धनुषामा पानी सुकेको पोखरीमा एक जना महिलाको शव फेला परेको छ।
धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए।
‘शव लगभग सड्न थालिसकेको छ। अनुहार पनि राम्रोसँग चिन्न नसकिने अवस्था छ। उनको शरिरमा घाउचोट देखिँदैन तर घाँटीमा कपडा बाँधिएको छ,’ उनले भने। जसकारण घटना शंकास्पद देखिएको उनले बताए।
घटनास्थलमा महिलाको चप्पल देखिएको छ। शरीर सड्न थालेकाले पोष्टमर्टमपछि मात्रै थप कुरा खुल्ने एसपी शर्माले बताए।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि घटनास्थलमा एसपी शर्मा सहितका प्रहरी पुगेका छन्। तालिम प्राप्त कुकुरसहितको टोली समेत परिचालन गरी घटनाको अनुसन्धान भइरहेको छ।