पशुपति आर्यघाटमा शव ल्याउनासाथ सुन्दर महत आफन्तलाई सोध्न पुगिहाल्छन् -आँखा दान गर्नुहुन्छ?
यो प्रश्न सुन्दा धेरै जना आक्रोशित हुन्छन्, केही आफन्तले दान नगर्न भन्छन्।
आँखा दान गर्दा हुने फाइदाबारे जानकारी दिँदा डाक्टर महतको टोलीले मुस्किलले हप्तामा दुई-तीन जना भेट्छन्।
शोकमा परेका आफन्त र परिवारलाई आँखा दानका लागि आग्रह गर्नु आफैंमा चुनौतीपूर्ण काम हो। कतिलाई त आँखा दानबारे राम्रोसँग थाहा पनि हुँदैन।
तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक आँखा दानका परामर्शदाता ३६ वर्षीय महत भन्छन्- दान गर्नेभन्दा पूर्ण आँखा सम्झिन्छन्। तर नानीको बाहिरी भाग झिल्लीमात्र निकाल्छौं। बुझाइको कमीले धेरैले दान गर्न मान्दैनन्।
उनका अनुसार आँखाको झिल्ली निकाल्दा स्वरूपमा कुनै परिर्वतन हुँदैन। धेरै जनाले पुरै आँखा निकाल्दा बितिसकेको भए पनि आफ्ना मान्छेको स्वरूप बिग्रन्छ भन्ने सोच्छन्।
आर्यघाटमा शव लिएर आउने मान्छे शोकमा हुन्छन्। महतको टोलीले उनीहरूसँग आँखा दान माग्दा कैयौं पटक गाली, आक्रोश र तीता शब्द व्यहोर्नु परेको छ। ती कुराबाट विचलित नभएर उनीहरू आफ्नो काम गरिरहेका छन्।
‘एउटा व्यक्तिले आँखा दान गर्दा चार जनासम्म दृष्टिविहीनले उज्यालो देख्न पाउँछन्,ʼ महत भन्छन्, ‘जब हामीले निकालेका आँखाले कुनै मानिसले संसार देख्छ, आर्यघाटको त्यो आक्रोश र गाली बिर्सिइन्छ। राम्रा आँखा जलेर नष्ट हुँदा नराम्रो लाग्छ।ʼ
महत १२ वर्षदेखि आँखाको नानी झिक्ने काम गरिरहेका छन्। उनको साथमा ईश्वर पराजुली र राजु राजवाहक हुन्छन्। उनीहरू महतसँग जोडिएको ८ महिना पुग्यो। उनीहरू आँखाको नानी कसरी झिक्ने भन्नेबारे अभ्यास गरिरहेका छन्।
गत शुक्रबार बिहान पनि उनीहरूले आफन्तको शव ल्याएर आएका धेरै जनासँग आँखा दान गर्नुहुन्छ कि भनेर सोधे। धेरै जनाले हुन्न भने।
एक जना डाक्टरकै परिवारले ६७ वर्षीय पुरूषको शव जलाउन ल्याएका थिए। उनी काठमाडौं महानगरपालिका-६का स्थानीय रहेछन्। केहीबेर काउन्सिलिङ गरेपछि उनका परिवारले आँखाको नानी दिन माने।
त्यसपछि महतको टोलीले मृतकको आँखा हेरे। आँखाको भिजन राम्रै भएकाले २० मिनेटमा नानीको भाग झिके।
पशुपति आर्यघाटमा मात्रै प्रतिष्ठानले महिनामा १५ देखि २० शवको आँखाको नानी निकाल्छ। पशुपति आर्यघाटमा नानी निकाल्न थालेको ८ वर्ष भयो।
पशुपतिसँगै चार ठाउँ (टिचिङ, पाटन, गंगालाल, वीर अस्पताल) बाट नानी संकलन गरिन्छ। सबैभन्दा धेरै संकलन हुने ठाउँ पशुपति आर्यघाट रहेको महतले बताए।
‘दान दिन चाहने सबै व्यक्तिको नानी निकाल्न मिल्दैन। विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ,ʼ उनले भने।
२ देखि ७० वर्षसम्मका व्यक्तिको आँखाको नानी निकाल्न मिल्छ। कुनै दीर्घरोग नलागेको र आँखाको भिजन क्लियर भएको हुनुपर्छ।
‘पशुपतिमा फरक-फरक समुदायका व्यक्तिलाई जलाउन ल्याइन्छ। कसैले शव छुनै दिँदैनन्,ʼ उनले भने, ‘पशुपतिको वनमा गाड्न ल्याइएका शव जुत्ता चप्पल लगाएर छुन दिइँदैन।ʼ
सरदरमा यहाँ वार्षिक ६ सय जनाले आँखाको नानी दान दिन्छन्। यी आँखाबाट १२ देखि १५ सय जना दृष्टिविहीन लाभान्वित हुन्छन्। नेपालमा वार्षिक ७ हजार आँखाको नानी माग छ।
अहिले आँखाका बिरामी बढेका छन्। ७० प्रतिशत मान्छे कृषि पेशामा निर्भर छन्। उनीहरू धुलो-धुवाँ, वन जंगल तथा माटोको काम गर्छन्। त्यसकारण आँखामा चोटपटक लाग्न सक्ने जोखिम हुन्छ।
‘सामान्य चोटपटक लाग्दा अस्पताल आउँदैनन्, आँखा देख्न छोडेपछि मात्र आउने गर्छन्,ʼ महतले भने।
आँखा पाक्ने, दादुरा, टाइफाइड, बिफर तथा कुपोषणले आँखाको नानीमा समस्या ल्याउन सक्छ। त्यस्ता समस्याले दृष्टिविहीन बनाउने गरेको उनले बताए। अधिकांश आँखाका बिरामी मोतिविन्दुका हुन्छन्।
तिलगंगा आँखा प्रतिष्ठानका आँखा बैंक म्यानेजर शंखनारायण त्वायना आँखा दान गर्नुपर्छ भन्नेबारे चेतना फैलाउन नसकिएको बताउँछन्।
आँखा दान किन गरिन्छ, त्यसले के फाइदा पुग्छ, आँखा दान के हो र कसरी गरिन्छ भन्ने कुरा थाहा नभएकाले आफन्तहरू आँखा दिन इच्छुक नहुने उनको बुझाइ छ।
देशभर आँखाको नानी संकलन केन्द्र पनि छैनन्।
‘यसबारे जनचेतना फैलाउन जरूरी छ,ʼ उनले भने, ‘पशुपतिमा जलाउन ल्याइने ५० प्रतिशतले नानी निकाल्न दिए आधा दृष्टिविहीनले अँध्यारोबाट मुक्ति पाउँथे।ʼ
पशुपतिजस्तै धेरै संख्यामा शव जलाइने ठाउँमा संकलन केन्द्र सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
पशुपतिमा संकलन गरिएका नानी देशभरका आँखा अस्पतालमा पठाउने गरिन्छ।
आँखाका बिरामीलाई मेची नेत्रालय, विराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, सिद्धार्थ आँखा अस्पताल, दिव्य दृष्टि, भरतपुर आँखा अस्पताल, पोखरा आँखा अस्पताल, गेटा आँखा अस्पतालमा उपचार गरिन्छ। यी अस्पतालमा नानी प्रत्यारोपण पनि हुन्छ।
नानी निकालेको १४ दिनसम्म राख्न मिल्छ। तर प्रत्यारोपण हुने अस्पतालमा बिरामी यति धेरै छन् कि चार-पाँच दिन पनि रहँदैन।
‘मृतक शरीरबाट निकालेको आँखाको नानी जुनसुकै उमेर समूहलाई दिन मिल्छ,ʼ त्वायनाले भने, ‘आँखामा रक्तसञ्चार नहुने भएकाले सजिलै निकाल्न सकिन्छ। आँखाको नानी प्रत्यारोपण गर्न टिस्यू म्याच हुनु पर्दैन।’
आँखा प्रत्यारोपण गरेको व्यक्तिलाई कसको आँखा हालेको भनेर खुलाइँदैन। खुलाएमा जातीय विभेद हुने, आँखा निकाल्नेको आफन्तले पैसा माग्ने लगायतका समस्या हुनसक्ने भएकाले नखुलाइने गरिएको त्वायनाले बताए।
आँखा प्रत्यारोपण गरेबापत् नेपालमा कुनै शुल्क लाग्दैन तर, औषधी र अस्पतालमा बसेको खर्च बिरामीले तिर्नुपर्छ। आर्थिक अवस्था न्यून भएका व्यक्तिले नि:शुल्क सेवा पाउँछन्।
नि:शुल्क पाइन्छ भन्ने कुरा थाहा नभएकै कारण ग्रामीण क्षेत्रका आँखाका बिरामी उपचार गर्न नआउने गरेको उनको भनाइ छ।
आँखा बैंकले २९ वर्षदेखि यो सेवा दिँदै आइरहेको छ।
सन् १९९४ मा आँखा बैंक स्थापना भएको थियो। स्थापनाकालमा एक व्यक्तिबाट दुई वटा नानी प्राप्त भएको थियो। स्थापना भएको पाँच वर्षसम्म आँखा दान गर्ने भेटिन्थिएनन्। मानिसहरूलाई बुझाउनै सकिएको थिएन।
अहिले वार्षिक ६/७सय जनाले आँखाको नानी दान गर्छन्। २९ वर्षमा ठूलो फड्को मार्न नसके पनि बिस्तारै दान गर्नुपर्छ भन्ने कुरा बुझाउन सकिएको त्वायना बताउँछन्।
चिकित्सा विज्ञानले अहिलेसम्म कृत्रिम नानी बनाउन सकेको छैन। त्यसैले दृष्टिविहीनको जिन्दगीमा उज्यालो ल्याउने एउटा मात्र विकल्प मृत्युपछिको नानी दान नै हो।
जलेर खेर जाने आँखा दान दिनुपर्छ भन्ने सोच बिस्तारै फैलिदै छ। अहिले मृतकको नानी झिक्न नदिए पनि आफ्नो मृत्युपश्चात् दान गर्न चाहनेको संख्या उकालो लागेको छ। अहिले झन्डै एक लाख मानिसले मृत्युपछि आँखादान गर्ने इच्छा व्यक्त गरेका छन्।
इच्छाएका व्यक्ति सबैको मृत्युपछि नानी निकाल्न पाइन्छ भन्ने हुँदैन। किनकी उनीहरू अहिले निरोगी भए पनि पछि कुनै रोग लाग्न सक्छ अथवा मृत्यु हुँदा खबर नहुने उनले बताए।
‘मृत्यु पछि आफन्त शोकमा हुन्छन्, आँखा दान गर्ने भनिएको कुरा बिर्सिन सक्छन्,ʼ त्वायनाले भने।