रूकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ का १२ वर्षीय नवीन मल्ल आमासँग जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १० रावत गाउँस्थित ठूलीआमाको घरमा तीन दिनअघि मात्रै गएका थिए।
शुक्रबार राति निकैबेर पारिवारिक कुराकानी गरेर नवीन, उनकी आमा र आफन्त सुतेका थिए।
उनीहरू सुतेको घर एक तले थियो।
नवीन मध्यरात हुँदा गहिरो निन्द्रामा थिए। टेबुलमाथि राखेको बाल्टी ढ्वाङ्ग गर्दै खस्यो। त्यो बाल्टी नवीनको टाउभित्र पस्यो। बाल्टीले टाउको छोपिएपछि के भइरहेको छ भन्ने नवीनले मेसो पाएनन्।
जसै उनी केही नसोची बाल्टी टाउकोबाट हटाउने प्रयास गर्दै थिए, घर भत्किएर उनीमाथि नै बज्रियो। कराउन, चिच्याउन त खोजे तर कसैले सुने पो!
सुनुन् पनि कसरी? घरभित्र सुतेका अरू सबै जना एकै चिहान भइसकेका थिए। एउटै घरमा सुतिरहेकामध्ये उनकी आमा ४२ वर्षीया पदमा मल्ल र अरू पाँच जना आफन्तको अत्तोपत्तो थिएन।
उनीहरू बीचको कोठामा सुतेका थिए। घर भत्केर नवीनलाई पुरेको केही बेरमा छिमेकी आएर दुई बालबालिकाको शव भग्नाबशेषबाट निकालेपछि मात्रै नवीनको उद्धार गरेका थिए।
उनीहरू नवीनका माइली दिदीका छोरा–छोरी थिए। त्यसपछि ठूली दिदीका दुई छोराका शव भग्नाबशेषबाट निकालियो।
नवीनकी आमा पद्माको शव पनि केही बेरमै स्थानीयले निकाले। त्यसपछि निकालियो नवीनका मामा शंकरको शव। ‘मुवा, मामा, माइली र ठूली दिज्युका छोरा छोरीसहित एकै घरमा सुतिरहेका ७ जनामध्ये अन्य सबैको मृत्यु भयो,’ नवीनले सेतोपाटीसँग फोनमा भने, ‘बाल्टी खसेर टाउकोमा छिरेको हुँदा मलाई त्यसैले जोगायो।’
नवीनलाई सामान्य चोट लागेको छ। त्यो बिनासकारी भूकम्प जाँदा नवीनकी ठूली आमा र केही आफन्त भने पानीबाट चल्ने मिल घट्टमा गएकाले जोगिए।
‘ठूलीआमाहरू घट्टमा कुटानी पिसानीका लागि जानुभएको थियो। घट्ट थोरैमात्रै भत्किएछ। उहाँहरूलाई केही भएको छैन,’ उनले भने, ‘तर उहाँको घरमा सुतेका मेरी मुवासहित ६ जना बाँच्नुभएन।’
घटना पछि अर्को दिन बिहान आफू रूकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १४ स्थित घरमा आउँदा पनि गाउँघरको उराठ लाग्दोस्थिति देखेको उनले बताए।
भूकम्प आउँदै गर्दा बुवाले थाहा पाएर बाहिर निस्केर ज्यान जोगाएको उनले बताए। आठबिसकोटमा रहेको उनको घर बस्न नमिल्ने गरी भत्किएको छ।
आमालाई गुमाउँदाको पीडा र शोक एकातिर छ भने अर्कोतर्फ रातभर खुल्ला आकाशमुनी चिसोमा बस्नु परेको उनले बताए।
‘घरभित्र चर्किएको छ र घरभित्र पस्नै डर लाग्छ,’ उनले भने, ‘रातभर घरनजिकै खुल्ला ठाउँमा आगो ताप्दै बस्यौं। सितको चिसोले भिजाएर कपाल निथ्रुक्क भयो।’
आठबिसकोट नगरपालिका वडा नम्बर १३ भल्मा गाउँमा अर्को यस्तै घटना भयो। स्थानीय तिलक थापाको घरमध्ये रातको भुइँचालालेले गर्ल्याम्मै ढल्यो।
झन्डै ६ महिनाअघि विवाह गरेका तिलकका २२ वर्षीय भाइ खिममान थापा र २१ वर्षीया बुहारी मीना थापाको त्यसैमा परेर मृत्यु भयो।
