सोमबार बिहानैदेखि रत्नपार्कको शान्तिवाटिका पार्क प्रहरीले घेरिएको थियो। केही दिनदेखि देशका विभिन्न स्थानबाट आएर काठमाडौंमा बसिरहेका मिटर ब्याज पीडितले आज मार्च पाससहित उच्च सरकारी निकायका कार्यालय घेराउ गर्ने योजना बनाएका थिए। त्यही योजना थाहा पाएर प्रहरी बिहानै शान्तिवाटिका पुगेका थिए।
९ बजेसम्म सामान्य अवस्था थियो। पीडित १२ बजेपछि मार्चपासमा निस्कने जानकारी भएपछि प्रहरीले शान्तिवाटिकाको मुख्य गेटमा ताला लगाइदियो।
पीडित आन्दोलनमा जानै पाएनन्। पीडितले प्रहरीलाई पटक-पटक ताल्चा खेल्न आग्रह गरे। लामो समयसम्म अनुरोध गर्दा नमानेपछि पीडित आक्रोशित भए। त्यही क्रममा प्रहरी र पीडितबीच झडप भएको मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समिति रौतहटका अध्यक्ष शिवशंकर महत्तो बताउँछन्।
‘शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी पहिले नै गराएका थियौं। प्रहरीले बाहिर निस्कन नदिएपछि आक्रोश पोखेका हौं,ʼउनले भने।
प्रहरीले सुरक्षा दिनुको सट्टा पीडितलाई उल्टै नियन्त्रणमा राख्यो। महिला, वृद्ध-वृद्धासमेत नभनी प्रहरीले सबैलाई लाठी चार्ज गर्यौ। प्रहरीको लाठी लागेर ४ जना गम्भीर घाइते भएका छन्। केही मिटर ब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ।
‘प्रहरीले पक्राउ गरेका व्यक्ति कहाँ-कहाँ छन् भन्नेबारे थाहा छैन, खबर लिने प्रयास गरिरहेका छौं,ʼ अध्यक्ष महतोले भने।
गम्भीर घाइते हुनेमा ऐक्यवद्धता जनाउन पुगेका अधिवक्ता, अधिकारकर्मी, पीडित, स्वयंसेवक पनि छन्। अधिवक्ता यमकुमारी ददेल(यमुना), कुलबहादुर थापा, मदन प्रभात घाइते भएका छन्। त्यस्तै लोकनारायण सुवेदी, अकबर मिया, कृष्ण महतो, प्रदीप नेपाल, संगीतादेवी चमार सामान्य घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सामान्य घाइते भएकाहरू कोही प्रहरीको नियन्त्रणमा छन् भने कोही वाटिकामै छन्। १७ दिनदेखि पीडित बस्दै आएको वाटिकाको अवस्था आज फेरिएको छ। त्यहाँ बस्नका लागि बनाइएका त्रिपाल प्रहरीले च्यातिदिएको पीडितको आरोप छ।
खाद्यान्न, भाँडा पनि प्रहरीले फ्यालिएपछि पीडित थप चिन्तित बनेका छन्।
मिटरब्याज पीडितले सोमबारसम्म ६ पटक सरकारसँग वार्ता गरिसकेका छन्। पटक-पटक वार्तामा ठोस निर्णय गर्न नसकेकाले सोमबार उच्च सरकारी निकायका कार्यालय घेराउ गर्ने तयारी गरेका थिए। तर, पीडित शान्तिवाटिका पार्कबाट बाहिर निस्कनै पाएनन्।
पीडित आफ्ना समस्या सुल्झाएर मात्र गाउँ फर्किने योजनामा थिए। प्रहरीको आजको झडपले उनीहरूको त्यो सपना मारिदिएको पीडितलाई साथ दिन पुगेकी स्वयंसेवक अस्मिता बादी बताउँछिन्।
मिटर ब्याज पीडितले ताला खोल्न जबरजस्ती गरी ढुंगा हानाहान गर्न थालेपछि प्रहरी लाठीचार्ज गर्न बाध्य भएको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए।
‘पीडित १५ र प्रहरीमा प्रहरी उपरीक्षकसहित १० जना घाइते भएका छन्,ʼ उनले भने, ‘सबैको अवस्था सामान्य छ।ʼ
उनका अनुसार ३५ पीडितलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी र दरबारमार्गमा राखेको छ। उनीहरूलाई तत्काल छाड्ने कि नछाड्नेबारे थप छलफल भइरहेको छ।
पीडितले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने सूचना पाएकाले रोक्ने कोशिशमात्र गरेको प्रहरीको दाबी छ।