भगवानको दर्शन गर्न त भक्तजन रोजै मन्दिर धाउँछन्, तर कुनै दिन त्यस्तो होला जब भगवान स्वयं आफ्नो दर्शन दिन भक्तजनका घर–घर डुली हिँड्ने छन्!
किन नहुनु?
काठमाडौं र पाटनको सेतो र रातो मच्छिन्द्रनाथ रथयात्रालाई यही चलनका रूपमा लिइन्छ।
करूणामय उर्फ लोकेश्वरसमेत भनिने यी मच्छिन्द्रनाथहरू आफ्ना भक्तजनको दुःखकष्ट, पीरमर्का बुझ्न र त्यसलाई दूर गर्न रथयात्रा गर्दै ‘घरदैलो’ अभियानमा हिँडेका हुन् भन्ने विश्वास गरिन्छ।
सेतो मच्छिन्द्रनाथको वार्षिक ‘घरदैलो’ अभियान बुधबार सुरू भयो। यसका लागि जनबहालको सेतो मच्छिन्द्रनाथ निवास अर्थात् मन्दिरबाट उनको मूर्ति खटमा राखेर जमलस्थित तीनधारा संस्कृत छात्रावासअगाडि ल्याइएको थियो। त्यसपछि त्यही ठाउँमा बनाइएको ५० फिट अग्लो रथमा मच्छिन्द्रनाथलाई विराजमान गराएर उनको वार्षिक रथयात्रा सुरू गरियो।
पहिलो दिन जमलबाट घन्टाघर, रत्नपार्क, भोताहिति हुँदै असनसम्म रथयात्रा भयो भने दोस्रो दिन बिहीबार असनबाट जनबहाल, इन्द्रचोक हुँदै हनुमानढोका दरबार ल्याइएको छ। यही क्रममा आज शुक्रबार तेस्रो दिन सेतो मच्छिन्द्रनाथको रथलाई हनुमानढोका दरबारबाट मरू, जैसीदेवल हुँदै लगन पुर्याइन्छ।
लगनमा मच्छिन्द्रनाथकी आमाको मन्दिर छ, जसलाई रथले तीनपटक परिक्रमा गर्नेछ। शनिबार दिनभरि रथ त्यहीँ राखिन्छ। यसलाई मच्छिन्द्रनाथ वर्षको एकचोटि आफ्नी आमाको काखमा बसेका हुन् भन्ने अर्थ लगाइन्छ। आइतबार मच्छिन्द्रनाथको मूर्ति रथबाट झिकेर खटमा विराजमान गराई विधिपूर्वक फेरि जनबहालस्थित मन्दिरमा लगेर राखिनेछ।
यसबीच हजारौं भक्तजनले सेतो मच्छिन्द्रनाथको पूजा–आराधना गर्ने छन्।
सेतो मच्छिन्द्रनाथको रथयात्रा मैले वर्षौंदेखि हेर्दै आएको छु। तपाईंहरूले पनि हेर्नुभएकै होला। हरेकचोटि रथयात्रामा सरिक हुँदा एउटा प्रश्न बारम्बार मेरो दिमागमा घुमिरहन्छ।
जनबहालमा सेतो मच्छिन्द्रनाथको त्यत्रो भव्य मन्दिर हुँदाहुँदै उनको रथयात्राको सुरूआत जमलबाट किन भयो? उनको मूर्तिलाई जनबहालमै रथारोहण गराउनुको साटो खटमा हालेर जमलसम्म किन लग्नुपर्यो? के हो यसको अर्थ?
