हेटौंडाका २६ वर्षीय सुमन (नाम परिवर्तन)ले मेकानिकल इन्जिनियरिङ सकेर कतै जागिर नपाएपछि काठमाडौंमा पठाओ चलाउन थाले।
पठाओ चलाउने क्रममा १० महिना अघि उनले बाल्यकालका साथी राजेश (नाम परिवर्तन)लाई भेटे।
राजेशले आफू भिजिट भिसामा थाइल्यान्ड जान लागेको कुरा सुनाए। चिनेजानेकै साथीले सबै बन्दोबस्त मिलाइदिएको र मासिक तलब एक लाखभन्दा बढी हुने बताए।
राजेशको कुराले काठमाडौंमा संघर्ष गरेर दैनिकी चलाइरहेका सुमन लोभिए। आफू पनि भिजिट भिसामा थाइल्यान्ड जान तयार रहेको बताउँदै राजेशलाई सम्पर्कमा रहन भने।
उनीहरू भेट भएको दुई दिनपछि राजेश थाइल्यान्ड उडे। थाइल्यान्ड गएपछि पनि सुमनसँग उनको निरन्तर कुरा भइरह्यो।
राजेशले काम राम्रो छ भन्थे। यता सुमनले भिजिट भिसाका लागि चाहिने पैसा जोहो गरिरहेका थिए। सुमनले थाइल्यान्ड जान लागेको योजना साथीहरूलाई सुनाए। सतुंगलमै बस्ने उनकी केटी साथी रोजी (नाम परिवर्तन) पनि भिजिट भिसामा सँगै जान तयार भइन्।
प्लस टु सकेर बसेकी गोरखाकी रोजी सुमनकी मिल्ने साथी हुन्। त्यही आधारमा उनी सुमनसँग जान तयार भएकी थिइन्।
‘विदेश जाने योजना पहिलेदेखिको हो, सस्तोमा जान पाउने भएपछि तयार भयौं,’ सुमनले भने।
रोजी पनि थाइल्यान्ड आउने कुरा सुमनले राजेशलाई सुनाए।
राजेशले आफू कार्यरत कम्पनीमा काम मिलाइदिने तर त्यसका लागि प्रतिव्यक्ति डेढ लाख रुपैयाँ थाइल्यान्डका एजेन्टलाई तिर्नुपर्ने बताए।
सुमन र रोजीले लागत रकम जुटाए। रोजीलाई अपुग ५० हजार रुपैयाँ पनि राजेशले नै सहयोग गरिदिएका थिए।
पैसा जोहो भएपछि राजेशले उनीहरूको सम्पर्क ठमेलका एक जना होटल व्यवसायीसँग गराइदिए। ती होटल व्यवसायी राजेशका नातेदार हुन्।
सुमन र रोजीले आफ्ना सबै कागजात तिनै होटल व्यवसायीलाई दिए।
पैसा भने राजेशले आफ्नै खातामा पठाउने भने।
चिनेजानेको साथी भएकाले राजेशलाई सुमनले आँखा चिम्लेर विश्वास गरे, उनले जेजे भन्यो त्यही माने।
पैसा तिरेको केही हप्तामा सुमन र रोजीको भिसा आयो।
सन् २०२२ सेटेम्बर १६ मा सुमन र रोजी थाइल्यान्ड उडे। जहाजको सिटमा एउटै लहरमा बसेका अरू दुई जनासँग उनीहरूको कुराकानी भयो। उनीहरूले सुमन र रोजी जान लागेकै कम्पनीमा जान लागेका रहेछन्।
थाइल्यान्ड पुगेपछि चारै जनालाई लिनका लागि एक चिनियाँ व्यक्ति विमानस्थल आएका थिए।
उनले चारै जनालाई एउटै बसमा बसाले। झन्डै १० घन्टाको यात्रा गरेपछि एउटा होटलमा पुर्याए। होटलमा एकैछिन आराम गर्न आग्रह गरेर उनी बाहिरिए।
