न्युरोड, ठमेल र बसन्तपुर क्षेत्रमा माग्नका लागि बालबालिका तथा वृद्धवृद्धालाई ल्याएर छोड्ने समूहको खोजी थालिएको छ।
पर्यटक आउने सिजनमा ती क्षेत्रका सडकमा माग्नेहरूको संख्या ह्वात्तै बढेपछि सरोकारवालाहरू बालबालिका तथा वृद्धवृद्धालाई सडकमा ल्याएर माग्न लगाउन समूहको खोजीमा लागेका हुन्।
दुई/तीन महिनायता ठमेल क्षेत्रमा माग्न बस्नेको संख्या ह्वात्तै बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए।
‘अहिले धेरै पर्यटक आउने सिजन हो। पर्यटक बढेसँगै माग्ने बालबालिका बढे,’ शर्माले भने, ‘उनीहरू आफैं यहाँ आएका होइनन्, कसैले ल्याएर छोडिदिने गरेका छन्।ʼ
अहिले ठमेल क्षेत्रमा दैनिक ४०/५० जना बालबालिका मागिरहेको अवस्थामा भेटिन्छन्। तीमध्ये १०/१५ जना शारीरिक अपांगता भएका छन्। उनीहरूलाई ठमेलका विभिन्न ठाउँमा ल्याएर छोडिदने र साँझ लिएर जाने गरेको अध्यक्ष शर्मा बताउँछन्।
‘ल्याउने र छोड्ने गरेको व्यवसायीले नै देखेपछि परिषद्ले खोजी कार्य सुरू गरेको थियो। तर, ती मान्छे भेट्न सकेका छैनौं,ʼ उनले भने।
ठमेल आसपासमा माग्ने धेरै भारतीय नागरिक छन्। नेपाली एक/दुई जनामात्र छन्।
शर्माका अनुसार कतिपय भारतीय नागरिकले आफ्ना छोराछोरीलाई माग्न लगाउने गरेको छन्। बा-आमा छोराछोरीको वरिपरि बस्ने र पर्यटक देख्नसाथ पछि लाग्न पठाउने गरेको देखिएको छ। अपांगता भएका व्यक्तिलाई भने कुनै समूहले बिहान ठमेल ल्याएर छोडिदिने र साँझ लैजाने गरेको छ।
‘दैनिक फरक-फरक ठाउँमा ल्याएर छोडिदने गरेको सूचना छ,ʼ शर्माले भने, ‘यहाँ ल्याएर छोडिदिने व्यक्तिलाई पहिचान गर्न सकिएको छैन।ʼ
सडकमा भेटिने बालबालिकालाई सोधपुछ गर्दा उनीहरू आफ्नाबारे खुलाउन चाहँदैनन्। सडकमा मागेकै कारण प्रहरीले नियन्त्रणमा लिन मिल्दैन।
त्यसैले ती बालबालिकालाई व्यवस्थापन गर्न काठमाडौं नगर प्रहरी र ठमेल पर्यटक प्रहरीलाई पत्राचार गरिएको छ।
माग्नकै लागि पर्यटकीय नगरमा बालबालिका प्रयोग गर्न नहुने शर्माको भनाइ छ।
बालबालिका पर्यटकको खुट्टामा झुन्डिएर पैसा माग्छन्। पछ्याइरहेपछि पर्यटक झन्झट मान्छन्। उनीहरूले पछ्याउँदा पर्यटक पसलमा बस्नै नमान्ने व्यवसायीहरूको गुनासो छ।
व्यवसायीले फरक-फरक किसिमका व्यक्ति माग्न आउने गरेको अनुभव सुनाए।
कतिपय मगन्ते बिहान-बेलुका पशुपतिमा बस्ने र दिनभर ठमेलमा आउने व्यवसायी सुदर्शनप्रसाद थपलिया बताउँछन्। ‘कार चढेर आउने दिनभर माग्ने र साँझ फर्किने गर्छन्,ʼ थपलिया भन्छन्, ‘कतिपयले माग्ने पेसा बनाएका छन्।ʼ
कार चढेर माग्न आउने महिला-पुरूष हुन्। बालबालिका भने कोही आफैं आउँछन् भने कतिलाई कसैले ल्याएर छोडिदिएको हुन्छन्। उनीहरूले आफ्नो बारेमा केही भन्दैनन्। सिकाएरै पठाएको जस्तो व्यवहार गर्छन्।
उनले ठमेलमा व्यवसाय सुरू गरेको तीन दशक भयो। दुई /तीन महिना यता धेरै मगन्ते बढेको महशुस गरेका छन्। आर्थिक अवस्था कमजोर भएर माग्न आएको जस्तो देखिदैन।
कोरोना अवधिमा सुनसान थियो। सडकमा माग्ने बालबालिका भेटिदैन थिए। अहिले पर्यटकको चहलपहल बढेसँगै उनीहरूको संख्या बढेको छ।
ठमेलमा माग्ने बालबालिकामध्ये अधिकांश पुरानै व्यक्ति फेरि देखिन थालेको नेपाली टि सपका सञ्चालक श्याम श्रेष्ठ बताउँछन्।
‘अहिले पुरानै अवस्थामा फर्किएको छ। कोभिडपछि हराएका बालबालिका फेरि देखिन थालेका हुन्,ʼ उनले भने, ‘विगतका एक/दुई वर्ष खासै देखा परेका थिएनन्।ʼ
पर्यटक प्रहरीले परिषद्को गुनासोपछि बालबालिकालाई माग्न लगाउने समूहको खोजी गरे पनि पक्राउ गर्न सकेको छैन।
पर्यटक प्रहरीका अनुसार एक साताअघिमात्र एक वृद्ध ह्विलचियर गुडाउँदै ठमेलमा घुमिरहेका थिए। ती व्यक्तिले पर्यटकसँग दिनभर पैसा मागे। पर्यटक प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
उनी वीर अस्पतालमा उपचार गरिरहेका बिरामी रहेछन्। उनलाई आफन्तले दैनिक ठमेलमा ल्याएर छोडिदने र साँझ लगिदिने गरेको पाइयो। यस्ता व्यक्तिलाई पर्यटक प्रहरीले पक्राउ गर्न मिल्दैन। परिचालन गर्ने व्यक्तिलाई नभेटिएको पर्यटक प्रहरीको भनाइ छ।
यता नगर प्रहरीले भने ठमेलमा माग्नेहरूलाई पक्राउ गर्नभन्दा पनि ती बालबालिकालाई दीर्घकालिन व्यवस्थापन गर्न जोड दिएको छ।
माग्नेहरू बढेको खबर पाएसँगै विभिन्न आश्रमसँग छलफल अगाडि बढाइएको छ। ‘काठमाडौंलाई माग्नेरहित बनाउने अभियान चलिरहेको छ। त्यसैले ठमेलमा माग्ने बालबालिकालाई व्यवस्थापन गर्न पहल भइरहेको हो,ʼ काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे भन्छन्, ‘परिषद्ले माग्ने बालबालिकालाई व्यवस्थापन गर्न पटक-पटक आग्रह गरिरहेको छ। त्यसलाई ध्यानमा राखेर काम भइरहेको छ।ʼ
पाण्डेका अनुसार अहिले उपत्यकाको मानव आश्रममा क्षमताभन्दा बढी बालबालिका छन्। त्यहीकारण तत्काल उनीहरूलाई व्यवस्थापन गर्न नसकिएको बताउँछन्।
‘काठमाडौं उपत्यकालाई माग्नेरहित बनाउने भने पनि स्रोत र साधन अभाव भएकाले पुरा हुन सकेको छैन,ʼ उनले भने।