उनी काठका मूर्ति बनाउँछन्। काठमै देवीदेवताका चित्र खोप्छन्। काठकै चरा बनाउँछन्। मादल र सारंगी पनि बनाउँछन्।
सबैभन्दा तनमनले त उनी हत्थामा चराको आकृति भएको लौरो बनाउँछन्। जो ‘चरी लौरी’ नामले चर्चित छ। लौरीमा सर्पको आकृति पनि बनाउँछन्। यस्तो लौरी धेरै वृद्धवृद्धाको पैदलयात्राको सहारा बनेको छ। चरी लौरी दाङमा त चर्चित छँदैछ; काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल जस्ता सहरमा पुगेको छ। दाङ आइपुग्नेले किनेर लैजान्छन्, कसैले उपहारका लागि पनि किन्छन्।
उनी हुन् दाङको घोराही उपमहानगरपालिका–५, ठूलोगाउँका ६५ वर्षीय जग्गुलाल चौधरी। उनले चञ्चले किशोर उमेरमै काठमा आफ्नो शिल्प पाेख्न थालेका हुन्। यसरी काम गरेको करिब ५० वर्ष भयो।
जग्गुलालले काठका धेरै आकृति र अन्य सामान बनाएका छन्। लौरीको त हिसाब नै छैन।
‘मैले आजसम्ममा काठका सात सयजति सामान बनाएँ,’ उनले भने, ‘मैले बनाएका केही मूर्ति थारु संग्रहालयमा छन्। अन्त पनि पुगेका छन्। मान्छेले घरमा सजाउन पनि किनेका छन्।’
घोराही उपमहानगरपालिका–१७, पनौरामा ‘थारु सांस्कृतिक संग्रहालय’ छ जहाँ उनका सिर्जना छन्।
उनले पढ्न पाएनन्। उनको बाल्यकाल र किशोर उमेरमा पढ्नुपर्छ भन्ने बलियो चेतना पनि थिएन। बाल्यकालमा माटोसँग खेल्थे। माटो मुछेर घोडा, हात्ती, चरा इत्यादि बनाउँथे र भत्काउँथे। यसो गर्नु उनका लागि एक किसिमको खेल थियो।
यसो गर्दागर्दै उनी जानीनजानी काठमा बुट्टा भर्न थाले। गर्दागर्दै आकृति बन्न थाल्यो। बिस्तारै खास किसिमको आकृति बनाउन थाले।
बिस्तारै थारु जातिका चाडपर्व, विवाह र अन्य उत्सवमा चाहिने काठका मूर्ति बनाउन थाले गर्दै जाँदा यसैमा अभ्यस्त भए। काष्ठकलामा खारिँदै गए। कसैसँग सिकेका पनि छैनन्।
जस्तोसुकै आकारको भए पनि काठ देख्नासाथ उनलाई कुनै न कुनै आकृति फुर्थ्यो। अहिले पनि यस्तै हुन्छ। कतै फालिएको काठ देख्दा होओस् कि जंगल र बुट्ट्यानको बाटो हिँड्दा, उनको दिमागमा कुनै न कुनै आकृति फुरिहाल्छ।
‘रूखको हाँगो देख्दा पनि कुनै न कुनै मूर्ति मनमा खेलिहाल्छ,’ उनी भन्छन्, ‘जस्तो भए पनि काठमा हतियार चलाउन थालिहाल्छु।’
आफू थारू भएर होला; थारू जातिका वेशभूषा, कला, संस्कृति र देवीदेवताका आकृति बनाउनमा उनको खास रुचि छ। यसपछि जनावर र चराचुरुंगीका आकृति उनको प्राथमिकतामा छ। झ्लाढोकामा बुट्टा बनाउने काम अर्डर अनुसार हुन्छ।
उनी भन्छन्, ‘मैले बनाएका देवीदेवताका मूर्ति धेरैले किनेर लगेका छन्। लौरी किन्न पनि धेरै जना आउँछन्।’
बुढापाका मानिसहरू उनले बनाएको लौरी टेकेर हिँड्छन्। यो देखेर उनलाई आनन्दको अनुभूति हुन्छ। भन्छन्, ‘म पनि बुढो हुँदैछु। बुढापाकाहरू चरी लौरी टेकेर हिँडेको देख्दा राम्रै काम गरेको रहेछु भनेर सन्तोष लाग्छ।’
उनको आम्दानीको मुख्य स्रोत पनि काष्ठकला नै हो। अर्डर अनुसार बुट्टे झ्याल बनाउँछन्। ढोकामा बुट्टा कुँद्छन्। उनको कला थाहा पाएका मानिसहरू आएर अर्डर गर्छन्। ग्राहकलाई कसीकसाउ भाउ लगाउँदैनन्। काठको दाम र आफ्नो श्रम विचार गरेर मूल्य तोक्छन्।
‘म चर्को भाउ लगाउँदिनँ। ग्राहकहरूले खुसीले किन्ने गरेका छन्,’ उनी भन्छन्, ‘सामान बेचेर आएको पैसाले घर चलाउन सजिलो भएको छ।’
जग्गुलालका अनुसार काष्ठकलामा पाँच दशक बिताए पनि उनले यसलाई व्यावसायिक बनाउन सकेनन्। अझै पनि फुर्सदको सदुपयोगमा सिमित छ।
‘लेखपढ गर्न जानेको छैन। प्रचार पनि छैन। मेरो कला थाहा पाउनेले किनेर लैजान्छन्। कहिलेकाहीँ अर्डर गर्छन्,’ उनी भन्छन्, ‘अहिलेसम्म यस्तै चलेको छ।’
आजकाल काठ पाउन मुस्किल भएको छ। लोरो र मूर्तिका लागि चाहिने राम्रो काठ किन्न महँगो पर्छ। जंगल गएर आफूखुसी रूख काट्न पाइँदैन। केही वर्षदेखि उनी काठ किनेर काम गर्दैछन्।
जग्गुलालका अनुसार उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित छन्। नियमित उपचार गराउनुपर्छ। उपचार खर्च जुटाउने मुख्य स्रोत हातको सीप नै हो।