तपाईंहरूले काठमाडौं सहर कत्तिको घुम्नुभएको छ? सहर घुम्दा वरिपरिका पुराना संरचना कत्तिको हेर्नुभएको छ?
हेर्नुभएको छ भने यहाँका पुराना ढुंगे स्तम्भ वा ढुंगाका पिलर याद गर्नुभएको होला। तर ती ढुंगे स्तम्भको तल्लो भाग अर्थात् जगमा के हुन्छ, कहिले हेक्का राख्नुभएको छ?
काठमाडौं उपत्यकाका पुराना दरबारदेखि मन्दिर, बहाःबहीः वा निजी घरमा समेत ढुंगाको पिलर गाड्दा जगमा ढुंगाकै कछुवा राख्ने चलन छ। झट्ट हेर्दा यस्तो देखिन्छ, मानौं त्यो कछुवाले आफ्नो ढाडमाथि पिलरको सम्पूर्ण भार बोकेको छ र त्यसलाई ठिक–ठिक सन्तुलनमा राखेको छ।
काठमाडौंको संरचना निर्माणमा कछुवासँगको साइनो यति प्रगाढ थियो, घर बनाउँदा जगको सबभन्दा तल्लो भागमा सुनको सानो कछुवाको मूर्ति प्रतिस्थापन गर्ने र त्यही मूर्तिमाथि पहिलो इँटा राख्ने चलन थियो।
अब तपाईंहरूलाई लाग्यो होला, काठमाडौंका भौतिक संरचना र कछुवाको के नाता?
यसको पछाडि एउटा कथा छ —
पृथ्वीको गर्भमुनि एउटा अत्यन्तै विशाल कछुवा छ। त्यो कछुवाले पृथ्वीको सम्पूर्ण भार आफ्नो चट्टानभन्दा सख्त ढाडमा बोकेको हुन्छ। पृथ्वी कछुवाको ढाडमाथि बसेर आफ्नो गतिमा नियमित घुमिरहन्छ। पृथ्वीलाई ठिक–ठिक सन्तुलनमा राख्ने र यताउति भट्किन नदिने जिम्मा कछुवाकै हुन्छ।
तर कछुवा पनि त प्राणी हो, उसलाई पनि भोक–प्यास लाग्छ। बेलाबेला थकाइ मार्नुपर्छ। सदियौंदेखि पृथ्वीको भार बोक्दा बोक्दा उसको पनि ढाड दुख्छ।
जब पृथ्वीको भारले कछुवाको ढाड दुख्छ, ऊ चलमलाउँछ। जब कछुवा चलमलाउँछ, पृथ्वीमा भुइँचालोको कम्पन छुट्छ। कछुवा जति बढी चलमलायो, भुइँचालोको कम्पन उति बढी हुन्छ।
कछुवाको प्रतिरूपले घर वा अन्य भौतिक संरचनालाई भुइँचालाको कम्पनबाट सुरक्षित राख्छ भन्ने मान्यता काठमाडौंमा प्रचलित छ।
काठमाडौं मात्र होइन, भुइँचालो गइरहने हरेक सहरले यस्ता कथा–किम्बदन्ती बनाएका हुन्छन्।
पछिल्लो समय ठूलो भुइँचालो गएको टर्कीकै कुरा गरौं, जहाँ दुइटा किम्बदन्ती लोकप्रिय छन्।
पहिलो किम्बदन्तीअनुसार त्यहाँ ‘पसाइडन’ नामका भगवानलाई भुइँचालोको निम्ति जिम्मेवार मानिन्छ। यी प्राचीन ग्रिक देउता हिन्दु धर्मका भगवान शिवजस्तै हुन्छन्। उनले आफ्नो हातमा शिवले जस्तै त्रिशूल बोकेका हुन्छन्। जब पसाइडनलाई रिस उठ्छ, तब उनी आफ्नो त्रिशूल जोडसँग धर्तीमा बजार्छन् र त्यही त्रिशूलको चोटले पृथ्वी हल्लिन्छ भन्ने भनाइ छ।
