असार २२ गते दिउँसो वीरगञ्जका एक युवकले प्रहरीको हटलाइन १११३ फोन गरे। उनले वीरगञ्जको नाकामा बसेका प्रहरीले भारतबाट सामान ल्याई सस्तोमा बेचिरहेको खबर सुनाए।
प्रहरी प्रधान कार्यालयले ती युवकले दिएको सूचनालाई गम्भीरताका साथ लियो। छानबिन समिति बनायो।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार सोही दिन जिल्ला प्रहरी कार्यालय सोही दिन वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिएको छ।
‘प्रमाणित भए, त्यस्तो कारोबारमा संलग्न प्रहरीलाई कारबाही गर्छौं,ʼ उनले भने।
गत आइतबार महिला हिंसाको उजुरी दिन जाँदा प्रहरी कार्यालयले त्यसलाई सामान्य रूपमा लिएको भन्दै दमौलीकी एक महिलाले १११३ मा फोन गरेकी थिइन्।
प्रहरीले ‘सामान्य घरेलु कुरा छलफलमा मिलाउनु’ भनेपछि उनले १११३ मा फोन गरेकी रहेछिन्।
ती महिलाले दिएको उजुरीको विवरण टिपेर पत्राचार गर्ने तयारी भइरहेको प्रवक्ता कडायतले बताए।
नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा रहेको १११३ नम्बर आउने फोनमध्ये यी केही प्रतिनिधि उदाहरण हुन्।
प्रहरीले तपाईंको गुनासो सुनेन! लापरबाही गर्यो वा अनावश्यक दु:ख दियो? बिनाकारण प्रहरीले सामान्य काम गर्नका लागि समय लम्बायो? प्रहरीको सेवाबारे चित्त बुझेन भने तपाईंले सिधै १११३ मा फोन गर्न सक्नुहुन्छ।
जुनसुकै बेला फोन गरेर आफ्ना गुनासो सुनाउन सकिने १११३ मा फोन गर्न शुल्क लाग्दैन।
प्रहरी पीडितका गुनासो सुन्दैन भन्ने आरोप लागिरहेको हुन्छ। त्यसैले पीडितलाई सहज होस भनेर २०७४ वैशाख १ देखि १११३ हटलाइन नम्बर सुरू गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए।
‘प्रहरीले पीडितका गुनासो सुन्छ, तपाईं १११३ मा फोन गर्नुस्,ʼ प्रवक्ता कडायतले भने, ‘गुनासो सुन्नकै लागि हटलाइन नम्बर सुरू गरेका हौं।ʼ
पीडितका गुनासो आउनासाथ प्रहरीले सकेसम्म छिटो काम गर्ने गरेको छ।
‘दैनिक २०/२५ जनाले फोन गर्छन्। त्यसमा कतिपयले आफ्ना जिज्ञासा सोध्छन्,ʼ उनले भने, ‘कुनै व्यक्तिले गैरकानुनी काम गरेको देखे वा खबर पाए पनि फोन गर्छन्।ʼ
प्रहरीलाई सूचना दिन पनि हटलाइनमा फोन गर्छन्।
असार २१ गते साँझ रामेछापकी एक महिलाले फोन गरेकी थिइन्। उनले छिमेकीको घरमा कुटपिट भइरहेको देखेकी रहेछिन्।
त्यहाँका प्रहरीले फोन नउठाएपछि नसकेपछि साँझ ९ बजे हटलाइनमा फोन गरेकी रहेछिन्। यसरी तत्काल घटनास्थलमा पुग्नुपर्ने समयमा प्रहरी फोन गरेर जानकारी गराउनुको साथै जान निर्देशन दिने गरेको प्रवक्ता कडायतले बताए।
यसमा सर्वसाधारणले मात्र होइन्, प्रहरीले पनि फोन गर्छन्।
प्रहरीले सरूवा चाहिएमा, प्रहरीमाथि हातपात भएमा, काम गरिरहेको ठाउँ व्यवस्थित नभएको गुनासो सुनाउँछन्।
सर्वसाधारणले उजुरी नलिएको, समयमा प्रहरी नआएको, पीडितको कुरा नसुनिएको, प्रहरीले बेवास्ता गरेको उजुरी धेरै आउने गरेको छ।
तीन वर्षमा १११३ मा १ हजार १ सय ६ जनाले १११३ मा फोन गरेर उजुरी टिपाएका छन्।
आर्थिक वर्ष २०७९/०८० को असार २२ गतेसम्म ४ सय ४७ वटा उजुरी दर्ता भएका छन्। ६७ वटा प्रहरीले टिपाएका छन् भने ३ सय ८० सर्वसाधारणले दिएका उजुरी हुन्।
आर्थिक वर्ष २०७८/०७९ मा २ सय ७२ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये ७१ वटा प्रहरीले र २ सय १ उजुरी सर्वसाधारणले दिएका थिए।
त्यस्तै २०७७/०७८ मा ३७८ उजुरी दर्ता भएका थिए।
१११३ मा फोन गर्नुको साथै इमेलमार्फत् जानकारी गराउन सकिने प्रवक्ता कडायतले जानकारी दिए।
‘देशभरका ७७ वटै जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट यसको प्रचार-प्रसार भइरहेको छ। त्यसैले गुनासो आउने क्रम बढ्दो छ,ʼ उनले भने।
प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरू आफ्नो काम कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा वा झुठा उजुरी दर्ता गरेमा फोन गर्न सकिन्छ।
त्यस्तै, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानुनविपरीत थुनामा राखेमा, निर्दोष व्यक्ति पक्राउ परेको सम्बन्धमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरूपयोग गरी अनावश्यक दबाब दिएमा र व्यावसायिक ढंगले प्रहरी आचरण नदेखाएमा उक्त हटलाइनमा उजुरी गर्न सकिने प्रवक्ता कडायतले बताए।