शनिबार दिउँसो नागरिकताविहीन संघर्ष समितिले नागरिकता विधेयक २०७९ छिटो प्रमाणीकरण गराउन माइतीघर मण्डलमा प्रदर्शन गरे।
‘संविधानको हक लागु गर,ʼ ‘नागरिकता विधेयक २०७९ छिटो प्रमाणीकरण गरʼ लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।
आइतबार पनि संघर्ष समितिले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक २०७९ प्रमाणीकरण गर्न ध्यानाकर्षण पत्र बुझाए। यसरी नागरिकताविहीन भएका व्यक्तिहरू दैनिक सरकारसमक्ष आफ्ना पीडा सुनाउन केही न केही गरिरहेका हुन्छन्।
उनीहरूको लडाइँ दुई दिनको मात्र भने होइन, दुई वर्षदेखि चलिरहेको छ।
अहिलेसम्म २५ जिल्लाका १० हजारभन्दा बढी नागरिकताविहीनहरू जोडिएको समितिका अध्यक्ष इन्द्रजीत साफीले बताए।
‘नागरिकताबिना केही गर्न नसकिने रहेछ,ʼ उनले भने, ‘नागरिकता नहुँदा आफ्नो लक्ष्यमा पुग्न असफल भएको पात्र म पनि हुँ।ʼ
धनुषा गणेशमान चारनाथ नगरपालिका-३ का इन्द्रजीतका बुबाले ०६३ सालमा जन्मका आधारमा नागरिकता लिएका थिए भने आमाले वंशको आधारमा नागरिकता लिएकी छन्। बाबु-आमा दुबैको नागरिकता हुँदा पनि इन्द्रजीतले भने नेपाली नागरिक भएको प्रमाण पाउन सकेका छैनन्।
उनीमात्र होइन नागरिकता नहुँदा पढ्न, जागिर खान, विदेश जान र अरू सरकारी सुविधाबाट बञ्चित भएकाहरू धेरै छन्।
तिनै मध्येका हुन्, झापा दमक नगरपालिका-६ का २० वर्षीय राहुल साह।
उनी बिर्जे र सुस्मी साहका जेठा सन्तान हुन्।
उनी दमकमै जन्मे, हुर्के र पढे।
जन्मदर्तादेखि कक्षा १२ सम्म पढ्दा विद्यालय दिएका शैक्षिक प्रमाणपत्र राहुलले सम्हालेर राखेका छन्। गत वर्ष दमकको ग्लोबल बोर्डिङ माध्यामिक विद्यालयबाट उनले कक्षा १२ पास गरेका हुन्।
थप अध्ययन गर्न उनको विदेश जाने सोच थियो। घरबाट अनुमति थियो।
बिर्जु पनि छोराको सपना पुरा गर्न तयारीमा जुटे।
उनको पहिलो प्राथामिकता नागरिकता बनाउनु थियो। त्यसका लागि एक वर्षअघि बाबु-छोरा वडा कार्यालय गए। वडा कार्यालयले कागजात हेरेर सिफारिस दियो।
‘सिफारिस लिएर ढुक्क भएर गएको थियौं, जिल्लाले बन्दैन भनेर फर्काइदियो,ʼ राहुलले भने, ‘तपाईंले कसरी सिफारिस पाउनुभयो भन्दै उल्टै थर्काए।ʼ
त्यतिबेला बाबु-छोरा नै अलमलमा परेका थिए।
जिल्ला प्रशासन कार्यालय झापाले जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन नमिल्ने भनेको थियो। तर त्यतिबेला आफूले केही नबुझेको राहुल सुनाउँछन्।
उनलाई बा-आमाको नागरिकता छँदै छ, आफ्नो जन्मदर्ता र शैक्षिक प्रमाणपत्र भए नागरिकता बनिहाल्छ नि भन्ने लागेको थियो।
नेपाली नागरिक हुँदाहुँदै पनि जन्मसिद्धका आधारमा ०६३ सालमा नागरिकता पाएका अभिभावकको सन्तान भएकाले नागरिकता पाउन नसकेको कुरा पछिमात्र बुझेको उनले बताए।
०४६ सालअघि जन्मेका अधिकांश नेपाली नागरिकलाई ०६३ सालमा जन्मका आधारमा नागरिकता दिइयो। त्यतिबेला जन्मसिद्ध नागरिकता लिएका सन्तानले भने अझै वंशजको नागरिकता पाउन सकेका छैनन्।
जन्मका आधारमा एक पटकमात्र नागरिकता दिने व्यवस्था उपयुक्त हुने र अन्य व्यवस्था कानुन बनाएर मात्रै दिने फैसला ०७० सालमा सर्वोच्च अदालतले गरेको छ। सोही आधारमा गृह मन्त्रालयले २० चैत ०७० मा जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै जन्मसिद्धका सन्तानलाई नागरिकता नदिन निर्देशन दिएको थियो।
त्यही परिपत्रका कारण राहुलले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन्।
नागरिकता बनाउन मिल्छ कि भनेर राहुल बेला-बेला जिल्ला प्रशासन कार्यालय जान्थे। कार्यालयका कर्मचारीले सधैँ एउटै जवाफ दिन्थे- अहिले तपाईंको नागरिकता बन्दैन।
पछिल्लो पटक गत वैशाखमा उनी सिडिओ कार्यालय गएका थिए। त्यतिबेला पनि नागरिकता बन्दैन भनेर फर्काइदिएपछि जिन्दगीमा केही गर्न सक्दिनँझैं लाग्न थालेको उनको भनाइ छ।
‘नागरिकता बनाएर थप अध्ययनका लागि विदेश जाने सोच थियो, त्यो अधुरै रह्यो,ʼ उनले भने, ‘हरेक काममा नागरिकता चाहिन्छ, त्यही छैन।ʼ
विदेश जान नपाउने भएपछि यतै पढ्न परिवारले आग्रह गरे। उनी इन्जिनियर पढ्न चाहन्थे। त्यसैले दमकको नाम चलेका कलेजमा बुझ्न पनि गए। भर्ना फारम भर्दा नै उनलाई प्लस टुको ट्रान्सक्रिप्ट र नागरिकताको फोटोकपी मागियो।
नागरिकता तत्काल नबन्ने भएपछि उनले पढ्न पाएनन्।
सामान्य विषयमा अध्ययन गर्न सरकारी विद्यालयमा सुरूवाती चरणमा नागरिकता चाहिँदैन। तर स्नातक पास भएपछि शैक्षिक प्रमाणपत्र लिन चाहिन्छ।
उनी यो कुरा बुझ्छन्। तर इच्छाएको विषयबाहेक राहुल अरू पढ्न चाहँदैनन्।
‘एक/दुई वर्षभित्र बन्यो भने विदेश गएर पढ्छु, नत्र पढ्दिनँ,ʼ उनले भने, ‘यहाँ पढ्दा रोजगारीको अवसर कमै मिल्छ।ʼ
नागरिकता नभएपछि उनी एक वर्षदेखि गाउँमै डुलिरहेका छन्। हरेक काममा नागरिकताले रोकिएपछि अनागरिक भएको महशुस हुन थालेको उनी बताउँछन्।
राहुलले पढ्न छोडेपछि बिर्जुलाई छोराको भविष्य के हुने हो भन्ने कुराले पिरोल्न थालेको छ। उनी छोराको कागजात बोकेर आफ्ना चिनजानका धाए। तर जता धाए पनि निराशबाहेक केही पाएनन्।
‘छोराको भविष्यको लागि जसरी नि नागरिकता बनाउनुपर्थ्यो तर सकिनँ,ʼ बिर्जुले भने, ‘मसँग सबै कागजपत्र छन्, सरकारले बनाइदिँदैन।ʼ
बिर्जुका अनुसार स्कुल कलेजमा उत्कृष्ट नतिजा हासिल गरेका छोराले पढ्न नपाएकाले परिवारमै नैराश्यता छाएको छ। नागरिकता नबनेकै कारण छोराको भविष्य अन्योलमा रहेको उनी बताउँछन्।
‘पढ्न नपाएर मानसिक तनाव झेल्दैछ,ʼ बिर्जुले भने, ‘मानसिक तनावले होला छोराको व्यवहार नै फेरिएको छ।ʼ
नागरिकता नहुँदा पढ्न मात्र होइन काम गर्नसमेत पाएको छैन्। पढ्नुपर्ने उमेरमा छोरा बेकामे भएर हिँडेको देख्दा बिर्जु रातभर निदाउन सक्दैनन्। ‘कहिलेकाहीँ छोरा नागरिकता भएन किन बाँच्नु भन्दै रून्छ, त्यस्तो भन्दा पनि केही गर्न सकेको छैन,ʼ उनले भने।
जेठा छोराको नागरिकता नबनेपछि कान्छो छोराले पनि पढाइमा रूची देखाउन छोडेकाले बिर्जुलाई पिरोल्न थालेको छ।
बिर्जुका कान्छो छोरा १७ वर्षीय रोहन अहिले कक्षा ११ मा पढ्छन्।
‘राम्रो अध्ययन गर्थ्यो। स्नातक अध्ययन गर्न पाउने होइन भन्दै पढाइमा रूची राख्न छोडेको छ। सबैभन्दा महत्वपूर्ण कागजात नै बनाउन सकेको छैन,ʼ उनले भने, ‘बुढाबुढी नेपाली नागरिक हौं, सन्तान अनागरिक भएका छन्।ʼ
उनीसँग जन्मसिद्ध नागरिकता छ। बिर्जुको बुबाको पनि जन्मसिद्ध नागरिकता हो। उनका दाजुभाइ-दिदीबहिनीदेखि श्रीमतीलेसम्म नागरिकता लिएकी छन्। तर उनका दुई छोराले नागरिकता पाएका छैनन्।
दमककै पुरानो मानिसलाई सोधपुछ गरी नागरिकता दिँदा हुने उनको भनाइ छ।
‘सरकारले हामी नेपाली नै होइनजस्तो व्यवहार देखाइरहेको छ,ʼ उनले भने।
नागरिकता नहुँदा उच्च शिक्षा पढ्न, बैंकमा खाता खोल्न, राहदानी बनाउन, मतदाता परिचय पत्र बनाउन, विदेश जान नागरिकता, सरकारी सेवा सुविधालगायत सम्पूर्ण सेवाबाट छोरा बञ्चित हुनु परेको दु:ख पोख्छन्।
‘अहिले कतै जागिर पाउन आफूसँग लाइसेन्स हुनुपर्छ, नागरिकता नभई लाइसेन्स बन्दैन,ʼ उनले भने, ‘हरेक ठाउँमा नागरिकता चाहिन्छ। त्यही छैन, त्यो नहुँदा कति गाह्रो हुन्छ भोग्नेलाई मात्र थाहा हुन्छ।ʼ
नागरिकता साथमा भएकालाई यो समस्या सामान्य लाग्ला। तर जो व्यक्ति वर्षौंदेखि नागरिकताविहीन भएर सबै सेवा सुविधाबाट वञ्चित छ, उसको लागि योभन्दा ठूलो पीडा अरू केही नहुने उनको भनाइ छ।
छोराहरूको उमेर बढ्दै जाँदा झन चिन्ता पर्न थालेको उनी बताउँछन्।
‘दु:ख गरेरै भए पनि उनीहरूलाई पढाउने सपना थियो, नागरिकता नबन्दा अधुरै रह्यो,ʼ उनले भने।
२०७२ सालमा जारी भएको नेपालको संविधानले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका सन्तानले बालिग भएपछि वंशज नागरिकता पाउने भनी स्पष्ट व्यवस्था गरेको छ। त्यही नियम कार्यान्वयन गरिदिए छोराको नागरिकता बन्थ्यो भन्ने आशामा छन्।
‘छोराहरूको भविष्य नबिग्रँदै नागरिकता बनिदिए हुन्थ्यो,ʼ उनले भने, ‘राहुलजस्ता हजारौं युवालाई आपराधिक क्रियाकलापबाट रोक्न सरकारले समयमै केही ठोस निर्णय लिनुपर्छ।ʼ
यही जन्मेका हुर्केकालाई सरकारले अनागरिकजस्तो व्यवहार गरे नागरिकताविहीन भएका युवाले आपराधिक क्रियाकलापमा लाग्ने उनको भनाइ छ।