नेपाललाई ट्रान्जिट बनाएर कोकिन ओसारपसार गर्ने दुई जना विदेशीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मंगलबार (वैशाख ५) नियन्त्रणमा लियो। उनीहरूलाई दुई दिनसम्म अनुसन्धान गरी बिहीबार सार्वजनिक गरिएको छ।
मंगलबार बिहान काठमाडौं महानगरपालिका-१७ ठमेलबाट केन्याली नागरिक ६३ वर्षीया पिलिसिला वान्जा एन्डिरितु र भारतीय नागरिक ५१ वर्षीय रवीन्द्रकुमार पारसरलाई ब्यूरोले नियन्त्रणमा लिएको हो। उनीहरूलाई फरक-फरक ठाउँबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।
केन्याली महिला वान्जा एन्डिरितु युएई हुँदै नेपाल आएकी हुन्। उनले कपडाको ब्यागको भित्री भागमा फिजाएर १ केजी ८० ग्राम कोकिन ल्याएकी थिइन्। उनले बोकेको कोकिनको मूल्य २ करोड ३३ लाख २८ हजार पर्ने अनुमान गरिएको छ। वास्तविक मूल्य भने भन्न नसक्ने प्रवक्ता जोशी बताउँछन्।
जोशीका अनुसार केन्याली नागरिक वैशाख १ गते काठमाडौं आएकी थिइन्। एके ०७७९१६७ नम्बरको पासपोर्टमा इथियोपियाबाट युएई हुँदै काठमाडौं प्रवेश गरेकी उनले हाते झोलामा कोकिन बोकेकी थिइन्।
‘विमानस्थलबाट उम्किए पनि ब्यूरोले अनुसन्धान गर्दै जाँदा उनी पक्राउ परिन्,’ जोशीले भने।
पिलिसिलाले कोकिन ल्याएर भारतीय नागरिक रवीन्द्रकुमार पारसरलाई दिएकी थिइन्। कोकिन दिइसकेपछि भारतीय नागरिक पक्राउ परे। भारतीय नागरिक पक्राउ परेपछि केन्याली महिलालाई पनि पक्राउ गरिएको हो।
पिलिसिलालाई नेपाल आएदेखि प्रहरीले निगरानी गरिरहेको थियो। अफ्रिकी मुलुकका व्यक्तिहरू बिनाउद्देश्य आउँदा ब्यूरोले शंकाको घेरामा राख्ने गरेको प्रवक्ता जोशी बताउँछन्।
‘हाम्रो टालीले २४ घन्टा केन्याली महिलालाई पछ्याएका थियो,’ उनले भने।
ब्यूरोको अनुसार पिलिसिला सामान्य परिवारकी हुन। उनका श्रीमान बितिसकेका छन्। आर्थिक अवस्था सामान्य भएकाले तीन हजार अमेरिकी डलर पारश्रमिक पाउन लोभमा उनी कोकिन बोकेर नेपाल आएकी हुन्।
उनको साथबाट एक हजार अमेरिकी डलर पनि ब्यूरोको टोलीले बरामद गरेको छ।
पिलिसिला आएको चार दिनपछि भारतीय नागरिक रवीन्द्रकुमार नेपाल आएका थिए। उनी भारतबाट बस चढेर नेपाल आएको देखिन्छ। बस चढेर भारतबाट नेपाल प्रवेश गर्न कुनै पनि कागजात देखाउनु पदैन।
रवीन्द्रकुमार वैशाख ४ गते नेपाल आएको खुलेको छ। उनी भारतको उत्तर प्रदेशका वासिन्दा हुन्।
रवीन्द्रकुमारलाई नेपालबाट कोकिन दिल्ली पुर्याएबापत् २५ हजार भारतीय रुपैयाँ दिने गरी भरिया बनाइएको प्रवक्ता जोशीले जानकारी दिए।
‘रवीन्द्र र पिलिसिला भरियामात्र हुन् पठाउने र लिने दुबै व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित निकायमा सम्पर्क गरेका छौं,’ जोशीले भने।
कमजोर आर्थिक अवस्थाका उनीहरूको आपराधिक पृष्ठभूमि छैन।
‘दुबैको आर्थिक अवस्था समान्य भएकाले ललाइफकाइ अरूको कुरामा आएर यहाँसम्म आइपुगेको हुनसक्छन्,’ उनले भने, ‘उनीहरूको आपराधिक पृष्ठभूमि देखिँदैन।’
पक्राउ परेका दुबै जनाविरूद्ध लागुऔषध (नियन्त्रण) ऐन,२०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। ऐनमा एक सय ग्रामभन्दा माथि लागुऔषध ओसारपसार गरे १५ वर्ष जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ।
उनीहरूले नेपाललाई ट्रान्जिटमात्र बनाएको अनुसन्धानमा खुलेको छ। अहिलेसम्मको अनुसन्धानमा नेपाली संलग्नता रहेको देखिँदैन। नेपाललाई ट्रान्जिट बनाएर आउने तस्करका लागि यो घटनाले सचेत गराउने प्रवक्ता जोशीले बताए।
ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा १५ किलो कोकिन बरामद भएको छ। त्यस्तै ०७७/७८ मा ९ सय ३२ ग्राम, ०७८/७९ मा १ किलो ५६० ग्राम र ०७९/८० मा १४ किलो ५ सय ग्राम कोकिन बरामद भएको छ।
विदेशीले विभिन्न ठाउँबाट कोकिन नेपाल ल्याई भारत, चीन, अमेरिकालगायत देशमा पठाउने गरेको देखिन्छ।
कोकिन ओसारपसारमा नेपाली नागरिकको संलग्नता नगग्य छ। ‘कोकिनमा ओसारपसारमा ३५ जना पक्राउ परेका छन्। त्यसमा एक जनामात्र नेपाली छन्,’ प्रवक्ता जोशीले भने।
कोकिनमा नेपाली नागरिकको संलग्नता नभए पनि अन्य लागुऔषधमा नेपालीको संलग्नता बढ्दो देखिन्छ।