अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका एक युवकलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले केही समयअघि उद्धार गर्यो।
युवकका परिवारले ब्युरोमा उजुरी दिएपछि प्रहरीले उद्धार गरेको थियो। प्रहरीलाई आश थियो- फर्केर आएका युवकले अमेरिका पठाउँछु भनेर आफूलाई अलपत्र पार्ने एजेन्टविरूद्ध बयान दिनेछन्। तर त्यस्तो भएन।
उद्धारपछि ती युवक प्रहरीको सम्पर्कमा आउने खोजेनन्। प्रहरीले पटक-पटक सम्पर्क गरी युवकलाई एजेन्टविरूद्ध उजुरी दिई कानुनी कारबाही अगाडि बढाउन सहयोग गर्न अनुरोध गर्यो तर उनले मानेनन्।
परिवारको सम्पर्कमा आएर उद्धार गरेपछि युवायुवतीले एजेन्टविरूद्ध बयान नदिने गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पगेनी बताउँछन्।
‘पीडितले उजुरी दिए अर्का युवायुवती फस्दैनथे, तर दिँदैनन्,ʼ पंगेनीले भने, ‘एजेन्टविरूद्ध उजुरी नदिने भएकाले ठगिने क्रम रोक्न सकिएको छैन।ʼ
दुई साताअघि अमेरिका जान हिँडेका एक अर्का युवकलाई पनि घानाबाट उद्धार गरिएको थियो। ती युवकलाई एक हप्ता काउन्सिलिङ गर्दा पनि उनले उजुरी दिन मानेका छैनन्।
‘युवकको परिवारले उजुरी दिइसकेका छन्, युवकले बयान दिए कानुनी कारबाही अगाडि बढाउँथ्यौं। तर मानेकै छैनन्,ʼ प्रवक्ता पंगेनीले भने, ‘ठूलो रकम फसेको हुन्छ। एजेन्ट जेल गए पैसा फिर्ता नपाउने डरले होला उजुरी दिनै मान्दैनन्।ʼ
प्रहरीले पटक-पटक आग्रह गर्दासमेत पीडित युवायुवती बयान दिँदैनन्। त्यसैले अवैध बाटो हुँदै अमेरिका पठाउँछु भनी हुने ठगीलाई कम गराउन नसकिएको पंगेनी बताउँछन्।
‘कसैले उजुरी दिए पो रोक्न सकिन्थ्यो, उजुरी नै दिँदैनन्,ʼ उनले भने, ‘उजुरी दिए घटनाको प्रकृति हेरेर मुद्दा चलाउँथ्यौं।ʼ
उनका अनुसार अवैध बाटो हुँदै अमेरिका जान खोज्नु निकै जोखिमपूर्ण कुरा हो। लाखौं खर्च गरेर ज्यानको माया मारेर यात्रा गर्नुपर्छ।
दुई-तीन वर्षयता अवैध बाटो हुँदै जान खोज्द ज्यानै गएका घटना धेरै भएका छन्। कोही बाटैमा बेपत्ता भएका छन्। तै पनि यो क्रम रोकिएको भने छैन।
अहिलेसम्म ब्युरो रेकर्डमा नेपालीको ज्यानै गएका तीन वटा घटना छन्।
०७८ असार ५ गते क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परी ७ जना नेपालीको मृत्यु भएको थियो भने एकजना नेपालीको उद्धार भएको थियो।
त्यतिबेला दाङका एन्जल बुढामगर, बाँकेका हेमराज अधिकारी, दाङका रेशम दिंगमगर, पर्वतका राजु गुरूङ, पर्वतका दिनेश गौतम, देवकोटा थरका एक व्यक्ति र परिचय नखुलेको एक व्यक्तिसहित सात जनाको मृत्यु भएको थियो।
उक्त घटनामा म्याग्दीका प्रकाश बिकलाई सकुशल उद्धार गरिएको थियो। उनलाई प्रहरीले सम्पर्कमा गर्न खोज्यो तर सकिएन। उनी अहिले अमेरिकामै छन्, प्रहरीको सम्पर्कमा आएकै छैनन्।
उक्त घटनामा एन्जल बुढामगरको परिवारले अमेरिका पुर्याउने भनेर पैसा असुल्ने दाङका टोपबहादुर जिसीविरूद्ध ब्युरोमा जाहेरी दिएका थिए।
उक्त घटनामा संलग्न भएको आधारमा २०७९ भदौ २३ गते जिसीलाई इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गरी पक्राउ गरिएको थियो। पक्राउ परेको केही महिनामै १५ लाख धरौटी बुझाएर उनी छुटे।
