राहत सामग्री जलाउने दुई जना पक्राउ परेका छन्।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनीहरूले आइतबार बेलुका साढे पाँच बजेतिर भूकम्प पीडितका लागि वितरित राहत सामग्री जलाएका थिए। राहत सामग्रीप्रति असन्तुष्टि जनाउँदै उनीहर"ले पेट्रोल छर्किएर कम्बलहरू जलाएका थिए।
प्रहरी हवल्दार लालबहादुर कार्कीको कमाण्डमा खटिएको दुई जनाको प्रहरी टोलीले राहत सामग्री जलाउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो। आरोपितलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताए।
‘राहत वितरणप्रति असन्तुष्टि जनाउँदै बुढा र पुनले आठ वटा कम्बलहरू पेट्रोल छर्किएर जलाएर नष्ट गरेको भन्ने सूचना प्राप्त भएको छ,’ डिएसपी भट्टराईले भने, ‘अरूले धेरै राहत पाएको र आफूले कम पाएको भन्ने मुख्य गुनासो उहाँहरूको हो भन्ने छ।’
पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ तथा अनुसन्धान हुन बाँकी रहेको डिएसपी भट्टराईले बताए।
वडाध्यक्ष मानबहादुर पुनका अनुसार उनीहरूले आफूसहित अरूलाई वितरण गरिएका कम्बलसमेत खोसेर पेट्रोल छर्किएर आगजनी गरेको सेतोपाटीलाई बताए।
‘हामीले वडा कार्यालयमार्फत् भर्पाइ गराई टोलमा पठाइएका सामग्री उनीहरूले खोसेर पेट्रोल छर्केर आगो लगाएको कुरा आएको छ,’ वडाध्यक्ष पुनले भने, ‘हामीले कसैमाथि भेदभाव गरेका छैनौं र उनीहरूले आगजनी गरेर अन्य भूकम्प प्रभावितको भावनामाथि खेलवाड गरेको मलाई लाग्छ।’
वडा कार्यालयले प्रत्येकलाई भर्पाई गराएर मात्रै राहत वितरण गरेको तथा यसअघि नै कम्बल जलाउने दुबै जनाले त्रिपाल लगाएका राहत सामग्री पाइसकेको वडाध्यक्ष पुनले दाबी गरे।
‘अर्काको भाग धेरै देख्ने र आफ्नो कम देख्न कतिपयको स्वभाव हुन्छ,’ पुनले भने, ‘कसले कति पटक र कुन प्रकारका राहत सामग्री पायो भन्ने कुरा वडाको भर्पाइबाटै स्पष्ट हुने हुँदा राहतमा कसैमाथि भेदभाग गरिएको भन्ने कुरा सही होइन।’
तर, उनले जेष्ट नागरिक, अशक्त, एकल महिला, अति विपन्न परिवारलाई आवश्यकताका आधारमा थप केही राहत सामग्री वितरण गरिएको कुरा भने स्वीकार गरे।
‘आफ्नो पार्टीका मान्छेहरू वा नातागोता भनेर कसैलाई राहतमा भेदभाव गरिएको छैन,’ वडाध्यक्षले पुनले भने, ‘आवश्यकताका आधारमा वितरण गरिएको छ, अशक्त, बिरामीले थोरै बढी वा डबल पाउँदा त्यसमा सानो चित्त गर्नु राम्रो होइन।’
सुत्केरी महिला, जेष्ट नागरिक र बालबालिकालाई हेरेर थप राहत वितरण गरिएको हुँदा त्यसमा उनीहरूको असन्तुष्टि जनाउँदै वितरित कम्बलमा आगो लगाउने हर्कत उनीहरूले गर्नु गलत कार्य गरेको वडाध्यक्ष पुनले बताए।
उनीहरू आफ्नै गाउँका भएको भन्दै वडाध्यक्षले गाउँमा १२ वटा घर भूकम्पबाट पूर्णरूपमा क्षति भएको हुँदा त्यस्ता घर परिवारलाई पनि हेरेर थप राहत सामग्री प्रदान गरिएको जानकारी दिए।
‘हामीले अवस्था हेरी राहत वितरण गरेका छौं र उनीहरूले बराबरी खोज्नु कसरी सही मान्न सकिन्छ,’ वडाध्यक्ष पुनले भने, ‘राहत आवश्यकताका आधारमा वितरण हुनुपर्छ भन्ने मलाई लाग्छ।’