चार महिनाअघि नुवाकोटका २२ वर्षीय एक युवकले 'कछुवा बिक्रीमा छ' भन्दै फोटोसहित एक अनलाइन प्लेटफर्ममा विज्ञापन गरे।
त्यही ठाउँका १५ वर्षीय अर्का किशोरले उक्त पोस्ट सेयर गरे।
बिस्तारै त्यो विज्ञापन सामाजिक सञ्जालमा फैलियो। त्यसमा नेपाल प्रहरीको आँखा पर्यो। प्रहरीले तत्कालै ती युवक र किशोरको खोजी गरी दुवै जनालाई नियन्त्रणमा लियो र डिभिजन वन कार्यालयमा बुझायो।
डिभिजन वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत अशोक पराजुलीका अनुसार प्रहरीले युवकको घरबाट स-साना १४ वटा कछुवा भेटेको थियो।
'उनले लामै समयदेखि घरमा कछुवा पाल्दै आएका रहेछन्। धेरै भएर राख्ने ठाउँ साँघुरो भएपछि बिक्री गर्न पोस्ट गरेका बयान दिए,' पराजुलीले सेतोपाटीसँग भने, 'उनले कछुवा किनबेच र कारोबार गर्ने मनसायले पालेको भने देखिएन।'
ती युवकलाई यसरी कछुवा पाल्न र बेच्न पाइँदैन भन्नेबारे कुनै जानकारी थिएन। उनले प्रहरीलाई यही बयान दिएका छन्। तर उनले गरेको काम गैरकानुनी ठहर भयो र कारबाही भोग्नुपर्यो।
उनीविरूद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन- २०२९ अनुसार मुद्दा चलाइएको थियो।
'आपराधिक मनसायले किनबेच नगरेकाले ती युवक ५० हजार रूपैयाँ धरौटीमा छुटे,' पराजुलीले भने, '१५ वर्षीय नाबालकलाई भने माफी दिइएको थियो।'
त्यस्तै, तीन महिनाअघि एक महिलाले कछुवा पाल्दा शुभ हुने भन्दै टिकटकमा विज्ञापन गरेकी थिइन्। उक्त भिडिओ वन कार्यालयका कर्मचारीले देखे र प्रहरीलाई खबर गरे।
प्रहरीले ती महिलालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही अगाडि बढाएको पराजुलीले बताए। उनीसँग भएको कछुवा जफत गरी मुद्दा चलाइयो। उनी बीस हजार रूपैयाँ जरिवाना तिरेर रिहा भइन्।
उनले पनि बयानमा कछुवा पाल्न नहुनेबारे अनभिज्ञ रहेको बताएकी थिइन्।
यस्तै प्रकृतिको घटनामा नेपाली मात्र होइन, विदेशी पनि पक्राउ परेका छन्। गत जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ वर्षीय फ्रान्सेली युवक पक्राउ परे। उनको झोलामा चौंरी गाईको खप्परको हाड थियो। यो हाड उनले मनाङ घुम्न जाँदा भेटेका रहेछन्। त्यही हाड बोकेर मनाङ, पोखरा लगायत विभिन्न ठाउँ घुमेर आफ्नो देश फर्किन लाग्दा उनी काठमाडौं विमानस्थलबाट पक्राउ परेका थिए।
प्रहरीले नियन्त्रणमा लिएर उनलाई पनि डिभिजन वन कार्यालयमा बुझाएको थियो। उनले बोकेको खप्पर परीक्षण गरेर हेर्दा घरेलु चौंरी गाईको भएको पाइयो। त्यसैले उक्त हाड जफत गरी युवकलाई छोडिदिएको सहायक वन अधिकृत पराजुलीले जानकारी दिए। यो सबै प्रक्रिया पूरा नहुन्जेल, झन्डै दुई साता ती फ्रान्सेली युवक हिरासतमा बस्नुपर्यो।
यी पात्र र घटना प्रतिनिधि मात्र हुन्, वन्यजन्तु ऐनबारे जानकारी नहुँदा उनीहरूजस्ता धेरै जना कानुनी झमेलामा पर्ने गरेको पराजुलीले बताए।
'घरपालुवाबाहेक कुनै वन्यजन्तु पाल्न, किनबेच गर्न वा तिनका अंगको कारोबार मात्र होइन बोकेर हिँड्न पनि पाइँदैन,' उनले भने, 'यो सामान्य जानकारी नहुँदा धेरै नेपालीसहित विदेशीहरू पनि समस्यामा पर्ने गरेका छन्।'
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन- २०२९ ले वन्यजन्तु पाल्न, किनबेच गर्न वा तिनका अंगको कारोबार वा बोकेर हिँड्न नपाइने व्यवस्था गरेको छ।
'वन्यजन्तु भन्नाले घरपालुवाबाहेक जुनसुकै जातिका स्तनधारी, पन्छी, घस्रिने जन्तु, माछा, भ्यागुता र कीरा फट्यांग्रा सम्झिनुपर्छ र सो शब्दले फुल पार्ने जन्तुको फुल समेत जनाउँछ,' ऐनमा लेखिएको छ।
डिभिजन वन कार्यालय, काठमाडौंका प्रमुख बद्री कार्कीका अनुसार घरपालुवा जनावरमा गाईगोरू, राँगाभैंसी, खसीबाख्रा, कुकुर, बिरालो, घोडा, गधा, सुँगुर, बंगुर, भेडा, च्याङ्ग्रा लगायत पर्छन्। त्यस्तै पन्छीमा कुखुरा, हाँस, बट्टाई, लौकाट, टर्की, अस्ट्रिच, कालिज आदि छन्।
'वन्यजन्तुको पालन र कारोबार गर्न पाइँदैन। तर यसबारे जानकारी नहुँदा अन्जानमा धेरै मानिसले गैरकानुनी काम गरिरहेका छन्,' कार्कीले भने, 'आजभोलि झन् जनावर प्रेमी भन्दै घरमा कछुवा र चराहरू पालिरहेका छन्। जानकारी राख्नुहोस्, यो गैरकानुनी काम हो। यसो गरेको थाहा भए कारबाही हुन्छ।'
उनका अनुसार अहिले विशेषगरी कछुवा र सुगा धेरैले पालेका छन्।
'पछिल्लो समय धार्मिक आस्थासँग जोडेर घरमा कछुवा राख्न थालिएको छ, यो नेपाली संस्कृति होइन,' कार्कीले भने, 'सामाजिक सञ्जालको देखासिकी गरेर त्यसलाई संस्कार बनाउन खोजिएको हो। कछुवा वा सुगा मात्र होइन, जुनसुकै वन्यजन्तु पालेको देखे वन कार्यालयलाई खबर गरौं। घरभित्र पालिने भएकाले प्रहरीले सजिलै थाहा पाउँदैनन्। सामाजिक सञ्जालमा राखे वा कसैले जानकारी दिए मात्र थाहा हुन्छ।'
वन्यजन्तु पाल्ने, किनबेच गर्ने र मार्नेलाई त्यहीअनुसारको कानुनी कारबाही हुन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन- २०२९ को दफा १६ को उपदफा ६ मा लोपोन्मुख वन्यजन्तुबाहेक अन्य जनावर तथा पशुपन्छी पाले वा किनबेच गरे वा मारेमा बीस हजार रूपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
त्यस्तै लोपोन्मुख वन्यजन्तु मार्नेलाई एकदेखि पाँच लाख रूपैयाँ जरिवाना र एकदेखि दस वर्षसम्म कैद वा दुवै सजाय हुने भनिएको छ। लोपोन्मुख जनावर मार्नेलाई भन्दा ओसारपसार तथा किनबेच गर्नेलाई बढी सजाय तोकिएको छ। यस्तो काम गर्नेलाई पाँचदेखि दस लाख रूपैयाँ जरिवाना र पाँचदेखि १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको 'नेपालमा अधिक चोरी, शिकार र अवैध व्यापार हुने वन्यजन्तु तथा वनस्पतिहरूको जानकारी पुस्तक २०७५' मा लोपोन्मुख वन्यजन्तुमा ६८ प्रजातिका स्तनधारी र १० प्रजातिका चरा उल्लेख छन्। गैंडा, चितुवा, रेडपान्डा, कस्तुरी, चिरू, कछुवा, सालक, मृग, सुनगोहोरो लगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु मानिन्छ। यी जनावरको अंग खरिद-बिक्री धेरै हुने भएकाले कडा कानुन बनाइएको हो।
पछिल्लो समय घरपालुवाबाहकेका पशुपन्छीहरू बजारमा बेच्न राखिएका पसल भेटिन्छन्। ती सबै अवैध भएको सहायक वन अधिकृत पराजुलीले बताए। वन कार्यालयको अनुगमन फितलो भएकाले त्यस्ता पसल खुलेआम सञ्चालन भइरहेको उनी बताउँछन्।
'त्यस्ता पसल बिस्तारै हटाउन थालिएको छ,' उनले भने, 'अनुगमनमा जाँदा पशुपन्छी लुकाउने भएकाले धेरै व्यवसायीलाई नियन्त्रणमा लिन सकिएको छैन।'
यसका बाबजुद केही सीमित वन्यजन्तुलाई घरमा पाल्न दिने भन्नेबारे छलफल भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता चन्द्रशेखर चौधरीले बताए।
'सामान्य भए केही वन्यजन्तु घरमा पाल्न दिए आपराधिक क्रियाकलाप घट्छ कि भन्ने अनुमान हो। त्यसैले यो विषयमा विभाग तथा मन्त्रालयमा छलफल भइरहेको छ,' उनले भने।
चौधरीका अनुसार नेपालमा तस्करीको सूचीमा वन्यजन्तुको तस्करी तेस्रो स्थानमा पर्छ। पहिलोमा लागुऔषध र दोस्रोमा मानव तस्करी छ।
यस वर्ष डिभिजन वन कार्यालय, काठमाडौंमा मात्र २६ वटा ठूला तस्करीको मुद्दा दर्ता भएका छन्। देशभर एक वर्षमा झन्डै चार सयभन्दा बढी मुद्दा परेको उनले जानकारी दिए।