बाजुराको गौमुल गाउँपालिका–२ की जमुना रोकाय गत माघ १० गते दिउँसो बारीमा घाँस काट्न गएकी थिइन्। ठ्याक्कै २ बजेर ४३ मिनेट जाँदा भुइँचालोको कम्पनले धर्ती थररर काम्यो।
भिरालो जमिनमा घाँस काट्दै गरेकी जमुना भारी छाडेर भाग्न खोजिन्, तर माथिबाट खसेको ठूलो ढुंगा छलेर उम्किन सकिनन्।
स्थानीय दिलबहादुर थापाका अनुसार अन्दाजी ३५ वर्षीया जमुनाको घटनास्थलमै मृत्यु भयो।
त्यस दिन बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्युडको भुइँचालो गएको थियो। उक्त भुइँचालोले जमुनाको ज्यान लिनुका साथै ठूलो धनमाल क्षति भएको छ।
गौमुल गाउँपालिका–१ अम्लिसमा भुइँचालोको कम्पनले गोठ भत्किँदा भेडा गोठाला रामदल रोकाय घाइते भए भने उनका ४० वटा भेडा पुरिए। यसबाहेक बाजुरा, बझाङ, अछाम लगायत जिल्लामा दर्जनौं घर भत्किएर मान्छेहरू घरबारविहीन भएका छन्। उनीहरू अहिले पनि पालमुनि बसिरहेका छन्।
बाजुरा मात्र होइन, केही समययता पश्चिम नेपालका दुर्गम जिल्लामा लगातार भुइँचालो कम्पन महसुस गरिएको छ। अहिलेसम्म सानो सानो स्तरमा गइरहेका ती भुइँचालाले राष्ट्रिय चर्चा पाउने गरी क्षति गराएको छैन। तर जुन दरमा भुइँचालोको कम्पन छुट्दैछ, त्यसले पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमलाई दस्तक दिइरहेको छ। सरकारले बेलैमा यो जोखिमतर्फ ध्यान दिएन र विज्ञहरूसँग परामर्श गरी पूर्वतयारीको उपाय अपनाएन भने कुनै पनि बेला ठूलो क्षति सामना गर्नुपर्ने हुनसक्छ।
यो स्टोरीमा हामी पछिल्लो चार महिना अर्थात् कात्तिकयता पश्चिम नेपालका विभिन्न जिल्लामा आएका भुइँचालोको चर्चा गर्नेछौं। सँगसँगै, खुसुखुसु गइरहेका ती भुइँचालाले पश्चिम नेपालको भूकम्पीय जोखिमबारे के संकेत गर्दैछ, त्यसबारे पनि कुरा गर्नेछौं।
सबभन्दा पहिला कुरा गरौं, कात्तिक महिनादेखि आजसम्म पश्चिम नेपालमा कतिवटा भुइँचाला गए?
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक हेर्ने हो भने कात्तिक १३ देखि फागुन १ गतेसम्म पश्चिम नेपालमा १२ वटा भुइँचाला गइसकेका छन्।
यसमध्ये एउटाबाहेक सबै चार म्याग्निच्युडभन्दा ठूला छन्।
सबभन्दा ठूलो भुइँचालो डोटीमा गएको थियो। कात्तिक २३ गते राति सवा २ बजेको उक्त भुइँचालो ६.६ म्याग्निच्युडको थियो। त्यसको अघिल्लो दिन (कात्तिक २२) डोटीलाई नै केन्द्रविन्दु बनाएर दुईवटा भुइँचाला गएका थिए — एउटा ४.१ र अर्को ५.७ म्याग्निच्युडको।
त्यस्तै, बाजुरामा तीन, बझाङ र दार्चुलामा दुई–दुई, अछाम र डोल्पामा एक–एकवटा भुइँचालो गएका छन्।
बझाङमा कात्तिक १३ गते ४.६ म्याग्निच्युडको भुइँचालो गएको थियो भने त्यसको १३ दिनपछि कात्तिक २६ गते ५.४ म्याग्निच्युडको अर्को भुइँचालो गयो।
चार महिना अवधिमा खुसुखुसु गइरहेका यी भुइँचालाले के संकेत गर्छन्? के पश्चिम नेपालमा भूकम्पीय जोखिम बढेको हो?
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार सानो सानो भुइँचालोले भूकम्पीय शक्ति जम्मा भइरहेको संकेत गर्छ।
‘नेपाल भौगोलिक रूपले भूकम्पीय जोखिममा छ भन्ने हामी सबैलाई थाहा छ। हाम्रो भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको निरन्तर घर्षणले ठूलो परिमाणको शक्ति उत्पन्न भइरहेको हुन्छ। त्यो शक्ति जमिनमुनि थुप्रिएर बस्छ। ठूलो भुइँचालो जाँदा जमिनमुनि थुप्रिएर बसेको शक्ति एकैचोटि बाहिर निस्कन्छ। त्यसपछि फेरि त्यति नै शक्ति जम्मा हुन लामो समय लाग्छ,’ उनले भने।
‘सानो सानो भुइँचालो जाँदा भने जमिनमुनि थुप्रिएको शक्ति सबै बाहिर निस्कन पाउँदैन। त्यो शक्ति कतिखेर बाहिर निस्कन्छ भन्ने हामी पूर्वानुमान पनि गर्न सक्दैनौं। तर सानो भुइँचालोले हामीलाई सतर्क चाहिँ गराउँछ। त्यो ठाउँमा भूकम्पीय शक्ति जम्मा भइरहेको छ र कुनै पनि बेला ठूलो भुइँचालो जानसक्छ भन्ने संकेत गर्छ।’
यसलाई अझ स्पष्टसँग बुझ्न २०७२ को भुइँचालोलाई उदाहरण लिऊँ।
त्यति बेला गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भुइँचालो गएको थियो। उक्त भुइँचालोको प्रभाव गोरखाबाट काठमाडौं हुँदै दोलखासम्म पुग्यो। यसबाट मध्य–नेपालको भूसतहमुनि लामो समयदेखि थुप्रिएर बसेको ठूलो शक्ति बाहिर निस्क्यो। त्यो शक्ति अझै पूरै निख्रिएको छैन भनेर भूगर्भविदहरू बताउँछन्। त्यसको केही हिस्सा काठमाडौंको सतहमुनि थुप्रिएर बसेको भौगर्भिक अध्ययनले देखाएको छ। त्यही थुप्रिएर बसेको शक्तिले काठमाडौंमा अहिले पनि खुसुखुसु भुइँचालो ल्याइरहेको छ।
यति हुँदाहुँदै ७.८ म्याग्निच्युडको भुइँचालो गइसकेकाले अब मध्य–नेपालमा त्यति नै शक्ति जम्मा भएर त्यति नै ठूलो भुइँचालो जान केही समय लाग्नसक्छ भन्ने भूगर्भविदहरूको आकलन छ।
हुन त तपाईंहरूलाई सुन्दा घिन लाग्ला, तर जमिनमुनि थुप्रिने भूकम्पीय शक्तिलाई हामी पिलोसँग दाँज्न सक्छौं।
पिलो आउँदा सुरूमा एकदमै सानो बिबिराजस्तो हुन्छ। बिस्तारै पिप भरिँदै जान्छ। जति बढी पिप भरियो, पिलो उति टनटन दुख्छ। अब भन्नुस् त पिलो निको पार्ने उपाय के हो?
तपाईंले पिलो पूरै निचारेर त्यसमा थुप्रिएको पिप जम्मै फाल्नुभयो भने घाउ निको हुन्छ। आधी मात्र निचोर्नुभयो भने केही समय त सन्चो होला, तर पिप भरिँदै गएपछि फेरि टनटन दुख्न थाल्छ।
यहाँ पिलोलाई हाम्रो भूसतह मान्ने हो भने त्यसभित्र जमेको पिप भनेको भूसतहमुनि थुप्रिएको भूकम्पीय शक्ति हो। ठूलो भुइँचालो जानु भनेको ठूलो भूकम्पीय शक्ति निष्कासन हुनु हो भने सानो सानो भुइँचालो जानु भनेको थोरै शक्ति मात्र बाहिर आउनु हो। यो पिलो आधी निचोरेजस्तै हो।
मध्य–नेपालका हकमा जमिनमुनि थुप्रिएको ठूलो शक्ति बाहिर निस्केर पिलो अलि हल्का भइसकेको अवस्था छ। पश्चिम नेपालमा भने अझै टनटन्ती भएर बसेको छ। लामो समयदेखि रन्किएर बसेको त्यही भूकम्पीय शक्तिले पश्चिम नेपालमा साना साना झट्का दिइरहेको भूगर्भविद्हरू बताउँछन्।
अब प्रश्न उठ्छ, पश्चिम नेपालको भूसतहमुनि कति ठूलो शक्ति जम्मा भएर बसेको छ त?
पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।
भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ। भन्नुको मतलब, विगत पाँच सय वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो। तर पाँच सय वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन।
यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको देखिन्छ।
‘२०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्छ,’ त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका सह–प्राध्यापक दिपक चाम्लागाइँले भने।
तर भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ।
एकैचोटि १० मिटर सर्यो भने त चाम्लागाइँले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।
‘भूगर्भ विज्ञानले भुइँचालोको जोखिम पूर्वानुमान गर्न सक्छ, तर भुइँचालो कहिले जान्छ र कत्रो जान्छ भनेर भविष्यवाणी गर्न सक्दैन,’ भूगर्मविद् चाम्लागाइँले भने, ‘पश्चिम नेपालमा खुसुखुसु गइरहेको भुइँचालोबाट हामीले खतराको घन्टी बज्यो भन्ने बुझ्नुपर्छ। यो कुनै पनि बेला बम पड्किन सक्छ भन्ने सूचक हो। बम कहिले पड्किन्छ र कति ठूलो पड्किन्छ भन्ने चाहिँ हामी भन्न सक्दैनौं।’
उनले अगाडि भने, ‘बम पड्किँदैछ भन्ने यकिन भइसकेपछि ठूलोभन्दा ठूलो जोखिमको निम्ति पूर्वतयारी गर्नु बुद्धिमानी हुन्छ।’
सन् १५०५ को भुइँचालोबारे धेरै कुरा हामीलाई थाहा छैन। यो भुइँचालोको तरंग नेपालको कहाँ–कहाँसम्म फैलिएको थियो भन्ने हालसम्म पुष्टि भएको छैन। त्यसले नेपालमा के कति क्षति पुर्याएको थियो भन्ने पनि रेकर्ड छैन।
चाम्लागाइँका अनुसार उक्त भुइँचालोको केन्द्रविन्दु तल्लो मुस्ताङलाई मानिन्छ। त्यसैले यसलाई ‘लो–मुस्ताङ भुइँचालो’ पनि भनिन्छ। यसले भारतको नयाँ दिल्लीदेखि उत्तर भारतको ठूलो हिस्सा प्रभावित भएको थियो भनिँदै आएको छ।
पाँच सय वर्ष पुरानो उक्त भुइँचालोले नेपालको कहाँ कहाँ प्रभाव पारेको थियो भन्ने पत्ता लगाउन चाम्लागाइँ समेतको टोलीले केही समयदेखि पश्चिम नेपालका विभिन्न ठाउँको जमिन उत्खनन गरिरहेको छ। उनको टोलीमा अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की र जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा पनि छन्।
यो टोलीले धनगढी वरिपरि र कर्णालीको माथिल्लो भेगमा केही दरार फेला पारेको थियो। त्यसको प्रकृति हेर्दा पाँच सय वर्षअघिकै हुन सक्ने देखिए पनि उनीहरूले उत्खनन गरेर वैज्ञानिक परीक्षण भने गर्न बाँकी छ।
‘भविष्यमा १५०५ कै भुइँचालो पुनरावृत्ति भए नेपालको कुन भू–भागसम्म क्षति पुर्याउन सक्छ भन्ने आकलन गर्न त्यति बेलाको दरार फेला पर्नु जरूरी छ,’ चाम्लागाइँले भने, ‘यही सोचेर हामी पाँच सय वर्ष पुरानो भुइँचालोको दरार खोजीमा छौं।’
धेरैअघि अमेरिकी वैज्ञानिक युलले कञ्चनपुरको मछडी खोलाछेउ उक्त भुइँचालोको दरार फेला परेको दाबी गरेका थिए। तर यसको विस्तृत विवरण उपलब्ध छैन।
भौगर्भिक अध्ययनबाट भुइँचालोको दरार फेला पर्ला कि नपर्ला यसै भन्न सकिन्न। तर पश्चिम नेपालमा भुइँचालोले लगातार दस्तक दिइरहेकै छ। हामी त्यो दस्तक सुनेर मात्र बस्ने कि सम्भावित जोखिम हेरेर पूर्वतयारी पनि गर्ने? पूर्वतयारीमा हामीले गर्न सक्ने के हो?
