रिमा कर्ण काठमाडौं, माइतीघर मण्डलमा बस्न थालेको आधा महिना भयो। उनी चौबीसै घन्टा त्यहीँ बस्छिन्।
जनकपुरकी २७ वर्षीया रिमा असार १ गतेदेखि यहाँ धर्ना बस्न थालेकी हुन्। उनी आरती साहको न्याय माग गर्दै यहाँ बसेकी छन्।
जेठ ७ गते आरती श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले हत्या भएको दाबी गरेका छन्। आरतीको श्रीमान र परिवारमाथि कारबाहीको माग गर्दै उनीहरू यहाँसम्म आइपुगेका हुन्। आरतीको माइती परिवारलाई साथ दिन आएकी रिमा आरतीकी माइजू पर्छिन्।
धर्ना बस्न थालेदेखि रिमालाई घामपानी र खानपिनभन्दा धेरै चिन्ता शौचको छ। बेलाबेला पिसाब लाग्ला भन्ने पिरले उनी पानी नै कम पिउँछिन्।
'शौचालय गइरहनुपर्छ भनेर पानी पिउन पनि मन लाग्दैन,' उनले भनिन्, 'दिनमा एक/दुईपटक मात्र जान्छु।'
माइतीघर मण्डलमा आफ्ना माग राख्दै धर्ना/अनसनमा बस्नेहरूका लागि शौचालय सुविधा छैन। वरिपरिका कुनै पसल वा होटलका शौचालय विकल्प हुन्। तर तिनमा ताला लगाइएको हुन्छ। त्यसैले शौचालय जानुपरे रिमा नजिकैको अन्नपूर्ण न्युरो अस्पताल पुग्छिन्। एउटै मानिस पटक/पटक जाँदा अस्पतालका सुरक्षा गार्डले पनि गाली गर्ने उनी बताउँछिन्।
'यहाँ पानी पनि किन्नुपर्ने रहेछ। त्यसैले पिउँदिनँ,' उनले भनिन्, 'शौचालय जानुपर्ने डरले खाना पनि थोरै खान्छु।'
नुहाउन त धर्ना बसेको दिनदेखि पाएको छैन।
रिमा आफू मात्र होइन, आफ्नी तीन वर्षीया छोरीलाई समेत धेरै खानेकुरा खुवाउँदिनन्। छोरीलाई पिसाब लागे सडकमै गराइदिन्छिन्। दिसा लागे कहाँ लैजाने थाहा छैन। त्यसैले खानेकुरा कम खुवाउने गरेको रिमाले बताइन्।
'यहाँका होटल व्यवसायीले बच्चालाई समेत शौचालय प्रयोग गर्न नदिने रहेछन्,' उनले भनिन्, 'पैसा दिन्छु भन्दा पनि शौचालय प्रयोग गर्न दिँदैनन्।'
माइतीघर मण्डल वरिपरि एउटा होटलले भने उनीहरूलाई शौचालय प्रयोग गर्न दिन्छ। त्यहाँ मास्क नलगाई जानै नसकिने उनको भनाइ छ।
४४ वर्षीया सम्रिता राई पनि दिनभर माइतीघर मण्डलमा बस्छिन्। माइतीघर धाउन थालेको एक महिना भइसक्यो। उनी पनि शौचालय जान नपाउने भएकाले दिनभर पानी पिउँदिनन्।
उनी सन्धा सहकारी संस्थाविरूद्ध धर्नामा बसेकी हुन्। आफूले जम्मा गरेको ९० हजार रूपैयाँ पाउनुपर्ने माग उनको छ।
'यहाँ शौचालय छैन। त्यसैले दिसापिसाब लागे चिया पिउने बहानामा होटल छिर्छु,' सम्रिताले भनिन्, 'वरिपरिका होटल व्यवसायीले शौचालय जान दिँदैनन्। सरकारले कुनै व्यवस्था गरेको छैन। सार्वजनिक शौचालय पनि छैन।'
उनी धेरैजसो दिनमा धर्ना बस्छिन्। राति बस्नुपर्यो भने कोठामै पुगेर शौच गरेर आउँछिन्।
'रातभर केही खाइँदैन। त्यसैले शौचालय जानु पर्दैन। आपत परे अन्नपूर्ण अस्पताल जान्छु,' सम्रिताले भनिन्।
रामेछापका ५५ वर्षीय खड्कबहादुर श्रेष्ठ पनि दिनभर माइतीघरमा बस्दा पानी पिउँदैनन्। जेठ २० गतेदेखि सहकारी संस्थाविरूद्ध आन्दोलन सुरू भएको थियो। खडक २१ गतेदेखि दैनिक माइतीघर मण्डलमा आउँछन् र दिनभर बसेर साँझ फर्किन्छन्।
'वरिपरि सार्वजनिक शौचालय छैन। अलि टाढा जान गाह्रो लाग्ने भएकाले पानी पिउन मन लाग्दैन,' उनले भने, 'आपतकालीन अवस्थामा त जहाँ भए पनि जानैपर्यो।'
आफूसँग पैसा हुँदा जहाँ खान गयो, त्यहीँको शौचालय प्रयोग गर्छन्। माइतीघरमा उनका साथीभाइ भेटघाट गर्न आउँछन्। उनीहरूले खान जाऊँभन्दा मात्र उनी होटल प्रवेश गर्छन्। त्यही मौकामा शौचालय जाने गरेको उनले बताए।
'दु:ख गरेर दुई वर्षमा ५५ हजार रूपैयाँ जम्मा गरेको थिएँ, त्यो पनि लिन पाइनँ,' उनले भने, 'आफ्नो पैसा फिर्ता पाइन्छ भनेर दिनहुँ माइतीघर आउँछु।'
उनी लामो समयदेखि ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोलमा बस्छन्। उनी ठेलामा म:म बेच्थे। त्यहाँबाट कमाएको पैसा दैनिक एक सय/दुई सय रूपैयाँको दरले सन्धा सहकारी संस्थामा बचत गर्थे। सन्तानलाई आवश्यक पर्दा शैक्षिक सामग्रीमा खर्च गर्न पैसा बचत गरेका थिए। अहिले त्यही पैसा डुब्दा दिनहुँ माइतीघर धाउँछन्। सन्धा सहकारी संस्थाका सञ्चालक फरार भएको उनले बताए।
'माइतीघरमा बस्न सजिलो छैन। यहाँ खानेपानी तथा शौचालय सुविधा छैन,' उनले भने, 'यहाँ एउटा होटलले मात्र शौचालय प्रयोग गर्न दिन्छ। त्यो पनि धेरै फोहोर छ।'
ठूला होटल महँगा भएकाले त्यहाँ खर्च गरेर खाने र शौचालय प्रयोग गर्ने भन्ने कुरा भएन। फुटपाथसँग जोडिएका पसलमा शौचालय छैनन्। त्यसैले शौचालय नभएकाले बिजोग हुने गरेको उनले बताए।
६६ वर्षीय रामनारायण साहको व्यथा उही हो। उनी पनि दिनभर धर्ना बस्दा चिया-पानी पिउँदैनन्। चिया पिइरहने बानी परे पनि माइतीघरमा आउनु एक घन्टाअघिदेखि केही खाँदैनन्। बिहान खाना खाएर आउँछन् र साँझ नपर्दै फर्किन्छन्। दिनभर केही नखाने गरेकाले शौचालय जानु नपर्ने उनले बताए।
पीडित लेनदेन संघर्ष समिति, जनकपुर यहाँ असार ५ गतेदेखि धर्ना बसिरहेको छ। समितिका सदस्य भएकाले रामनारायण ललितपुरमा छोराको कोठामा बसेर धर्नामा सहभागी भइरहेका हुन्।
२४ वर्षे राधिका देवकोटाले त पानी पिउनै छाडिसकिन्। पानी नपिएपछि शौचालय जानै नपर्ने उनले बताइन्।
'यहाँ शौचालय छैन भन्ने थाहा पाएदेखि मैले पानी पिउन छोडेकी हुँ,' उनले भनिन्, 'दिनभरमा एक/दुई पटक मात्र जान्छु।'
राधिका आफ्ना श्रीमान २६ वर्षीय वीरेन्द्र जैसीलाई साथ दिन माइतीघरमा बस्ने गरेकी छन्।
अनसन बसेका वीरेन्द्रलाई भने वरपरका एक/दुइटा होटलले शौचालय प्रयोग गर्न दिएका छन्। कैलाली जानकी गाउँपालिका-८ घर भएका वीरेन्द्र २०७३ सालमा प्रहरीको गोली लागेर घाइते भएका थिए। प्रहरी र काठ तस्करबीच भिडन्त हुँदा उनी प्रहरीलाई सघाउन गएका थिए। त्यसैले आफ्नो उपचार खर्च माग गर्दै असार १ गतेदेखि उनी धर्नामा छन्।
वीरेन्द्र चौबीसै घन्टा यहीँ बस्छन्।
'स्वास्थ्य अवस्था गम्भीर भएकाले होला एउटा होटलले शौचालय जान दिन्छ,' उनले भने, 'पानी किन्नुपर्ने भएकाले धेरै पिउँदिनँ।'
४५ वर्षीय विनोदप्रसाद शाहलाई दिनभर शौचालय जान पर्दैन। तर साँझ परेपछि शौचालय जानुपर्ने बानीले हैरान भएको दुःख पोखे।
