चन्द्रागिरी नगरपालिका-८ काठमाडौंका २९ वर्षीय सुगम मैनाली असार ८ गते लागुऔषध एलएसडी स्टिकरको किनबेच गरेको आरोपमा पक्राउ परे।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको थियो। प्रहरीले उनको साथबाट ७ पिस एलएसडी स्टिकर बरामद गर्यो।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार सुगमले एलएसडी स्टिकर किनबेच गर्नेमात्र होइन आफैं सेवन पनि गर्ने गर्थे।
अनुसन्धानबाट खुलेअनुसार सुगमले ०७३ सालमा प्लस टु उत्तीर्ण गरेका थिए। उनी थप अध्ययनका लागि विदेश जान चाहन्थे। दैनिक खर्च चलाउन उनले काठमाडौंकै एक होटलमा काम गरेका थिए। त्यहीबीचमा उनले आइइएलटिएसको तयारी गरे।
आइइएलटिएसमा राम्रै अंक आयो। तर चाहिने जति पैसा बन्दोबस्त गर्न नसक्दा उनी विदेश जान पाएनन्। कोरोनाकालमा उनले होटलको जागिर पनि गुमाए।
आइइएलटिएसमा राम्रो अंक ल्याएर पनि विदेश जान नपाएको र जागिर पनि गुमेको पीडाले डिप्रेसनकै अवस्था आउन थालेपछि सुगमका साथीभाइले उनलाई एलएसडीबारे बताएका थिए। सुरूमा उनीहरूले सेवन गर्न पनि सिकाए।
क्षणिक रूपमा तनाव बिर्साउने भएकाले सुगम दैनिक एलएसडी सेवन गर्न थाले। कहिलेकाहीँ आफू साथीहरूसँग ट्रान्सपार्टी (लागुऔषध पार्टी)मा पनि पुगेको उनले प्रहरीलाई बयान दिएका छन्। त्यस्ता पार्टीहरूमा विदेशीसँग एलएसडी किन्न पाइने उनले बताएका छन्।
‘घन्टौंसम्म झुम्म बनाउँदो रहेछ, आफूले जे सोच्यो त्यही भएकोजस्तो हुँदो रहेछ,’ सुगमले प्रहरीसँग भनेका छन्, ‘क्षणिक भए पनि कल्पनामा रमाउन पुगिँदो रहेछ।’
सन् २०१९ देखि अहिलेसम्म कैयौं पटक एलएसडी सेवन गरेको उनले प्रहरीलाई बताएका छन्।
आफूलाई चाहिएका बेला किन्न नपाउने भएकाले सुगमले एकैचोटी ठूलो मात्रामा एलएसडी किन्ने गर्थे। असार ८ गते पनि उनी एलएसडी किन्दै गर्दा पक्राउ परेको एसपी जोशीले बताए।
४५ वर्षीय भानुभक्त लिङ्देन असार १३ गते लागुऔषध किनबेच गरेकै आरोपमा पक्राउ परे।
काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका उनको साथबाट प्रहरीले ३२ ग्राम खैरो हेरोइन र नाइट्राभेट ट्याब्लेट बरामद गरेको थियो।
शिवसताक्षी नगरपालिका-७ झापाका भानुभक्त लामो समयदेखि काठमाडौंमा लागुऔषध कारोबार गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी पनि लागुऔषध कारोबारी र सेवनकर्ता रहेको एसपी जोशीले जानकारी दिए।
उनी पक्राउ परेसँगै प्रहरीले उनीसँग लागुऔषध किन्ने र उनलाई बेच्नेको व्यापक खोजी गरिरहेको छ।
लागुऔषध सेवन तथा किनबेच गर्ने यी प्रतिनिधि पात्रमात्र हुन्।
पछिल्लो समय देशभर लागुऔषध दुर्व्यसन तथा किनबेच बढ्दो छ।
‘दिनहुँ लागुऔषध सेवन तथा किनबेच गर्ने व्यक्ति पक्राउ परिरहन्छन्,ʼ प्रवक्ता जोशीले भने, ‘किनबेच मात्रै गर्दैनन् अधिकांश व्यक्तिहरू आफू सेवन पनि गर्छन्।ʼ
प्रवक्ता जोशीका अनुसार लागुपदार्थलाई प्राकृतिक र औषधीजन्य गरी दुई भागमा विभाजन गरिएको छ।
प्राकृतिक लागुपदार्थमा मानिसले उत्पादन गर्ने गाँजा, चरेस, भाङ, धतुरो, अफिमलगायत पर्छन्। औषधीजन्यमा मानव जीवन रक्षाको लागि उत्पादन गरिएको नाइट्रोसन, नाइट्राभेट, प्रोक्सिभोन, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सिडिल, फेनकोडिन नो-कफ लगायत पर्छन्।
०७६ मा गृह मन्त्रालयले गरेको सर्वेक्षण अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना लागुऔषध सेवनकर्ता थिए।
जसमा १ लाख २१ हजार ६९२ पुरूष र ८ हजार ७३२ महिला सेवनकर्ता रहेको पाइएको थियो।
त्यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा सेवनकर्ताको संख्या ९१ हजार ५३४ जना थिए। ०६३ को तथ्यांकअनुसार ४६ हजारले लागुपदार्थ सेवन गर्ने पाइएको थियो।
‘यी तथ्यांक खोज/अनुसन्धानको क्रममा खुलेका व्यक्ति हुन्, नखुलेका लाखौं संख्यामा छन्,ʼ एसपी जोशी भन्छन्।
पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोगकर्ता बढिरहेका छन्। जसमा औषधीजन्य लागुऔषध सेवन गर्ने धेरै रहेको ब्युरोको तथ्यांक छ।
औषधीजन्य लागुऔषधमध्ये ट्रामाडोल, नाइट्राजेपामर इन्जेक्टिवलको प्रयोग धेरै हुने गरेको ब्युरोले जनाएको छ।
‘औषधिजन्य लागुऔषध कुनै पनि बिरामीले चिकित्सकको अनुमति लिएरमात्र खाने हो। तर यहाँ अवैध रूपमा किनबेच भइरहेको छ,ʼ उनले भने।
उनका अनुसार ट्रामाडोलले दुखाइ कम गर्छ, चार/पाँच घन्टासम्म झुम्म बनाउँछ।
‘यो चिकित्सकको सिफारिसमा अस्पतालको फार्मेसीमा मात्र किनबेच गर्न पाउने कानुनी व्यवस्था छ। तर अवैध ढंगले युवायुवतीको हात-हातमा पुगेको पाइन्छ,ʼ एसपी जोशीले भने।
नाइट्राजेपाम पनि धेरै उपयोग हुने लागुऔषधमा पर्छ। यसले पनि सेवन गर्नेलाई भ्रमित बनाउने एसपी जोशी बताउँछन्।
सिरिञ्जबाट लागुऔषध प्रयोग गर्नेको संख्या पनि बढेको उनको भनाइ छ। सिरिञ्जमा नुफिर्न, फेनार्गन, ब्रुप्रिनफ्रिनजस्ता औषधीजन्य लागुऔषधलाई मिसाएर इन्जेक्सनको रूपमा प्रयोग गर्ने गरेको भेटिन थालेको एसपी जोशी बताउँछन्।
यसबाट जटिल समस्या भएर प्रयोगकर्ताहरू अस्पताल भर्ना भएका घटना पनि छन्।
‘इन्जेक्सन प्रयोग गर्दा सिरिञ्ज शरीरभित्रै भाँचिएको, धेरै प्रयोग गर्दा घाउ भएका धेरै जना भेटिन्छन्,ʼ उनले भने।
