नवलपरासीकी ७० वर्षीया फोकनादेवी कोइरी साँझ परेपछि छट्पटाउन थाल्छिन्।
दस दिनअघि मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदा उनले सात किलोजति गहुँको पिठो बोकेर ल्याएकी थिइन्। त्यो अहिले सकिन लागेको छ। त्यही भएर साँझको रोटी उनी आफ्ना श्रीमानका लागि मात्र पकाउँछिन्। आफू भने आन्दोलनकारीहरूको सामूहिक भान्सामै खाना खान्छिन्।
उमेरका हिसाबले फोकनादेवीले खानेकुरामा ध्यान दिनुपर्ने हो। तर उनलाई आफ्नो स्वास्थ्यबारे सोच्ने फुर्सद छैन। आफूसँग ल्याएको पिठो सकिँदै गएकाले उनी साँझको छाक सामूहिक भान्सामा जे भेटिन्छ, त्यसैले टार्छिन्। शान्तिवाटिकाको सामूहिक भान्साले उनको पेटको भोक धानिँदै आएको छ।
सोमबार साँझ हामीले भेट्दा फोकनादेवी शान्ति वाटिकामा बनाइएको शिविरमा रोटी पकाउँदै थिइन्। त्यही बेला भान्सामा दाल र भात पनि पाक्दै थियो। सात-आठ जना महिला दुइटा चुह्लो वरिपरि बसेर कोही दाल चलाउने, कोही प्याज काट्ने र कोही आलु ताछ्ने गर्दै थिए।
शिविरको सामूहिक भान्सामा कुन दिन कसले खाना पकाउने भनेर जिल्लागत रूपमा पालो तोकिएको छ। सोमबार नवलपरासीबाट आएका पीडितहरूको खाना बनाउने पालो थियो। त्यही भएर फोकनादेवीले ग्यासमा रोटी पकाउन पाइन्। आफ्नो जिल्लाको पालो नपरेका बेला उनी विभिन्न जुगाड लगाउँछिन्।
आइतबार नै पार्कभित्र भेटिएका प्लास्टिक र दाउराका छेस्का खोजखाज पारेर त्यसैको आगोमा रोटी बनाएको उनले बताइन्।
दिनभर सडकमा नारा लगाउँदै हिँडेर थाकेकी फोकनादेवीलाई साँझ शिविर फर्केर रोटी पकाउन निकै गाह्रो हुन्छ। उनी आफू त दालमोठ-चिउरा खाएर पनि गुजारा चलाउन सक्छिन्। तर उनका ७५ वर्षीय श्रीमान प्रेमनाथ कोइरी साधु भएकाले रोटी मात्र खान्छन्। त्यसैले दिनभर मिटरब्याज पीडितहरूको पीर बोकेर हिँड्ने उनलाई साँझ श्रीमानका लागि रोटी बनाएर कसरी खुवाउने भन्ने कुराले पिरोल्छ।
'म आफूले ल्याएको पिठो सकिनुअघि नै घर फर्किन चाहन्छु,' उनले भनिन्, 'तर सरकारले ठोस निर्णय नगरेर काठमाडौंमा भोकभोकै बस्नुपरे पनि कुनै मनखत छैन।'
फोकनादेवी नवलपरासीको सरावल गाउँपालिका-५ बाट आएकी हुन्। उनले गाउँकै साहुसँग पाँच वर्षअघि पाँच लाख रूपैयाँ ऋण लिएकी थिइन्। तीन वर्षअघि १६ लाख रूपैयाँ बुझाइसकिन्। तैपनि साहुकहाँ बन्धकी राखेको २ बिघा १० कट्ठा जग्गा फिर्ता पाएकी छैनन्। साहुले एकमुष्ठ ४२ लाख रूपैयाँ पाएपछि मात्र जग्गाको लालपुर्जा दिने भन्दै धम्की दिइरहेको उनी बताउँछिन्।
