भने, ‘मेरो प्रस्तावमा सबै शिक्षक साथीहरू सहमत हुनुभयो। खाजाको समयपछि उहाँहरू विद्यार्थी लिएर कोदो टिप्न जानुभयो।’
नजिकमा घर भएका विद्यार्थीले आआफ्ना घरबाट हँसिया ल्याए। अलिक टाढाकाले नजिकका घरमा मागे। सबै लागेर टिप्न थालेपछि साढे एक घण्टामा सकियो।
शिक्षक रविनाले भनिन्, ‘हामी दिउँसो २ बजेतिर बारीमा पुगेका थियौँ। डेढ घण्टामा काम सकियो।’
आशाको बारी नजिकै छिमेकका एक परिवारका सदस्यहरू आफ्नो बारीमा कोदो काट्दै थिए। उनीहरू पनि खुसी हुँदै शिक्षक र विद्यार्थीको हुलमा मिसिएर काम सघाए।
प्रधानाध्यापकको पहलबाट विद्यार्थीहरूले समस्यामा परेका व्यक्तिलाई सबै मिलेर सहयोग गर्नुपर्छ भन्ने व्यावहारिक ज्ञान पाएको बताइन्।
रविनाले शिक्षक र विद्यार्थी मिलेर आशाको बारीमा कोदो काटेको फोटो आफ्नो फेसबुक पेजमा पोस्ट गरेकी थिइन्।
प्रधानाध्यापक बस्नेतले विद्यार्थीको समस्या समाधानका लागि गरेको पहलको चौतर्फी प्रशंसा भएको छ।
‘हामीले सामाजिक भावनाले गरेको काम गाउँसमाजले उदाहरणीय र अनुकरणीय भनेका छन्,’ ‘शिक्षक रविनाले भनिन्, ‘व्यावहारिक शिक्षा र सेवाको नमुना कार्य हो भनेर तारिफ भएको छ।’
‘फेसबुकमा फोटो राखेर प्रशंसा बटुल्ने उद्देश्य थिएन,’ प्रधानाध्यापक बस्नेतले भने, ‘हाम्रो उद्देश्य त विद्यार्थीका समस्या व्यावहारिक रूपमा समाधान गरौँ भन्नेमात्रै थियो। कामको तारिफ भएकोमा खुसी लागेको छ।’
रविनाले चाहिँ आफूहरूले गरेको कामबाट सकारात्मक सन्देश प्रवाह हुन्छ कि भन्ने ठानेर फेसबुकमा फोटो पोस्ट गरेको बताइन्।
प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालय परिवारले सानै भए पनि केही सहयोगी काम गर्ने गरेको छ। किसानका खेतबारीमा मकै खान आउने बाँदरको बथान शिक्षक र विद्यार्थी मिलेर धेरै पटक धपाएका छन्।
४६ वर्षीय बस्नेत २०७३ सालदेखि बालज्योति आधारभूत विद्यालयमा प्रधानाध्यापक छन्। यो विद्यालय झिमरुक गाउँपालिकामा निकै सक्रिय र अग्रणी मानिन्छ। परीक्षाको नजितमा गाउँपालिकाभरिमा सधैँ अगाडि रहने गरेको छ।
यस विद्यालयको गतिविधिबाट वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार खत्री पनि प्रशन्न छन्।
‘किताब पढेर सैद्धान्तिक ज्ञान हासिल हुने भए पनि बालबालिकालाई रचनात्मक कामबाट व्यवहार पनि सिकाउनुपर्छ,’ उनी भन्छन्, ‘बालज्योति स्कुलका शिक्षक र विद्यार्थीले गरेको काम (कोदो टिप्ने) निकै राम्रो हो। विद्यालय परिवारले राम्रो उदाहरण प्रस्तुत गरेको छ।’
प्रधानाध्यापक बस्नेतको पहलका कारणले आशाले पढाइ माया मारेर चार दिन छुट्टी लिनुपरेन। थन्क्याउन नपाई बाँदरले सिध्याउने भयो भन्ने पिरबाट तुलसीले मुक्ति पाइन्। विद्यार्थीहरूले समस्यामा परेका व्यक्तिलाई सबै मिलेर सहयोग गर्नुपर्दो रहेछ भन्ने ज्ञान पाए।