भोलिपल्ट होटलमा बर्दीधारी व्यक्तिहरू बन्दुकसहित आए। होटलमा बसेका चारै जनालाई निकाले र गाडीमा हाले। त्यसदिन करिब ५ घन्टाको यात्रापछि उनीहरूले चारै जनालाई गाडीबाट ओरालेर मकैको घारीघारी हिँड्न लगाए।
‘मकैको घारीघारी हिँडाएपछि त्यहाँबाट भागौं-भागौं पनि नलागेको होइन तर भाग्नसक्ने अवस्था थिएन्,ʼ सुमनले भने।
१०/१५ मिनेट मकैघारी हिँडेपछि उनीहरू नदी किनारमा पुगे। त्यहाँ एउटा फेरी उनीहरूलाई पर्खिरहेको थियो। त्यही फेरीमा चढेर उनीहरूले नदी पार गरे।
पारि पुगेपछि फेरि बसमा चढ्न लगाइयो।
‘थाइल्यान्डमै छौं भन्ने लागेको थियो। तर, त्यतिबेला त हामी म्यानमार पुगिसकेका रहेछौं,ʼ सुमनले भने।
म्यानमार पुगेको कुरा उनीहरूले भोलिपल्ट मात्रै थाहा पाए।
उनीहरूलाई म्यानमारको म्याओडी भन्ने ठाउँमा लगिएको थियो। दक्षिणपूर्वी म्यानमारमा पर्ने म्याओडी थाइल्यान्डको सीमा नजिकैको सहर हो।
उनीहरू भएको भवन र वरिपरि बन्दुक र बर्दीधारी व्यक्तिहरू ठूलो संख्यामा परिचालन भएका थिए। त्यहाँ चिनियाँ नागरिकले गोप्य रूपमा अपराधिक क्याम्प बनाएको सुमनले बताए।
भवनको एक कोठामा लगेर उनीहरूलाई राखियो। त्यो दिन उनीहरूलाई आराम गर्न भनियो।
दोस्रो दिन चिनियाँ म्यानेजरले उनीहरूलाई एक कागज दियो र हस्ताक्षर गर्न भन्यो। त्यसमा उनीहरूले एक वर्षभन्दा अघि काम बीचमा छोडे जरिवाना तिर्नपर्ने लेखिएको सुमन बताउँछन्।
‘कम्प्युटर डाटा इन्टीको काम हो गरिहालिन्छ भन्ने भयो र हस्ताक्षर गरिदिएँ,’ सुमनले भने।
रोजीले पनि त्यही सोचिन्। सँगै गएका अरू दुई साथीले पनि हस्ताक्षर गरे।
भिजिट भिसामा गएकाले तीन महिनापछि भिसा थपिदिने चिनियाँ म्यानेजरले बताएका थिए। त्यसैले उनीहरू ढुक्क थिए।
दोस्रो दिन सुमनले साथी राजेशलाई भेटे। साथीलाई भेटेपछि सुमनको त्यहाँ काम गर्ने हिम्मत थपिएको थियो।
उनीहरूले डाटा इन्ट्रीको काम सोचेका थिए। तर, सामाजिक सञ्जालमा अमेरिका र युरोपका धनी व्यक्तिहरूसँग कुराकानी गर्नुपर्ने रहेछ। त्यसलाई उनीहरूले सामान्य सोचे।
म्यानेजरले नम्बरको लिस्ट ल्याएर दियो। त्यही अनुसार एक साताभरि के-के कुरा गर्ने पनि लेखेर उनीहरूलाई दिइयो। उनीहरूले म्यासेज मात्र गर्नुपर्थ्यो। फोनमा कुराकानी गर्नुपरे तयारी अवस्थामा राखिन्थ्यो।
‘मसँग यो ब्राण्डको गाडी छ! तपाईसँग के छ?, मेरो यहाँ लगानी छ तपाईको कहाँ छ? भनेर सम्पन्न व्यक्तिजस्तो गरी कुरा गर्नुपर्थ्यो,ʼ सुमनले भने, ‘उनीहरूलाई जसरी हुन्छ आफ्नो कुरामा विश्वास दिलाउनुपर्थ्यो।ʼ
एक व्यक्तिलाई दुई/तीन हप्ताभित्र विश्वास दिलाइसक्नुपर्ने कम्पनीको नियम थियो। ती व्यक्ति कुराकानी गर्न तयार भएपछि अर्कै व्यक्तिले त्यही नाममा कुराकानीलाई अगाडि बढाउने गर्थे।