गृह मन्त्रालयको सर्वेक्षण अनुसार ३४ प्रतिशत धुँवाबाट, ३३ प्रतिशत मुखबाट, २९ प्रतिशत सुईबाट र २ प्रतिशतले सुँघेर लागुऔषध प्रयोग गर्ने गरेको भेटिएको छ।
लागुऔषध सेवनकै कारण एचआइभी एड्स, हेपाटाइटिसजस्ता रोग लाग्ने र बाँझोपन, दुब्लाउने र ओभरडोज भएमा मृत्युसम्मको खतरा हुन्छ। मानसिक रूपमा एकोहोरो, डिप्रेशन, सोच्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने लगायत नकारात्मक कुराको विकास भई आत्महत्या गर्न प्रेरित गराउने जस्ता जटिल समस्यासमेत देखापर्ने एसपी जोशी बताउँछन्।
अनुसन्धानको क्रममा आर्थिक अभाव, लक्ष्यमा पुग्न नसकेका, गलत बुझाइ, साथीभाइको दबाब, पारिवारिक समस्या, प्रेम सम्बन्ध, मनोरञ्जनलगायत कारणले युवायुवतीले सुरूमा लागुपदार्थ सेवन गर्ने गरेको र पछि त्यसैको दलदलमा फस्ने पाइएको उनले बताए।
‘९५ प्रतिशतले साथीसंगत गर्दासेवन गर्ने गरेको पाइन्छ,ʼ प्रवक्ता जोशीले भने।
उनका अनुसार लागुऔषध सेवन गर्नेहरू प्रायः एक्लै बस्न रूचाउँछन्।
'उनीहरू नदी किनार, मठ-मन्दिर, पुलमुनि, शौचालय, मान्छेको नजर नपर्ने ठाउँमा भेटिन्छन्,' उनले भने।
१६-४५ उमेर समूहका व्यक्तिहरू धेरै लागुऔषधको दुर्व्यसनमा फसेको ब्युरोको तथ्यांक छ। त्यसभन्दा बढी उमेरका व्यक्तिहरू पनि थोरै संख्यामा रहेको एसपी जोशीको भनाइ छ।
लागुऔषध कारोबार गर्नेहरू प्रायः होटेल, रेष्टुरेन्ट र बारबाट पक्राउ पर्छन्।
कहिलेकाहीँ ट्रान्सपार्टी सकिएपछि प्रहरीले सूचना पाउँछ र उनीहरू उम्किन्छन्।
लागुऔषध सेवन र किनबेच गर्नेविरूद्ध प्रहरी सक्रियताका साथ लागेको एसपी जोशी बताउँछन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरालगायत तराईको ९ र सीमा र नाकासहित गरी ब्युरोको १५ शाखा कार्यालय छन्।
यी सबै कार्यालयले लागुऔषध किनबेच, ओसार-पसार, बिक्री-वितरण गर्नेलाई कानुनी दायरामा ल्याउन पहल गर्छ।
पाँच वर्षयता लागुऔषध सेवन तथा किनबेच गरेको आरोपमा २५ हजार ५४८ जनालाई पक्राउ गरी कारबाही गरिएको ब्युरोको तथ्यांक छ।
२०७५/०७६ मा ५ हजार ५१८, २०७६/०७७ मा ४ हजार ५५४, २०७७/०७८ मा ४ हजार ६२६, ०७८/०७९ मा ५ हजार ७९०, ०७९/०८० वैशाखसम्म ५ हजार ६० जनालाई प्रहरीले कानुनी कारबाही गरेको छ।
उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार कानुनी कारबाही गरिन्छ।
घटनाको प्रकृति हेरेर न्यूनतम एक महिनादेखि जन्मकैद र दुई हजारदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
लागुऔषध सेवनमा संलग्न हुन नदिन अभिभावक, विद्यालय, सरकार, प्रहरी सक्रिय रूपमा लागिपर्नु पर्ने उनी बताउँछन्।