राष्ट्रिय महिला आयोगमा केही वर्षअघिसम्म घरेलु तथा यौन हिंसाका उजुरी लिएर धेरै महिला पुग्ने गर्थे। आयोगले ती उजुरीमाथि आवश्यक छानबिन र छलफल गरेर किनारा लगाउँथ्यो।
पछिल्लो समय भने आयोगमा आउने उजुरीको प्रकृति फेरिएको छ। अहिले आयोगमा महिलाहरू मात्र होइन पुरूषहरू पनि पुग्ने गरेका छन्। आयोगमा पुग्नेहरूमध्ये धेरैका उजुरी विवाहोत्तर सम्बन्धबारे हुन्छन्।
एक वर्षअघि काठमाडौंकी सीता (नाम परिवर्तन) आफूमाथि कुटपिट गरेको भन्दै श्रीमान सुजल (नाम परिवर्तन) विरूद्ध उजुरी लिएर आयोग गएकी थिइन्।
एकसाता अघि २५ वर्षीया मीना (नाम परिवर्तन) पनि अभद्र व्यवहारको मुद्दा लिएर आयोग पुगिन्। मीनाले जसका विरूद्ध उजुरी दिएकी थिइन् ती पुरूष तिनै थिए जसविरूद्ध एक वर्षअघि सीताले पनि उजुरी हालेकी थिइन्।
सीताको उजुरी दर्तापछि अनुसन्धानको क्रममा सुजलको मीनासँग सम्बन्ध रहेको खुलेको थियो। त्यसपछि मीनालाई बोलाएर आयोगले उनीसँग टाढिन सुझाव दिएको थियो।
‘विवाहित पुरूष भन्ने थाहा पाएपछि मीना उनीसँग टाढिन राजी भइन्,ʼ आयोगकी प्रवक्ता चमिला भट्टराईले भनिन्, ‘सुजलले भने उनलाई पछ्याइरहेका छन्।ʼ
लामो समयसम्म सुजलले मानसिक तनाव र सम्बन्धमा रहन दबाब दिदै आएपछि त्यही कारण उनी सुजलविरूद्ध उजुरी लिएर आयोग पुगेकी हुन्।
परिवार र श्रीमतीकै अगाडि सुजल खुलेर प्रेमिकाबारे बोल्छन्। श्रीमतीसँग सम्बन्धविच्छेद गरी प्रेमिकासँग विवाह गर्न चाहेको पटक-पटक सुनाएका छन्। तर परिवारले त्यस्तो गर्न चाहँदैनन्।
त्यही कारण सुजललाई पुन: त्यस्तो गल्ती नगर्न सल्लाह सुझाव दिइएको छ। मीनालाई सताउने काम गरे कानुनी कारबाही अगाडि बढाउने चेतावनी दिएर उनलाई छोडिदिएको प्रवक्ता भट्टराईले जानकारी दिइन्।
‘गल्ती दोहोरिएमा प्रहरीलाई पक्राउ गरी थुनामा राख्न पत्राचार गर्छौं। पहिलोपल्ट भएकाले अहिले छलफल गरी सहमतिमै कागज गराएर छोडिदिएका हौं,ʼ उनले भनिन्।
सुजल, मीना र सीताजस्ता पात्रका उजुरी अहिले आयोगमा दिनहुँ आइरहने प्रवक्ता भट्टराईले बताइन्।
बुढानिलकण्ठ नगरपालिका-९ की ३७ वर्षीया सानीमाया (नाम परिवर्तन) र ४० वर्षीय वीर (नाम परिवर्तन) एक अर्कोलाई दोषारोपणको गुनासो लिएर आयोग आएका थिए।
दुबै शिक्षित र सक्षम व्यक्ति थिए। उनीहरूकै राजी खुसीमा एक वर्षअगाडि विवाह भएको रहेछ। तर अहिले दुबै जना एक-अर्कोकोसँग बोल्नसमेत रूची नभएको बताए।
आयोगका कर्मचारीसँग दुबै जनाले एक अर्कोलाई सामाजिक सञ्जालमा त्योसँग बोल्छे, योसँग बोल्छ भन्दै आरोप लगाए। उनीहरूसँग लामो समय छलफल भयो।
छलफलको क्रममा छुट्टा-छुट्टै कोठामा राखेर कुरा गर्दा दुबैको बाहिरी सम्बन्ध भएको खुल्यो। त्यही कारण उनीहरूबीच मनमुटाव र मानसिक तनाव भएको थियो। उनीहरू अब सम्बन्ध सुधार्ने होइन टुंग्याउनतिर लागेका छन्।
