मंगलबार राति सवा ७ बजे बिक्रम बुढाथोकीको फोन आयो।
‘तपाईंले खोज्नुभएको दिदी भेटिनुभयो नि?’
‘ल गज्जब भयो, तपाईंले उहाँको मोबाइल नम्बर माग्नुभयो त?’
‘छैन सर,’ उनले जवाफ दिए, ‘अहिले दिदी मैसँग हुनुहुन्छ।’
‘ओहो! खोइ दिनू त दिदीलाई।’
‘ल कुरा गर्नुस् है,’ बिक्रमले यति भनेपछि चार सेकेन्ड मोबाइलमा क्यारक्यार, कुरकुर आवाज सुनियो, अनि मेरो कानमा पर्यो ती दिदीको मसिनो स्वर —
‘हेलो’
‘दिदी नमस्ते,’ मैले जवाफको प्रतीक्षै नगरी अगाडि भनेँ, ‘मैले हिजो तपाईंलाई म्हेपी एरियाभरि धुन्धान खोजेको थिएँ। तपाईंलाई चिन्ने कति जनालाई त आफ्नो नम्बरधरि दिएर आएको छु। धन्न बिक्रमजीले सजिलै भेट्नुभएछ। दिदी तपाईंको नम्बर भन्नुस् त, म भोलि फोन गरेर भेट्न आउँछु।’
दिदीले आफ्नो नम्बर भनिन् तर मैले चारवटा अंकभन्दा बढी बुझ्दै बुझिनँ।
तीनचोटि प्रयास गर्दा पनि पूरा नम्बर टिप्न नसकेपछि बिक्रमले भने, ‘छोड्दिनुस् सर, म तपाईंलाई दिदीकै मोबाइलबाट मिस्कल दिन्छु।’
एकैछिनमा मेरो मोबाइलमा नयाँ नम्बर पिलिक–पिलिक गर्यो — ९८१८ ......
कसैको मिस्कल देखेर त्यत्ति धेरै खुसी म कहिल्यै भएको थिइनँ!
यो स्टोरी मैले मंगलबार लेखेको ‘महानगरमा लखेटी–लखेटी ठेला खोसिएकाहरूको कथा’ कै निरन्तरता हो।
काठमाडौं महानगरका प्रहरीले सडक किनार व्यापार गर्ने साना व्यवसायीहरूका ठेला लखेटी लखेटी खोसिरहेका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि म भिडिओमा देखिएको एउटा ‘क्लू’ का आधारमा ती व्यवसायीलाई भेट्न म्हेपीको मित्रनगर मार्ग पुगेको थिएँ।
त्यहाँ मैले रमा खत्रीलाई भेटेँ, बिक्रम बुढाथोकीलाई भेटेँ, श्यामवती मेहतालाई भेटेँ। यी तीनै जनाको कथा मैले अघिल्लो स्टोरीमा लेखेको छु। तर त्यस दिन एक जना महिलासँग भेट हुन सकेन, जो भिडिओमा सबभन्दा मार्मिक सुनिन्थिन्।
बर्को ओढेकी ती महिला महानगर प्रहरीले ठेला खोसेर लैजाँदा आफ्ना केटाकेटी सम्झेर धरधर्ती रोएकी थिइन्। म उनको आँशुपछाडि लुकेको कथा सुन्न चाहन्थेँ। त्यो ठेलासँग जोडिएको उनको भावना बुझ्न चाहन्थेँ, उनको जिन्दगी बुझ्न चाहन्थेँ। र, यो पनि जान्न चाहन्थेँ, ठेला खोसिएपछि कसरी चल्दैछ उनको जिन्दगी?
यो उनै दिदीको कथा हो।
उनले फोनमा आफ्नो नाम भनेकी थिइन् — मञ्जु भुजेल।
म बुधबार दिउँसो ठिक ३ बजे मञ्जु भुजेलले भनेको ठेगानामा पुगेँ — म्हेपी मिलिजुली टोल, दिप्सिका स्कुल।
मञ्जु स्कुलको गेटैमा मलाई पर्खेर बसेकी थिइन्।
‘स्कुल छुट्टी छ दिदी आज,’ मैले आँगन सुनसान देखेर सोधेँ।
‘स्कुल यहाँबाट सरिसक्यो,’ उनले भनिन्, ‘त्यसपछि त हामी बस्न आएको।’
मञ्जु भदौ महिनादेखि यहाँ बस्न थालेकी हुन्। पहिले स्कुलको कक्षा चल्ने दुइटा कोठा भाडामा लिएकी छन्। सायद साना नानीबाबुहरू ती कक्षाकोठामा पढ्दा हुन्। भित्तामा रंगीबिरंगी चित्रहरू अहिले पनि उस्तै गाढा छन्।
जुन कोठामा मञ्जुको भान्सा छ, त्यहाँ ग्यास चुह्लोको ठ्याक्कैमाथि नीलो रङका दुइटा चरा पखेटा फिँजाएर फुरफुर उड्दै गरेका देखिन्छन्। दुई चराको बीचमा घना वृक्ष छ। सायद ती चराले त्यही वृक्षको कुनै हाँगामा आफ्नो गुँड लगाएका छन्। भित्तामा कतैकतै सेता बादलहरू छरिएका छन्। केही चरा ती बादल छिचोलेर धर्तीभन्दा धेरै माथि आकाशमा उडिरहेका छन्।
ती चरा, त्यो वृक्ष र ती बादलहरू कसैको कल्पनाका आकृतिका हुन् — मञ्जु भुजेल र उनको परिवारको सपनाजस्तै।
मञ्जु पनि २०५८ जेठ महिनामा कतै गुँड भेटिएला कि भनेर खोज्दै, कुनै बादल छिचोलेर उड्ने आकाश खोज्दै रामेछापबाट काठमाडौं आएकी हुन्।
उनको माइती भोजपुर हो। २०५७ सालमा उनी बिहे गरेर रामेछाप पुगिन्। रामेछापमा पुर्ख्यौली घर त थियो तर घर चलाउने आधार थिएन। जग्गा–जमिन थिएन, खेत थिएन, बारी थिएन। खरबारीजस्तो पाखो एउटा टुक्रा थियो, जहाँको माटो बगरको जस्तो थियो।
‘अलि अलि मकै, अलि अलि गहँत, अलि अलि मस्याङ हुन्थ्यो,’ मञ्जुले भनिन्, ‘त्यो पनि वर्षदिनको उब्जनीले छ महिना पनि नधान्ने।’
यस्तोमा कसरी व्यवहार चल्ला भनेर मञ्जु र उनका श्रीमानले सल्लाह गरे र एउटा राम्रो भविष्यको सपना कोरल्न काठमाडौं आए।
‘जुन साल दरबार हत्याकाण्ड भयो नि, म त्यही साल काठमाडौं आएको। हामी आएको दुई–तीन दिनमै राजाको वंशै सखाप भयो। मान्छेहरू शोकमा थिए। कतिले कपाल खौरे। कयौं दिन बजार ठप्पै भयो,’ उनले भनिन्।
अनि?
मञ्जु एकछिन अडिइन्।
मैले पर्दैन, पर्दैन भन्दाभन्दै उनले ग्यास चुह्लोमा चिया बसालेकी थिइन्। चिया भकभक उम्लिन थालेछ। उनले चुह्लो निभाइन्। कपमा तररर चिया हालिन्। कपलाई एउटा प्लेटमा राखिन् र दुइटा पफसहित मेरो अगाडि राखिदिइन्।
‘किन यति दुःख गर्नुभएको दिदी?’ मैले भनेँ।
‘पाहुनालाई एक कप चिया खुवाउन के को दुःख!’ मञ्जुले भनिन्।
उनी कुनै दिन यो सहरमा पाहुना नै थिइन्। गरिखाने मेलो खोज्दै सहर पसेका उनीहरूका निम्ति भने यहाँ कसैले किस्तीमा सजाएर केही राखेका थिएनन्। मञ्जुको माइतीतिरका एक जना दिदीले काम खोज्दिन्छु त भनेकी थिइन् तर त्यो काम पाउनुअघि थुप्रै दिन यताउति भौंतारिनुपरेको उनी बताउँछिन्।
आखिरमा उनै दिदीको सहयोगमा मञ्जु र उनका श्रीमानले लैनचौरस्थित भारतीय दूतावासको बगैंचामा काम पाए।
काम थियो, फूल गोड्ने र फूलमा पानी हाल्ने — उनीहरूको जिन्दगीजस्तै, सपना गोड्ने र सपनामा पानी हाल्ने।
दूतावासमा काम गर्ने भए पनि उनीहरू दूतावासका कर्मचारी थिएनन्। उनीहरू ठेकेदारमार्फत् त्यहाँ खटिएका थिए। एक जनालाई महिनाको १७ सयका दरले दुई जनाको महिनावारी ज्याला ३४ सय रूपैयाँ थियो।
‘त्यतिखेर काठमाडौंमा खान र कोठाभाडा तिर्न त्यो पैसा ठिक्क हुन्थ्यो,’ मञ्जुले भनिन्।
२०५९ सालमा मञ्जुको पहिलो बच्चा भयो। आफूले नपढे पनि बालबच्चालाई धेरै पढाउने मञ्जुको धोको थियो। त्यसैले पेट काटेर भए पनि उनले छोरालाई सामाखुसीको नवोदित स्कुल भर्ना गरिन्।
तर उनको जिन्दगीमा एउटा ठूलो बज्रपात आइलाग्यो।
पाँच वर्ष उमेरमा छोराको टाइफाइडले मृत्यु भयो। त्यति बेला ऊ ‘एलकेजी’ पढ्दै थियो।
मञ्जुले हिम्मत हारिनन्। उनी हिम्मत हार्ने अवस्थामा थिइनन् पनि। किनभने, २०६० सालमा दोस्रो छोरा जन्मिसकेको थियो। दोस्रोको सुर्ताले उनलाई पहिलोको शोक मनाउने मौकै दिएन।
त्यसपछि २०६५ मा छोरी जन्मिइन्, २०६७ मा कान्छा छोरा।
यसबीच दूतावासको जागिर छुटिसकेको थियो। बालबच्चा स्याहार्नुपर्ने भएपछि उनले बगैंचामा दिनभरि फूल स्याहार्न समय पाइनन्। श्रीमानले पनि त्यो काम छाडे र ज्याला–मजदुरीमा लागे। उनी कहिले बालुवा बोक्न जान्थे, कहिले घर बनाउने ज्यामी काम गर्थे।
‘खाने मुख थपिँदै थियो, कमाउने हात एक जनाको मात्र,’ उनले भनिन्, ‘यस्तरी त कसरी गुजारा चल्ला, बालबच्चाको भविष्य के होला भनेर मलाई साह्रै टेन्सन हुन्थ्यो। छोराछोरीको मुख हेर्दै घरमा बसेर भएन, केही न केही त गर्नैपर्यो भनेर म तीनै जना बच्चा च्यापेर कामको खोजीमा सामाखुसी, लैनचौर, सोह्रखुट्टेतिर यताउति घुमिरहन्थेँ।’
यही क्रममा लैनचौरमा सडक किनार मकै पोल्ने एक महिलासँग मञ्जुको चिनाजानी भयो।
‘म केटाकेटी बोकेर दिनहुँ सडकमा भौंतारिएको देखेर ती दिदीलाई दया लागेछ क्यारे, एकदिन मलाई बोलाउनुभयो र आफूसँगै राख्नुभयो। भोकाएका मेरा बच्चाहरूलाई मकै पनि खुवाउनुभयो,’ उनले भनिन्, ‘म त्यसपछि सधैं उहाँकोमा जान थालेँ। हामी एकअर्काको दुःख बाँड्थ्यौं। हामी को हो, को हो मान्छे एउटै रगत नाताको दिदी–बहिनीजस्ता भएका थियौं।’
एकदिन ती दिदीले मञ्जुलाई भनिन्, ‘तिमी मै जस्तो कम गर, यत्तिकै त कसरी यी तीन–तीन जना बच्चा हुर्काउँछौ!’
‘हुन त हो दिदी, तर म यस्ती सोझीलाटी छु,’ मञ्जुले त्यस दिन ती दिदीलाई दिएको जवाफ सुनाउँदै मसँग भनिन्, ‘म अहिले त केही न कामकी सोझीलाटी छु। त्यति बेला त झन् काँ, के हो यसै अलमल्ल पर्थेँ।’
मञ्जुको हिच्किचाहट ती दिदीले नै दूर गरिदिइन्, ‘तिमी गर्छु मात्र भन न, म सब सिकाइहाल्छु नि!’
