गत मंगलबार राति १२ बजे। बर्दियाकी ३६ वर्षीय जानकी (नाम परिवर्तन) कुवेत जाने टिकट बोकेर त्रिभुवन विमानस्थलभित्र पसिन्। उनले टिकट काटेको जहाज १:४५ बजे उड्ने तालिका थियो।
जानकीसँग कुवेतको भिजिट भिसा थियो। विमानस्थलबाहिर आफन्त र परिवारसँग विदा मागेर उनी भित्र पसेकी थिइन्। भित्र पुगेकी जानकी जहाजसम्म भने जान पाइनन्। बीचमै नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले उनको पासपोर्ट जफत गर्यो।
सोधपुछका क्रममा जानकीले आफूसँग भिजिट भिसा भए पनि घरेलु काममा गर्न कुवेत जान लागेको स्वीकारिन्। उनले टिकट काटेको जहाज उनलाई छोडेर उड्यो। उनको विदेश जाने सपना तुहियो।
जानकी बुधबार जफत भएको पासपोर्ट लिन ब्युरोको कार्यालयमा पुगेकी थिइन्। हामीले त्यहीँ उनलाई भेट्यौं।
बर्दिया राजापुरकी जानकी कुवेत उड्ने भनेर एक साताअघि काठमाडौं आइपुगेकी थिइन्। गाउँमा बस्दा उनी ज्यालामजदुरी गर्थिन्। श्रीमान् मदिरा सेवन गरेर हिँड्थे। सासु-ससुरा र चार सन्तानको जिम्मेवारी उनलै सम्हाल्थिन्।
उनको गाउँका अरू दिदीबहिनी कुवेत गएका थिए। उनीहरूले राम्रै पैसा पठाउने गरेकाले उनले वैदेशिक रोजगारीमा जाने निधो गरिन्।
गाउँका दाइले सबै व्यवस्था मिलाइदिने भएपछि जानकीले दुई लाख रुपैयाँ ऋण जुटाइन्। सामान्य लेखपढ गर्न जानेकी जानकीलाई वैदेशिक रोजगारीमा जान के-के चाहिन्छ भन्नेसम्म थाहा थिएन। गाउँकै दाइले उनको सबै प्रक्रिया मिलाइदिएका थिए।
प्रक्रिया सुरू गरेको दुई महिनामा उड्ने मिति तय भयो। हजारौं सपना बोकेर उनी काठमाडौं आइन्।
‘छोराछोरी पढाउछु, ऋण तिर्छु भन्ने सोच थियो,ʼ भावुक हुँदै उनले भनिन्, ‘अब विदेश जान पाउँछु कि पाउँदिन थाहा छैन।ʼ
आफू एयरपोर्टबाटै फर्किएको खबर उनले परिवारलाई सुनाउन सकेकी छैनन्।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार जानकीजस्ता सयौं महिलालाई खाडीको भिजिट भिसाले डुबाएको छ।
जानकीजस्तै एयरपोर्टबाट फिर्ता भएकी छन्, सिन्धुपालञ्चोक बलेफीकी २१ वर्षीया शर्मिला (नाम परिवर्तन)।
सोमबार राति १०:४० बजे उनको दुबई जाने टिकट थियो। उनलाई पनि जहाज चढ्न नपाउँदै ब्युरोको टोलीले समात्यो।
बुधबार उनी पनि ब्युरोमै आएकी थिइन्।
‘भुइँ पुछ्ने काममा जान लागेकी थिएँ,ʼ उनले भनिन्।
घरमा उनकी आमा बिरामी भइराख्थिन्। उपचारमा धेरै पैसा सकियो। आर्थिक अवस्थाले कमजोर भएपछि उनले चार महिनाअघि विदेश जाने सोच बनाइन्।
गाउँकै दिदीहरू दुबई गएका थिए। उनीहरूकै सल्लाहमा उनले पैसा जोहो गर्न थालिन्। दिदीहरू गएकै व्यक्तिमार्फत् सबै कागजात बनाइन्। २ लाख रुपैयाँ खर्च भयो।
घरबाट बिदावारि भएर उनी आइतबार काठमाडौं आइन्। सोमबार विमानस्थलमा पुगेर जानै लागेको खबर परिवारलाई सुनाइन्।
केहीबेरमा उनी जहाज चढिनन्, ब्युरोको टोलीको नियन्त्रणमा पुगिन्।
‘म विदेश जान पाइनँ भनेर अब परिवारलाई कसरी भनुँ?,’ यसो भन्दा उनका आँखा रसाएका थिए।
शर्मिला अब गाउँ नफर्कने सोचमा छन्। गाउँका केही दिदीहरू काठमाडौंमा छन्। उनीहरूसँग बसेर केही काम गर्न उनले सोचेकी छन्। ८ कक्षासम्म पढेकी उनलाई एकपटक जसरी पनि विदेश जानु छ।
जानकी र शर्मिलाजस्तै विमानस्थलबाट फर्काइएकी रामेछापकी २८ वर्षीय रोजिना (नाम परिवर्तन) पनि ब्युरोमै भेटिइन्।
गत मंगलबार राति साढे १० बजे उनलाई विमानस्थलबाट फर्काएको हो। राति ११ बजे उनको कुवेत जाने टिकट थियो। तर, भिजिट भिसा भनेर घरेलु काममा जान लागेपछि खुलेपछि ब्युरोले रोक्यो।
उनको पनि व्यथा उस्तै छ। गाउँका दिदी बिहिनीले राम्रो पैसा पठाएका छन् भन्ने सोचले उनी विदेश जान लागेकी थिइन्। गाउँमा विदेश पठाउने चिनजानको व्यक्तिसँग कुराकानी गरिन्।
तिनै व्यक्तिले सबै मिलाइदिएपछि उनी विदेश उड्न काठमाडौं आएकी हुन्।
आफूलाई विमानस्थलमा किन रोकियो भन्ने पनि उनलाई त्यतिबेला थाहा भएन। कागजात पाउनसाथ एक-दुई दिनपछि जान पाउँछु भनेर ढुक्क रहेछिन्। ब्युरोको काउन्सिलिङ पछि उनी अलमलमा परेकी छन्।
‘कागजात मिलाउनेले सब ठिक छ भनेको थियो, खै के बिग्रिएछ, ’ उनले भनिन्, ‘विदेश जान लागे भनेर फोन गरेकी थिएँ, घर कसरी फर्किनु!ʼ
जानकी, शर्मिला र रोजिना प्रतिनिधि पात्र हुन्। उनीहरूजस्तै भिजिट भिसामा खाडी मुलुक जान लागेका दर्जनौं महिलालाई ब्युरोले दैनिक विमानस्थलमा रोक्ने गरेको छ।
एक वर्षमा भिजिट भिसामा खाडी मुलुक जान लागेका २ हजार ६ सय १७ जना महिलालाई फर्काइएको एसएसपी श्रेष्ठ बताउँछन्।
‘वैशाखको २० गतेसम्म एकसय ५५ जना महिलालाई फर्काइएको छ। चैतमा ६ सय ५३ जनालाई फर्काइएको थियो,ʼ उनले भने।
सरकारले महिलालाई खाडी मुलुकमा घरेलु काममा जान रोक लगाएको छ। तर, विभिन्न व्यक्तिले सेटिङ मिलाएर भिजिट भिसामा मानिसहरूलाई पठाइरहेका छन्। पैसा कमाइ हुने आशमा महिलाहरूले दलाललाई पैसा खुवाएका हुन्छन्। उनीहरूमध्ये धेरैलाई खाडीमा पुगेपछि दु:ख पाइन्छ भन्ने पत्तोसमेत हुन्न।
उता गएर समस्यामा परेपछि उद्धार गरिदिन परिवारका सदस्य सरकारी कार्यालय धाउँछन्। कुनै म्यानपावर वा संस्थाबाट नभई व्यक्तिको सम्पर्कमा जाने भएकाले यो धन्दा रोक्न कठिन भएको एसएसपी श्रेष्ठ बताउँछन्।
‘कतिपय महिला दिदीबहिनी उद्धार गर्न नसक्ने देशमा पुगेका हुन्छन्,ʼ उनले भने।
ब्युरोका अनुसार भिसिट भिसामा जानेहरू आफू जान लागेको देशको भाषासम्बन्धी ज्ञान र सीप नै नभई जान खोज्छन्। 'त्यसले उहाँहरूलाई नै समस्या हुन्छ,' एसएसपी श्रेष्ठले भने।
भिजिट भिसामा जानका लागि उक्त देशमा कोही आफन्त हुनुपर्छ। ती व्यक्तिले पठाएको आमन्त्रणसँगै साथमा १ हजार अमेरिकी डलर, हवाई टिकट लगायतका कागजपत्र हुनुपर्छ। पछिल्लो समय नक्कली कागजात बनाएर जानेको संख्या बढेको देखिन्छ। त्यही कारण ब्युरोको टोलीले २४ सै घन्टा एयरपोर्टमा निगरानी राख्छ।
‘के काममा जान लागेकोसमेत थाहा नभएका व्यक्तिलाई मानव बेचविखनको उच्च जोखिममा पर्न सक्ने सम्भावना भएकाले रोकेका हौं,ʼ उनले भने।
उनीहरूलाई सामान्य सोधपुछ गर्दा पनि घरेलु काममा जान लागेको भनिहाल्छन्। त्यस्ता व्यक्ति वैदेशिक रोजगारीमा गएर अलपत्र पर्न सक्छन्। त्यसैले यहीँ रोकेर काउन्सिलिङ गर्ने र सचेत गराउने काम ब्युरोले गर्छ।
‘साँच्चै घुम्न जान रोकेका छैनौं तर घुम्न जाने कागजात बनाएर घरेलु कामकाजमा जानेलाई रोकेका हौं,ʼ एसएसपी श्रेष्ठले भने।