काठमाडौंको कपुरधारा बस्ने ४६ वर्षीय रमा पाण्डे बिहान साढे ४ बजे मर्निङ वाकमा निस्कन्छिन्। गत असार १ गते मर्निङ वाकमा निस्केकी उनी कपुरधारा वरिपरि हिँडिरहेकी थिइन्।
करिब पौने ५ बजेतिर उनको घाँटीबाट सुनको सिक्री थुतियो। रमाले अत्तालिँदैं पछाडि फर्केर हेरिन्। एक युवक उनको सिक्री लुटेर भाग्दै गरेको देखिन्। उनी युवकको पछि लागिन् तर केही पर पुगेर सिक्री चोर्ने युवक एउटा मोटरसाइकलमा चढेर भागे।
उनले सिक्री थुतेर मोटरसाइकलमा चढेका युवकको हुलियामात्र देखेकी थिइन्। त्यसैका आधारमा प्रहरीमा उजुरी दिइन्।
त्यही दिन टोखा नगरपालिका-६ की ४५ वर्षीया सरस्वती खतिवडा पनि मर्निङ वाकमा निस्किएकी थिइन्। उनको पनि दैनिक ६ बजे मर्निङ वाक जाने बानी थियो।
ग्राण्डी अस्पताल वरिपरि हिँडिरहेका बेला एक युवकले उनको घाँटीबाट सुनको सिक्री थुतेर भागे। उनले एक तोला सुनको सिक्री लगाएकी थिइन्।
सिक्री थुतेर युवक मोटरसाइकलमा चढ्दै गरेको देखेकी थिइन्। नम्बर प्लेट भने उनले याद गर्न सकिनन्।
मर्निङ वाकमै निस्किएकी ५५ वर्षीया रेखा घिमिरेको पनि घाँटीमा लगाएको दुई तोला सुनको सिक्री लुटियो।
नागार्जुन नगरपालिका-५ घर भएकी रेखा पनि दैनिक बिहान ६ बज्नै लाग्दा मर्निङ वाक जान्छिन्। असार ३ गते पनि बुद्धचोक वरिपरि हिँडिरहँदा एक युवकले घाँटीको सिक्री तानेर भागेको उनले बताइन्।
'एक्लै हिँडिरहेकी थिएँ, पछाडिबाट आएर एक जनाले सिक्री तानेर भाग्यो,' रेखाले भनिन्।
सिक्री थुतेर भाग्ने युवकले कालो ज्याकेट लगाएका थिए। उनी अर्का एक युवकले चलाएको मोटरसाइकलमा चढेका थिए।
एकपछि अर्को गर्दै मर्निङ वाकमा जाँदा लुटपाट भएका उजुरी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन सुरू गर्यो।
असार १ गतेदेखि २० गतेसम्म मर्निङ वाक जाँदा ८ महिलाको सुनको सिक्री लुटपाट भएको उजुरी प्रहरीमा आएको छ। प्रहरीका अनुसार ८ जना महिलाबाट झन्डै ८ तोला सुन लुटिएको छ।
पीडितले बताएको हुलिया र मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले असार २२ गते चार जना र २४ गते एक जना गरी पाँच जनालाई पक्राउ गर्यो। पक्राउ परेकालाई आइतबार (असार २४) सार्वजनिक गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोजकुमार केसीका अनुसार पक्राउ परेकाहरूले लुटपाट गर्न उनीहरूले समूह नै बनाएका थिए।
पीडितले बताएको हुलियाअनुसार खोज्दै जाँदा ३२ वर्षीय रविन दमाई शुक्रबार साँझ साढे चार बजे बुढानीलकण्ठबाट पक्राउ परेका थिए।
रामेछाप लिखु गाउँपालिका-१ घर भएका रविन काठमाडौं हाडिगाउँमा बस्थे। उनी २०७२/०७३ सालदेखि लुटपाटको घटनामा पटक-पटक पक्राउ परेको प्रहरी रेकर्डमा छ।
पछिल्लो समय २०७९ चैतमा पनि चोरीको आरोपमा महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको थियो। त्यही बेला २६ वर्षीय उमेश क्षेत्री पनि बाइक चोरीको आरोपमा नयाँ बानेश्वर वृत्तले नियन्त्रणमा लिएको थियो।
त्यहीबेला उनीहरू दुई जनाको परिचय भएको खुलेको छ।
काभ्रे पाँचखाल नगरपालिका -७ का उमेश बानेश्वरमा बस्थे। प्रहरी हिरासतमै चिनजान भएका रविन र उमेशले योजना बनाएर लुटपाट गर्ने गरेको खुलेको छ।
उमेश मोटरसाइकल चलाउँथे। रविन पछाडि बसेर हिँड्थे। महिलाहरूको सुन लगाएका छन् कि छैनन् भन्ने हेरी रविन एकछिन महिलालाई पछ्याएजस्तै गरेर लुट्थे।
उमेश रविन मोटरसाइकलमा चढ्ने प्रतिक्षा गरेर बस्थे।
उनीहरूले यसरी नै लुटपाट गरेको सिसीटिभी क्यामेरामा भिडिओ प्रष्ट देखिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
रविन र उमेशले लुटपाट गरेको सुन जम्मा गर्ने काम १८ वर्षका रवि विश्वकर्माले गर्थे। रवि यसअघि कुनै आपराधिक क्रियाकपालमा संलग्न भएको देखिँदैन। तर उमेशसँग पहिलादेखि नै चिनजान रहेकाले यस घटनामा जोडिन पुगेको एसपी रेग्मीले बताए।
रविले जम्मा गरेको सुन ३० वर्षीय राहुल माझी काम गर्ने पसलमा पुर्याउँथे। राहुल सुन पसलमा काम गर्थे। रविले जम्मा गरेर ल्याएको सुनको राहुल पगाल्ने काम गर्थे।
‘पगाल्न ल्याएको सुन राहुलले थोरै आफ्नो भागमा राख्ने गरेको देखिन्छ,ʼ एसपी रेग्मीले भने, ‘उनीहरूले लुटपाट गरेको सुन पगालेर मात्रै बेच्ने गरेको देखिन्छ।ʼ
यी चारै जनाले योजना बनाएर काम गरेको देखिन्छ। उनीहरू सबै जना सामान्य आर्थिक अवस्था र सामान्य लेखपढ गरेकाहरू छन्।
चारमध्ये राहुलबाहेक तीन जना बेरोजगार थिए।
उनीहरूले लुटपाट गरेको सुन काठमाडौं महानगरपालिका २२ न्युरोडका सुन व्यवसायी ४२ वर्षीय श्रीकान्ता माइतीले किन्थे।
भारत पश्चिम बंगला,पश्रिम मेदनीपुर दासपुर जयरामचोकका माइती न्युरोडमा लामो समयदेखि सुन व्यवसाय गर्दै आएको प्रहरीले बताएको छ।
उनीहरूको साथबाट प्रहरीले १ थान सुनको ढिक्का, ११ दशमलव २ ग्राम सुन, सिक्री लुटपाट गर्न प्रयोग गरिएको दुई थान मोटरसाइकल, ६ थान मोवाइल, ४७ ग्रामको सुनको नेक्लेस बरामद गरेको छ।
उनीहरूले प्रयोग गरेको डुक मोटरसाइकल पनि चोरीकै भएको खुल्न आएको एसपी रेग्मीले बताए।
यसबारे अझै थप अनुसन्धान भइरहेको छ।