माथिल्लो छुट्टै कोठामा सुतिरहेका तिलक घर भप्किँदा भाग्यबस हुत्तिएर बाहिरै पुगे। उनलाई घरको भगनावशेषले च्याप्न पाएन चोटपटक लागेको छ।
तिलककी श्रीमती छोरासहित शिक्षकको लाइसेन्सका लागि परीक्षा दिन नेपालगञ्ज गएको हुँदा जोगिएको स्थानीय हरि पुनले सेतोपाटीलाई बताए।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले भूकम्पमा परी तिलक भाग्यले जोगिए पनि उनका भाइ-बुहारीको घर भत्किएर मृत्यु भएको बताए। पुनका अनुसार आइतबार भूकम्पमा ज्यान गुमाएका आठ जनाको ठूली भेरी नदीमा सामूहिक अन्त्येष्टि गरिएको छ।
‘त्रिपाल पाएनौं’
आठबिसकोट नगरपालिका वडा नम्बर १४ का २९ वर्षीय महेश मल्लले भूकम्पपछि आफूहरूसहित स्थानीय खुल्ला आकाशमुनी रात गुजार्न बाध्य भएको बताए।
‘जुन समयमा भूकम्प गएको हो फेरि त्यसै गरी मध्यरातमा भूकम्प आउन सक्छ भनेर हामीलाई जागै रहन आग्रह गरिएको छ,’ मल्लले भने, ‘त्यही कारण घरभित्र पनि पस्न सकेका छैनौं र बाहिर बस्दा हामीले त्रिपाल पनि पाउन सकेनौं।’
मल्लले चर्किएको घरभित्र बल्लतल्ल छिरेर एक बोरा चामल निकालेर खानाको जोहो गरेको बताए।
‘भैंसीभित्रै मरेका छन्, ती निकाल्न सकिएको छैन,’ मल्लले भने ‘अरू त परको कुरा हामीलाई त्रिपाल दिनसमेत आइतबार मध्याह्न १२ बजेसम्म कोही आएको छैन।’
उनले विपदमा चाहिने राज्य र सरकार भए पनि यतिखेर राज्यविहीनताको महसुश भइरहेको बताए।
‘हाम्रो पहुँच नपुगेर हो वा तपाईंहरू जस्ता पत्रकारले राम्रो समाचार नलेखेर हो अहिलेसम्म हामीलाई त्रिपाल दिन समेत कोही आएको छैन,’ मल्लले भने, ‘यहाँ सबैको दर्दनाक कथा व्यथा छ रातभर बाहिरै जागा बस्दा सित र चिसोले कपाउँछ।’
चिसोबाट ६ वर्षीय छोरा निकेन र ९ वर्षीया छोरी एञ्जिलालाई जोगाउन सकस भएको हुँदा रातभर आसपासमा दाउराको धुनी बालेको उनले बताए।
यही वर्ष नयाँ घर बनाएको भए पनि भूकम्पले त्यो चिरा परेको हुँदा भित्र पस्नै डर लागेको उनको भनाइ छ।
भूकम्प जाँदा महेश भलिवल खेल हेर्न झन्डै चार किलोमिटर टाढाको बाँके जिउला भन्ने ठाउँमा गएको र आफूहरू बसेको त्यो घर सुरक्षित रहेको हुँदा भूकम्प आएको थाहा पाउनेबित्तिकै घरमा श्रीमतिलाई फोन गरेको बताए।
उनकी श्रीमती सरस्वतीले भने भूकम्प जाँदा गड्याङ गुडुङ गर्दै ढुंगा माटो खस्न थालेपछि आफ्नो घरमा पाहुना आएकी दिदी चिच्याउँदै भाग्न आग्रह गरे पनि आफू आत्तिएर भाग्न नसकेको बताइन्।
‘मस्त निन्द्राकी मलाई ढुंगा माटो गल्दै गएको देख्दा होस उडेको जस्तै भयो। बुढाको फोन पनि उठाउन सकिन बरू दिज्युले मेरा छोरा छोरी र मलाई पनि बाहिर निकालेको हो,’ उनले भनिन्।
जाजरकोटको भूकम्पमा ज्यान गुमाएकी पद्मा महेशकी ठूली आमा हुन्। महेशका अनुसार उनका सालाको छोराको पनि भूकम्पमा परी मृत्यु भएको छ। सासुआमाको काठमाडौंमा र सालाकी श्रीमतीको नेपालगञ्जमा उपचार भइरहेको उनले जानकारी दिए।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले आइतबारदेखि राहात वितरणको काम सुरू भएको जानकारी दिए।