सट्टेबाजी खेलाएर करोडौंको कारोबार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी खेलाउने पाँच जनालाई बुधबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागार्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्। उनीहरूलाई प्रहरीले मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको हो।
वानएक्स बेटको मुख्यालय साइप्रसमा छ। तर नेपालमा दिनेश लगायत एजेन्टहरूले युवाहरूलाई आकर्षित गरी सट्टेबाजी खेलाउने गरेको पाइएको हो।
वानएक्स बेट खेल्नेक्रम बढ्दै गएपछि अपराध अनुसन्धान कार्यालयले गत मार्चदेखि अनुसन्धान थालेको थियो। जसक्रममा ३२ जनामाथि प्रहरीले निगरानी थालेको थियो।
तीमध्ये दुई जनाको नामबाट अस्वाभाविक रूपमा कारोबार भइरहेको प्रहरीले फेला पार्यो। उनीहरू थिए पिन्टु शाह र रामविलास थारू।
पिन्टुको खाता हेर्दा १० करोड र रामविलासको खातामा ७ करोड रूपैयाँको कारोबार भएको देखियो। प्रहरीले यी व्यक्तिहरू को हुन् भनेर खोजी गर्न थालेको थियो। दुवै नामका बैंक खातालाई पछ्याउँदा प्रहरी दिनेश खड्कासम्म पुग्यो।
दिनेशले पिन्टु र रामविलास दुवै नाममा कारोबार गर्ने गरेको खुलेको कार्यालय प्रमुख एसएसपी मनोजकुमार केसीले बताए।
‘पिन्टु र रामविलासलाई खोजिरहेका थियौं,ʼ एसएसपी केसीले भने, ‘यी दुवैको नामको आइडी दिनेश खड्काले चलाएको पायौं।ʼ
त्यति मात्रै होइन, उनले कनेक्ट आइपिएसमा जंगल, पुकुडन, पिंकी, पुन्टी, गुल्ली, चिकू, अनियन लगायत नामबाट कनेक्ट आइपिएसको खाता खोलेर कारोबार गरेको प्रहरीले पायो। यसरी उनले मात्रै विभिन्न व्यक्तिको कागजात प्रयोग गरी ६३ वटा बैंक एवं मोबाइल बैंकिङ खाता खोलेको अनुसन्धानमा देखिएको हो। जसमध्ये १२ वटा खातामा मात्रै ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको एसएसपी केसीले बताए।
दिनेशका खाताबाट भएका कारोबारको विवरण केलाउँदा रकम अझै बढ्न सक्ने उनी बताउँछन्। अनुसन्धानकै क्रममा उनले क्रिप्टोकरेन्सीको कारोबार समेत गर्ने गरेको प्रहरीले भेटायो।
उनले क्रिप्टोको कारोबार भने आफ्नी श्रीमती अनिता धितालमार्फत गरेको अनुसन्धानमा देखियो। धितालले आफ्नो मोबाइलमा क्रिप्टोकरेन्सी बाइनेन्स खाता खोलेर अमेरिकी डलर किन्ने गरेको देखिएको एसपी रविन्द्र रेग्मीले बताए। जसकारण धिताल पनि हाल प्रहरी हिरासतमा छिन्।
क्रिप्टोकरेन्सीकै कारोबार गरेको आरोपमा प्रहरीले यसअघि २०७८ माघमा दिनेशलाई पक्राउ गरिसकेको थियो। त्यसमुद्दामा पक्राउ परेका उनी २५ लाख धरौटीमा छुटेका थिए।
यसरी एकपटक अपराधमा मुछेर सजाय पाइसकेका व्यक्ति पुन: बेटिङ एजेन्टको रूपमा पक्राउ परेका हुन्।
उनीहरू दुई जनासँगै प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरेको छ। जसको खातामा पनि करोडौंको कारोबार भएको प्रहरीले भेटायो।
दिपेश श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, दिनेश चन्दको ४५ लाख र आशिष लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको खातामा देखिएको एसएसपी केसीले बताए।
यस्तै आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो।
उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले बताएको छ। पक्राउ परेकामध्ये आशिष भने सिए अध्ययनरत विद्यार्थी समेत हुन्। उनले आफूले गरेको कारोबारको हिसाब राख्ने गरेको पनि प्रहरीले पाएको छ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, टेकूमा बुझाएको छ।