अर्को किम्बदन्तीअनुसार, पृथ्वीको वायुमण्डलमा अनेकौं खराब शक्ति घुमिरहेका हुन्छन्। हावासँगै तैरिरहने ती खराब शक्ति मान्छेको सम्पर्कमा आए भने त्यसले दानवीय सोच भड्काइदिन सक्छ र मान्छेलाई राक्षस बनाइदिन सक्छ भनिन्छ।
मान्छेलाई राक्षस बन्नबाट बचाउने जिम्मा धर्तीका देउताको हो। उनी आफ्नो जादुयी बल प्रयोग गरेर खराब शक्तिहरूलाई चुम्बकले झैं तान्छन् र पृथ्वीको गर्भमा कैद गरेर राख्छन्। ती खराब शक्ति हरपल बाहिर निस्कन तँछाडमछाड गरिरहन्छन्। एक समय यस्तो आउँछ, जब खराब शक्तिको बललाई धर्तीका देउताले धरि थाम्न सक्दैनन्। तब खराब शक्तिहरू पृथ्वीको गर्भगृह चिरेर बाहिर निस्कन्छन् र भुइँचालोको झट्का आउँछ।
यी कथा–किम्बदन्ती त्यति बेला बनेका हुन्, जब विज्ञानले भुइँचालोको कारण पत्ता लगाइसकेको थिएन।
आज हामीलाई कछुवा चलमलाएर भुइँचालो गएको होइन भन्ने थाहा छ। पसाइडन देउताले आफ्नो त्रिशूल धर्तीमा कहिल्यै बजार्दैन र पृथ्वीको गर्भबाट खराब शक्तिहरू निस्कनु पनि भुइँचालोको कारण होइन भन्ने हामीले बुझिसकेका छौं।
भूगर्भ विज्ञानले प्रमाणित गरेको तथ्यअनुसार पृथ्वीको सतहमुनि चट्टानका खण्डहरू हुन्छन्। जसरी एउटा सुन्तलाभित्र करिब एक दर्जन केस्रा हुन्छन्, त्यस्तै १५ वटाभन्दा बढी साना–ठूला चट्टानी खण्ड मिलेर पृथ्वीको भूसंरचना बनेको हुन्छ। त्यस्ता चट्टानी खण्डको मोटाइ साढे दुई सय किलोमिटरसम्म हुन्छ।
यी चट्टानी खण्डलाई वैज्ञानिक भाषामा ‘टेक्टोनिक प्लेट’ भनिन्छ। तपाईंहरू सजिलोका लागि घरकै ‘प्लेट’ पनि सम्झिन सक्नुहुन्छ!
यो त भयो पृथ्वीको भूसंरचनाको कुरा, अब भुइँचालोको कुरा गरौं।
तपाईंले सुन्तला छोडाउँदा त्यसभित्रका केस्रा एकअर्कासँग लपक्क टाँसिएर बसेको त देख्नुभएकै छ। सोच्नुस् त, लपक्क टाँसिएर बसेका ती केस्राले कुनै बेला एकअर्काको साथ छाडे के होला?
के होला यदि सुन्तलाका ती केस्रामध्ये कुनै अगाडि सरे, कुनै पछाडि हटे वा कुनै अर्को केस्राको मुनि घुस्रिन गए?
त्यस्तो हुन्थ्यो त, सायद केस्राको चलमलाहटबाट उत्पन्न हुने शक्ति सुन्तलाको बोक्राले थाम्न सक्ने थिएन। सुन्तलाको आकार कहीँ चुच्चो उठेको हुन्थ्यो होला, कहीँ थेप्चिएको हुन्थ्यो होला!
हो, पृथ्वीको सतहमुनि रहेका चट्टानी खण्ड अर्थात् टेक्टोनिक प्लेटहरू त्यस्तै हुन्छन्। ती सुन्तलाका केस्राझैं एकअर्कासँग लपक्क टाँसिएर त बस्छन् तर बेलाबेला एकअर्काको साथ छाड्छन्। यसरी साथ छाड्नुको कारण चट्टानी खण्डहरूबीच हुने घर्षण हो।
भन्नुको मतलब, जुन ठाउँमा एउटा चट्टानी खण्ड र अर्को चट्टानी खण्ड जोडिएको हुन्छ, त्यही ठाउँमा दुईबीच घर्षण भइरहेको हुन्छ। यो घर्षण बढ्दै बढ्दै गएर एकदिन यस्तो आउँछ, जब चट्टानी खण्डहरू आफ्नो ठाउँबाट सरक्क सर्छन्।
सर्ने तरिका अनेक हुन्छ — कहीँ एउटा चट्टानी खण्ड अर्को खण्डको मुनि घुस्रिन्छ। कहीँ दुइटा चट्टान एकअर्काको विपरीत दिशामा सर्छन्। कहीँ भने दुवै एकअर्काबाट फाट्टिँदै जान्छन्।
अनेक थरीका यस्ता हलचलले पृथ्वीको गर्भमा रहेको अथाह शक्ति बाहिर निस्कन्छ। त्यही बेला भुइँचालोको कम्पन छुटेको हामी महसुस गर्छौं।
यहाँनिर आउँछ, भुइँचालो शक्तिको कुरा।
पृथ्वीको सतहमुनि रहेका चट्टानी खण्डहरू कसरी एकअर्कासँग भिडिरहेका छन् — ती एकअर्कामुनि घुस्रिँदै छन् कि विपरीत दिशामा सर्दै छन्? यसले नै भुइँचालोको शक्ति र त्यसको प्रभाव निर्धारण गर्छ।
नेपाल र टर्कीमा प्रचलित किम्बदन्ती फरक भएजस्तै यी दुई देशमा भुइँचालो जाने तरिका पनि आनका तान फरक छ। यही भिन्नताले नेपाल र टर्कीको भुइँचालोमा ठूलो अन्तर ल्याउँछ।
एउटा ठूलो अन्तर त यसैपालि देखियो।
टर्कीको दक्षिणपूर्वी गाजियानटेप सहरलाई केन्द्रविन्दु बनाएर माघ २३ गते ७.८ म्याग्निच्युडको भुइँचालो गयो। त्यसको नौ घन्टापछि इकिनोजु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ७.५ म्याग्निच्युडको अर्को भुइँचालो गयो। दुवै भुइँचालोले साढे दुई सयभन्दा बढी परकम्प ल्याए। कतिपय परकम्प ६ म्याग्निच्युडभन्दा शक्तिशाली थिए। टर्की भुइँचालोमा परेर ४१ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
यति मात्र होइन, टर्की भुइँचालोले लगभग दुई सय किलोमिटर जमिन चिरा पारेको छ। चिरा यति प्रस्ट छ, जमिनको सतह बञ्चरोले दाउरा चिरेजस्तो दुई खण्डमा बाँडिएको देखिन्छ। लगभग ३० किलोमिटरसम्म त जमिनमा धाँजा फाटेर रेल्वे लाइन र सडकमार्ग नै दुई भागमा छुट्टिएका छन् र दुवै भाग पहिलेको ठाउँबाट दायाँबायाँ सरेका छन्।
यसरी जमिनको सतहमै चिरा पर्नुले ठुल्ठूला घर र भौतिक संरचनाहरू ढलेको र ठूलो मानवीय क्षति भएको भूगर्भविदहरूको भनाइ छ।
भुइँचालोले ल्याएको भौतिक र मानवीय क्षति त हामीले नेपालमा देखेकै हौं तर जहाँसम्म जमिन चिरा पर्ने र त्यो पनि दुई सय किलोमिटरसम्म फाट्ने कुरा छ, त्यो चाहिँ हाम्रो निम्ति नौलो हो।
कतिपयलाई कौशलटारमा सडक चिरा परेको थियो नि भन्ने पनि लाग्न सक्छ। तर त्यो भुइँचालोको दरार होइन। कम्पनले सडक भासिएको मात्र हो।
अब प्रश्न उठ्छ, म्याग्निच्युडका आधारमा नेपाल र टर्कीको भुइँचालो लगभग उत्तिकै ठूलो हो, तर यहाँ जमिन चिरा नपर्दा त्यहाँ त्यति ठूलो चिरा कसरी पर्यो?
यसको कारण टर्कीको माटो यहाँभन्दा कमजोर भएर हो कि यी दुई भुइँचालोको प्रकृति नै फरक भएर हो?