मैले यो जिज्ञासा मेट्न सम्पदा अभियन्ता तथा सेतो मच्छिन्द्रनाथमाथि वृत्तचित्र बनाएका आलोकसिद्धि तुलाधरसँग लामो कुरा गरेको थिएँ। उनले मलाई पटक–पटक जनबहाल क्षेत्र घुमाए। रथयात्रा मार्गमा हामी धेरैचोटि सँगसँगै हिँड्यौं। उनले यो जात्रासँग सम्बन्धित थुप्रै व्यक्तिसँग मेरो भेट गराए — कतिचोटि आफैं आएर, कतिचोटि उनीहरूको सम्पर्क नम्बर दिएर।
यति मात्र होइन, उनले सेतो मच्छिन्द्रनाथबारे नेपाली, नेवारी र अंग्रेजी भाषामा लेखिएका थुप्रै किताब र लेख मलाई पढ्न दिए।
आलोकले उपलब्ध गराएका विभिन्न किताब र लेखहरूमध्ये अमेरिकी संस्कृति अध्येता जोन के. लकको ‘करूणामय: द कल्ट अफ अवलोकितेश्वर — मत्स्येन्द्रनाथ इन द भ्याली अफ नेपाल’ किताब मलाई सबभन्दा जानकारीमूलक लाग्यो। उनले त्यो किताबमा सेतो र रातो मच्छिन्द्रनाथसँग जोडिएका कथा–किम्बदन्तीदेखि मन्दिर परिसरको विवरण, रथयात्राको चर्चा र पूजाविधिसमेत विस्तारमा वर्णन गरेका छन्। नेवार बुद्धिजममाथि गहिरो अध्ययन गरेका जोन लकको निधन सन् २००९ मा काठमाडौंमै भएको थियो।
जोनको किताबअनुसार सेतो मच्छिन्द्रनाथको रथयात्रा जमलबाट सुरू हुनुका पछाडि चारवटा किम्बदन्ती छन् —
पहिलो किम्बदन्ती
आजभन्दा धेरै वर्षअघि, प्राचीन कालमा, मगधका राजाले तत्कालीन नेपाल उपत्यकामाथि हमला गरे। उनले यहाँका मठ–मन्दिर भत्काए, दरबार जलाए, जनताका घरमा आगो झोसे।
सबैतिर तबाही मच्चाएर फर्किने क्रममा मगध सेनाले प्रशस्त धनसम्पत्ति, बहुमूल्य गरगहना र अनगिन्ती भगवानका मूर्ति लुटेर लगेका थिए। उनीहरूले लुटेका भगवानका मूर्तिमध्ये सेतो मच्छिन्द्रनाथको मूर्ति पनि थियो।
मगध सेना मच्छिन्द्रनाथको मूर्तिसहित आफ्नो लुटको धन बोकेर नेपाल मण्डलबाट पश्चिम लागे।
यात्राको बीचमा लुटको लगत राख्दै गर्दा जसै मगधका राजाको नजर सेतो मच्छिन्द्रनाथको मूर्तिमा गयो, उनलाई त्यो मूर्तिले खासै आकर्षित गरेन।
मच्छिन्द्रनाथको स्वरूप अरू देवी–देवताजस्तो छैन। न उनका दस शिर, न दस हात। न उनको शिरमा तेस्रो आँखा, न गलामा सर्पको माला। अनुहारमा पनि रत्तिभर रौद्ररूप छैन। हेर्दै डरलाग्दो गरी जिब्रो निकालेर आगो ओकल्ने देउता उनी होइनन्। झट्ट हेर्दा सुकोमल बालकझैं देखिने सेतो मच्छिन्द्रनाथको स्वरूपमा दया, माया र करूणाको भाव छचल्किएको पाइन्छ।
युद्ध, हिंसा र रक्तपातपूर्ण माहोलमा जिन्दगी बिताएका ती राजाले त्यस्ता सुकोमल मच्छिन्द्रनाथको सेतो मूर्ति आफूसँग राख्नुको कुनै उपलब्धि देखेनन्। उनी सायद आफ्नो सेनालाई युद्धमा मर्न र मार्न प्रेरित गराउने शक्तिस्वरूप देव वा देवी मात्र सँगै लैजान चाहन्थे, ताकि तिनै मूर्तिका अगाडि हात उज्याउँदै सेनाले युद्धमा होमिने प्रण गर्न सकून्!
