जलवायु परिवर्तनको असर बुझ्न अमेरिकाको ड्युक विश्वविद्यालय र ड्युक प्लोनट ल्याबका विद्यार्थीले लुम्बिनीदेखि लोमान्थाङसम्म पदयात्रा गरेका छन्।
विश्वविद्यालयमा अध्यनरत नेपाल, भारत, अमेरिका र चीनका विद्यार्थी सम्मिलित टोलीले नेपालको तराइदेखि उच्च हिमाली भेगमा देखिएका जलवायु संकट, जीवकोपार्जन र जलवायु अनुकुलनका बारेमा स्थलगत अवलोकन तथा अनुसन्धान भ्रमण गरेका हुन्।
अध्यन भ्रमणमा उनीहरुले स्थानीयवासी, जनप्रतिनिधी, नीति निर्माता, संरक्षणकर्मी, भिक्षु, र पुनर्स्थापनामा संलग्न व्यक्तिहरुसँग छलफल गरेका थिए। मुस्ताङमा अध्यन भ्रमणमा प्रदेश सांसद विकल शेरचनले संयोजन गरेका थिए।
लुम्बिनीबाट यात्रा थालेका उनीहरु जगदीशपुर जलाधार क्षेत्र, तानसेन, पोखराको पञ्चासे जलाधार क्षेत्र, रुरु क्षेत्र, फेवाताल, कालीगण्डकी करिडोर हुँदै मुस्ताङ पुगेका थिए।
मुस्ताङको कागबेनी हुँदै लोमान्थाङ पुगेका उनीहरुले जलवायु परिवर्तनका असर, पानीको व्यवस्थापन, पहिरो, कृषि प्रणाली, पर्यापर्यटन लगायतका विषयमा स्थानीयसँग छलफल गरेका थिए।

अवलोकनका क्रममा उपल्लो मुस्ताङको सामाजुङ गाउँ जलवायु परिवर्तनका कारण बस्ती नै सार्नुपरेको अवस्था देखिएको टोली अगुवा प्रेमबहादुर कुँवरले बताए।
मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको सभामा भाग लिएका उनीहरुलाई वडा नम्बर ५ ध्ये गाउँबाट निर्वाचित वडाध्यक्ष पासाङ गुरुङले पानीको मुल सुकेपछि बस्ती छाड्न बाध्य भएको बताएका थिए।
स्थानीयले जलवायु परिवर्तनका कारण आएका समस्या समाधान गर्न खानेपानीको दिगो समाधान र बाढी पहिरो रोकथाममा ध्यान दिन जरुरी रहेको बताएका थिए।
स्थानीयवासीले महिला सशक्तिकरण, फोहोरमैला व्यवस्थापन, विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरेर संरक्षण र मुस्ताङको संवेदनशील भूगोलका विषयमा विद्यालय तहमै अध्यापन गराउने, जलवायु परिवर्तन अनुकुलनका उपाय र दिगो पर्यटनका विकल्पहरु खोजी गरिनुपर्नेमा जोड दिएका छन्।
ड्युक विश्वविद्यालयका प्राध्यापक ब्रायन म्याक्यडुले विश्वव्यापी जलवायु संकट विरुद्ध विद्यार्थीहरुको अभियानले आशा जगाउने बताए। जलवायु परिवर्तनका चुनौती बुझ्ने र विकल्पहरुको खोजी गर्न यस्ता अभियानलाई जारी राख्ने उनले बताए।
अध्यन भमण टोलीलाई हिमालयन रिस्क रिडक्सन इन्स्टिच्युट, फोरम फर इनर्जी एण्ड इन्भाइरोमेन्टल डेभलपमेन्ट, हिमालयन युनिभर्सिटी कन्सोर्टियम र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेडेढ माउण्टेन डेभलपमेन्ट (इसिमोट)ले सहयोग गरेका थिए।
उक्त अध्यन भ्रमण टोलीलाई कर्म ट्रेक्स र कर्म फ्लाइट्सले पदयात्रा र बन्दोबस्ती वयवस्थापन गरेको थियो भने अभियोानको संयोजन पूर्णचन्द्रलाल राजभण्डारीले गरेका थिए।