यही प्रश्नको उत्तर खोज्न हामीले दुई जना भूगर्भविदसँग कुरा गर्यौं — राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारी र खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटा।
उनीहरूका अनुसार नेपाल र टर्कीको सतहमुनि रहेका टेक्टोनिक प्लेटहरू, जसको घर्षणले भुइँचालो उत्पन्न गराउँछ, ती प्लेट एकअर्कासँग भिड्ने तरिका फरक छ।
नेपालको कुरा गर्दा, यहाँ भुइँचालो जानुको कारण ‘इन्डियन’ र ‘युरेसियन’ नामका दुई चट्टानी खण्ड अर्थात् प्लेटहरूबीचको घर्षण हो।
यी दुई प्लेट आपसमा जुधिरहेका छन्। जुध्दै जुध्दै युरेसियन प्लेट इन्डियन प्लेटमाथि खप्टिएर बिस्तारै माथि उठ्दै छ। करोडौं वर्षदेखि चलिरहेको यही जुध्ने र खप्टिने क्रमले नै हिमालय, महाभारत र चुरे पर्वत शृंखला बनेका हुन्।
टर्कीमा भने तीनवटा अत्यन्तै चलायमान चट्टानी खण्डहरू आपसमा ठोक्किएर विपरीत दिशातिर घस्रिँदै छन्।
टर्कीको ठूलो हिस्सा ‘एनाटोलियन’ भन्ने चट्टानी खण्डमाथि छ। यो पृथ्वीको सतहमुनि रहेका विभिन्न टेक्टोनिक प्लेटमध्ये एक हो। यसको आकार एकदमै सानो भएकाले ‘माइक्रो प्लेट’ पनि भनिन्छ।
एनाटोलियन प्लेटको ठ्याक्कै माथि ‘युरेसियन’ प्लेट छ भने पूर्वमा ‘अरेबियन’ र दक्षिणमा ‘अफ्रिकन’ प्लेट छ। पश्चिममा मेडिटेरेनियन सागर पर्छ।
एनाटोलियन प्लेटलाई अरेबियन र अफ्रिकन प्लेटले दुईतिरबाट लगातार ठेलिरहेको छ। अरेबियन प्लेटले पश्चिमतर्फ ठेल्दैछ भने तलबाट अफ्रिकन प्लेटले धक्का दिँदैछ। यसरी अरेबियन र अफ्रिकन प्लेटको चेपुवामा परेको सानो एनाटोलियन प्लेट तीव्र गतिमा पश्चिमको मेडिटेरेनियन सागरतर्फ सर्दैछ।
यहाँ एनाटोलियन, अरेबियन र अफ्रिकन प्लेटका सिमाना एकअर्काको विपरीत दिशामा घस्रँदै छन् — एनाटोलियन पश्चिम सर्दैछ भने अरेबियन र अफ्रिकन प्लेट पूर्व–उत्तर सर्दैछन्।
यसरी विपरीत दिशामा सर्दा उत्पन्न हुने घर्षणको शक्तिले यी चट्टानी खण्डहरू चिप्लिन्छन् र भुइँचालो आउँछ। चट्टानी खण्डहरू चिप्लिएर आउने भुइँचालोलाई वैज्ञानिक भाषामा ‘स्ट्राइक–स्लिप’ भनिन्छ।
यसपालि यी चट्टानी खण्डहरू डेढ सय किलोमिटरभन्दा बढी चिप्लिएको अमेरिकी भौगर्भिक सर्वेक्षणले देखाएको छ।
खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटा टेक्टोनिक प्लेटहरू विपरीत दिशामा चिप्लिएकै कारण टर्कीमा जमिनको सतह चिरा परेको बताउँछन्।
‘नेपाल र टर्कीमा जाने भुइँचालोको ज्यामिति फरक छ। हामीकहाँ एउटा प्लेटमाथि अर्को प्लेट खप्टिरहेको छ, टर्कीमा भने विपरीत दिशामा हिँड्दै छन्। एउटा पश्चिम सर्दैछ, अर्को पूर्व,’ उनले भने।
उनका अनुसार टर्कीमा भूसतहमुनिका चट्टानी खण्डहरूबीचको दुरी (फल्ट लाइन) १५ किलोमिटर हाराहारी छ। जबकि नेपालमा हिमालय फेददेखि चुरे फेदसम्म लगभग सय किलोमिटरभन्दा लामो छ।