सायद यही सोचेर मगधका राजाले सेतो मच्छिन्द्रनाथको मूर्ति आफूसँग नलैजाने निर्णय गरे र बाटोमा पर्ने गण्डकी नदीमा फ्याँकिदिए।
मूर्ति नलैजाने निर्णयसम्म त ठिकै थियो, तर नदीमा बगाउनाले त्यसको अभिसाप मगध राजा र उनको सिँगो राज्यले बेहोर्नुपर्यो।
राजधानी पुग्नेबित्तिकै राजा बिरामी परे। उनलाई निस्लोट ज्वरो आयो। जिउ सुन्निँदै गयो। उनीसँगै नेपाल मण्डलबाट फर्किएका सिपाही एकपछि अर्को ओछ्यान परे। राजपरिवारका अरू सदस्य र राज्यका सर्वसाधारण नागरिकलाई पनि विभिन्न रोगब्याधिले च्यापेको च्याप्यै गर्न थाल्यो। एक किसिमले भन्दा मगधमा महामारी चलेजस्तो स्थिति आयो। तर, त्यो महामारीको कारण के थियो र त्यसको निदान कसरी गर्ने, कसैलाई थाहा थिएन।
एकदिन राजाले साक्षात् सेतो मच्छिन्द्रनाथलाई सपनामा देखे।
मच्छिन्द्रनाथले उनको सपनामा आएर भने, ‘राजन, तिम्रो राज्यमा फैलिएको अनिष्टको कारण तिमी स्वयं हौ। तिमीले नेपाल मण्डलबाट लुटेर ल्याएको मेरो मूर्तिको तिरस्कार गर्यौ र बेइज्जतीपूर्वक नदीमा बगाइदियौ। तिमी र तिम्रो राज्यले अहिले त्यही पापको फल भोग्दैछ।’
साक्षात् मच्छिन्द्रनाथको मुखबाट यस्तो कुरा सुनेपछि मगधका राजाले भने, ‘हे देव, मबाट घोर पाप भयो। मैले तपाईंको महिमा बुझिनँ र अज्ञानतावश तिरस्कार गर्न पुगेँ। त्यसैले हे देव, मलाई माफ गरिदिनुस् र यो पापबाट मुक्ति पाउने उपाय बताइदिनुस्।’
दया र मायाका प्रतीक सेतो मच्छिन्द्रनाथले राजालाई संकट निवारणको उपाय सिकाइदिए, ‘राजन, तिमीले मेरो मूर्ति नेपाल मण्डलको जुन ठाउँबाट लुटेर ल्याएका थियौ, त्यहीँ लगेर राखिदेऊ।’
यति भनेर करूणामय अन्तर्ध्यान भए।
राजाले भोलिपल्ट सेनाको एउटा टुकडीलाई मच्छिन्द्रनाथको मूर्ति बोकाएर नेपाल मण्डलमा इज्जतका साथ फिर्ता गर्न पठाए।
त्यति बेलासम्म मगधको हमलाले उत्पन्न बेहालबाट काठमाडौं बौरिसकेको थिएन। मगध सेनाले क्षतविक्षत पारेर गएका मन्दिरहरू पुनर्निर्माण भएका थिएनन्। आगो लागेका घरबाट धुवाँ पुत्ताउन पनि छाडेको थिएन।
मगध सेनाले सहर पुनर्निर्माणको प्रतीक्षा गरेनन् र जहाँबाट मूर्ति उठाएका थिए, त्यहीँको भग्नावशेषमा छाडेर आए।
यसले मगधको अनिष्ट त हट्यो, तर युद्धको घाउमा मह्लम लगाइरहेको नेपाल मण्डलले उक्त मूर्तिमा ध्यान दिन पाएन।
आफ्ना सयौं नागरिक मारिएको र असंख्य भौतिक संरचना क्षतविक्षत भएर राज्यमा खलबली मच्चिएका बेला सेतो मच्छिन्द्रनाथको मूर्ति स्याहार्ने फुर्सत तत्कालीन राज्यलाई भएन। प्राथमिकतामा पनि परेन, सायद!