केहीदिन उनीहरूलाई त्यो काम गर्न रमाइलो लाग्यो। उनीहरूले गरिरहेको काम अवैध नभएको चिनियाँ म्यानेजरले प्रत्येक हप्ता सुनाउने गरेका थिए। त्यसैले उनीहरूले शंका गरेनन्।
दुई महिना बिते। त्यतिबेलासम्म उनीहरूले आफू ठगी धन्दामा काम गरिरहेका छौं भन्ने थाहा पाएका थिएनन्।
रोजीले भने कामसँगै खानाको कुराबारे गुनासो गरिरहन्थिन्। रोजी भेजिटेरियन हुन्। खानेकुरामा दुर्गन्ध आउने र स्वादहीन हुने भएकाले रोजीले धेरै पटक गुनासो गरेकी थिइन्।
प्रत्येक महिनाको अन्तिम दिन त्यहाँ काम गर्नेहरू भेला भएर पाटी गर्थे। दोस्रो महिनाको पार्टी चलिरहँदा नेपाली युवकले रोजीलाई दुर्व्यवहार गरे।झगडा पर्यो।
झगडापछि रोजी र सुमनलाई छुट्टै भवनमा राखियो। त्यहाँ उनीहरू दुई जनाबाहके सबै चिनियाँ नागरिक रहेको रोजी बताउँछिन्।
‘दुई दिनसम्म एउटै कोठामा थुनेर राखे। हामीले घर फर्काउन भन्यौं तर, उनीहरूले जरिवाना तिरेमात्र पठाउने बताए,ʼ रोजीले भनिन्।
काम थालेको दुई महिना मात्र भएको थियो। समुन र रोजी पैसा तिर्न नसक्ने भन्दै चुपचाप बसे। कोठामा थुनेर राखेको कुरा राजेशले थाहा पाए। राजेशले उनीहरूलाई त्यहाँबाट निकाल्न सहयोग गरे।
तेस्रो दिन चिनियाँ म्यानेजरले उनीहरूलाई कोठाबाट निकालिदियो र फरक काम गर्न भन्यो। अब उनीहरूले नेपालबाट थप मानिस बोलाउनुपर्ने थियो। त्यो काम गर्न सुमन र रोजी राजी भए।
सुमन र रोजी मिलेर चार जना साथीलाई बोलाए।
उक्त कम्पनीमा जान चाहनेहरूले कुनै पनि शुल्क तिर्नु पर्दैन थियो। नेपालबाट त्यहाँसम्म जाने टिकट, भिसा सबै कम्पनीले नै मिलाइदिन्थ्यो। मासिक एक लाख १३ हजार रुपैयाँ तलब हुन्थ्यो।
यही कुरा भनेपछि सुमनका साथीहरू जान तयार भए। कम्पनीले तयार पारिदिएको भिसा र टिकटको विवरण साथीलाई सुमनले फर्वाड गरिदिए।
सुमनको चार साथी पनि त्यहाँ पुगे।
तीन-चार महिना हुँदै जाँदा सुमनले त्यहाँको बारेमा बुझ्न थाले। उनले त्यहाँ सामाजिक सञ्जालमार्फत कुराकानी हुने गरेको व्यक्तिलाई लगानीको नाममा ठग्ने गरेको थाहा पाए।
त्यसपछि सुमन र रोजी त्यहाँ बस्न चाहेनन्।
त्यहाँ काम गर्न नसक्ने भन्दै त्यहीँको साथीलाई अर्को काम बुझ्न लगाए। तर, चिनियाँ म्यानेजरले अन्त काम गर्न जान दिएन। त्यहाँ काम नगर्ने अडान लिएका उनीहरूलाई म्यानेजरले फोनमा भएका सम्पूर्ण फोटो-भिडिओ डिलिट गरेर गत २ जनवरीमा २०२३मा म्याओडीबाट थाइल्यान्डको एक होटेलमा छोडिदियो।
उनीहरूलाई त्यही बसेर आफ्नो पासपोर्ट पर्खिन भन्यो। चौबीस घन्टापछि उनीहरूले पासपोर्ट फिर्ता पाए।