यो प्रश्नमा चाम्लागाइँले भने, ‘हामी भुइँचालोको प्रभाव मूल्यांकन गर्न सक्छौं। कुनै दिन ८ म्याग्निच्युडको भुइँचालो आयो भने के हुन्छ, कति ठूलो क्षति हुनसक्छ भनेर प्रभाव मूल्यांकन गर्न सक्छौं।’
प्रभाव मूल्यांकनपछि जोखिम न्यूनीकरणको पूर्वतयारी गर्न सकिने उनी सुझाउँछन्।
‘आजको मितिमा पश्चिम नेपाल भूकम्पीय जोखिममा छ भन्ने थाहा भइसकेपछि क्षेत्र विभाजन गरेर जनसंख्या बढी भएका ठाउँमा जमिनको कम्पन मापन गर्न सकिन्छ। यसलाई ‘माइक्रो–ट्रेमर’ परीक्षण भनिन्छ। यसले कुन ठाउँको जमिन भुइँचालोका हिसाबले कति जोखिममा छ भनेर छुट्टयाउँछ,’ उनले भने।
उनका अनुसार माइक्रो–ट्रेमर परीक्षण क्रममा जमिनको तरंग नाप्ने उपकरण बिछ्याइन्छ। यसले जमिन हल्लिँदा सतहभन्दा ४–५ सय मिटर मुनिसम्म तरंगको गति (भेलोसिटी) मापन गर्छ। चट्टान भएको ठाउँमा गति बढी हुन्छ, कमलो माटो छ भने कम हुन्छ।
यो अध्ययनबाट भुइँचालो जाँदा कुन ठाउँको माटोले कस्तो प्रतिक्रिया दिन्छ भन्ने थाहा हुन्छ। त्यसै आधारमा भूकम्पीय हिसाबले घर बनाउन योग्य जमिन निर्धारण गर्ने र कुन ठाउँमा कति अग्लो संरचना बनाउन दिने भनेर नियम लागू गर्न सकिने चाम्लागाइँ बताउँछन्।
‘भेलोसिटी बढी भए त्यो जमिन चट्टानमै वा चट्टान नजिक छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘माटोको गुणस्तर जाँचेर घरको इन्जिनियरिङ निर्धारण गरे भुइँचालोको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।’
यस्तो अध्ययन हरेक ठाउँमा गर्न सम्भव हुँदैन। जनसंख्या बढी भएका उपत्यका र ठुल्ठूला सहरहरूमा मात्र गर्ने हो भने पनि भुइँचालोबाट हुनसक्ने क्षति आकलन गरेर पूर्वतयारी गर्न सजिलो हुने उनको भनाइ छ।
जोखिम न्यूनीकरणको काम स्थानीय तह सरकारबाटै हुनसक्ने उनले बताए।
‘हरेक स्थानीय तहमा विपद व्यवस्थापन कोष भनेर निश्चित रकम छुट्टयाइएको हुन्छ। यो रकम अहिलेसम्म विपतपछिको उद्धारमा मात्र खर्च गरिँदै आएको छ। विपत रोकथाममा पनि प्रयोग गर्ने हो भने जोखिम मूल्यांकनको ठूलो काम स्थानीय सरकारबाटै हुन सक्छ,’ भूगर्भविद चाम्लागाइँले भने।
यो पनि पढ्नुहोस्: