गत आइतबार साँझ भुकटीमण्डपको राष्ट्रिय अपांग कोषको परिसरभित्र भेटिए, ५५ वर्षीय साइँला कैती। उनी प्लास्टरको खुट्टा मेसिनमा घोट्दै थिए। एकैछिनमा प्लास्टरको खुट्टाले चिटिक्कको आकार लियो। झट्ट हेर्दा त्यो मान्छेकै खुट्टाजस्तो देखिन्थ्यो।
साइँलाले यसरी कृत्रिम खुट्टा बनाउन थालेको साढे तीन दशक बितिसकेको छ। अनुभवकै आधारमा अचेल उनी फरक-फरक आकारका खुट्टा फटाफट बनाउन सक्छन्।
प्लास्टरका खुट्टा बनाउने काम साइँलाको पुर्ख्यौली पेसा होइन न त उनले यसबारे कहीँ पढेका र तालिम लिएका हुन्।भक्तपुरको मध्यपुर थिमीका साँइलाले ०४४ सालमा कोषमा कार्यालय सहयोगीको जागिर पाएका थिए।
कार्यालय सहयोगीको जागिर खान आएका साइँलाको बाटो भने अरूलाई हिँड्न सघाउने कृत्रिम खुट्टा बनाउनेतिर मोडियो।
उनले जागिर सुरू गर्दा कोषले खुट्टा गुमाएकाहरूलाई काठका खुट्टा बनाएर दिने गर्थ्यो। काठलाई खुट्टाको आकार दिने सिकर्मी थिए, रामभक्त खड्का। साइँला पनि खड्काले काठका खुट्टा बनाएको हेर्थे। हेर्दाहेर्दै उनले सिक्न थाले।
काठका खुट्टा बनाउने कुरा एउटा काम मात्रै थिएन, कसैको सपना पूरा गर्ने माध्यम थियो। त्यतिबेला अहिलेजस्तो बजारमा कृत्रिम खुट्टा किन्न पाइन्नथ्यो। खुट्टा गुमाएकाहरू हिँड्न सकून् भनेर काठका खुट्टा हालिन्थ्यो। काठका खुट्टा लगाएर दुई-चार पाइला हिँडेपछि ती मानिसका अनुहारमा खुसी छचल्किन्थ्यो। आफ्नो कामले कोही त्यति धेरै खुसी भएको देख्दा साइँलालाई आनन्द लाग्थ्यो। त्यही आनन्दले उनी काममा निरन्तर लागिरहे।
‘काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट थोरै मान्छेमात्र काठका खुट्टा हाल्न आउँथे, दुर्गम क्षेत्रका मानिसलाई थाहै थिएन,’ साइँलाले भने, ‘अहिलेको जस्तो प्रचार-प्रसार गर्न मिल्दैन थियो, नत्र काठको खुट्टा लगाउन धेरै जना आउँथे होला।ʼ
उतिबेला काठको एउटा खुट्टा बनाउन दुई सातासम्म लाग्थ्यो।
‘काठलाई मानिसको खुट्टाको आकार दिन धेरै मेहनत गर्नुपर्छ। एउटा खुट्टा बनाउन दुई हप्ता लाग्थ्यो,ʼ साइँला भन्छन्, ‘पैताला बनाउन उतिस र पिँडुला बनाउन सिमलको काठ राखिन्थ्यो।ʼ
उतिस र सिमलको काठ हलुको हुने भएकाले खुट्टा बनाउन प्रयोग गरिन्थ्यो। पानीबाट बचाउन पैतालाको भागलाई जनावरको छालाले मोर्ने गरिन्थ्यो। त्योबाहेक नट-बोल्ट, रबर, गम र केमिकल चाहिन्थ्यो।
यसरी बनाइएका खुट्टा ५/७ वर्षसम्म टिक्थे। पानीमा हिँड्यो भनेचाहिँ चाँडै पैतलाको भाग खिइन्थ्यो।
‘खुट्टा नहुनेहरूको लागि त्यो राख्न रहर हुन्थ्यो,ʼ उनले भने, ‘खुट्टा नहुनेलाई सिधा उभिनु पनि ठूलो उपलब्धि हो।ʼ
अहिले पनि काठको खुट्टा लगाउने व्यक्ति छन्। उनीहरू कहिलेकाहीँ मर्मत गर्न कोषमा आउँछन्। काठका खुट्टा लगाएकाहरू त्यसैमा सहज महशुस गर्छन्। अरू कृत्रिम खुट्टा राख्न मन पराउँदैनन्।
‘तर अचेल आक्कलझुक्कल मान्छे मात्र आउँछन्, माग नभएकाले लामो समयदेखि काठको खुट्टा बनाएको छैन,ʼ उनले भने।
