नर्सरीदेखि कक्षा ७ सम्म निजी स्कुल पढेका विराटनगरका पवन घिमिरेले यसपटकको शैक्षिक सत्र सुरू हुनै लाग्दा आमाबुवासँग भनेछन्, ‘यसपालिदेखि म पोखरिया स्कुल पढ्छु।’
निजी स्कुलमा अभ्यस्त भइसकेको छोरोले एक्कासी सामुदायिक स्कुल पढ्ने रहर सुनाएपछि दुवैजना केहीबेर अचम्मित भए। पोखरियाको ख्याति र विश्वसनियता बढ्दै गएको त उनीहरूलाई थाहा थियो तर छोराले त्यहीँ पढ्छु भन्ला भन्ने सोचेका थिएनन्।
‘छोराले पढ्दापढ्दैको राम्रो र कहलिएको निजी स्कुलको साटो पोखरिया मावि रोज्ने कुरा गरेपछि उसको रहर अनुसार नै त्यहाँ पढ्न दिने भयौं,' उनका बुबा विनोद घिमिरेले भने ‘तर, पोखरियामा भर्ना पाउन सजिलो छैन। इन्ट्रान्स पास गर्नुपर्छ भनेर सम्झायौं।’
विराटनगर–३ स्थित पोखरिया माविले नयाँ भर्ना हुन चाहने विद्यार्थीहरूका लागि गएको शुक्रबार, शनिबार र आइतबार ‘इन्ट्रान्स’ परीक्षा लियो। अहिले ३२६० जना पढिरहेको विद्यालयले यसपटकका लागि ७१० जना नयाँ विद्यार्थीको भर्ना लिने सूचना जारी गरेको थियो।
तर, पोखरियामा भर्ना हुन चाहने विद्यार्थीको संख्या २६ सय ७६ जना पुग्यो।
आवश्यकभन्दा तीन गुणाभन्दा बढीले आवेदन दिएपछि विद्यालयले इन्ट्रान्स परीक्षा लिएको थियो। कक्षा ८ मा भर्ना हुनका लागि परीक्षा दिएका पवनले नाम निकाले।
‘अब छोरोले पोखरिया पढ्न पाउने निश्चित भयो,' विराटनगर ४ प्रगति टोलका बासिन्दा घिमिरेले भने ‘हामी पनि ढुक्क भएका छौं।’
निजी विद्यालयहरुको भीड रहेको विराटनगरमा पोखरिया यस्तो सामुदायिक विद्यालय बनेको छ, जहाँ भर्ना पाउन निजी विद्यालयका विद्यार्थी पनि लालायित हुन्छन्। सन्तानले पोखरियामा भर्ना पाउने निश्चित हुँदा अभिभावक पनि ढुक्क महसुस गर्छन्।
'यसपटक भर्ना पाउन आवेदन दिने शतप्रतिशत विद्यार्थी निजीबाट नै आएका थिए,' विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले भने ‘तर, हाम्रो क्षमता, भौतिक पूर्वाधार, जनशक्ति जस्ता सीमाका कारण ती सबै विद्यार्थीलाई भर्ना लिन सक्ने अवस्था भएन। त्यसैले ७१० जना मात्रै लिन सक्यौं। बाँकी १९६६ जना विद्यार्थीलाई चाहेर पनि लिन सकेनौं।’
उनका अनुसार कुनै पनि सामुदायिक विद्यालयले यो विद्यार्थी लिन्छु, त्यो विद्यार्थी लिन्नँ भन्न पाइँदैन।
‘तर, आए जति सबै विद्यार्थी भर्ना गरेर पढाउने अवस्था पनि हुँदैन,' उनले भने ‘एकातिर पूर्वाधारको अभाव हुन्छ। अर्कातिर ती विद्यार्थी पढाउने जनशक्तिको पनि सीमा हुन्छ। त्यसैले रहर हुँदाहुँदै बहुसंख्यक विद्यार्थीलाई भर्ना लिन सकिन्नँ।’
पोखरियाले यसपटक कक्षा १ का लागि ३५ जना नयाँ विद्यार्थीको भर्ना खुलाउँदा २ मा ४०, ३ मा ५०, ४ मा ५०, ५ मा ७०, ६ मा १२३, ७ मा १०० , ८ मा १४५ र कक्षा ९ मा ५० जनाका लागि भर्ना खुलाएको थियो। कक्षा ९ कै प्राविधिक धारमा ४८ जनाको लागि भर्ना खुलाएको थियो। तर, विद्यालयले मागेभन्दा तीन गुणाभन्दा धेरैले आवेदन दिएका थिए।
सामुदायिक विद्यालयप्रतिको यस्तो आकर्षण किन र कसरी सम्भव भयो ?
निजीकै स्तरको पढाई, राम्रो नतिजा र विद्यार्थीको राम्रो हेरविचार हुने वातावरण भएकै कारण आफूहरू आकर्षित भएको अभिभावकहरूको भनाइ छ।
'निजीमा पढाउनुको मुख्य कारण अंग्रेजीमा राम्रो होस्, अन्य सिकाइहरू प्रभावकारी होस र रेखदेख राम्रो होस् भन्ने हो,' छोरा विप्लवलाई कक्षा ८ मा भर्नाका लागि तयारी अवस्थामा रहेका अभिभावक अमित कर्णले भने ‘यी सबै सुविधा पोखरियामै उपलब्ध छ। यस्तोमा चर्को शुल्क तिरेर निजीमा किन पढाउनु भनेर यहाँ ल्याएको हुँ।'
पोखरियामा भर्ना पाउने विद्यार्थीका अभिभावकहरू त्यसलाई ठूलै उपलब्धी सरह व्याख्या गरिरहेका भेटिन्छन्। सामाजिक सन्जालमा आफ्ना सन्तानको फोटो राखेर ‘नाम निकाल्न सफल भएकोमा बधाइ’ भनिरहेका हुन्छन्। यसले विद्यालयलाई पनि खुसी बनाउने शिक्षकहरु बताउँछन्।
प्रधानाध्यापक भट्टराईले भने ‘विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास नै हाम्रो सफलताको मुख्य कारण हो। त्यो विश्वास आर्जन गर्न विद्यालयले गरेको मिहेनत, शिक्षण विधिमा ल्याइएको परिवर्तन र नतिजामा त्यसले पारेको सकारात्मक प्रभाव नै मुख्य कारण हो।’
विराटनगरलाई पूर्व–पश्चिम राजमार्ग (विराटचोक) जोड्ने भित्री सडकलाई यहाँ मेनरोड भनिन्छ। त्यही मेनरोड नजिकै पर्ने पोखरियामा छ यो स्कुल। करिब–करिब विराटनगरको मध्यभाग भन्न मिल्ने, मुश्किलले साढे ६ कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालयसँग विद्यार्थीका लागि खेल्ने मैदानसमेत उपलब्ध छैन।
साँघुरो ठाउँमा तलामाथि तला थपेर बनाइएको तीन वटा ब्लकको विद्यालय भवनमा केही वर्षयता विद्यार्थी आँटी नआँटी हुने गरेका छन्।
विद्यालयले यसरी विद्यार्थी आकर्षित गर्न थालेको र ख्याति आर्जन गर्न थालेको धेरै भएको छैन। करिब एक दशकको समयमा यो विद्यालयले जे–जति गरेको छ त्यसैको प्रमाण हो अहिले लाग्ने विद्यार्थीको भीड।
२०६८ सालसम्म यो विद्यालयमा चानचुन ५ सय विद्यार्थी मात्रै थिए। २०६९ मा त यो संख्या घटेर ४५० मा झर्यो।
‘हरेक वर्ष विद्यार्थी घट्न थालेपछि विद्यालयभित्र चिन्ता जाहेर भयो,' प्रधानाध्यापक भट्टराईले सम्झिए ‘अब विद्यालयको शैक्षिक गुणस्तर नउकासेसम्म विद्यार्थी संख्या नबढ्ने पक्का छ भन्ने भयो। त्यसपछि हामीले उपाय खोज्न थाल्यौं।’
त्यसबेला विद्यालय परिवारले निकालेको पहिलो निष्कर्ष थियो ‘अहिले निजीमा विद्यार्थी आकर्षण हुनुको मुख्य कारण अंग्रेजी माध्यमको पढाई हो। दोस्रो, शिक्षकहरुको सक्रियता र विद्यालयमा विद्यार्थीको बलियो सुरक्षा प्रबन्ध हो।’
यस्तो ठहरमा पुगेपछि विद्यालयले २०७० मा पहिलोपटक बालकक्षा र कक्षा १ अनि कक्षा ८ र ९ गरी चार वटा कक्षालाई पूर्णतः अंग्रेजी माध्यम बनायो। विद्यार्थी संख्या थोरै बढ्यो। २०७१ मा कक्षा ६ देखि १० सम्मै अंग्रेजी माध्यम बनाइयो। नेपाली माध्यम पनि कायमै राख्दा अंग्रेजीतिरै विद्यार्थी आकर्षण बढ्यो। त्यसपछि क्रमश हरेक वर्ष एकएक वटा गर्दै अहिले १२ सम्मका सबै कक्षा अंग्रेजी माध्यममा रूपान्तरण भएका छन्।