मञ्जुले आफ्नो मन दरिलो पारिन्।
त्यसपछि उनलाई मकै किन्ने ठाउँ, मकै पोल्ने तरिका, मकै कहाँ बेच्ने लगायत सबथोक ती दिदीले नै सिकाइन्। जसरी एक असल विद्यार्थी आफ्नो गुरूले देखाएको बाटोमा लुरूलुरू हिँड्छ, त्यसरी नै मञ्जु ती दिदीले सिकाएको बाटो अघि बढ्दै गइन्।
‘त्यो दिदीको मलाई कति गुन लाग्छ कति!’ उनले भनिन्, ‘उहाँले मलाई दया गरेर दस–बीस हजार पैसा दिएको भए त्यही बेला खाएर सकिन्थ्यो। उहाँले सीप सिकाइदिनुभयो, त्यो सीपले अहिले मलाई बाँच्ने आधार भएको छ। उहाँ त मेरो जिन्दगीमा आमाजस्तै भएर आउनुभयो।’
केही वर्षसम्म ती दिदी र मञ्जुले सँगसँगै मकै बेचे। सँगसँगै दुःखसुख बाँडे। पछि उनीहरूको ठाउँ फेरियो। बेलाबेला बाटोमा जम्काभेट हुँदा कुराकानी हुन्थ्यो। त्यही पनि पातलिँदै एकदिन चट्टै बन्द भयो।
‘उहाँ काठमाडौं छाडेर घरतिर जानुभयो कि के भयो, मलाई थाहै भएन,’ उनले भनिन्, ‘त्यसपछि हाम्रो कहिल्यै भेट भएन। मलाई त्यो दिदीलाई एकचोटि मात्र भए पनि देख्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ।’
मञ्जुलाई अहिलेसम्म याद छ, मकै बेच्ने काममा लाग्दा ती दिदीले भनेकी थिइन्, ‘दिनको सय, डेढ सय कमाइ भइहाल्छ, तिमीलाई दुःख–दुःख भए पनि खान र कोठाभाडा तिर्न पुग्छ।’
यही हौसलाले मञ्जु पहिलोचोटि सडक व्यापारमा लागेकी थिइन्।
‘जुन दिन मकै बेचेर दिनकै दुई–तीन सय रूपैयाँभन्दा बढी कमाइ भयो, त्यो दिन म कत्ति खुसी भएँ कति!’ मञ्जुले भनिन्, ‘अब म काठमाडौंमा बाँच्न सक्छु जस्तो लाग्यो।’
उनी आफ्ना साना छोराछोरी सँगसँगै च्यापेर सडक किनार मकै बेच्न जान्थिन्। घाम–झरी हुँदा ओत लाग्ने ठाउँ खोजेर केटाकेटीलाई त्यहीँ राख्थिन्। अरू बेला उनी मकै पोल्दै, बेच्दै हुन्थिन्, छोराछोरी नजिकै फोहोरमा लडिबुडी गरिरहेका हुन्थे।
‘घरमा छाड्न मिल्थेन?’ मैले सोधेँ।
‘घरमा कल्ले हेर्छ र छाड्नू!’ उनले जवाफ दिइन्, ‘श्रीमान दिनभरि ज्यामी काम गर्न जाने, बिहान गएपछि एकैचोटि राति हो आउने। बूढी सासू त हुनुहुन्थ्यो तर उहाँले हेर्न सक्ने होइन। अनि आफू जहाँ जहाँ गयो, छायाजस्तो त्यहीँ त्यहीँ लग्यो।’
म चुप्प लागेर उनको कुरा सुनिरहेँ।
‘केही वर्ष यसरी नै मकै पोलेपछि एक जना दाइले छड्के छाना भएको ठेला खोज्दिनुभयो,’ उनले भनिन्, ‘मैले ८ हजार ५ सय रूपैयाँमा त्यो ठेला किनेँ। त्यसपछि चाहिँ मलाई नानीहरूलाई आफूसँग लैजान अलि सुविस्ता भयो। त्यति बेलासम्म ठूलो बाबु स्कुल जान थालिसकेको थियो। बाँकी दुई जनालाई म ठेलामै सुताउँथेँ, त्यसैमा मकै पनि पोल्थेँ।’
मञ्जुले धेरै वर्ष त्यो छड्के छाना भएको ठेला चलाइन्। पछि त्यो बेचेर १३ हजार रूपैयाँमा छाना नभएको नयाँ ठेला किनिन् र मकै छाडेर तरकारी बेच्न थालिन्। गत साता महानगर प्रहरीहरूले खोसेर कहिल्यै फिर्ता नगर्ने गरी जफत गरेको उनको त्यही दोस्रो ठेला हो।
‘त्यो ठेला मेरो कमाइ खाने भाँडो मात्र थिएन, मेरो साथी थियो,’ उनले भनिन्, ‘बाबुको खुट्टा भाँच्चिदा म उसलाई त्यही ठेलामा राखेर स्कुल पुर्याउन जान्थेँ। घरमा पानी नआउँदा त्यही ठेलामा पानी ओसार्थेँ। ग्यास सिलिन्डर ल्याउनुपर्यो भने आफू बोकेर ल्याउन सक्ने होइन, त्यही ठेलामा ल्याउँथेँ। म त्यसैमा तरकारी बेच्थेँ र छोराछोरी निदाए त्यसैमा सुताउँथेँ। मेरो रोजीरोटी र आडभर नै त्यही ठेला थियो।’
मञ्जुको यो भनाइ मित्रनगर मार्गमा भेटिएकी पार्वता शर्माले पनि पुष्टि गरेकी थिइन्। किराना पसल चलाउने उनलाई मञ्जुको नाउँ त थाहा थिएन तर टोलमा रहँदा–बस्दा दिनहुँ मञ्जुलाई देख्ने गर्थिन्।
‘साह्रै दुःख पाएको मान्छे हो। दुई जना सान्साना छोराछोरी छन्,’ उनले भनेकी थिइन्, ‘केटाकेटी सान्साना हुँदा ठेलामै बोकेर हिँड्थिन्।’
त्यही किराना पसलछेउ होटल चलाउने खिमा ओलीले पनि सहानुभूति पोख्दै भनेकी थिइन्, ‘यो दिदीको त खाने उपाय भनेकै त्यही ठेला हो। अब के गर्लिन् बिचरी?’
मैले त्यही प्रश्न मञ्जुलाई सोधेँ– महानगरले ठेला खोसेपछि के गर्दै हुनुहुन्छ त?
‘तीन दिन त यस्सै बसेँ। के गर्ने, के गर्ने, टेन्सन भयो,’ उनले विस्तार लगाइन्, ‘अहिले एउटा उपाय लगाएको छु।’
‘माछापोखरीकी एक जना दिदीले आफ्नो ठेला राख्दे भनेर मलाई दिनुभएको थियो। मेरो ठेला खोसिएपछि म उहाँलाई भेट्न गएँ र ‘दिदी तपाईंको ठेला म चलाउँछु है’ भनेँ।’
ती दिदी सुरूमा अलि हच्किइन्, ‘अहिले यस्तो माहोल छ, मेरो पनि त्यही एउटा ठेला हो, तँलाई थाहा छँदैछ।’
मञ्जुले बिन्ती गरिन्, ‘दिदी, ठेला नचलाए त मैले मेरा बच्चाहरूलाई के खुवाउनू?’
दिदीलाई पनि मञ्जुको अवस्था देखेर टिठ लागेछ क्यारे, भनिन्, ‘जोगाएर चलाउने भए चला। के भनूँ त म! खोसियो भने चाहिँ हामी दुवैको बर्बाद हुन्छ।’
मञ्जुले ‘हुन्छ’ भनिन्।
‘दिदीको डर पनि ठिकै हो। मैले देखी–देखी उहाँले १३ हजार हालेर किनेको ठेला हो,’ मञ्जुले मलाई सुनाइन्, ‘मेरो एउटा ठेला त गयो गयो, यो पनि गयो भने दिदीलाई पनि घाटा, मलाई पनि घाटा!’
जतिसुकै चुनौती भए पनि मञ्जुलाई ठेला नचलाई धर छैन।
दुई दिन भयो, उनी पैँचो लिएको ठेला बोकेर फेरि सडकमा निस्किन थालेकी छन्। यसपालि होसियार छिन्। जोगिएर हिँड्छिन्। मूल सडकमा त झुक्किएर पनि जाँदिनन्। सहायक बाटाहरूमा पनि कहिलेकाहीँ मात्र छिर्छिन्। प्रायः भित्री गल्लीहरूमै बस्छिन्। त्यहाँ पनि महानगरका प्रहरीले देख्लान् भनेर लुक्दै छिप्दै हिँडिरहेको उनी बताउँछिन्।
‘उनीहरू भैँचालो आएजस्तो, हुरीबतास आएजस्तो हुरहुर्ती आउँछन्। त्यसैले एउटा गल्लीमा धेरै बेर बस्दिनँ। एक ठाउँमा बसेर अलिअलि बेच्छु अनि फेरि अर्को गल्ली छिरिहाल्छु,’ उनले भनिन्।
महानगरबाट लुटिने डरले लुकिछिपी व्यापार गर्दा सिधा असर उनको कमाइमा परेको छ।
पहिले उनी बिहान कम्तिमा ९ बजेसम्म व्यापार गर्थिन्। अहिले साढे ७ र बढीमा ८ बजे घर फर्किसक्छिन्। बेलुकी पनि ४ बजेतिर एकछिनलाई मात्र निस्कन्छिन्। यति कम समयमा साग बेच्न निकै मुश्किल पर्ने उनी बताउँछिन्।
‘आजैको कुरा गरूँ न, मैले माछापोखरीबाट २८ सय रूपैयाँको साग ल्याएको थिएँ। गल्लीहरूमा लुक्दै लुक्दै बिहान साढे ७ बजेसम्म जम्माजम्मी आधा बेचेँ होला,’ उनले भनिन्, ‘अब बेलुकी एक्कैछिन निस्किन्छु। त्यो बेला बिक्यो भने बिक्यो, नभए कुहियो।’
यसरी मुटु गह्रुँगो पार्दै डरैडरमा काम गरेर कति दिन जीवन धानिने हो, उनलाई थाहा छैन।
‘कहिलेकाहीँ त सम्झीसम्झी साह्रै टेन्सन हुन्छ भन्या। एक मनले गाउँ नै गएर बसूँ कि जस्तो लाग्छ तर त्यहाँ पनि के छ र? कसरी कमाएर खाने? खरबारीजस्तो सानो पाखो छ, केटाकेटी ठूला हुँदैछन्, कसरी सबको मुख टाल्ने?’ मञ्जुले विवशता पोखिन्।
उनले अगाडि भनिन्, ‘फेरि सम्झिन्छु, अहिले केटाकेटीको पढ्ने उमेर छ। यो बेला पढाउन सकिएन भने भोलि मजस्तै बाटोमा रोईरोई हिँड्नुपर्ने त होला नि भन्ने सम्झेर हिक्का छुटेर आउँछ।’
मञ्जुका तीन सन्तानमध्ये ठूलो छोरा गत वर्ष एसइई पास गरेर बसेका छन्। उनले आठ कक्षासम्म सामाखुसीको नवोदित स्कुलमा पढेका थिए। त्यहाँ शुल्क महँगो भएपछि सोह्रखुट्टेको सिद्धीगणेश स्कुल जान थाले। बीचमा केही समय पढाइ छाडे। पोहोर चाहिँ प्राइभेटबाट एसइई जाँच दिए।
‘आर्थिक अवस्थाकै कारण छोरालाई क्याम्पस भर्ना गर्न सकेको छैन। ममी मेरो क्याम्पस भर्ना गर्ने होइन भनेर सोध्छ, म के गरूँ?’ मञ्जुले भनिन्, ‘यो वर्ष जसरी भए पनि भर्ना गर्दिन्छु भन्ने सोचेको थिएँ, महानगरले जिन्दगी नै तितरबितर पार्दियो। अब त झन् कसरी पो पढाउने होला? उसको जिन्दगी नै बिग्रेला कि भन्ने डर छ।’
मञ्जुले छोराछोरीको चिन्ताले अनुहार मलिन पारिरहेकै बेला पछाडिबाट ‘ममी’ भन्ने आवाज आयो।
मैले फरक्क फर्केर हेरेँ।
उनकी छोरी रहिछन्, स्कुलबाट फर्केकी।
उनी स्कुल ड्रेसमै कोठाभित्र छिरिन्। पानी पिइन् र बाहिर निस्किहालिन्। बीचमा पुलुक्क मलाई हेरेर हाँसु कि नहाँसु जस्तो गरेकी थिइन्। म चाहिँ उनलाई हेरेर मुसुक्क हाँसेँ। भन्न चाहिँ केही भनिनँ।
‘भाइ खोई त?’ मञ्जुले छोरीलाई सोधिन्।
‘अघि नै हिँडेको हो, आउँदै होला,’ उनी यति भनेर अलप भइन्।
‘चौध वर्षकी भई,’ मञ्जुले मतिर हेर्दै भनिन्, ‘आठ कक्षा पढ्छे, त्यहीँ सिद्धीगणेशमा।’
‘कस्तो छ पढाइ?’ मैले सोधेँ।
‘ठिकै छ,’ उनले भनिन्, ‘पहिले त यो छोरी ठेलामा सघाउन आउँथी। अहिले साथीहरूले देख्यो भने जिस्क्याउँछ भनेर आउन मान्दिन।’
उनले यति भन्दाभन्दै सानो छोरा आइपुगे, स्कुल ड्रेसमै। उनी १२ वर्षका भए। सिद्धीगणेशमा पाँच कक्षा पढ्छन्। मलाई हेरेर मुसुक्क हाँसे। मैले ‘के छ बाबु?’ भनेर सोधेँ। उनले ‘ठिक छ’ भने अनि कोठाबाट फेर्ने लुगा झिकेर निस्किहाले।
मञ्जुसँग कुराकानीको सिलसिला जारी थियो।
‘यिनीहरूकै पढाइको चिन्ताले हो, सहरमा बस्नुपरेको। नभए अब त बस्नै नसकिने भयो। सरकारले हामी गरिबहरूलाई बाँच्नै नदिने भयो। पहिला महँगीले मारेको थियो, अब त झन् गरिरहेको जीविका नै खोसेपछि कसरी बाँच्नू? के खाएर बाँच्नू? कसरी परिवार पाल्नू? कसरी भाडा तिर्नू?’
मञ्जु अहिले जुन घरमा बसिरहेकी छन्, त्यहाँ दुइटा कोठाको दस हजार रूपैयाँ भाडा तिर्नुपर्छ। त्यसअघि पन्ध्र वर्ष नजिकै अर्को घरमा बस्थिन्। त्यहाँ भाडा ४५ सय थियो।
‘केटाकेटी ठूला हुँदै गए। सासू पनि आउनुभयो। दुइटा कोठा नलिई हुँदै भएन,’ उनले भनिन्।
यी सब घरव्यवहार चलाउन पनि मञ्जुलाई ठेला नचलाई सुख छैन।
‘महानगरका सरहरू सटर भाडामा लिऊ भन्नुहुन्छ। सटरमा लगानी गर्ने पैसा भइदिएको भए ठेला धकेलेर बसिन्थ्यो होला र? मान्छेले दुःख परेर त ठेला ठेल्छ होला नि, सुख पाउने भए के को रहर थियो होला र!’ मञ्जुले भनिन्, ‘हाम्रो त देशै गरिब, दुःखीहरूको। अनि ती दुःखी–गरिबलाई गरिखान दिने काम सरकारकै होइन? किन त यस्तोविधि हामीलाई खेदेको?’
उनले अगाडि भनिन्, ‘बरू हामीलाई ठाउँ तोकेर, समय तोकेर बस्न दिए त भइहाल्थ्यो। अफिस टाइम नपारेर, मूलसडकमा भीड नहुने गरी यो–यो समयमा मात्र बेच्नू भने हामी त्यही त्यही समयमा बेच्थ्यौं नि। गरिखाने साधनै खोसेर, गरिखानै नदिएर किन हामीलाई बर्बाद पारेको?’
मञ्जुका अनुसार पहिले मूल सडकमा गयो भने मात्र नगर प्रहरीले लखेट्न आउँथ्यो। अहिलेजस्तो भित्री बाटोहरूमा समेत खोजी खोजी हिँड्थेन। त्यसमाथि भाग्यो भने यसै छाड्थ्यो। अहिले त भागे पनि लखेटी लखेटी नसमाती छाड्दैन, उनले भनिन्, ‘यी प्रहरीले चोरडाँकालाई पनि यस्तरी लखेट्दैनन् होला, जति हामीलाई लखेट्छन्।’
लामो समयदेखि ठेलामा तरकारी बेच्ने अनुभवका आधारमा मञ्जुले तरकारीसँग जोडिएको अर्थशास्त्र पनि सुनाइन्।
‘हामीले ठेला चलाएर तीनवटा समूहलाई फाइदा भइरहेको छ,’ उनले भनिन्, ‘एउटा त ठेला चलाउनेहरूलाई नै भइहाल्यो। यसले हाम्रो रोजीरोटी चलेको छ, घरव्यवहार धानिएको छ। दोस्रो, मान्छेले घरघरमा, टोलटोलमा सस्तो तरकारी किन्न पाइरहेका छन्। ठेलाजति जम्मै हटाइदिएर महानगरले भनेजस्तो सटर–सटरमा मात्र तरकारी बेच्ने हो भने कति छुनै नसक्ने महँगो हुने होला?’
‘अनि तेस्रो, ठेला र साइकलमा तरकारी बेच्नेहरूले गर्दा किसानको उत्पादन पनि धेरै खपत भएको छ। हामीले बेच्न नपाउने हो भने बिचरा ती किसानहरूले आफ्नो तरकारी कहाँ लगेर बेच्ने? कसलाई बेच्ने? बारीमा कुहिने भएन सबै?’
‘मैले आफ्नो सोझो बुद्धिले हेर्दा त सबैलाई सबैतिरबाट घाटा मात्र देख्छु। महानगरलाई चाहिँ के लागेको होला, बुझेको छैन।’
‘महानगरले हुँदै हुन्न, राख्नै दिन्न भन्यो भने के गर्नुहुन्छ त दिदी?’ मैले सोधेँ।
‘बाध्यता छ, मजबुरीले लुकिछिपी भए पनि गर्नैपर्छ। अरू राम्रो रोजगार पाए, पुर्ख्यौली सम्पत्ति पनि अलिअलि भइदिएको भए यो काम गरेर बस्ने रहर कसलाई थियो र? बच्चाहरूलाई टिफिन किन्दिनुपर्छ, पैसै चाहियो। चामल सकिन्छ, पैसै चाहियो। ग्यास सकिन्छ, पैसै चाहियो। कोठाभाडा तिर्नुपर्छ, पैसै चाहियो। सास फेर्न पनि पैसा चाहिने सहरमा हामीले काम नगरेर भो त? अनि यही काम गरेर गुजारा गर्नेहरूलाई तितरबितर पारेपछि हाम्रो त ज्यानै लिएजस्तो भएन र?’ उनले जवाफ दिइन्।
अगाडि भनिन्, ‘तै पनि सधैं यस्तरी नै खोजी खोजी समात्न थाले र अहिलेजस्तै ठेला लुटेर लगेको लग्यै गर्यो भने चाहिँ के गर्ने होला, सोचेकै छैन। हामी त अलमल्ल छौं। बूढा केही समयअघि घर जानुभएको थियो। अब उहाँ आएपछि सल्लाह गर्नुपर्ला।’
यति भनेर मञ्जुले लामो सास फेरिन्।
सायद त्यो लामो सासले उनको गह्रुँगो छाती केही हल्का भयो होला, थाप्लो सुन्निने दुःखको भार त के कम हुन्थ्यो र!
मञ्जुले मेयर बालेन शाहसँग केही गुनासा पनि पोखिन्।
‘उहाँ त धेरै माथिको मान्छे, हामी निकै तलको। उहाँले माथिबाट हेर्दा सायद हामी तलको मान्छेका दुःख देख्नुहुन्न होला,’ उनले भनिन्, ‘अर्को कुरा पनि हुनसक्छ। सायद उहाँ जिन्दगीमा सुखैसुखमा हुर्कनुभयो। गरिबी के हो, गरिबको पिरमर्का कस्तो हुन्छ भन्ने उहाँले देख्नु–भोग्नुभएकै छैन। त्यसैले, ठेलाहरू हटाउँदा त्यही ठेला चलाएर गरिखाने परिवारलाई के बित्छ भन्ने उहाँलाई थाहै छैन।’
उनले यो पनि भनिन्, ‘हाम्रो दुःख उहाँसम्म पुगेको पनि छैन कि! हामीमाथि भइरहेको अत्याचार र हामीलाई तितरबितर पारेको भिडिओ उहाँले देख्नुभएकै छैन कि! देखेको भए त मान्छे यतिसम्म निर्दयी कसरी हुनसक्थ्यो होला र! बरू कसैले उहाँलाई हाम्रो दुःख सुनाइदिए हुने नि! हामीलाई चोरडाँकाजस्तो गल्ली–गल्लीमा लखेटेको, हामीलाई रूवाई रूवाई हाम्रा सामान खोसेको भिडिओ देखाइदिए हुने नि! कसैगरी उहाँको मुटु पग्लन्थ्यो कि! अनि मुटु पग्लेर हामीलाई गरिखाने केही उपाय लगाइदिनु हुन्थ्यो कि!’
मनभरिको दुःख र गुनासो सुनाएपछि उनी धेरै बेर एकोहोरो टोलाइरहिन्, चुपचाप।
म उनीसँग विदावारी भएर बाहिर निस्केँ।
आँगनमा उनले माछापोखरीकी दिदीसँग सापट लिएको ठेला थियो। मैले उनलाई त्यही ठेलाअगाडि राखेर केही फोटो खिचाएँ।
एक–दुइटा खिचेपछि उनको अनुहार लजाएजस्तो रातो–रातो भयो अनि ‘अब पुग्यो है’ भन्दै उनी कोठाभित्र छिरिन्।
लजाएकी होइनन्, सायद डराएकी हुन्!
योसँग त अर्को ठेला पनि रहेछ, भोलि नै गएर खोस्नुपर्यो भन्दै महानगर प्रहरीहरू घरमै छापा मार्न आउलान् कि भन्ने उनलाई डर हुनसक्छ!
हिजोसम्म उनलाई गरिबीको पिर मात्र थियो, अब उनको जीवनमा डर पनि थपिएको छ — महानगरको डर!
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
यो पनि हेर्नुहोस्: