सात वर्षअघिको कुरा हो।
कैलालीको जानकी गाउँपालिका-८ मा रहेको जंगलमा गोली चल्यो। प्रहरी र काठ तस्करबीच भिडन्त भयो।
त्यो क्षेत्रमा निकै सक्रिय रहेका काठ तस्करलाई नियन्त्रणमा लिन प्रहरीले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। त्यो दिन काठ तस्करी भइरहेको सूचना पाएपछि प्रहरी जंगल पुगेको थियो। तस्करलाई नियन्त्रणमा लिने उनीहरूको योजना थियो।
यही क्रममा गोली चल्यो र दुवै पक्षबीच भिडन्त भयो।
जंगलमा गोली चलिरहेकै बेला एक जना प्रहरी हतासिँदै वीरेन्द्र जैसीको घर पुगे। वीरेन्द्रको घर जंगलबाट नजिकै थियो। त्यो बेला जम्मा १९ वर्षका वीरेन्द्रसँग प्रहरीले सहयोग माग्यो।
'प्रहरी गणेश सेट्टीले मसँग आएर प्रहरी सहायक निरीक्षक वृजलाल अधिकारीलाई गोली लाग्यो, सहयोग गरिदिनुपर्यो भन्नुभयो,' माइतीघर मण्डलको चर्को घाममा अनसन बसिरहेका वीरेन्द्रले भने, 'मेरो घर घटनास्थलनजिकै थियो। त्यही कारण प्रहरीले सहयोग मागेको थियो। यसपछि म र अरू आठ/दस जना भेला भएर प्रहरीलाई सहयोग गर्न गयौं।'
वीरेन्द्रका अनुसार गाउँलेलाई जंगलमा देखेर तस्करहरू भने भागे। तर घाइते प्रहरीले उनीहरूलाई चिनेनन्। हो न हो, अलि अगाडि आफूलाई गोली हानेर घाइते बनाएका तस्कर अब मार्नै आए भन्ठाने। आफ्नो ज्यान जोगाउन उनले अन्धाधुन्ध गोली चलाए।
त्यो गोली वीरेन्द्रको छातीसम्म पुग्यो। घाइते प्रहरीलाई सहयोग गर्न गएका वीरेन्द्र आफैं ढले।
यो २०७३ साल फागुन १ गतेको कुरा हो।
घाइते प्रहरी र वीरेन्द्रलाई अस्पताल लगियो। छातीमा गोली लागेका वीरेन्द्रको उपचार त्यहाँ नहुने भन्दै काठमाडौं पठाइदिए। उनलाई झन्डै १३ घन्टा लगाएर एम्बुलेन्समा प्रहरीले काठमाडौं ल्याएको थियो। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा डेढ महिनासम्म उपचार गरियो। तर आफू पूर्ण रूपमा निको हुन नसकेको उनी बताउँछन्।
'पेट चिराचिरा भएको छ जसले गर्दा सिधा उभिन सक्दिनँ,' उनले भने, 'भित्री चोट भएकाले धेरैपटक शल्यक्रिया गर्नुपर्यो।'
सामान्य घरका वीरेन्द्रको उपचारमा लागेको खर्च प्रहरी तथा स्थानीय नेताहरूले आफूहरूले बेहोरिदिने बताएका थिए। त्यसैले खर्चको धेरै चिन्ता नलिई चित्त बुझाए। तर सोचेजस्तो भएन।
'डेढ महिना उपचार गराएर फर्किएपछि म अस्पतालको कागजात बोकेर जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय पुगेँ। लगभग चार लाख रूपैयाँ खर्च आएको थियो। त्यसका सबै बिल बुझाएँ। तर प्रहरी कार्यालयबाट एक लाख ९१ हजार रूपैयाँ उपचार मात्र पाएँ,' उनले भने, 'बाँकी रकम राहत दिँदा मिलाउँला भनेका थिए तर अहिलेसम्म पाएको छैन।'
उनका अनुसार दुई जना कांग्रेसी नेताहरूले सबै उपचार खर्च मिलाइदिने भनेर मौखिक आश्वासन दिएका थिए। शिक्षा र रोजगारी व्यवस्थासमेत गरिदिने आश्वासन दिएको वीरेन्द्र बताउँछन्।