तिनै जिसी अहिले फेरि रकम ठगी गरेको उजुरीमा पक्राउ परेका छन्। उनी अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा छन्।
०७९ कात्तिक २५ गते रूकुम पश्चिमका रमेश गौतम र प्रदीप खत्री र प्युठानका काले गिरी क्यारेबियन सागरमा डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका थिए।
‘उक्त घटनामा पनि हामीले पीडितकै घरमा पुगेर एजेन्टविरूद्ध उजुरी गर्न भनेका थियौं, पीडितका परिवारले मानेनन्,ʼ प्रवक्ता पंगेनीले भने।
प्रदीप खत्री बेपत्ता भएपछि एजेन्टले उनका भाइलाई अवैध बाटो हुँदै अमेरिका पुर्याएको खबर प्रहरीलाई प्राप्त भइएको छ। त्यही पैसामा भाइलाई पुर्याइदिने भएपछि आर्थिक प्रलोभनमा परी परिवारले उजुरी नगरेको हुनसक्ने उनको भनाइ छ।
‘अवैध बाटो हुँदै जाँदा दाइ बेपत्ता भएको थाहा हुँदाहुँदै पनि भाइ गए,ʼ प्रवक्ता पंगेनीले भने, ‘आर्थिक लोभकै कारण ज्यान जोखिममा राखेर जान्छन्।ʼ
यस्ता घटना दोहोरिरहेका छन्। दुई महिनाअघिमात्र अवैध बाटो हुँदै अमेरिका जान हिँडेको एक नेपालीको बाटैमा मृत्यु भयो।
२०७९ चैत ९ गते अवैध बाटो भएर अमेरिका हिँडेका रूकुम पश्चिमका २० वर्षीय मदन शाही पानामाको जंगलमा मृत भेटिएका हुन्।
यसरी अवैध बाटो हुँदै अमेरिका जाने र बेपत्ता हुने नेपाली कति होलान्?
यसको सरकारसँग कुनै तथ्यांक छैन्। अलपत्र परे भनेमात्र प्रहरीलाई उद्धार गरिदिन परिवारले ब्युरोमा उजुरी दिन्छन्। नत्र थाहा नहुने उनले बताए।
ज्यान जोखिममा राखेर अमेरिका जान नेपालीले २० देखि ७० लाख रुपैयाँसम्म एजेन्टलाई बुझाएका हुन्छन्। ती व्यक्ति उजुरी दिनै आउँदैनन्।
अवैध बाटो हुँदै जाँदा बीच-बीचमा समुद्र पार गराउने तथा एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने व्यक्तिले अलपत्रमा छोड्दा तथा थप रकम माग्दा अलपत्रमा पर्ने गरेका घटना धेरै सुनिन्छन् तर पनि जान कम नभएको प्रवक्ता पंगेनीले बताए।
‘मर्न तयार भएर जान्छन्,ʼ उनले भने।
अवैध रूपमा जानेहरूलाई दलालले अमेरिकी भूमिसम्म लगेर छोडिदिएपछि उनीहरूको काम सकिन्छ।
अमेरिका छिरेपछि नेपाली युवायुवतीहरुलाई त्यहाँको इमिग्रेसनले समातेर केरकार गर्यो वा डिपोर्ट नै गर्यो भने पनि दलाल जवाफदेही हुँदैन। दलालको काम जसरी हुन्छ अमेरिकासम्म छिराइदिने मात्र हुने गरेको प्रवक्ता पंगेनी बताउँछन्।
‘अमेरिका पसेपछि उनीहरु आफैं जवाफदेही हुन्छन्,ʼ उनले भने, सुरक्षाकर्मीको रोकटोकबिना अमेरिकामा प्रवेश गर्न पाएकाले ‘शरण’ का लागि कानुनी पक्रिया अगाडि बढाउँन पाउछन्।ʼ
अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीहरूले शरणार्थी मुद्दामार्फत् अमेरिकी बसाइको वैधानिकता प्राप्त गर्ने गरेका छन्। प्रमाण नपुगेको अवस्थामा अमेरिकाले ‘डिपोर्ट’ गर्ने गरेको छ।
विगत पाँच वर्षमा १ सय ७७ जनालाई अमेरिकाले डिपोर्ट गरेको छ।
ब्युरोको तथ्यांक अनुसार २०७५/०७६ मा ४५, २०७६/०७७ मा ८३, २०७७/०७८ मा ३०, २०७८/०७९ मा १३, २०७९/०८० मा ६ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो।
‘डिपोर्ट गरेका सबै अवैध बाटो हुँदै गएका भने होइनन्। कतिपयले त्यहाँ अवैध काममा गरेकाहरू पनि हुन्छन्,ʼ उनले भने।