तर त्यसमा भिजिट भिसाको समय सक्किसकेको थियो। अब के गर्ने भनेर उनीहरू अलमलिए।
होटलबाट बाहिर निस्किए प्रहरीले नियन्त्रणमा लिने डरले उनीहरू दुई दिनसम्म त्यहीँ बसे।
होटल सञ्चालकलाई आफ्नो कुरा भने। उनले अध्यागमन विभाग गएर आत्मसमर्पण गर्ने सल्लाह दिए। उनीहरूले त्यही गरे।
उनीहरूले ४ जनवरीमा आत्मसमर्पण गरे। उनीहरूमाथि छानबिन भयो।
अध्यागमनको नियन्त्रणमा गएपछि रोजी र सुमनको घर परिवारसँग सम्पर्क टुट्यो।
रोजी र सुमन सम्पर्कविहीन भएपछि परिवारको रूवावासी चल्यो।
परिवारका सदस्यहरू उनीहरू सम्पर्कविहीन भएको उजुरी टिपाउन नेपाल प्रहरी, अध्यागमन विभाग र थाइल्यान्डको दूतावास धाउन थाले।
रोजी र सुमनलाई पनि थाइल्यान्ड अध्यागमनले फरक-फरक ठाउँमा राखेको थियो।
नेपालको अध्यागमन विभागले एक साताको प्रयास पछि उनीहरू थाइल्यान्डको अध्यागमन विभागमा रहेको पत्ता लगायो। त्यसपश्चात उनीहरूको परिवारले स्वदेश ल्याउन पहल गरे।
उनीहरूलाई स्वदेश ल्याउन रोजी र सुमनको परिवारले टिकटदेखि सम्पूर्ण खर्च व्यहोरे।
११ जनवरीमा रोजी र सुमनलाई एउटै बसमा चढाइयो।
‘जेलमा राख्न लागेको होला घर फर्किन पाउँदिनँ भन्ने लागेको थियो,ʼ सुमनले भने, ‘थाइल्यान्डको विमानस्थल पुग्दा मात्र फिर्ता पठाउन लागेको थाहा पायौं।ʼ
उनीहरू १२ जनवरीमा स्वदेश फर्किए।
उनीहरूले बोलाएका चारमध्ये तीन जना अहिले पनि म्यानमारमै छन्। उनीहरूको उद्धार प्रक्रिया बुझ्न मंगलबार रोजी र सुमन नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो पुगेका थिए।
ब्युरोले यस विषयमा सम्बन्धित निकायलाई पत्रचार गर्ने काम गरेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए।
पाँच दिनअघिमात्र म्यानमारमा चिनियाँ नागरिकको अपराधिक क्याम्पबाट ६ जना फर्काइएका छन्। जहाँ सुमन र रोजीले काम गर्थे। उनीहरू ६ जनालाई त्यहीँबाट परिवारले जरिवाना तिरेर फर्काएको प्रहरी बताउँछ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११का बालकृष्ण दुलालले आफ्ना भाइसँगै ६ जनालाई स्वदेश फर्काएका हुन्।
म्यानमारमा चिनियाँले बन्धक बनाएर अवैध काम गर्न लगाएको पीडा परिवारलाई सुनाएपछि उद्धारमा खटिएको उनी बताउँछन्।
उनका भाइ साथीमार्फत् ६/७ महिनाअघि त्यहाँ पुगेका थिए। त्यहाँ मानसिक र शारिरिक यातना दिएर काममा लगाउन थालेपछि उनका परिवारले उद्धारका लागि सम्बन्धित निकाय धाउन थालेका थिए।
‘सम्बन्धित निकायबाट उद्धार हुन नसकेपछि जरिवाना तिरेर फर्काएका हौं,ʼ बालकृष्णले भने, ‘उनीहरूले जरिवाना तिरेमात्र फिर्ता पठाउने भनेका थिए। हामीले त्यही गर्यौं।ʼ