'होटलमा छिर्न पैसा हुँदैन। सार्वजनिक शौचालय पनि छैन। अस्पतालतिर पुग्छु,' उनले भने, 'राति ९ बजेपछि सडक सुनसान हुन्छ। त्यसैले अस्पतालसम्म जान पनि डर लाग्छ।'
विभिन्न संस्थाले दिएको खानेकुरा पनि उनी दिनमा एकपल्ट मात्र खान्छन्। यहाँ स्वास्थ्यमा समस्या परे उपचार गर्न सकिँदैन भन्ने पिर उनलाई छ।
'चिसो भुइँमा बसेकाले पटक/पटक शौचालय जानुपर्ने हुन्छ तर यहाँ छैन,' विनोदप्रसादले भने।
यी प्रतिनिधि मात्र हुन्।
न्याय माग गर्दै माइतीघर मण्डल आउनेहरूको सबैको पीडा हो यो। शौचालयको पिरले उनीहरूले खानपिनमा कडाइ गरेका छन्। दिनभर पानी नपिउँदा स्वास्थ्यमा समस्या हुन्छ। अझ चर्को घाममा खपिनसक्नु हुन्छ। साना केटाकेटी, बिरामी र वृद्धको त स्वास्थ्यमा अझै जटिलता देखिन सक्छ।
यहाँ आउने धेरैलाई यो कुरा थाहा नभएको होइन। तर यसको समाधान गर्न न उनीहरूको बुताले भ्याउँछ, न विकल्प नै छ।
आसपासका होटल व्यवसायीहरू पानी अभाव हुने भएकाले शौचालयमा ताला लगाउन बाध्य भएको बताउँछन्। माइतीघरमा दिनहुँ थुप्रै मानिस धर्ना र अनसनमा हुन्छन्। त्यो संख्यालाई दैनिक निजी शौचालय प्रयोग गर्न दिन नसकिने उनीहरू बताउँछन्।
आफ्नो नाम नखुलाउने शर्तमा त्यहीँको एउटा जुस सेन्टरका सञ्चालकले भने, 'हामीले पनि चर्पीमा किनेको पानी प्रयोग गर्ने हो। अब भन्नु पानी किनेर कहिलेसम्म हामीले अरूलाई शौचालय प्रयोग गर्न दिने?'
अति गाह्रो भयो भन्दै आउनेलाई भने मन थाम्न नसकेर चाबी दिने गरेको उनले बताए।
माइतीघर मण्डलभरि एउटा होटलले भने सधैं आफ्नो शौचालय खुला राखिदिएको छ।
तृप्ति फुड कोर्ट भएको उक्त घरमा गाई फार्म र पार्किङसँगै भुइँतलामा शौचालय छ। माइतीघरमा धर्ना बस्ने सबै त्यहीँ जान्छन्। पानी नभएका बेला र शौचालय अति फोहोर भएका बेलाबाहेक चर्पी प्रयोग गर्न दिने गरेको होटलका सञ्चालकले बताए।
भुइँतलामा ज्वालामुखी स्टोर सञ्चालन गर्दै आएका कुवेर तिवारीले भने, 'शौचालय जान नपाएर कक्रक्क परेर आउँछन्, कसरी रोक्नु? त्यसैले प्रयोग गर्न दिन्छौं। मानवता भन्ने पनि कुरा हुन्छ होला नि।'
उनी माइतीघरमा शौचालय र आकासे पुल अति आवश्यक भएको बताउँछन्। सरकारले यो व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन्।
सार्वजनिक शौचालय व्यवस्थापनको जिम्मेवार निकाय काठमाडौं महानगरपालिकालाई पनि यसबारे हामीले सोध्यौं।
महानगरका प्रवक्ता नवीन मानन्धरले माइतीघरमा शौचालय बनाउन आवश्यक नरहेको तर्क गरे। त्यहाँ शौचालय बनाउनेभन्दा त्यहाँ बस्न नपर्ने गरी पीडितको माग सम्बोधन गर्न जोड दिनुपर्ने उनले बताए।
'त्यो अनसन वा धर्ना बस्ने ठाउँ होइन। त्यसैले त्यहाँ सार्वजनिक शौचालय वा खानेपानी व्यवस्था गर्न आवश्यक देखिँदैन, यो सुविधा दिन सकिँदैन,' उनले भने।
उनका अनुसार रत्नपार्क, शान्तिवाटिका पार्कमा बस्दै आएका मिटरब्याजी पीडितलाई खानेपानी र शौचालय व्यवस्था गरिएको छ।