‘आफ्ना गल्ती सुधार्नभन्दा सम्बन्ध टुंग्याउन चाहेको देखिन्छ,ʼ प्रवक्ता भट्टराईले भनिन्, ‘एक हप्तासम्म सोच्ने समय दिइएको छ। त्यतिबेलासम्म यही निर्णय कायम गरे कसरी छुट्टिने भन्नेबारे छलफल गर्छौं।ʼ
दुबै जना परिपक्व भए पनि विवाहोत्तर सम्बन्धले उनीहरूलाई समस्या भएको र परिवारले समस्या समधान गरेर अगाडि बढ्न भने पनि उनीहरूले एकअर्कोप्रति चासो नदेखाएको प्रवक्ता भट्टराईले बताइन्।
‘बाहिरी सम्बन्ध बनाएका श्रीमानले श्रीमतीको हेरचाह नगर्ने तथा झै-झगडा गरिरहने गरेको देखिन्छ,ʼ उनले भनिन्, ‘महिलाको हकमा पनि त्यस्तै देखिन्छ।ʼ
गत आइतबार पनि आयोगमा त्यस्तै अर्को उजुरी आयो।
दाङ घर भई सामाखुसी बस्दै आएकी ३२ वर्षीया मीरा (नाम परिर्वतन) श्रीमानसँग सधैं झै-झगडा र मनमुटाव हुने भएपछि उजुरी दिन आयोग आइपुगिन्।
उजुरी दर्ता गरेपछि दुबै पक्षबीच कुराकानी भयो।
कुराकानी गर्ने क्रममा आयोगका कर्मचारीको अगाडि उनका श्रीमानले घरपरिवार, छोराछोरीलाई समय नदिएको आरोप लगाए। उनले घरमा सहयोग नगरेको, वेवास्ता गरेको, मानसिक तनाव दिइएको, दिनहुँ झगडा गर्ने गरेको आरोप लगाइन्।
दुबैले एक अर्काको गल्ती देखाउँदै आरोप-प्रत्यारोप गरे। तीन घन्टासम्म त्यही शिलशिला चल्यो। त्यसपछि एक्लै-एक्लै राखेर कुरा गर्दा दुबैले बाहिरी सम्बन्ध रहेको आयोगका मनोविमर्शकर्तासँग खुलाए।
श्रीमानले सधैं झगडा गरिराख्ने भएकाले अरूको साथ खोजेको मीराको भनाइ थियो। उनका श्रीमानको भनाइ पनि त्यस्तै थियो।
आयोगको सल्लाहमा दुबैलाई एक हप्ता सोच्ने समय दिइएको छ। उनीहरूले आफ्नो निर्णय परिवर्तन नगरी आए कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने आयोगकी प्रवक्ता भट्टाराईले बताइन्।
‘अचेल धेरैजसो उजुरी विवाहोत्तर सम्बन्ध नै मुख्य कारण देखिन्छ,ʼ उनले भनिन्, ‘बाहिरी रूपमा जे-जे भने पनि भित्री कारण त्यही हुन्छ।ʼ
विवाहपछिको अन्य महिला-पुरूषसँगको सम्बन्ध गलत भएको बताउँदा पनि अहिलेका युवा-युवती ती कुरा बुझ्न नखोज्ने गरेको मनोविमर्शकर्ताको अनुभव छ।
दैनिक यस्तै-यस्तै उजुरीमा आयोगमा घन्टौं छलफल गर्छन्, आयोगका मनोविमर्शकर्ता।
तिनैमध्ये एक हुन्, मनोविमर्शकर्ता पार्वती सुवेदी।
उनी दैनिक दुई-तीन जना पीडितसँग छलफल गर्छिन्।
पछिल्लो समय विवाहोत्तर सम्बन्धका उजुरी धेरै आउने गरेको उनले अनुभव गरेकी छन्।
‘प्रेमी-प्रेमिकासमेत यस्ता उजुरी लिएर आउँछन्,ʼ उनले भनिन्।
प्रेमी-प्रेमिका सँगै बस्दा पुरूषले बाहिर सम्बन्ध बनाएपछि उजुरी दिन आउँछन्। परिवारलाई थाहा भएको र आर्थिक सहयोग गरेका महिला-पुरूष यस्ता समस्या लिएर आयोग आउने गरेका छन्।
उनका अनुसार कतिपय महिला विवाहपछि ठगीमा परेको भन्दै आउँछन्।