२०७१ को एसएलसी परीक्षामा अंग्रेजी माध्यमका ४१ जना विद्यार्थी सहभागी भए। तीमध्ये १२ जनाले विशिष्ट श्रेणीमा उत्तिर्ण गरे। यस्तो नतिजा आएपछि त २०७२ देखि विद्यालयले थामिनसक्नु विद्यार्थीको भीड पाउन थाल्यो।
शिक्षक महेश गौतमका अनुसार कक्षा समयको पूर्ण उपयोग, विद्यार्थीहरूको राम्रो निगरानी र मायालु शैक्षिक वातावरणले राम्रो नतिजा सम्भव भयो।
प्रधानाध्यापक भट्टराईका अनुसार सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार्न सुरूमै अत्याधुनिक कक्षाकोठा, सुविधासम्पन्न पूर्वाधार जरूरी पर्दैन।
‘सबैभन्दा पहिले हेडमास्टरको सोच प्रष्ट र बलियो हुनुपर्नेरहेछ,' उनले भने ‘त्यसपछि व्यवस्थापन टिम, शिक्षकहरूको टिमलाई एकाकार बनाएर लैजान सक्ने हुनुपर्नेरहेछ। हामीले सामूहिक प्रयत्नकै बलमा विद्यालयको अवस्था सुधार्न सफल भयौं।’
यो विद्यालय झट्ट प्रवेश गर्दा त्यस्तो चमकधमक केही देखिन्न। तर, विभिन्न सम्पदाहरूका नाममा रहेका यहाँका कक्षाकोठा प्रविधिमैत्री छन्। आधारभूत तहका कक्षामा स्मार्ट टिभी, ठूला कक्षाहरूमा प्रोजेक्टरसहितका स्मार्ट बोर्डमार्फत पढाइ हुने विद्यालयले आधारभूत तहका विद्यार्थीका लागि अलग्गै भवन भाडामा लिएर कक्षा चलाएको छ।
जहाँ बालबालिकाका लागि खेल्ने सामग्रीहरूको प्रबन्ध छ। खुला ठाउँ पनि उपलब्ध छ। माथिल्लो कक्षाका विद्यार्थीहरूका लागि भने विराटनगरमै एउटा मैदान लिएर विद्यालयले पालो बाँधेर खेलकुदका गतिविधि गरिरहेको छ।
'यहाँसम्मको अवस्थामा ल्याइपुर्याउन सबैभन्दा ठूलो सहयोग अभिभावकबाट भएको छ,' प्रधानाध्यापक भट्टराईले भने 'राम्रो शैक्षिक वातावरण दिन थालेपछि हामीले के सहयोग गर्नुपर्छ भन्दै अभिभावकहरू आउन थाल्नुभयो। अहिले सिंगो समुदाय विद्यालयप्रति सकारात्मक छ।’
दुई जना कर्मचारीसहित कूल ३९ जना दरबन्दीका शिक्षक रहेको यो विद्यालयमा अहिले ११० जना शिक्षक–कर्मचारी छन्। दरबन्दीबाहेकका सबैको खर्च अभिभावकले गर्ने सहयोग र तीन वटै तहका सरकारले गर्ने सहयोगबाट चलेको विद्यालयले जनाएको छ।
‘स्कुलले इमान्दार भएर काम गरे बजेटको अभाव नहुने रहेछ,’ प्रधानाध्यापकको अनुभवले भन्छ ‘राम्रो गरे विद्यार्थी संख्या बढ्छ, विद्यार्थी धेरै भएपछि सरकारले बजेट नदिने भन्ने चिन्ता नै नहुने रहेछ।’
कानुन अनुसार विद्यार्थी पढाएको शुल्क सामुदायिक विद्यालयले लिन पाउँदैन। तर, कानुनले सामुदायिक विद्यालयलाई सहयोग गर्न सक्ने ढोका पनि खुलै राखेको छ।
त्यही कानुन अनुसार इच्छुक अभिभावकले विद्यालयलाई सहयोग गरेको विद्यालयको भनाइ छ।
