काठमाडौंको माइतीघरमा यौन हिंसामा परेको भनी न्याय माग गर्दै ९ दिनदेखि बिनु यादव अनशनमा बसेकी छन्।
वैशाख २७ गतेदेखि सुरू भएको उनको अनशन बिहीबार नवौं दिन पुगेको हो। उनले सर्वोच्च अदालत अगाडि बसेर अनशन सुरू गरेकी थिइन्। तर त्यसदिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर ९ घण्टापछि छाडेको थियो।
प्रहरीले छाडेपछि उनी बसन्तपुरमा गएर अनशनलाई निरन्तरता दिइन्। त्यस रात उनले त्यहीँ कटाएकी थिइन्।
उनले ६ बुँदे माग राखेकी छन्।
पहिलो बुँदामा उनले प्रहरी वृत्त कालिमाटीका तत्कालीन डिएसपी सुरज कार्की लगायतलाई कारबाही गर्न माग गरेकी छन्। २०७५ सालमा आफूले कालिमाटी प्रहरीमा दिएको जबरजस्ती करणीको उजुरी जबरजस्ती फिर्ता गर्न लगाएको भन्दै डिएसपी कार्की लगायतमाथि अनुसन्धान तथा कारबाही गर्न माग गरेकी हुन्।
साथै उजुरीपछि थापाथलीस्थित प्रसुति गृहमा गरिएको स्वास्थ्य परीक्षणका आधारमा अनुसन्धान गरी आफूमाथि बलात्कार गर्नेलाई कारबाही गर्न समेत माग गरेकी छन्।
दोस्रोमा आरोपित व्यक्तिले बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र समेत गरेको उनले उल्लेख गरेकी छन्।
‘बलात्कारको हदम्याद कटाउन म उपर विवाहको षड्यन्त्र गरी सजायबाट बच्ने र मलाइ बेवारिसे बनाउने मेरो इच्छाविपरीत सम्बन्ध विच्छेद गराउने न्यायबाट वञ्चित गराउने न्यायाधीश बद्रीप्रसाद ओलीलगायतलाई कारबाही गरिपाउँ,’ दोस्रो बुँदामा उल्लेख छ।
त्यस्तै आफ्नो घटनाको सुरूदेखि अनुसन्धान गरी उचित न्याय दिलाउन तेस्रो बुँदामा माग गरेकी छन्।
काका ससुरा पवन कठायतले बलात्कारको प्रयास गरी बारम्बार यातना र हिंसा दिएकाले इजलाशमै विषसमेत पिउन बाध्य बनाएको उनको आरोप छ। कठायत र सफाइ दिने न्यायधीशलाई कारबाही गर्नुपर्ने उनको माग छ।
आपराधिक क्रियाकलापबाट बच्न विवाह गरेर बचिसकेपछि सजिलै उन्मुक्ति पाउन सम्बन्धबिच्छेद गर्ने प्रवृत्ति बन्द गराउन पनि उनको माग छ।
‘अदालतमा हुने भनसुन अनि किनबेच प्रवृत्तिलाई रोक्न राज्यले कडा कदम चालोस्,’ छैटौं बुँदामा उनले लेखेकी छन्।
उनले आफ्ना माग पूरा नभएसम्म अनशन नतोड्ने बताएकी छन्।
उनी न्याय माग्दै सडकमा आएको पहिलो पटक भने होइन। माग पुरा नगरेको भन्दै उनले सर्वोच्च अदालतमा रातो रंग छ्यापेर पनि विरोध गरेकी थिइन्।
‘धेरै पटक आस देखाइयो। अब न्याय नपाएसम्म सडकबाट हट्दिनँ,ʼ बिनु यादवले भनिन्,‘ चार वर्ष अदालत धाइसकेँ।’
बिनु २०७५ साल रामेछाप मन्थलीका प्रदिप कठायतसँग प्रेममा परेकी थिइन्। विवाह नहुँदै गर्भ बसेपछि गर्भपतन गराएकी थिइन्।
‘गर्भपतन गराउँदाको घाउ निको नहुदै जबरजस्ती यौनसम्बन्ध राखेँ,ʼ बिनुले भनिन्, ‘त्यसपछि यौनसम्बन्धको लागि मात्र मायाको आश देखाएको महसुस भयो।ʼ
त्यसपछि उनी २०७६ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा प्रदीपविरूद्ध बलात्कारको उजुरी लिएर पुगेकी थिइन्।
प्रदीप र उनको परिवारले उजुरी फिर्ता लिन बिनुलाई धम्की दिएको आरोप छ।
‘विवाह गर्ने निर्णय गरेपछि उजुरी फिर्ता लिएँ,ʼ उनले भनिन्, ‘त्यसपछि प्रदिपसँगै बस्न थाले।ʼ
प्रदिपले आफूलाई भक्तपुरस्थित काकाको घरमा लगेर राखेको पनि उनले आरोप लगाएकी छन्। सँगै बसेको ६ महिनापछि मंसिर ०७६ मा विवाह भएको थियो। विवाहपछि प्रदिपले उनलाई रामेछाप लिएर गएका थिए।
बिनुलाई प्रदिपले काका ससुरा घरमा राखे। काका ससुरा पवन कठायतले उनीमाथि जबरजस्ती गरेको उनको आरोप छ।
तर उनका श्रीमान प्रदीपले उल्टै आफुले मानसिक र शारीरिक यातना सहनुपरेको भन्दै ७ असोज ०७७ मा जिल्ला अदालत रामेछापमा मुद्दा दर्ता गराएका थिए।
७ वैशाख ०७९ मा न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले प्रदीपकै पक्षमा फैसला सुनाएको थियो। त्यसपछि प्रदिपले जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा चलाएका थिए। त्यो पनि प्रदिपकै पक्षमा फैसला भयो। आफ्नो इच्छाविपरित सम्बन्धविच्छेद गराउन खोजिएको बिनु बताउँछिन्।
‘जिल्ला अदालत रामेछापले सम्बन्धबिच्छेद भयो भनेर निर्णय गरिसकेको छ, तर मैले सिग्नेचर गरेकी छैन्,ʼ उनले भनिन्।
उनी १६ असार ०७९ मा जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिइन्। उनको मुद्दामा विचराधीन छ। अदालतले मुद्दा पेशीसमेत नराखी बेवास्ता गरेको भन्दै अनशनमा बसेको उनी बताउँछिन्।
त्यस्तै, उनले ७ वैशाख ०७९ मा काका ससुरा पवन कठायतविरूद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर गरिन्। उक्त मुद्दामा पनि जिल्ला अदालतले कठायतलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दियो। तर न्यायाधीश इन्दिरा शर्माको इजलासले जबरजस्ती करणीको आरोप प्रमाणित नहुने ठहर गर्दै गत फागुनमा पवन कठायतलाई सफाइ दियो।
उक्त फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएकी छन्। उक्त मुद्दा पनि विचराधीन छ।
दुबै मुद्दामा अहिलेसम्म अगाडि नबढाइएकाले अनशन बस्न बाध्य भएको बिनुले बताइन्।