त्यो मूर्ति भग्नावशेषमै अलपत्र रह्यो र समयक्रममा झन् झन् पुरिँदै गयो।
वर्ष बिते, शताब्दी बिते। थुप्रै नयाँ पुस्ता आए, गए। यो समय चक्रमा सेतो मच्छिन्द्रनाथको स्मरण हराउँदै गयो।
धेरै धेरै, धेरै नै वर्षपछि काठमाडौंका एक जना ज्यापुले खेत खन्दै गर्दा जमिनमुनिबाट सेतो स्वरूपको, बालरूपी देउताजस्तो मच्छिन्द्रनाथको मूर्ति फेला पारे।
उनले त्यो मूर्ति राजाको दरबारमा बुझाउन लगे।
राजाको आदेशअनुसार अहिलेको जनबहालस्थित कनकचैत्य महाविहारमा भव्य मन्दिर बनाएर मूर्ति प्रतिस्थापन गरियो।
ज्यापुले जुन ठाउँमा खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारे, त्यो अरू कतै होइन, जमलको त्यही ठाउँ थियो, जहाँबाट अहिले रथयात्रा सुरू हुन्छ।
दोस्रो किम्बदन्ती
यो कथा काठमाडौंका ज्यापुले खेत खन्दै गर्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेबाट सुरू हुन्छ।
उनले धर्तीमा पुरिएको त्यो मूर्ति जसै बाहिर निकाले, सेतो मच्छिन्द्रनाथको शान्त र सुकोमल स्वरूप देखेर उनी द्रवित भए। उनको मनमा मच्छिन्द्रनाथप्रति अथाह श्रद्धा र भक्ति जागेर आयो। उनले त्यो मूर्ति सुटुक्क आफ्नो घर लगे र धानको भकारीमा लुकाएर राखे।
उनी हरेक दिन भकारीबाट मूर्ति झिकेर पूजा गर्थे र फेरि भकारीमै लुकाएर राखिदिन्थे।
यसले एउटा अद्भूत घटना भयो — ती ज्यापुको धान भकारी कहिले रित्तिँदै रित्तिएन। वर्षभरि धान झिक्दा पनि भकारीमा जतिको तति नै हुन्थ्यो।
यस्तो चमत्कार देखेपछि ती ज्यापुलाई यी सामान्य देउता होइनन् भन्ने भयो र उनी त्यो मूर्ति लिएर राजाको दरबार गए।
राजसभा बैठक बस्यो। सबैले सेतो मच्छिन्द्रनाथ ‘सहकालका देउता’ हुन् भनेर अड्कल काटे र उनलाई दरबारको सार्वजनिक अन्न भण्डारमा लगेर प्रतिस्थापन गरियो।
यसरी राज्यको सार्वजनिक अन्न भण्डारमा सेतो मच्छिन्द्रनाथ प्रतिस्थापन गरेपछि समृद्धि बढ्दै गयो। हरेक समय यहाँका खेतमा अन्नका बाला लहलहाउन थाले। कुनै पनि नागरिकको घरमा अन्नको भकारी रित्तिएन। काठमाडौंमा जात्रापर्व फस्टायो। राज्यले दिन दुगुना, रात चौगुना तरक्की गर्यो। सैन्य शक्तिमा पनि काठमाडौं राज्यलाई कसैले टक्कर दिन सकेन। काठमाडौंको वैभवको खबर टाढाटाढासम्म फैलियो। उत्तरी छिमेकी तिब्बतका राजाले पनि सेतो मच्छिन्द्रनाथको महिमा थाहा पाए।
त्यसपछि तिब्बती सेनाले मच्छिन्द्रनाथलाई आफ्नो वशमा पार्न काठमाडौंमाथि धावा बोले र मच्छिन्द्रनाथको मूर्ति लुटेर तिब्बत लगे।
तिब्बतका राजाले भव्य मन्दिर बनाएर सेतो मच्छिन्द्रनाथको मूर्ति प्रतिस्थापन गरे र पूजाआजा सुरू गराए।
