लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोले ६ जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए।
काठमाडौं उपत्यकामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गरेका व्यक्तिहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
६ जनाबाट खैरो हेरोइन ३१२.५४० मिलिग्राम बरामद गरेको हो।
गत मंगलबार दिउँसो बौद्ध टुसालस्थित एक होटलको कोठा नम्बर १०३ बाट २० ग्राम खैरो हेरोइन, एउटा डिजिटल तराजु र ७ लाख ४० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको थियो।
झापाको बिर्तामोड नगरपालिका-६ बस्ने २७ वर्षीय किरण कन्दङवालाई पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरेपछि अनुसन्धान गरी यस कारोबारको नेटवर्कमा संलग्न रहेका व्यक्तिहरूको खोजी गरी थप व्यक्तिलाई पक्राउ गरेको एसपी जोशीले बताए।
गत बिहीबार काठमाडौं महानगरपालिका-९ शम्भुमार्गबाट ८४ ग्राम खैरो हेरोइनसहित बिर्तामोड-४ कै २८ वर्षीय विजय लिम्बुलाई पक्राउ गरेको थियो। त्यही साँझ चन्द्रगढी नगरपालिका-८बाट २९ वर्षीय राम भन्ने माधव मेचे र वडा ४बाट बिनोद लिम्बुलाई पक्राउ गरेको थियो।
त्यसैगरी शुक्रबार भद्रपुर नगरपालिका-८ बाट १९४ ग्राम ५४० मिलिग्रामसहित भारतको दार्जलिङ सोनापिन्टीका २२ वर्षीय शिव घोष र २६ वर्षीया श्यामली सोरेनलाई पक्राउ गरेको हो।
एसपी जोशीका अनुसार यसरी खैरो हेरोइन उपलब्ध गराउने मुख्य व्यक्तिहरू नै भारतीय नागरिक हुन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।