‘यसबाट के हुन्छ भने, नेपाल लगायत हिमालय क्षेत्रमा भुइँचालो तरंगले जमिनमुनि जुन दरार (चिरा) उत्पन्न गराउँछ, त्यसलाई सतहसम्म आइपुग्न एकदमै धेरै शक्ति लाग्छ। आठ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो जाँदा मात्र त्यो दरार जमिनको सतहसम्म आउँछ,’ उनले भने, ‘यस्तो अवस्थामा मात्र धाँजा फाट्ने हो वा जमिनको सतह चिरा पर्ने हो।’
‘टर्कीमा भने कम म्याग्निच्युडको भुइँचालो जाँदा पनि त्यसले उत्पन्न गराउने दरार सोझै सतहमा आउँछ र जमिनमा धाँजा फाट्छ। नेपालमा त्यस्तो विरलै हुन्छ,’ उनले भने।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारी नेपाल र टर्कीको भुइँचालो अन्तर यसरी बुझाउँछन्—
यहाँ २०७२ सालमा बारपाक (गोरखा) को भूसतहभन्दा करिब १५ किलोमिटरमुनि भुइँचालो तरंग उत्पन्न भयो। त्यो तरंग जमिन मुनिमुनि नै पूर्वतिर बढ्यो र काठमाडौंको सतहभन्दा करिब १०–१२ किलोमिटर तलबाट यात्रा गर्दै अलिकति दक्षिणतर्फ थुप्रिएर बस्यो। त्यही थुप्रिएको भुइँचालोले अहिले पनि खुसुखुसु परकम्पन ल्याइरहेको छ।
नेपालमा भुइँचालो जानुको कारण इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिनु हो भनेर हामीले माथि भनिसकेका छौं। यसरी दुइटा चट्टानी खण्ड वा टेक्टोनिक प्लेट आपसमा खप्टिएकाले यसको सिमाना हिमालयदेखि चुरे फेदसम्म फैलिएको छ। जमिनमा धाँजा फाट्न भुइँचालो यति शक्तिशाली हुनुपर्छ, ताकि त्यसले उत्पन्न गर्ने दरार वा चिरा सिधै चुरे फेदसम्म पुगोस्।
२०७२ मा गोरखाबाट सुरू भएको भुइँचालो दरार चुरे फेदसम्म पुग्न सकेन, बीचैमा अड्कियो। टर्कीमा भने भूसतहभन्दा १८ किलोमिटर तलबाट उत्पन्न भुइँचालो दरार सोझै जमिनको सतहमा आइपुगेको थियो र त्यसले सतह-सतहमै तीन सय किलोमिटर दुरी पार गरेको थियो।
अधिकारीले अझै सजिलोसँग व्याख्या गर्दै भने, ‘नेपालको भुइँचालो दरार जमिन मुनिमुनि हिँड्यो, जबकि टर्कीमा सोझै जमिनको सतहमा आइपुग्यो। यसरी भुइँचालो दरार सतहमा आएपछि त्यसले ल्याउने कम्पन एकदमै बढी हुन्छ। भुइँचालोलाई बम विस्फोटसँग दाँज्ने हो भने नेपालमा जमिनको सतहमुनि बम पड्किएको थियो, जबकि टर्कीमा सतहमाथि नै पड्कियो। सतहमाथि नै बम पड्केपछि त्यसको प्रभाव स्वाभाविक रूपमा ठूलो हुने भयो।’
उनले अगाडि भने, ‘हामीले काठमाडौं र टर्कीको कम्पन दाँजेर हेरेका थियौं। त्यो काठमाडौंभन्दा दस गुणा बढी थियो। २०७२ को भुइँचालोमा काठमाडौंको जमिन जति हल्लियो, त्योभन्दा दस गुणा बढी टर्कीमा हल्लियो। त्यसैले त्यहाँ मानवीय र भौतिक क्षति धेरै नै भए।’
टर्की भुइँचालोले नेपालभन्दा बढी विनाश गर्नुको अर्को कारण पनि छ।
त्यहाँ एकै दिन दुइटा ठूलो भुइँचालो गएको थियो। सुरूमा ७.८ म्याग्निच्युडको गयो र फेरि त्यसै दिन ७.५ म्याग्निच्युडको अर्को भुइँचालो गयो। दुवै भुइँचालोमा उत्पन्न दरार जमिनको सतहसम्म आइपुग्यो र सतहमै लामो दुरी पार गर्यो। यो भनेको केही घन्टाकै फरकमा दुइटा ठूला बम विस्फोट भएजस्तै हो।
त्यसो भए नेपालमा भुइँचालोका कारण जमिनको धाँजा फाटेको छ कि छैन त?
