एक साताअघि काठमाडौं अनामनगर अस्थायी रूपमा बस्दै आएका १७ वर्षीय बालक पक्राउ परे। उनी लागुऔषध खाएको अवस्थामा भेटिएका थिए। उनको साथमा लागुऔषध पनि भेटिएपछि प्रहरीले नियन्त्रणमा लियो।
१० दिनअघि भक्तपुर बाल सुधार गृहमा तीन जना बालक थपिए। काभ्रेका दुई बालकविरूद्ध जबरजस्ती करणीको उजुरी थियो । रामेछापका एक बालकलाई ज्यान मार्ने अभियोग र चोरीको उजुरीमा पक्राउ गरेर भक्तपुर ल्याइएको हो।
अचेल नेपालभरि दैनिक दुई-चार जना बालबालिका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा समातिएकै हुन्छन्। एक-दुई पटक सामान्य गल्तीमा बालबालिकालाई सुध्रिन मौका दिइन्छ। प्रमाण भेटिएका बालबालिका प्रहरीले नियन्त्रणमा लिन्छ। थप अनुसन्धान गर्नुपर्ने भएपछि सुधार गृहमा ल्याइदिने गरेको केन्द्रीय बाल न्याय समिति सचिवालयकी उपसचिव अनुपमा पन्त बताउँछिन्।
‘धेरैजसो बालबालिकाहरू जबरजस्ती करणी, कर्तव्य ज्यान र लागुऔषध सेवन तथा ओसारपसारमा पक्राउ परेका छन्,ʼ उनले भनिन्।
सचिवालयको तंथ्याकअनुसार अहिले देशभरका ८ वटा बाल सुधार गृहमा १ हजार १३८ बालबालिका छन्। जसमा १ हजार १०६ बालक र ३२ बालिका छन्।
सुधार गृहमा रहेका बालकमध्ये धरैजसो जबरजस्ती करणी, कर्तव्य ज्यान र लागुऔषधका अपराधमा समातिएका छन्। जबरजस्ती करणीमा ५४६, कर्तव्य ज्यानमा ९१ र लागुऔषधमा १०३ जना बालक छन्।
यीबाहेक ३६६ बालक अन्य विभिन्न आपराधिक कार्यमा समातिएका देखिन्छ। ३२ बालिका भने जबरजस्ती करणी, चोरी, मानव बेचविखन तथा ओसारपसारमा सहयोग गरेर पक्राउ परेका छन्।
पछिल्लो समय आपराधिक क्रियाकलापमा बालबालिकाको संलग्नता बढ्दै गएको छ।
‘के कारणले बढिरहेको छ भन्न सक्ने अवस्था छैन। धेरै कुराले प्रभाव पारेको हुनसक्छ,ʼ उपसचिव पन्तले भनिन्।
देशभरका ८ सुधार गृहमा राखिएका बालबालिकाको आपराधिक क्रियाकलाप हेर्दा अभिभावक थप सचेत हुनुपर्ने देखिने उनको भनाइ छ।
बाल सुधार गृह मोरङमा दुई सय २ बालक छन्। तीमध्ये १०१ जना जबरजस्ती करणी, ३० जना कर्तव्य ज्यान र २१ जना लागुऔषधको आपराधिक कार्यमा संलग्न भएकाले पक्राउ परेका हुन्। यीबाहेक ५० बालक डाँका, ज्यान मार्ने, कर्तव्य ज्यान अपरहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान/चोरी, अपहरण, डाँका चोरी, बहुविवाहका उजुरीमा थुनिएका छन्।
बाल सुधार गृह कास्कीमा ९१ बालक छन्। सबैभन्दा धेरै बालक ५० जना जबरजस्ती करणी, कर्तव्य ज्यानमा ८ र लागुऔषध आपराधिक कार्यमा संलग्न ७ जना छन्। यीबाहेक २६ जना नकबजनी चोरी (घरको भित्ता फोरेर चोरी गर्ने), जबरजस्ती करणी हाडनाता सामूहिक जबरजस्ती करणीमा, जातीय भेदभाव र आत्महत्या दुरूत्साहनलगायत क्रियाकलापमा थुनिएका छन्।
बाल सुधार गृह पर्सामा १ सय ३४ बालक छन्। ४३ जना जबरजस्ती करणी, ७ जना कर्तव्य ज्यान र २२ जना लागुऔषध सेवन र ओसारपसारमा मुद्दामा पक्राउ परेका हुन्। बाँकी ७२ जना सवारी ज्यान, नकबजनी चोरी, अपहरण तथा शरीर बन्धकलगायत आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको छ।
बाल सुधार गृह रूपन्देहीमा ७२ बालक छन्। तीमध्ये ३९ जबरजस्ती करणी, ६ कर्तव्य ज्यान र ५ लागुऔषधजस्ता अवैध कारोबारमा संलग्न भएको पाइएको छ। २२ बालक सवारी ज्यान, डाँका चोरीलगायतका मुद्दामा पक्राउ परेका हुन्।
बाल सुधार गृह डोटीमा ५२ बालक छन्। तीमध्ये १९ जना जबरजस्ती करणी र १३ जना कर्तव्य ज्यानमा संलग्न भएका बालक छन्। यीबाहेक २० बालक चोरी, ज्यानसम्बधी कसुर, बालविवाहका क्रियाकलापमा संलग्न भएका छन्।
बाल सुधार गृह भक्तपुरमा २८८ जना बालबालिका छन्। २ सय ५६ बालक र ३२ बालिका हुन्। बालकहरूमा १३६ जबरजस्ती करणी, ४० कर्तव्य ज्यान, २५ लागुऔषधमा संलग्न भएर प्रहरीले नियन्त्रणमा लिइएको बालक छन्। यीबाहेक ५५ बालक डाँकाचोरीमा, नकबजनी चोरीलगायत क्रियाकलापमा संलग्न भएका बालक छन्।
‘बालिका राख्ने एउटामात्र सुधार गृह भक्तपुर हो,ʼ उपसचिव पन्त भन्छिन्, ‘भक्तपुरमा बालक र बालिका दुबैका लागि छुट्टाछुट्टै भवन छन्।ʼ
बाल सुधार गृह मकवानपुरमा ६८ बालक छन्। जसमा सबैभन्दा धेरै ३५ जना जबरजस्ती करणी, ३ कर्तव्य ज्यान र ५ लागुऔषध ओसारपसार क्रियाकलापमा संलग्न भएका बालक छन्। २५ बालक जबरजस्ती करणी र हाडनाता, डाँका, नकबजनी चोरी, सवारी ज्यान, अपहरण तथा शरीर बन्धकजस्ता क्रियाकलापमा समातिएका छन्।
बालसुधार गृह बाँकेमा २३१ बालक छन्। १२३ बालक जबरजस्ती करणी, २६ कर्तव्य ज्यान र ११ लागुऔषधका क्रियाकलापमा सुधार गृहमा छन्।
१८ वर्षभन्दा मुनिका बालबालिकालाई कारागारमा राख्न नमिल्ने कानुनी व्यवस्था छ। सोहीअनुसार आपराधिक क्रियाकलापमा मुछिएका बालबालिकालाई बालसुधार गृहमा राख्ने गरिएको उपसचिव पन्त बताउँछिन्।
‘प्रहरीले पक्राउ गर्दा १८ वर्षभन्दा कम उमेर भए सुधार गृहमै राखेर अनुसन्धान गरिन्छ। उमेर बढ्दै जाँदा कारागार पठाउने कानुनी व्यवस्था छैन,ʼ उनले भनिन्।
उनका अनुसार उमेर बढ्दै जाँदा कारागार पठाउने व्यवस्था नभएकाले सुधार गृहमा बेला-बेलामा समस्या भइरहन्छ। पुरानाले नयाँ बालबालिकालाई हेप्ने तथा अवैध क्रियाकलपामा लाग्न प्रोत्साहन दिने, कुटपिट गर्ने गर्छन्। साथै सजाय तोकिसकेका र मुद्दा चलिरहेकाबालबालिकालाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता भएकाले गृहले समस्या झेलिरहनुपरेको छ।
अहिले अदालतबाट मुद्दा फैसला भइसकेका ५३५ बालबालिका (बालक ५१४, बालिका २१) छन्। मुद्दा फैसला हुन बाँकी ६ सय बालबालिका (बालक ५८९, बालिका ११) रहेका छन्। क्षमताभन्दा बढी बालबालिका हुँदा गृहहरूलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ।
‘पाँच सय ५० जना राख्न मिल्ने बाल सुधार गृहमा १ हजार १३८ बालबालिका छन्,ʼ उपसचिव पन्त भन्छिन्, ‘भवन बढाउन पटक-पटक माग गरे पनि पूरा हुन सकेको छैन।ʼ
आपराधिक क्रियाकलापमा बालबालिकाको संख्या बढ्दै जाँदा गृह अभाव हुन थालेको हो। आपराधिक क्रियाकलाप घटाउनुतर्फ लाग्नुपर्छ। त्यसैले गृहका भवन बढाउन चासो नदिइएको कारागार व्यवस्थापन विभागका निर्देशक सागर शाह बताउँछन्।
‘अन्य देशमा भएका जेल तथा सुधार गृह खाली छन्। हामी नपुगेर बनाउनतर्फ लागेर हुन्न,ʼ उनले भने।
उनी बालबालिकालाई आपराधिक क्रियाकलापबाट टाढा राख्न योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताउँछन्।
पछिल्लो समय लागुऔषध तथा जबरजस्ती करणीमा बालबालिका फसिरहेको विभागका प्रवक्ता रोमबहादुर महत बताउँछन्। ‘एक दशकअघि चोरी, झगडा लगायतका मुद्दामा हुन्थे। अहिले ज्यान मार्ने, जबरजस्ती करणीलगायत जघन्य अपराधमा बालबालिका मुछिएका छन्,ʼ महतले भने।
यसले समाजको चित्रण गर्छ। अहिले बालबालिकाको लागि काम गर्ने धेरै निकाय छन्। तर, उनीहरूले काम गर्दैनन्। अहिले बालबालिकाको मनोबिज्ञान बुझेर काम गर्नुपर्ने समय आएको उनको भनाइ छ।
१२ देखि १८ वर्षमा बालबालिका साथीभाइका संगत र भीडमा रमाउने मनोविज्ञानका हुन्छन्। त्यो उमेरमा कुनै पनि जिम्मेवारी हुँदैन। भविष्यमा यही पेशा गर्छु भन्ने योजना बनाएका हुँदैनन्। त्यसैले आपराधिक क्रियाकलापमा फस्ने गरेको बाल मनोविज्ञान विशेषज्ञ नारायणप्रसाद शर्मा बताउँछन्।
‘कुनै पनि बालक कुलत तथा आपराधिक क्रियाकलापमा संलग्न हुन आर्थिक, सामाजिक र पारिवारिक अवस्थामा भर पर्छ,ʼ उनले भने, ‘घर र विद्यालयले नैतिक शिक्षा दिन नसक्दा बालबालिका अपराधिक क्रियाकलापमा फसे।ʼ
बाल मनोविद् शर्माका अनुसार कोभिडपछि अझै आपराधिक क्रियाकलापमा बालबालिका सक्रियता बढ्दै गइरहेको देखिन्छ। अनलाइनमार्फत् अध्ययन गर्न धेरै डिजिटल माध्यम प्रयोग गरियो। त्यसले गर्दा बालबालिकाले धेरै नकारात्क कुरा सिके। त्यही गर्न थाले। नयाँ पुस्ताले नेपालमा भविष्य देख्न छोडे। त्यसले गर्दा १० कक्षा पढ्नसाथ बैदेशिक रोजगारी जान थाले।
आवश्यक कागजात र रकम संकलन गर्न नसक्दा रिसाउने, अरुमा आक्रोश व्यक्त गर्ने, कुलतमा फस्ने गरेको शर्मा बताउँछन्।
‘बालबालिकालाई अपराध अनुसार छुट्टै राखेर कानुनी उपचार गर्नुपर्ने हो। त्यस्तो व्यवस्था छैन,ʼ उनले भने, ‘एकै ठाउँमा राख्दा अपराधिक क्रियाकलापमा अझै चासो बढ्न सक्छ।ʼ