दाङमा रूखबाट लडेर मृत्यु भएका भनिएका एक व्यक्तिको छातीमा बन्दुकको छर्राको घाउ देखिएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर ७ हर्नियाका ३० वर्षीय जुगारू चौधरीको जंगलमा मालुको पात टिप्न गएका बखत रूखबाट लडेर मृत्यु भएको भनिए पनि उनको छातीमा बन्दुकको छर्रा लागेको घाउ देखिएको एक प्रहरी अधिकारीले बताए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक मल्लका अनुसार जुगारू बिहीबार बिहान आठ बजेतिर मालुको पात टिप्न भनेर जंगल गएका थिए।
घटनाबारे बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीलाई खबर आएको थियो। प्रहरी उद्धार गरेर ७ बजेर ४० मिनेट जाँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै जुगारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
'जंगलमा पात टिप्न अरू पनि सँगै गएको भन्ने छ,' डिएसपी मल्लले भने, 'मृतकको छातीमा बन्दुकको छर्राको जस्तो घाउ देखिएको हुँदा थप अनुसन्धान हुन बाँकी छ।'
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले मृतक सशस्त्र प्रहरीका मान्छे हुन् भन्ने अपुष्ट खबर आएको बताए। तर उनी बहालवाला हुन् वा सशस्त्रमा विगतमा कार्यरत थिए भन्ने खुलिनसकेको पनि उनले बताए।
'घटना आशंकायुक्त छ,' उनले भने, 'हामी अनुसन्धानकै क्रममा छौं।'
जुगारूको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र पोस्टमर्टम हुन बाँकी रहेको उनले बताए।