६ जनामध्ये तीन जनाले प्रतिव्यक्ति १३ लाख र २ जनाले १५ लाख रुपैयाँ तिरेर फर्किएका उनी बताउँछन्।
उनीहरू फर्किएलगत्तै त्यहाँ लैजाने पोखरा घर बताउने सुनिता नेपालीविरूद्ध मानव बेचबिखन ब्युरोमा उजुरी दिएका छन्। उनी त्यहाँ ट्रान्सलेटरको काम गर्थिन्। ९ महिना अघिमात्र उनी स्वदेश फर्किएकी थिइन्।
उनीहरूको उजुरीको आधारमा ब्युरोले सुनिता नेपालीलाई मंगलबार नियन्त्रणमा लिएको छ। सुनिताले पनि कविता गुरूङमार्फत आफू म्यानमार पुगेको बताएकी छन्। त्यस घटनामा एकपछि अर्को व्यक्ति तानिँदै गएको
ब्युरोले बताएको छ।
प्रहरीले गत असार २७ गते काठमाडौंबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। चिनियाँ नागरिकविरूद्ध थाइल्यान्ड लाने भनी झुक्काइ जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको आरोप छ।
उनीविरूद्ध २०७९ साउन ९ गते पीडितले उजुरी दिएका थिएक।
‘यी घटनामा व्यक्ति फरक-फरक हुन्। तर घटना मिल्दाजुल्दा छन्,’ ब्युरोका एसएसपी श्रेष्ठले भने।
पछिल्लो समय राम्रो जागिरको लोभमा पारी झुक्याएर थाइल्यान्ड भन्दै म्यानमार पुर्याउने र चिनियाँले आपराधिक काममा लगाउने गरेको उनी बताउँछन्।
‘त्यहाँ भिजिट भिसामा बोलाएर अवैध काम गर्न लगाइन्छ। उनीहरूले भनेजस्तो काम गर्न नसके शारिरक र मानसिक यातना दिने, कुटपिट गर्न लगाउनेदेखि हातखुट्टा बाँधेर यातना दिने वा एउटा कोठामा थुनेर राख्ने गरेको पीडितहरूले बताएका छन्,’ श्रेष्ठले भने।
झुक्याएर त्यहाँ पुर्याइएका नेपालीले स्वदेश फर्किन खोजे उनीहरूबाटै लाखौं रुपैयाँ असुल्ने ठगी गर्ने गरेको उजुरी ब्युरोमा आएको छ।
म्यानमारबाट फर्केर आउनेहरूको भनाइअनुसार सयौं नेपाली बन्धक बनेर काम गरिरहेका छन्। उनीहरूलाई उद्धार गर्न थाइल्यान्ड तथा म्यानमारका नेपाली दूतावासलाई समेत कठिन छ।
चिनियाँ नागरिकले त्यहाँ अपराधिक क्याम्प नै बनाएका छन्। त्यही देशको सरकारले समेत उनीहरूलाई केही गर्न नसकेको प्रहरीको भनाइ छ।
त्यस्तो ठाउँमा नेपाली सोधपुछ नगरी पैसा कमाउने लोभमा जाने र चिनियाँ नागरिकको अनलाइन स्क्यामिङको काममा फस्ने गरेको एसएसपी श्रेष्ठ बताउँछन्।
‘अहिले पाँच-सात दिनयता १२ वटा निवेदन आएका छन्,ʼ उनले भने, ‘यसअघि पनि १२ निवेदन आएको थियो।ʼ
निवेदन परे पनि उनीहरूको उद्धार ब्युरोले गर्न सक्दैन।
‘ब्युरोले केही गर्न सक्दैन्। यसका लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको छ। त्यहाँबाट गृहमन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले नै केही ठोस कदम चालेमा मात्र उद्धार हुनसक्छ,’ श्रेष्ठले भने।