'सहयोग जति पनि लिन पाइन्नँ,' प्रधानाध्यापक भट्टराईले भने ‘त्यसैले मापदण्ड बनाएका छौं। सोही अनुसार इच्छुक अभिभावकले दिनुहुन्छ। नसक्नेहरूलाई अनिवार्य छैन।'
उनका अनुसार कक्षा १ देखि ५ सम्मका अभिभावकका लागि स्वेच्छिक राखिएको सहयोग राशी ६ देखि कक्षा ८ सम्मका लागि वार्षिक १४ हजार र ९/ १० का लागि वार्षिक १६ हजार राखिएको छ।
‘यसले निजी स्रोतका शिक्षकहरुलाई पारिश्रमिक दिने प्रबन्ध गरेका छौं। आधारभूत कक्षाहरुलाई मन्टेश्वरी विधिमा ढालेका छौं।’
उनका अनुसार विद्यालयले जनक शिक्षाका पाठ्यपुस्तक सबै विद्यार्थीलाई उपलब्ध गराउँछ। तर, अंग्रेजी, नेपाली र सामाजिकबाहेक अरू सबै विषय निजीहरूकै जस्तो अन्य प्रकाशनका पढाउने गरिन्छ।
‘सरकारले पढाउन अनुमति दिएका प्रकाशनमा पाठ्यपुस्तक हामी पढाउँछौं,' शिक्षक गौतमले भने।
उनका अनुसार अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले जोड दिँदा विद्यार्थी झनै रमाउने वातावरण बनेको छ।
यी सबै कारणले नै हो पोखरिया विराटनगरका लागि मात्रै होइन, सुनसरी, सप्तरी, सिराहा, संखुवासभा, भोजपुर, धनकुटा, झापासम्मका अभिभावकका लागि रोजाइमा पर्न थालेको छ।
‘यहाँ यीबाहेक जनकपुरसम्मका विद्यार्थी पनि आएका छन्,' प्रधानाध्यापक भट्टराईले भने ‘विद्यार्थीका लागि हामीले तीन वटा स्कुल बसको व्यवस्था गरेका छौं। त्यसबाहेक बिहान ८ देखि साँझ ६ बजेसम्मै विद्यालयलाई नानीहरू जिम्मा लगाउने अभिभावक पनि हुनुहुन्छ। हामीले राम्रो रेखदेख गर्ने वातावरण बनाएका छौं। नानीहरू भोकै नहुने ग्यारेन्टी गरेका छौं। अभिभावकले विद्यालयबाट खोज्ने मुख्य कुरा आफ्नो सन्तानको भौतिक र शैक्षिक सुरक्षा हो। त्यो यहाँ पाइने अवस्था छ। त्यसैले विद्यालयले विश्वास आर्जन गरेको हो।’
उनले भने जस्तै नयाँ शैक्षिक –सत्रका लागि भर्ना अभियान चलिरहँदा धेरै सामुदायिक विद्यालयलाई विद्यार्थी पाउन मुश्किल परिरहेको छ। तर, पोखरियाले भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षाको सहारा लिनुपरेको छ।
‘सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मिहेनती शिक्षकहरूका कारण यो विद्यालयमा छोराछोरी पढाउन अभिभावक इच्छुक देखिएका हुन्,' सामुदायिक विद्यालय सुधार अभियानमा संलग्न अभियन्ता श्रीमन्त भट्टराईले भने ‘प्रवेश परीक्षा दिने सबैलाई विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका आधारमा भर्ना लिन सम्भव नहुने हुँदा प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीको भर्नाका लागि मन्त्री, दलका नेता र जनप्रतिनिधिको दबाब थेगी नसक्नु हुन्छ। त्यसैले रिजल्ट टाँसेर एक सातासम्म शिक्षकहरू मोबाइल स्विच अफ गरेर बस्न बाध्य हुन्छन्। बलियो प्रतिबद्धताका शिक्षकहरु र समुदायको साथले सुध्रिएको यो एउटा उदाहरणीय स्कुल बनेको छ।’