विदेशमा बस्ने तथा विदेशीसँग विवाह गरेपछि श्रीमान रकमसहित भागेको, आफूलाई विदेश नलगेका घटनासम्बन्धी उजुरी पनि आयोगमा बढिरहेका छन्।
पाँच-सात वर्षअघिसम्म श्रीमानले कुटपिट गरेका, घरेलु हिंसामा परेका उजुरी धेरै आउँथे। अहिले बाहिरी सम्बन्धका कारण मनमुटाव हुने, झै-झगडा हुने, मानसिक तनावका उजुरी बढी आउन थालेका उनले अनुभव गरेकी छन्।
‘घर झगडाका उजुरी पनि आउँछन्, तर त्यो घर झगडाको कारण विवाहोत्तर सम्बन्ध नै हुन्छ,ʼ उनले भनिन्।
विवाहोत्तर सम्बन्ध राख्नु मुख्य कारण धेरै श्रीमान-श्रीमतीले आर्थिक सहयोग नपाएको, एकअर्कोलाई नबुझेको, गलत व्यवहार गर्ने गरेको, नियममा बाँधिनु परेको, आवश्यक सहयोग तथा माया नपाएको मनोविमर्शकर्ता सुवेदीलाई बताउँछन्।
कतिपय रोजगारीको खोजीमा विदेशिनु, घरेलु हिंसा, कष्टकर जीवन, श्रीमान-श्रीमतीबीच लैंगिक विभेद, यौनिक हिंसा, आर्थिक वा सांस्कृतिक हिंसा पनि यसमा जोडिएका छन्।
यीसँगै सामाजिक सञ्जाल र सञ्चार साधनमाथि बढेको पहुँचले पनि विवाहोत्तर सम्बन्धको अनुपात बढेको हुनसक्ने उनी बताउँछिन्।
‘एक अर्काका स-साना गल्ती सुधार्नेतिर भन्दा विकल्प खोज्नेतिर लागेको देखिन्छ,ʼ उनले भनिन्।
आयोगकी प्रवक्ता भट्टराईका अनुसार यस्ता सम्बन्ध बनाउनेमा महिला-पुरूष दुबैको संख्या उस्तै देखिन्छ। मागी विवाह वा प्रेम विवाह दुबैमा यस्तो समस्या देखिएको उनको भनाइ छ।
आयोगले उनीहरूलाई सोच्ने समय दिँदा दश जनामा एक/दुई जनाले मात्र मिल्ने कुरा गर्छन्, धेरैजसोले छुट्टिने निर्णय गर्छन्। छुट्टिन चाहनेलाई अदालतमा पत्राचार गरी नि:शुल्क मुद्दा लड्न आयोगले सहयोग गर्छ।
प्रवक्ता भट्टराईले बाहिरी सम्बन्धका घटनाले झगडामात्र नभई घरेलु हिंसा निम्त्याउने गरेको बताइन्।
विवाहोत्तर सम्बन्धकै कारणले उजुरी आएको भनेर आयोगले छुट्टै तथ्यांक राखेको छैन। तर अधिकांश हिंसाको जड त्यही हुने गरेको प्रवक्ता भट्टराईले बताइन्।
आयोगमा चालु आर्थिक वर्ष २०७९/०८० को चैतसम्म ६ सय ५७ उजुरी परेका छन्। तीमध्ये ५ सय ९२ घरेलु हिंसाका र ६५ महिला हिंसाका छन्।
विगत पाँच वर्षको तथ्यांक हेर्दा २०७८/०७९ मा १ हजार ४ सय ६४ उजुरी परेका थिए। तीमध्ये १ हजार ३१८ घरेलु हिंसा, १ सय ४६ महिला हिंसाका उजुरी थिए।
२०७७/०७८ मा १ हजार ५ सय ७५ उजुरी आयोगमा परेका थिए। त्यसमध्ये घरेलु हिंसा १ हजार ३ सय ५५ र २२० महिला हिंसाका उजुरी थिए।
त्यस्तै, २०७६/०७७मा १ हजार १ सय ९ उजुरी आयोगमा परेका थिए। तीमध्ये ९६९ घरेलु हिंसा र १४० महिला हिंसा थिए भने २०७५/०७६ मा १ हजार ४ सय ६१ उजुरी परेका थिए। त्यसमा १ हजार ३ सय ३ घरेलु हिंसा र १ सय ५८ महिला हिंसाका उजुरी थिए।
२०७४/०७५ मा भने ८ सय ८३ उजुरी परेका थिए। तीमध्ये ७ सय ४६ घरेलु हिंसा र १ सय ३७ महिला हिंसाका उजुरी आयोगमा आएका थिए।