फोकनादेवीको एउटै इच्छा छ- आफू मर्नुअघि साहुसँग जग्गाको लालपुर्जा लिएर छोरालाई सुम्पिने।
उनका एक छोरा छन्, ४५ वर्षका। यो जग्गा फिर्ता पाइएन भने छोरा र नातिहरूको भविष्य अन्धकार हुनेमा उनलाई चिन्ता छ। त्यही भएर सरकारले केही निर्णय नगरेसम्म उनी कुनै हालतमा काठमाडौं छाड्न तयार छैनन्।
फोकनादेवी मात्र होइन, ४० वर्षीया मालतीदेवी चौधरी पनि आफूले ल्याएको दस किलो चामल, पाँच किलो आलु र दुई किलो दाल सकिएर चिन्तामा छिन्। उनी काठमाडौं आएको मंगलबार दस दिन भयो। आफूसँग भएको सामान सकिएकाले अरू साथीभाइसँग सापट माग्ने नौबत आएको उनी बताउँछिन्।
'गाउँबाट आउँदा सरसापट गरेर दुई हजार रूपैयाँ ल्याएको थिएँ,' उनले भनिन्, 'पैसा पनि सकियो, रासन पनि सकियो। अब कसरी घर फर्किने भन्ने चिन्ता छ।'
फोकनादेवी र मालतीदेवीको काठमाडौंमा आफन्त वा चिनजानका कोही छैनन्। उनीहरू यहाँ आएदेखि शान्ति वाटिकाको शिविरमै बसिरहेका छन्। दिनभरि प्रदर्शनमा भाग लिन्छन्, बिहान-बेलुकी सामूहिक भान्साको काममा सघाउँछन्।
हामीले भेट्दा मालतीदेवी भान्सामा दाल चलाउँदै थिइन्। ग्यासको तातोले होला, अनुहार पूरै रातो भएको थियो। उनले यसरी एकैपल्ट तीन-चार सय जनालाई कहिल्यै खाना बनाएकी थिइनन्। यहाँ आएदेखि दुई-तीन दिन सामूहिक खाना बनाइसकिन्।
नौ दिनदेखि उनको दैनिकी एउटै छ। उनी बिहान उठेर शिविर वरिपरि सफा गर्न र भाँडा माझ्न सघाउँछिन्। दिउँसो खाना खाएर जुलुसमा हिँड्छिन् र साँझ पार्क फर्किन्छिन्। अवस्था आरामदायी छैन, तर जस्तो दु:ख परे पनि सरकारबाट न्याय पाइएला भन्ने आसमा चित्त बुझाएकी छन्।
धेरैजसो आन्दोलनकारी सामूहिक भान्सामै खाने हुँदा साँझको छाकमा दुई खेप गरेर १४ किलो चामल पकाउनुपर्ने मालतीदेवीले बताइन्।
'खानेकुरा केही नभए पनि हामी भोकभोकै जुलुसमा हिँड्न तयार भएर आएका हौं,' उनले भनिन्, 'सधैं साहुको डरधम्की सहेर बस्नुभन्दा दुई-चार दिन भोकै बसेर भए पनि शान्तिपूर्ण जीवन जिउन चाहन्छौं।'
मालतीदेवीका लागि भोकै बस्नु त्यसै पनि नौलो कुरा होइन। उनको खेतबारी साहुको कब्जामा छ। ज्याला मजदुरी गरेर दुई सन्तानलाई पेटभरि खुवाउन नसक्दा उनले कयौं रात भोको पेट अँठ्याएरै कटाएकी छन्।
उनी पेटको भोक र मनको पीडाभन्दा साहुको धम्की र भयबाट मुक्त हुन चाहन्छिन्।
'यहाँ बसे भोकले मरिएला, तर यत्तिकै गाउँ फर्किनुपरे साहुको भयले बाँच्न सकिँदैन,' उनले भनिन्।
मालतीदेवी हामीसँग कुरा गर्दा हाँसेर बोलिरहेकी थिइन्। तर, उनका आँखाका डिलमा टिल्पिलाएको आँसुको ढिक्का तप्प खस्न मात्र बाँकी थियो। उनी बोल्दाबोल्दै एकछिन चुप्प लागिन्। उनको मौनताले भान्साकोठा नै सामसुम्म भयो।
भान्सामा सघाइरहेका नवलपरासीका सरावल गाउँपालिका-५ का ५१ वर्षीय जगेन्द्र चौधरीले मौनता चिर्दै भने, 'सबैको पीडा सुन्नुभयो भने तपाईं रूनुहुन्छ।'
जगेन्द्र पनि गाउँमा टिक्न नसकेर काठमाडौं आउन बाध्य भएको दुखेसो पोख्छन्। काठमाडौं आउँदा दुई-चार दिनमै फर्किने होला भनेर उनले पाँच-पाँच किलो दाल, चामल र आलु बोकेर ल्याएका थिए। लामै समय बस्नुपर्ने भएपछि के खाने अन्यौलमा छन्।
पाँच वर्षअघि जगेन्द्र साउदी अरब गएका बेला उनकी श्रीमती मीनादेवी चौधरीले स्वास्थ्य उपचारका लागि गाउँकै दिनेश चौधरी भन्ने व्यक्तिसँग एक लाख रूपैयाँ ऋण लिएकी थिइन्। जगेन्द्रले विदेशबाट कमाएर ल्याएको र थप ऋण गरेर तीन वर्षअघि २ लाख ६६ हजार बुझाए। दृष्टिबन्धक राखेको दुई कट्ठा जग्गाको कागजात भने फिर्ता पाएका छैनन्।
'स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्या सुनेनन्,' जगेन्द्रले भने, 'त्यही भएर न्याय माग्न काठमाडौं आएका छौं।'
मधेसमा मिटरब्याजको पीडाबाट धेरै जना ग्रसित छन्। कतिपयले आत्महत्या गरेका छन् भने कतिपय गाउँ छाड्न बाध्य भएको उनी बताउँछन्।
नवलपरासीको सरावल गाउँपालिका-५ की ४८ वर्षीया मीनादेवी काहारले मिटरब्याजी साहुकै कारण एक वर्षअघि आफ्नी छिमेकी बहिनीले आत्महत्या गरेको अनुभव बेहोरेकी छन्।
'साहु दिनहुँ घर आएर पैसा माग्थे। त्यो बहिनी अरूको जग्गा कमाएर बसेकी थिइन्। घरमा चार-पाँचवटा बाख्रा थिए। त्यो पनि साहुले लगेपछि उनले आत्महत्या गरिन्,' उनले भनिन्, 'उनको दस वर्षीय छोरालाई मावलीले लगेका छन्। श्रीमान मलेसिया गएका थिए, अहिले सम्पर्कविहीन छन्।'
मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका चार सयभन्दा बढी मिटरब्याज पीडितहरू कोही पनि यो समस्या छिनोफानो नभएसम्म घर फर्किने मनस्थितिमा छैनन्।
सरकारले उनीहरूको मागअनुसार चैत २१ गते छानबिन समिति गठन गरिसकेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्वएआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य छन्। तर यी पीडितहरू आफूले ऋण चुक्ता गरिसक्दा पनि साहुकहाँ बन्धक रहेको जग्गा फिर्ता हुनुपर्ने र पीडितलाई पक्राउ गर्ने उजुरी खारेज हुनुपर्ने लगायत माग राखेर आन्दोलन गरिरहेका छन्।
'गाउँमा गए पनि साहुको डरले बस्न गाह्रो छ। त्यसैले हामी त न्याय नपाएसम्म फर्किने होइन,' फोकनादेवी भन्छिन्, 'मागेर खान्छु, तर न्याय नपाएसम्म घर फर्किन्नँ।'