अहिले अपांगता भएका व्यक्तिले प्लास्टिक तथा कार्बनका खुट्टा बढी प्रयोग गर्छन्। प्लास्टिक र कार्बनका खुट्टा काठको भन्दा हलुका र ९० प्रतिशतसम्म खुम्चाउन मिल्छ। त्यसैले अचेल कार्बन (प्लास्टर गर्ने सामान) को खुट्टा धेरैको रोजाइमा पर्ने गरेको छ।
काठको भन्दा प्लास्टिकको खुट्टा बनाउन सजिलो पनि छ। चाहिने सामान जर्मनी, चीन, बेलायतबाट आउँछ। पछिल्लो समय कार्बनको माग छ।
काठलाई कृत्रिम खुट्टाको आकार दिएर काम सिकेका साइँला अचेल प्लास्टिकका खुट्टा पनि बनाउँछन्।
कोषमा प्लास्टिकको खुट्टा बनाउने दक्ष व्यक्ति पनि छन्। ती हुन्, प्रोस्थेटिष्ट तथा अर्थोटिष्ट रामबहादुर थापा।
रामबहादुरले कार्बनका खुट्टा बनाउँछन्। एउटा खुट्टा नहुँदा दुई चार पाइला हिँड्न कति गाह्रो हुन्छ भन्ने उनी आफैंले भोगेका छन्।
सात वर्षको हुँदा रामबहादुरको एउटा खुट्टा भाँचियो। भाँच्चिएको खुट्टा छोटो भएपछि उनी लामो समय कुप्रिएर हिँडे।
शारीरिक अपांगता भएकाले कोषमा जोडिए। त्यहीबाट उनले काठमाडौंमा बसेर पढ्ने अवसर पाए। नेपालमा मात्र नभई सन् २०११ मा कम्बोडिया पुगे। त्यहाँ उनले कृत्रिम खुट्टाबारे बुझ्ने अवसर पाए। त्यहाँ तीन वर्ष पढेर सन् २०१४ मा स्वदेश फर्किए।
त्यहाँबाट फर्केपछि कोषमा काम गर्न थाले। अहिले उनी मागअनुसार खुट्टा बनाउन सहयोग गर्छन्। रामबहादुर आफैंले पनि कृत्रिम खुट्टा लगाएका छन्।
आफ्नो खुट्टा देखाउँदै उनले भने- म दौडिन सक्छु, यसको पैताला भाग लचिलो छ।
उनले विदेशीको सहयोगमा हालेका हुन्। आफूले प्रयोग गरेजस्तो खुट्टा नेपालमा बनाउन नसकिने रामबहादुर बताउँछन्।
‘महँगो पर्ने भएकाले यहाँ बनाउन सकिदैन,ʼ उनले भने।
अहिले नेपालमा घुँडाभन्दा मूनिको खुट्टालाई १० देखि २० हजार र पुरैलाई ३० देखि ४० हजार रुपैयाँ पर्ने उनी बताउँछन्। ‘कोषमा हामी वार्षिक १ हजारभन्दा बढी खुट्टा बनाउँछौं,ʼ उनले भने, ‘ साढे २ लाख रुपैयाँ जतिको बिक्री हुन्छ।ʼ
नेपालमा कृत्रिम खुट्टा बनाउने एकमात्र सरकारी निकाय यही कोष हो।
नेपालमा सन् २००५ मा पहिलो पटक कृत्रिम खुट्टा भित्रिएको थियो। त्यसपछि काठबाट खुट्टा बनाउने क्रम विस्तारै कम भयो।अहिले जर्मनी, चीन, अमेरिकालगायत ठूला देशले ९५ प्रतिशत खुम्चाउन मिल्ने खुट्टा बनाएका छन्। महँगो पर्ने भएकाले त्यस्ता कृत्रिम खुट्टा नेपाल भित्रिन सकेका छैनन्।
कोषले भने कसैले कृत्रिम खुट्टा राख्न चाहे २५ देखि ७५ प्रतिशतसम्म छुट दिन्छ।
‘आर्थिक अवस्था न्यून भएका केही व्यक्तिले त नि:शुल्क पाउँछन्,ʼ रामबहादुरले भने।
नि:शुल्क पाइन्छ भन्ने थाहा नभएकाले दुर्गम ठाउँका मानिस आउँदैनन्।
त्यस्तो ठाउँमा सूचना पुर्याउनु आवश्यक रहेको उनी बताउँछन्।
‘कृत्रिम खुट्टा राख्दा अरूको हेलाहोचोबाट बचिन्छ,ʼ उनले भने, ‘बाँच्नका लागि जिन्दगीमा हिम्मत मिल्छ।ʼ
सबै तस्बिरहरू: सरिशा अछामी/सेतोपाटी।