'त्यति बेला मलाई तत्कालीन घटना हो, यसमा लिखित कागजात गरिरहन आवश्यक छैन भनेर विश्वास दिलाए। सहयोग पाउनुहुन्छ ढुक्क हुनु भनेका थिए,' वीरेन्द्रले भने, 'तर अहिलेसम्म केही पाएको छैन। दुवै नेता सम्पर्कबिहीन छन्।'
थप सेवा सुविधा त टाढाको कुरा, अस्पतालमा भएको खर्चसमेत पाउन नसकेको दुखेसो उनले व्यक्त गरे।
उनी अहिले पनि महिनामा दुईपटक जँचाउन अस्पताल पुग्छन्। अब खर्च जुटाउन ऋण माग्ने बाटो पनि नभएको उनले बताए। गोली लाग्दा १९ वर्षे वीरेन्द्र २६ वर्षका भइसके। सात वर्षसम्म सरकारले दिने भनेको सेवासुविधा पाउन सरकारी कार्यालय धाइरहे।
अब भने ज्यान जोगाउनै मुश्किल भएकाले माइतीघर मण्डलमा अनसन बसेको उनी बताउँछन्। असार १ गतेदेखि अनसन बसेर उनी सरकारसँग आफ्ना माग पूरा गरिदिन आग्रह गरिरहेका छन्। उनी चैबीसै घन्टा त्यहीँ बस्छन्।
उनी अनसन बसेको सोमबार दसौं दिन हो। उनको स्वास्थ्य कमजोर हुँदै गइरहेको छ। तर कुनै निकायले अहिलेसम्म सहयोग नगरेको उनको गुनासो छ।
माइतीघर मण्डलमा धर्ना बसेका अरू समूहका बीचमा उनी एक्लै छन्। सानो ब्यानरमा आफ्ना माग र भनाइ लेखेर टाँसेका छन् — २०७३ फागुन १ मा प्रहरीलाई बचाउने क्रममा गोली लागी म घाइते भएको हुँ। सरकारले उपलब्ध गराउने भनेको सेवासुविधा तथा राहत हालसम्म उपलब्ध गराएको छैन। आफ्नो उपचार खर्च आफैंले बेहोर्दै आइरहेको थिएँ। अहिले पनि मेरो स्वास्थ्य अवस्था नाजुक रहेकाले उक्त सेवासुविधा तथा राहत तुरून्त उपलब्ध गराइपाऊँ।'
यसरी बिरामी ज्यान लिएर, घामपानी झेल्दै सडकमा अनसन बसे पनि कसैले सहयोग नगर्दा उनी निराश भएका छन्।
'अब सरकारले सहयोग नगरे बाँच्न पनि गाह्रो होला मलाई। परिवारको जिम्मेवारी उठाउनुपर्ने बेलामा सरकारको सहयोगको आश गरेर जिउनुपरेको छ,' उनले भने।
उनी काशिराम जैसी र मन्नादेवीका जेठो सन्तान हुन्। उनका तीन भाइ छन्। सामान्य परिवारमा जन्मेका वीरेन्द्र नै परिवारको भर थिए। भारतमा मजदुरी गरेर छोराहरूलाई उच्चशिक्षा दिई आत्मनिर्भर बनाउने बा-आमाको सपना थियो। तर सात वर्षअघिको घटनाले जीन्दगीको कथा नै फेरिदिएको उनी बताउँछन्।
'जिम्मेवारी सम्हाल्ने बेलामा आफैं परिवारको कमाइमा भर पर्नुपरेको छ। अशक्त भएकै कारण केही काम गर्न सक्दिनँ,' उनले भने, 'गोली लागेको ठाउँमा दुखिरहन्छ।'
बेला-बेला अस्पताल गइरहनुपर्ने भएपछि ६ वर्षयता उनी चाबहिलमा कोठा भाडामा लिएर बसेका छन्। मार्केटिङको काम र श्रीमतीको साथले गुजारा चलिरहेको छ।
'मलाई दिने भनेको उपचार खर्च सरकारले दिए बाँच्थे भनेर यहाँ आएको हुँ,' उनले भावुक हुँदै भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी