रूकुमका २६ वर्षीय शिव (नाम परिवर्तन) प्लस-टुको पढाइ सकेर विदेश जाने तयारीमा थिए। त्यही बेला चिनेका एकजनाले अवैध बाटो हुँदै अमेरिका जान सकिने कुरा सुनाए।
विभिन्न मानिसहरू अमेरिका पुगेको तस्बिर र उनीहरूसँगको म्यासेज र फोटो पनि उनले देखाए। उनले अमेरिका पठाउने केही मान्छे आफूले चिनेकोसमेत बताए।
चार महिनामै अमेरिका पुगेर लाखौं रूपैयाँ कमाउन सकिने भन्दै उनले लोभ्याए।
दुई-चार महिना दु:ख गरेर अमेरिका नै पुग्ने भएपछि शिव जान राजी भए।
अवैध बाटो हुँदै अमेरिका जान उनी राजी भएसँगै उनका नातेदार हरि (नाम परिवर्तन) पनि सँगै जान तयार भए।
दलालको कुरामा मख्ख परेर शिव र हरिका परिवारले भनेजति रकम दिन तयार भए। त्यतिबेला गाउँकै चिनजानका व्यक्ति भएको भन्दै ३०/३० लाख रुपैयाँमा अमेरिका पुर्याउने निधो भयो।
दुबै परिवारको आर्थिक अवस्था समान्य भएकाले छोरालाई अमेरिका पुर्याउन घर-जग्गा धितो राखे। आमाले सुन बेचिन्।
शिवका बुबा निरज (नाम परिवर्तन) भन्छन्- अरू पुगेका छन् भन्ने दाबी गरेपछि विश्वास गर्यौं।
बैंकबाट धितो र आफन्तसँग सरसापट गरेर निरजले छोरा अमेरिका पठाउने खर्च जोहो गरे।
हरिको परिवारको हविगत पनि उस्तै थियो।
२०७९ असोजको पहिलो साता अमेरिका जान शिव र हरि घरबाट हिँडे। उनीहरू एकसाता काठमाडौं रोकिए। त्यतिखेरसम्म एजेन्टले भिजिट भिसामा थाइल्यान्ड पठाउने बन्दोबस्त मिलाएका थिए।
काठमाडौंमा खाने-बस्ने व्यवस्था पनि उनले नै गरिदिएका थिए।
असोजको दोस्रो साता थाइल्यान्ड जान उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढे। एजेन्टले थाइल्यान्ड पुगेको दुई साताभित्रै फिलिपिन्स पुर्याइदिने बताएका थिए।
तर त्यहाँ सोचेजस्तो भएन।
उनीहरूलाई थाइल्यान्डमा ३८ दिनसम्म एउटै कोठामा थुनेर राखियो। त्यहाँ शिव र हरिमात्र थिएनन्। उनीहरूजस्ता सयौं नेपाली र भारतीय भेटिए।
उनीहरूले त्यहाँ घामको झुल्को देख्न पाएका थिएनन्। प्रहरीले भेट्यो भने पक्राउ परिने डरले रातभर निदाउन नसकेको कुरा शिवले बुबालाई सुनाए।
छोराहरू बन्धकमा परेको भन्दै निरजले दिनहुँ एजेन्टलाई फोन गर्न थाले। यताको एजेन्टको दबाबले उनीहरूलाई ३८ दिनपछि फिलिपिन्सको पुर्याइयो।
थाइल्यान्डबाट फिलिपिन्स पुर्याउन झन्डै एक महिना लगाएको थियो। बिच-बिचमा रोकिँदै जहाज र बस चढ्नु परेको शिवले निरजलाई सुनाएका थिए।
फिलिपिन्स पुग्नासाथ त्यहाँको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो। उनीहरू फिलिपिन्सको मनिला सहरबाट पक्राउ परेको निरजले बताए।
अवैध रूपमा देश प्रवेश गरेको भन्दै उनीहरूलाई नेपाल फर्काइयो। तर उनीहरू घर गएनन्। लाखौं रूपैयाँ फसेको भन्दै एजेन्टले पुन: अर्को रूट प्रयोग गरेर जान सल्लाह दिए। उनीहरू पनि खाली हात घर फर्किन चाहँदैन थिए। त्यसैले एजेन्टले भनेका कुरा माने।
अझै केही रकम थप्न तयार भए।
काठमाडौं आएको एक हप्ता नबित्दै कागजात बनाउन उनीहरू भारतको दिल्ली पुगे। त्यहाँ उनीहरूलाई एजेन्टले भिजिट भिसामा दुबईको टिकट थमाइदियो।
उनीहरूले अमेरिका पुग्ने सपना बुनेर भारतबाट दुबईको जहाज चढे। दुबईबाट जाम्बिया हुँदै मेक्सिको पुर्याएर अमेरिका छिराउने योजना थियो।
दोस्रो पटक पनि सोचेजस्तो भएन।
दुबईमा एक महिना राखेर एजेन्टले जाम्बिया त पुर्यायो तर उनीहरू त्यहाँबाट अर्को देश जान सकेनन्। त्यहाँका एजेन्टले थप रकम माग्दै शिव र हरिसँगै १०/१५ जनालाई बन्धक बनाएर राखे।
एक महिनादेखि शिव र हरि जाम्बियामा बन्धक छन्।
निरज र हरिको परिवारले अमेरिका जाने लोभमा हालसम्म एक करोडभन्दा बढी खर्च गरिसकेका छन्। थप पैसा पठाउन नसक्ने भएपछि छोराको उद्धार गर्न उनीहरूले प्रहरीमा उजुरी दिएका छन्।
लामो समय काउन्सिलिङ गरेपछि मात्र पीडित परिवार उजुरी दिन तयार भएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले बताए।
‘एजेन्टले पैसा फिर्ता नदिने डरले उजुरी गर्न मान्दैनन्,’ प्रवक्ता पंगेनीले भने,‘हामीले धेरै काउन्सिलिङ गरेपछि उनीहरू दुई जना प्रतिवादीविरूद्ध उजुरी दिन राजी भएका हुन्।’
उनीहरूको उजुरी दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रवक्ता पंगेनीका अनुसार शिव र हरिजस्तै अवैध बाटो हुँदै अमेरिका पुग्ने आशमा लाखौं खर्च गर्ने धेरै छन्।
दाङका २६ वर्षीय श्याम (नाम परिवर्तन) ले पनि अवैध बाटो हुँदै अमेरिका जान एजेन्टलाई २८ लाख रुपैयाँ बुझाएका थिए।
उनलाई पनि एजेन्टले भिजिट भिसामा पहिला दुबई पुर्याए। दुबईमा २ महिना राखेपछि गाम्बियासम्म लगे। त्यहाँ नेपाली नागरिकता फाल्न लगाए। श्यामले पनि सबै नेपाली कागजात फालिदिए।
त्यसपश्चात् उनीहरूलाई विभिन्न देशको नक्कली नागरिक बनाइरहेको खबर शिवले आफ्नो परिवारलाई दिएका छन्।
अमेरिका पुर्याउने भन्दै विगत १० महिनादेखि श्यामलाई एजेन्टले विभिन्न देशमा घुमाइरहेको उनको परिवारले प्रहरीलाई बताएका छन्।
हिँडेको १० महिना बितिसक्दा पनि श्याम अमेरिका पुग्न सकेका छैनन्। विभिन्न देशमा लुकीछुपी ज्यान नै जोखिममा राखेर बस्नुपरेपछि उनका परिवार उद्धारका लागि ब्युरोमा आइपुगेको प्रवक्ता पंगेनी बताउँछन्।
‘लाखौं खर्च गरेर गतव्यमा पुग्न नसकेको दु:ख छँदैछ। ज्यानै जाने डर पनि छ,’ उनले भने, ‘त्यसैले अवैध बाटो हुँदै अमेरिका नजान प्रहरीले आग्रह गर्दै आएको छ।’
मुगुका सरोज (नाम परिवर्तन) ले पनि अवैध बाटो हुँदै अमेरिका जान एजेन्टलाई ३८ लाख ५० हजार रुपैयाँ बुझाएका थिए।
इराकमा कमाएको ३/४ वर्षको कमाइ अमेरिका पुग्ने आशमा गुमाएपछि उनी अहिले प्रहरीको सम्पर्कमा आएका छन्।
सरोज २०७८ सालसम्म इराकमा काम गर्थे।
चार वर्षअघि घरको समस्या मेटाउन इराक पुगेका उनलाई सामाजिक सञ्जालमार्फत् साथी बनेका व्यक्तिले अवैध बाटो हुँदै अमेरिका पुर्याइदिने बताएका थिए। ती व्यक्तिलाई विश्वास गरेर सरोजले उनको खातामा पैसा हालिदिएका थिए।
पैसा पाएपछि ती व्यक्तिले सरोजलाई दुबईको टिकट अनलाइनमार्फत् पठाइदिए। त्यही टिकटको आधारमा उनी दुबई पुगे। त्यहाँबाट रसिया-जर्मन हुँदै मेक्सिको पुगे। मेक्सिकोमा प्रहरीले उनलाई नियन्त्रणमा लियो।
दुई/तीन महिना थुनामा बसे।
त्यहाँको एजेन्टलाई लाखौं रुपैयाँ बुझाएपछि स्वदेश फर्किने व्यवस्था मिलाइदिएको सरोजले प्रहरीलाई बताएका छन्।
उनी वैशाखमा मात्र नेपाल फर्किएका हुन्।
उनी मेक्सिकोमा पक्राउ परेदेखि नै एजेन्ट सम्पर्कविहीन भएकाले उजुरी दिन आएको ब्युरोका प्रवक्ता पंगेनी बताउँछन्।
‘एजेन्ट उनीहरूको सम्पर्कमा नआउँदा कानुनी प्रक्रिया जान तयार हुन्छन्, फेरि पठाउने तथा केही रकम फिर्ता पाउने भएमा उजुरी फिर्ता लिन्छन्,’ उनले भने।
यसरी अवैध बाटो हुँदै अमेरिका पुग्ने आसमा २५ देखि ९० लाख रुपैयाँसम्म खर्च गरेका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आएका छन्। तर ती सबै व्यक्ति उजुरी दिनै मान्दैनन्।
यात्राको क्रममा दाजु मरे भाइ, श्रीमान मरे श्रीमतीलाई पठाउने आश्वासन दिएर एजेन्टले पीडितलाई प्रहरीमा उजुरी दिन रोक्न गरेका छन्।
उजुरी नदिँदा प्रहरीले अवैध बाटो भएर अमेरिका पठाउने गिरोहलाई नियन्त्रणमा लिन सकेको छैन। त्यसैले अहिले अमेरिका हिँडेका झन्डै २ हजार ५ सय नेपाली विभिन्न देशमा अलपत्र रहेको प्रवक्ता पंगेनी बताउँछन्।
‘अमेरिका जान बसेका नेपाली भारतमै सयौंको संख्यामा छन्,’ उनले भने, ‘अवैध रूपमा लैजाने रूटका देशमा नेपाली अलपत्र परेका देखिन्छन्।’
उनका अनुसार काठमाडौं, दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, पेरू, कोलम्बिया, पानामा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्याउने गरेका छन्।
जुन-जुन देशको सीमाना खुकुलो र समुद्र छ, त्यस्ता देशलाई रूट बनाएर एजेन्टले मान्छे लैजाने गरेको देखिएको छ।
एजेन्टले ३०/४० लाखमा अमेरिका पुर्याउने भन्दै आश देखाई अलपत्र पारेर परिवारसँग थप रकम माग्ने गरेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ।
त्यतिमात्र होइन। यात्राको क्रममा कुटपिट र लुटपाट पनि गरिन्छ। त्यसमा कयौं नेपाली पर्ने गरेका छन्।
यस्ता घटना सञ्चारमाध्यममा आइरहँदा पनि अवैध रूपमा जाने क्रम रोकिएको छैन।
अवैध बाटोबाट अमेरिका जान खोज्नेहरू सबैभन्दा धेरै रूकुमका छन्। अवैध बाटो भएर जानेको संख्या नभए पनि अमेरिकाबाट डिपोर्ट गरिदिएकाहरूको तथ्यांक यही भन्छ।
उक्त तथ्यांकमा धेरै डिपोर्ट हुनेमा दोस्रो नम्बरमा दाङ छ।
२०७५ देखि हालसम्म एक सय ७८ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ। जसमा १७४ जना पुरूष र ४ जना महिला रहेको प्रवक्ता पंगेनीले जानकारी दिए।
‘यसरी डिपोर्ट हुने ९८ प्रतिशत अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्छन्,ʼ उनले भने, ‘एक/दुई प्रतिशत मात्र त्यहाँ गैरकानुनी काम गरेर फर्काइएका हुन्छन्।ʼ
डिपोर्ट गरिएकामा रूकुमका ४९, दाङका ३७, पर्वतका १४, काठमाडौंका १०, म्याग्दीका ८, सिन्धुपाल्चोकका ८, बागलुङका ८, दोलखाका ४, कास्कीका ४, चितवनका ३, रोल्पाका ३, ताप्लेजुङका ३, रूपन्देहीका ३, झापाका २, संखुवासभाका २ जना छन्।
त्यस्तै बाँके, बर्दिया, भोजपुर, धनुषा, गोर्खा, रौतहट, काभ्रे, मकवानपुर, मोरङ, पाल्पा, सिराहा, सुर्खेत, सुनसरी, स्याङजा लगायतका जिल्लाबाट एक/एक जना छन्।
फर्किनेको संख्या यति धेरै छ, तर उजुरी छैन। २०७९/०८० मा १२ जनाले उजुरी दिएका छन्। त्यसमा पाँच वटामात्र मुद्दा दर्ता भएको प्रवक्ता पंगेनीले बताए।
‘उद्धार गरिदिनु पर्यो भनी आउने परिवारलाई सम्झाइबुझाइ गरेर उजुरी गर्न लगाएका हौं नत्र एक/दुईभन्दा धेरै हुँदैनथे,ʼ उनले भने, ‘यिनीहरू पनि पछि एजेन्टले पैसा फिर्ता दिन्छु वा फेरि पठाइदिन्छु भन्यो भने उजुरी फिर्ता लिन्छन्।ʼ
अवैध रूपमा अमेरिका जाने क्रम पछिल्ला वर्षहरूमा बढ्दो छ। यसलाई न्युनिकरण गर्न स्थानीय तहदेखि केन्द्रसम्म नीति तथा योजना बनाएर अगाडि बढ्नु पर्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ बताउँछन्।
‘प्रहरीमात्र सक्रिय भएर हुँदैन। सबै निकायले कार्ययोजना बनाएर लागिपर्नुपर्छ,ʼ उनले भने, ‘अमेरिका मात्र होइन, युरोप र खाडी मुलुक जानेको संख्या पनि बढ्दो छ।ʼ