भूगर्भविदहरू सोमनाथ सापकोटा र लोकविजय अधिकारीका अनुसार बिक्रम सम्बत् १३१२ र १९९० को भुइँचालो आठ म्याग्निच्युडभन्दा ठूला थिए र यी दुवै भुइँचालोमा चुरेको फेदमा धाँजा फाटेको थियो। त्यति बेला फाटेको धाँजाको चिह्न अहिले पनि बर्दिबासनिर पर्ने शिरखोला किनारको ढिस्कोमा देखिन्छ।
फ्रेन्च भूगर्भ वैज्ञानिक पल ट्यापोनियर र सापकोटाको टोलीले नेपालमा भुइँचालोले ल्याएको दरार खोज्ने क्रममा सन् २००८ मा उक्त ठाउँ फेला पारेको थियो।
त्यहाँ भुइँचालोले जमिन चिरा परेर शिरखोलाको दिशा झन्डै ३० मिटर परिवर्तन भएको र जमिनको सतह ‘जेड’ आकार बनाउँदै लगभग १० मिटर माथि उठेको सापकोटा बताउँछन्। वैज्ञानिक परीक्षण गर्दा उक्त दरार १९९० सालको भुइँचालोले पारेको पुष्टि भयो।
यति मात्र होइन, शिरखोला किनारको जुन ढिस्कोमा १९९० सालको दरार फेला पर्यो, त्योभन्दा केही मिटर तल त्यस्तै अर्को दरार भेटियो। अनुसन्धानपछि त्यो दरार अझ पुरानो भुइँचालोको भएको पत्ता लाग्यो। त्यो १३१२ सालको भुइँचालो थियो। उक्त भुइँचालोले काठमाडौं उपत्यकाका एक–तिहाइदेखि एक–चौथाइ बासिन्दाको ज्यान लिएको र थुप्रै घर तथा मन्दिर भत्काएको रेकर्ड छ।
नेपालमा भुइँचालो इतिहास खोतल्न बर्दिबासमा गरिएको उत्खननले अहिलेसम्मकै गतिलो नतिजा दिएको भूगर्भविदहरू बताउँछन्।
पछि अमेरिकाको नेभादा विश्वविद्यालयका प्राध्यापक स्टेभन वेस्नोस्की, जापानको हिरोशिमा विश्वविद्यालयका सहायक प्राध्यापक याशुहिरो कुमाहारा र त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसका सह–प्रध्यापक दीपक चाम्लागाइँको टोलीले बर्दिबासकै चार–पाँच किलोमिटर क्षेत्रभित्र अन्य महत्वपूर्ण दरारहरू फेला पारेको थियो।
तिनमा १३१२ र १९९० सालका भुइँचालो त थिए नै, ११५७ सालको भुइँचालोले पारेको चिरा पनि फेला परेको थियो।
विगतका भुइँचालोले चुरे फेदको कुन–कुन हिस्सामा चिरा पारे भनेर पत्ता लगाउन भूगर्भ वैज्ञानिकहरू आज पनि अनुसन्धान गर्दैछन्। कति ठाउँमा चिरा फेला परेका छन् तर ती कुन भुइँचालोका हुन् भन्ने पत्ता लाग्न बाँकी छ।
एउटा कुरामा भने भूगर्भविदहरू सहमत छन् – नेपाल र टर्की दुवै भुइँचालो गइरहने भूक्षेत्रमा पर्छन्। फरक यत्ति हो, यहाँ टर्कीजस्तो जमिनको सतह नै चिरा पर्न भने आठ म्याग्निच्युडभन्दा ठूलो भुइँचालो जानुपर्छ।
तर जमिन चिरा नपरे पनि टर्कीमा जस्तै सर्वनाश नहोस् भनेर हामीले आफ्ना भौतिक संरचनाहरू भुइँचालो प्रतिरोधक बनाउनु जरूरी छ।
किनभने, जुन दिन भुइँचालोको कम्पन छुट्छ, त्यो दिन न कछुवाले काठमाडौं जोगाउनेछ, न पसाइडन देउताको प्रार्थनाले टर्कीको रक्षा गर्नेछ।