पूजा त सुरू गरे, तर पूजाको तान्त्रिक विधि उनीहरूलाई थाहा थिएन। यहाँसम्म कि, उनीहरूले सेतो मच्छिन्द्रनाथका नाममा जनावरको बलिसमेत दिए। यसले राज्यमा अपसगुन लाग्यो र महामारी फैलियो।
त्यसपछि मगधका राजाले जस्तै तिब्बती राजाले पनि सेतो मच्छिन्द्रनाथलाई सपनामा देखे र उनकै सुझावअनुसार राज्यमा मडारिएको महामारी शान्त पार्न मच्छिन्द्रनाथको मूर्ति काठमाडौं फिर्ता पठाए।
यहाँ एउटा कुरा चाहिँ फरक छ — मगध सेनाले सेतो मच्छिन्द्रनाथको मूर्ति जमलको भग्नावशेषमा छाडेर आएका थिए, जबकि तिब्बती सेनाले जमलको एउटा इनारमा खसालेर फर्के।
धेरै धेरै, धेरै नै वर्षपछि एक स्थानीयले इनारबाट पानी झिक्ने क्रममा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पर्यो। राजाको आदेशअनुसार जनबहालको कनकचैत्य महाविहारमा मन्दिर बनाएर मूर्ति प्रतिस्थापन गरियो।
यो किम्बदन्तीअनुसार सेतो मच्छिन्द्रनाथको मूर्ति काठमाडौंमा दुईचोटि प्रतिस्थापन गरिएको पाइन्छ। तर, दुवै किम्बदन्तीमा विदेशी सेनाले लुटेको मूर्ति पछि जमल क्षेत्रमा फालिएको र त्यहीँबाट अलपत्र अवस्थाको मूर्ति फेला परेको बुझिन्छ।
तेस्रो किम्बदन्ती
यो किम्बदन्ती जनबहाल बस्ने बज्राचार्य थरका वृद्ध व्यक्तिले आफूलाई सुनाएको जोन लकले किताबमा उल्लेख गरेका छन्।
किम्बदन्ती यस प्रकार छ —
प्राचीन कालमा काठमाडौंमा अनिकाल लागेको थियो। झन्डै १२ वर्ष चलेको अनिकालले धेरैको ज्यान लियो। धेरैको घरबार तबाह पार्यो। राज्यको सर्वस्व स्वाहा भयो। चरम दुःखमा फसेपछि काठमाडौंका जनता मिलेर ‘सहकालका देउता’ भनिने करूणामयको प्रार्थना गरे।
जनस्तरबाट भएको अभूतपूर्व प्रार्थनाले खुसी हुँदै करूणामय धर्तीमा प्रकट भए।
उनको आगमनपछि समृद्धि फर्कियो। खेतमा अन्नका बाला लहलहाउन थाले। राज्यमा खुसहाली छायो।
यसरी काठमाडौंका जनताको प्रार्थना पूरा भएपछि करूणामय विदावारी हुन खोज्दा सबै मिलेर आँशुका धारा बगाउँदै बाटो रोके।
जवाफमा करूणामयले भने, ‘सारा लोकको कल्याण गर्नुपर्ने जिम्मेवारी मेरो काँधमा छ। त्यसैले म काठमाडौंमा मात्र सीमित भएर बस्न सम्भव छैन।’
कसैगरी पनि करूणामयलाई काठमाडौंमा राख्न नसकिने भएपछि यहाँका जनताले एउटा जुक्ति गरे।
त्यति बेला काठमाडौं तन्त्रविद्यामा पोख्त थियो। स्वर्गलोकका देउता र पाताललोकका दानवलाई समेत वशमा राख्न सक्ने खुबी भएका तान्त्रिकहरू यहाँ बस्थे। आफ्नो अनुनयबाट करूणामयलाई रोक्न नसकिने भएपछि तिनै तान्त्रिकले आफ्नो तन्त्रविद्या प्रयोग गरेर उनलाई वशमा पारे।
यहाँ एउटा समस्या के पर्यो भने, त्यति बेलासम्म करूणामयको पूजा गर्ने विधिविधान यहाँका तान्त्रिकलाई पनि थाहा थिएन। उनीहरूले आफूलाई जे विधि आउँछ, त्यहीअनुसार करूणामयको पूजा गरे। जनावरको बलिसमेत दिइयो।
आफ्नो नाममा प्राणीको हत्या गरेको देखेपछि करूणामय असन्तुष्ट भए। यसले राज्यमा प्लेग लगायत विभिन्न रोगब्याधिको महामारी फैलियो। धेरैको ज्यान गयो। राज्यका एक–से–एक वैधहरूले पनि महामारीको निदान खोज्न सकेनन्।
महामारीबाट त्राण पाउने उपाय के हो भनेर खोज्दै जाँदा अन्ततः एक जना झाँक्रीले त्यो सबै करूणामयलाई असन्तुष्ट पार्नुको परिणाम हो भन्ने थाहा पाए। त्यसपछि तन्त्रविद्याले वशमा पारिएका करूणामय उर्फ सेतो मच्छिन्द्रनाथको मूर्तिलाई फुक्का गरियो।
यति बेलासम्म काठमाडौंका जनता सेतो मच्छिन्द्रनाथको शक्तिबाट यति भयभीत भइसकेका थिए, उनीहरूले डरै डरमा त्यो मूर्ति पोखरीमा फालिदिए। त्यसपछि त महामारी घट्नुको साटो पहिलेभन्दा तीव्र गतिमा बढ्न थाल्यो।
सेतो मच्छिन्द्रनाथको मूर्ति पोखरीमा फालेकाले प्लेग मात्र होइन, पानीबाट सल्किने अन्य किसिमका रोगले पनि सहरलाई छपक्कै छोप्यो।
समयक्रममा महामारीको प्रभाव प्राकृतिक रूपले नै घट्दै गयो। पोखरीमा फालेको सेतो मच्छिन्द्रनाथको मूर्ति मान्छेको स्मरणबाट हरायो। धेरै वर्षपछि एक जना ज्यापुले जमलमा रहेको आफ्नो खेत खन्दा मूर्ति फेला पर्यो।
त्यसपछिको घटना माथिका अन्य किम्बदन्तीसँग समान छ।
चौथो किम्बदन्ती
यो किम्बदन्ती जोन लकले नेवारी भाषामा प्रकाशित ‘जनबहाद्यःया बाखः’ बाट उद्धृत गरेका हुन्।
त्यो समय काठमाडौंमा राजा यक्ष मल्लको शासन थियो।
एकदिन राजा यक्ष मल्ल, रानी भुवनेश्वरी र राजकुमार रत्न मल्ल लगायत राजपरिवारका सबै सदस्यले करूणामयको पूजा–आराधना गरे। यसबाट प्रसन्न भएका करूणामयको सुखावती भुवन (स्वर्गलोक) बाट कान्तिपुर सहर आगमन भयो।
करूणामयको आगमनपछि राजाले छुट्टै विहार बनाएर उनलाई प्रतिस्थापन गर्ने योजना सुनाए र सोधे, ‘देव, तपाईं मेरो राज्यको कुन ठाउँमा बस्न चाहनुहुन्छ?’
जवाफमा करूणामयले भने, ‘मलाई बागमती र विष्णुमतीको पवित्र संगम स्थलमा विहार बनाएर राखियो भने मेरो मन प्रसन्न हुनेछ।’
त्यति बेला बागमती र विष्णुमतीको संगम स्थल अहिलेजस्तो टेकुमा थिएन, इन्द्रचोकमा थियो। त्यही भएर इन्द्रचोकलाई नेवार भाषामा ‘ह्वंग’ भनिन्थ्यो, जसको अर्थ संगम भन्ने बुझिन्छ। यही ह्वंगबाट अपभ्रंश हुँदै ‘वंघ’ भन्न थालियो। इन्द्रचोकलाई नेवार भाषामा वंघ भन्ने चलन आज पनि छ। समयक्रममा यी दुई नदीको धार परिवर्तन हुँदै आजको ठाउँमा सरेको विश्वास गरिन्छ।
यसरी करूणामय स्वयंले तत्कालीन ह्वंग अर्थात् इन्द्रचोकमा रहेको बागमती र विष्णुमतीको दोभानमा बस्ने इच्छा देखाएपछि राजा यक्ष मल्लले केल टोलको जनबहालस्थित कनकचैत्य महाविहारमा भव्य मन्दिर बनाएर उनको मूर्ति प्रतिस्थापन गरे र रथयात्रा पनि चलाए।
...
किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो।
इतिहासका घटनाक्रम पुस्ता–दर–पुस्ता सर्दै आउँदा त्यसलाई बढी रोचक बनाउन अलौकिक कथावस्तुहरू जोड्ने गरिन्छ। यसले ऐतिहासिक घटनाक्रम अपत्यारिलो बन्न जान्छ। तर, हामीले ती किम्बदन्तीबाट कथ्य र तथ्य छुट्टयाउन सक्यौं भने इतिहासमा लुकेका धेरै पाटा खुल्ने छन्।
यी किम्बदन्ती गहिरिएर हेर्दा हामी के अनुमान लगाउन सक्छौं भने मच्छिन्द्रनाथ उर्फ करूणामय काठमाडौंमा प्राचीन कालदेखि पुजिँदै आएका देउता हुन सक्छन्।
बीचको कुनै कालखण्डमा विदेशी सेनाले आक्रमण गरेर काठमाडौं राज्यमा तबाही मच्चाउँदा सेतो मच्छिन्द्रनाथको मन्दिर पनि तहसनहस भयो। मन्दिरको भग्नावशेषमा मूर्ति पुरियो र समयक्रममा त्यो मूर्ति जनस्मृतिबाट हरायो।
पछि राजा यक्ष मल्लका पालामा काठमाडौंका एक किसानले जमलमा रहेको आफ्नो खेत खन्दै गर्दा पृथ्वीको गर्भमा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला परेर उनलाई जनबहालको अहिलेको ठाउँमा प्रतिस्थापन गरिएको हुनसक्छ।
यो किन पनि सम्भव छ भने, काठमाडौंमा विभिन्न समयमा विदेशी सेनाको हमला भएको छ। दक्षिणमा बंगालदेखि दिल्ली, उत्तरमा तिब्बतदेखि पश्चिमका खस राज्यहरूले समेत काठमाडौंमा पटकपटक हमला गरेको इतिहास छ। कतिपय हमलामा काठमाडौंका पशुपतिदेखि स्वयम्भूसम्म ध्वस्त पारिएको र तिनको जिर्णोद्वार गर्न वर्षौं लागेको प्रसंग इतिहासमा पाइन्छ।
संस्कृति अध्येता डेनियल राइटले लेखेको वंशावलीमा सेतो मच्छिन्द्रनाथ प्राप्तिको घटना अलि फरक ढंगले आए पनि सार उस्तै छ।
उनी लेख्छन्, ‘राजा यक्ष मल्लको शासनकालमा कुमालेहरूले माटो झिक्न खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला परेको थियो। यो मूर्तिको निर्माण लिच्छवि राजा गुणकामदेवका पालामा भएको थियो। पछि ठकुरी राजाका पालामा मन्दिरको भग्नावशेषमुनि मच्छिन्द्रनाथको मूर्ति पुरियो।’
उनी अगाडि लेख्छन्, ‘राजा यक्ष मल्लले कुमालेले जमिनमुनि फेला पारेको मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरे र नयाँ मन्दिर निर्माण गरेर प्रतिस्थापन गराए।’
यो मूर्तिलाई त्यति बेला ‘यमलेश्वर’ (जमलेश्वर) भनिने र जुन ठाउँमा मूर्ति फेला पर्यो त्यसलाई ‘यमला’ (जमला) भनिने गरेको डेनियल राइटको भनाइ छ।
त्यही वंशावलीमा डेनियल राइटले राजा प्रताप मल्लको पालामा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू गरिएको लेखेका छन्। अन्य वंशावलीले भने राजा प्रताप मल्लले रथयात्रा सुरू गराएको भन्दैन। बरू ठकुरी राजाका पालामा लोप भएको रथयात्रा प्रताप मल्लले फेरि चलाएको भनिन्छ।
काठमाडौंमा सुनिँदै–सुनाइँदै आएका किम्बदन्ती र डेनियल राइटको वंशावलीसमेतलाई विचार गर्दा सेतो मच्छिन्द्रनाथ र जमलको गहिरो नाता देखिन्छ। सेतो मच्छिन्द्रनाथको मूल निवास अर्थात् मन्दिर जमलमा थियो भन्ने काठमाडौं विश्वास गर्छ। त्यही भएर जसलाई हामी सेतो मच्छिन्द्रनाथ वा ‘जनबहाः द्यः’ भन्छौं, उनको खास नाम ‘जमबहाः द्यः’ हो।
र, यही कारणले जनबहालमा त्यत्रो भव्य मन्दिर हुँदाहुँदै सेतो मच्छिन्द्रनाथको रथयात्रा जमलको तीनधारा संस्कृत पाठशाला अगाडिबाट सुरू गरिन्छ।
पहिले जमलमा रानीपोखरीको उत्तरतर्फ एउटा ठूलो विहार थियो, जसलाई धर्मचक्र महाविहार वा जमः बहाः भनिन्थ्यो। त्यो विहार विश्वज्योति हल र त्रिभुवन विश्वविद्यालयको जग्गा भएको ठाउँदेखि सेतो दरबार हुँदै अहिलेको दरबारमार्गसम्म फैलिएको थियो। त्यस क्षेत्रमा पाइने केही लिच्छविकालीन मूर्तिले यो ठाउँको प्राचीनता झल्काउँछ। सेतो मच्छिन्द्रनाथको मूर्ति पहिले त्यही विहारमा थियो भन्ने विश्वास गरिन्छ।
राजा यक्ष मल्लको पालासम्म आइपुग्दा धर्मचक्र महाविहार लोप हुने अवस्थामा पुगिसकेको र त्यही भएर उनले मच्छिन्द्रनाथको मूर्ति जनबहाल सारेको भनाइ पनि छ।
अहिले त जमलमा उक्त विहारको अवशेषसम्म बाँकी छैन। राणाकालमा वीरशमशेरले सेतो दरबार बनाउँदा विहारको ठूलो हिस्सा ओगटे। पछि सडक निर्माण र अन्य भौतिक संरचनाले विहारको थप जग्गा पनि मासिँदै गयो।
धर्मचक्र महाविहार लोप भए पनि सेतो मच्छिन्द्रनाथको मूल घर त्यही ठाउँमा थियो भन्ने जनस्मृति चाहिँ लोप भएन।
दरबारमार्गको जुन ठाउँमा अहिले राजा महेन्द्रको शालिक छ, त्यही ठाउँमा मच्छिन्द्रनाथको मूर्ति फेला परेको थियो भन्ने जनविश्वास पनि छ। उक्त शालिक स्थापना हुनुअघि त्यहीँबाट रथयात्रा सुरू गर्ने चलन थियो। अहिले भने केही मिटर तल तीनधारा संस्कृत छात्रावास अगाडिबाट रथयात्रा सुरू गरिँदै आएको छ।
यति मात्र होइन, सेतो मच्छिन्द्रनाथका पुजारीहरू अहिले पनि हरेक वर्ष सेतो दरबारभित्रको आफ्नो परम्परागत ठाउँमै गएर ‘देवाली पूजा’ गर्छन्।
सेतो मच्छिन्द्रनाथ रथयात्राको एउटा मुख्य विशेषता यही हो, यसले इतिहासको पानाबाट मेटिइसकेको घटना जोगाएर राखेको छ।
जबसम्म भगवान स्वयं आफ्नो दर्शन दिन भक्तजनका घर–घर डुली हिँड्ने छन्, जबसम्म रथयात्रा अहिलेकै विधिअनुरूप चलिरहने छ, तबसम्म सेतो मच्छिन्द्रनाथको मूल निवास धर्मचक्र महाविहार हो र त्यो विहार जमलमा थियो भन्ने इतिहास जीवित रहनेछ।